Banner ad for NADA AUTO SHOW -2026

जेनजी आन्दोलनमा दमन र आगजनीप्रति एमाले कोशीको गम्भीर आपत्ति

1.5K
shares

विराटनगर । नेकपा एमाले कोशी प्रदेश समितिले व्यक्तिका राजनीतिक विचारमाथि दमन गर्ने र दबाबका लागि आगजनी गर्ने काम प्रति गम्भीर आपत्ति जनाएको छ ।

आन्दोलनका क्रममा जनप्रतिनिधिहरूलाई अनावश्यक र अनुचित दबाब र धम्की दिने र राजीनामा गर्न बाध्य पार्ने कार्य भइरहेको भन्दै तत्काल यस्ता कार्य रोक्न आग्रह गरेको छ ।

एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार थापाले विज्ञप्ति निकाल्दै युवाहरूको स्वच्छ उद्देश्यको आन्दोलनमा भएको अनेक थरी शक्तिको घुसपैठलाई पनि नजर अन्दाज गर्न नमिल्ने जनाएका छन् ।

विज्ञप्तिमा असहज परिस्थितिको फाइदा उठाउँदै राज्यका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीनै अङ्ग सहित चौथो अङ्ग पत्रकारिताका संरचनाहरू माथि भएका आक्रमणले घुसपैठ भएको उल्लेख छ । एमाले कोशीले भनेको छ ती घटना पछाडिका स्वार्थ समेत उजागर भइसकेको छ ।

विज्ञप्तिमा कोशी प्रदेशमा प्रदेश र स्थानीय तहका विभिन्न संरचना तोडफोड गर्ने र स्थानीय जनप्रतिनिधि र राजनीतिक दलका नेता तथा कार्यकर्ताका निजी सम्पत्तिमा भएको तोडफोड र जस्ता कार्य अविलम्ब बन्द गर्न सम्बन्धित पक्षसँग र शान्ति सुरक्षाको प्रत्याभूति गर्न सुरक्षा निकायसँग जोडदार अपिल गरिएको छ ।

भनिएको छ, लोकतन्त्रमा विरोध र प्रदर्शन गर्न पाउने अधिकारको उपयोग गर्दै जेन-जी पुस्ताले गरेको आन्दोलन नागरिक हकको सही उपयोग थियो र हो । राजकीय व्यवस्थापनमा भएका कमजोरी सुधार गर्न खबरदारी गर्न साथै लोकतन्त्रलाई उन्नत बनाउन यस्ता अभियान आवश्यक र अपरिहार्य हुन्छन् ।

एमाले कोशीले आन्दोलनमा अनावश्यक दमन हुनु गलत भएको र राज्य संयन्त्रलाई समेत अवाक बनाउने दमन कसरी हुन पुग्यो भन्दै घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग गरेको छ । एमाले कोशीले आन्दोलनमा दुःखद मृत्यु भएका युवा र सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

एमाले कोशीले यस आन्दोलनका क्रममा घाइते भएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

एमाले कोशीले यो विषम परिस्थितिमा अविचलित रहन पार्टीका सम्पूर्ण नेता-कार्यकर्ताहरूसाथै सम्पूर्ण लोकतान्त्रिक शक्तिहरूलाई आग्रह गरेको छ ।

civil hospital
Hams Hospitals