रास्वपा, उज्यालो नेपाल र बालेन साहबीच चुनावी सहकार्यको सहमति

2.3K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहबीच आगामी प्रतिनिधिसभा निर्वाचनमा सहकार्य गर्ने सहमति भएको छ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी भएको सहमतिमा मेयर बालेन साह साक्षी बसेका थिए। सहमतिअनुसार कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बनाइएका छन्।सहमतिपछि राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापतिमा रवि लामिछाने रहनेछन् भने उपसभापतिमा कुलमान घिसिङ, डीपी अर्याल र स्वर्णिम वाग्ले रहने सहमति भएको छ।

सोमबार हस्ताक्षर भएको सहमतिपत्रमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र रास्वपा सभापति रवि लामिछानेले हस्ताक्षर गरेका छन्।सहमतिपत्रमा मुलुकको परिवर्तित राजनीतिक परिस्थितिलाई आत्मसात् गर्दै सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, सुशासन र नागरिकको आकाङ्क्षा सम्बोधन गर्ने उद्देश्यले नयाँ राजनीतिक शक्तिको निर्माणका लागि सहकार्य अपरिहार्य रहेको उल्लेख गरिएको छ।

त्यसैगरी, २०८२ साल भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसहित विभिन्न कालखण्डका जनआन्दोलनमा सहादत प्राप्त गरेका शहीद तथा घाइतेको बलिदानलाई स्मरण गर्दै समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्ने प्रतिबद्धता जनाइएको छ।

रास्वपा र उज्यालो नेपाल पार्टीबीच भएको एकता सहमतिअनुसार भ्रष्टाचार र कुशासनविरुद्ध भएका आन्दोलनको मर्मलाई आत्मसात् गर्दै शहीद तथा घाइते परिवारका मागको यथोचित सम्बोधन गरिने उल्लेख छ। उज्यालो तथा आत्मनिर्भर अर्थतन्त्र, योग्यतामा आधारित प्रणाली, भ्रष्टाचारप्रति शून्य सहनशीलता र सुशासनमार्फत आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्य लिइएको छ।

एकता पश्चात् पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी नै रहने, झण्डा निलो पृष्ठभूमिमा घण्टी चिन्ह कायम रहने तथा केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने सहमति भएको छ।उज्यालो नेपाल अभियानलाई रास्वपाको कार्यक्रमसँग जोड्दै संगठनात्मक संरचना थप सुदृढ बनाइने र उज्यालो नेपाल पार्टीका युवा अभियन्ता तथा विज्ञहरूलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा जिम्मेवारी दिइने सहमतिपत्रमा उल्लेख गरिएको छ।

यस सम्झौताअनुसार आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गरिने तथा लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायमा विश्वास गर्ने अन्य वैकल्पिक राजनीतिक शक्ति, समूह तथा व्यक्तिलाई समेत सहकार्यका लागि आह्वान गर्ने उल्लेख गरिएको छ।

civil hospital
Hams Hospitals