श्रीरामको जीवनबाट उज्यालो समाजतर्फको रूपान्तरण 

378
shares

मानव समाजको स्थायित्व र समृद्धिको आधार नैतिक मूल्य र चरित्र निर्माण हो। जब व्यक्तिको अन्तरमन संयमित र मर्यादित हुन्छ, तब मात्र समाजमा विश्वास, शान्ति र सहअस्तित्व सम्भव हुन्छ। आत्मसंयमले मानिसलाई आफ्ना इच्छा, क्रोध र लोभमाथि नियन्त्रण गर्न सिकाउँछ, जबकि मर्यादाले उसलाई आचरणमा अनुशासन, सम्मान र जिम्मेवारीको बोध गराउँछ। यी दुई तत्वको समन्वय नै आदर्श मानव चरित्रको मूल आधार हो।

यस सन्दर्भमा श्रीराम को जीवन एक उज्ज्वल उदाहरणका रूपमा प्रस्तुत हुन्छ। उहाँले शक्तिशाली भएर पनि विनम्रता अपनाउनुभयो। अधिकार हुँदाहुँदै पनि कर्तव्यलाई प्राथमिकता दिनुभयो। वनवासको कठिन परिस्थितिमा पनि उहाँले आत्मसंयम गुमाउनुभएन र मर्यादाको सीमालाई कहिल्यै उल्लङ्घन गर्नुभएन। यही गुणहरूले उहाँलाई “मर्यादा पुरुषोत्तम” बनायो।

आजको भौतिकवादी र प्रतिस्पर्धात्मक युगमा, जहाँ व्यक्तिहरू क्षणिक लाभ र स्वार्थमा केन्द्रित भइरहेका छन्, आत्मसंयम र मर्यादाको मूल्य झन् महत्वपूर्ण बनेको छ। सामाजिक सञ्जाल, उपभोगवादी संस्कार र द्रुत सफलता प्राप्त गर्ने चाहनाले मानिसलाई अस्थिर र असन्तुलित बनाइरहेको छ। यस्तो अवस्थामा श्रीरामको जीवन–दर्शनले हामीलाई धैर्य, सहिष्णुता र नैतिक दृढताको मार्ग देखाउँछ।

मानव जीवन चेतना, विवेक र नैतिक मूल्यहरूको समुच्चय हो। यो आत्मिक यात्राको एक गहिरो प्रक्रिया हो। जब मानिस आफ्ना इच्छा, क्रोध, लोभ र मोहलाई संयमित गर्न सक्षम हुन्छ, तब मात्र ऊ वास्तविक अर्थमा “मानव” बन्छ। यही आत्मसंयम नै आदर्श चरित्रको मूल आधार हो र यही सत्यलाई जीवन्त उदाहरणका रूपमा प्रस्तुत गर्नुहुन्छ श्रीराम।

श्रीराम धार्मिक आस्थाका पात्र होइनन् उहाँ संयम, धैर्य, सत्यनिष्ठा र कर्तव्यपरायणताको जीवित दर्शन हुनुहुन्छ। उहाँको जीवनले आदर्श मानव चरित्र बाह्य वैभवबाट होइन, आन्तरिक अनुशासनबाट उदाउँछ भन्ने देखाउँछ।

समाज शान्ति खोज्छ, तर समाजको मूल आधार व्यक्ति हो। अशान्त व्यक्तिहरूबाट स्थिर समाजको निर्माण सम्भव हुँदैन। त्यसैले, समाज सुधारको पहिलो कदम व्यक्ति–सुधार हो र व्यक्ति–सुधारको मूल आधार आत्मसंयम हो।

श्रीरामको जीवनमा आत्मसंयमको सर्वोच्च उदाहरण उहाँको वनवास स्वीकार गर्नु हो। राजगद्दीको अधिकार हुँदाहुँदै पनि उहाँले पितृवचनको मर्यादा राख्दै १४ वर्षको वनवास सहज रूपमा स्वीकार गर्नुभयो। यो आज्ञापालन मात्र थिएन यो आत्मसंयमको चरम अभिव्यक्ति थियो।

जब मनमा विद्रोहको ज्वाला बल्न सक्थ्यो, त्यहाँ शान्त स्वीकृति थियो। जब अधिकारको आग्रह उठ्न सक्थ्यो, त्यहाँ कर्तव्यको समर्पण थियो। यही संयमले उहाँलाई “मर्यादा पुरुषोत्तम” बनायो।

अन्तर्मन शुद्ध भए मात्र व्यवहार शुद्ध हुन्छ। योग, ध्यान र आत्मचिन्तनले मनलाई स्थिर बनाउँछ। करुणाले आत्मालाई पवित्र बनाउँछ। यी सबै अभ्यासहरूको अन्तिम लक्ष्य चेतनाको शुद्धि हो।श्रीरामको जीवनमा यो शुद्ध चेतनाको स्पष्ट झल्को पाइन्छ। रावणजस्तो शक्तिशाली शत्रुसँग युद्ध गर्दा पनि उहाँको मनमा घृणा थिएन, केवल धर्मको रक्षा गर्ने उद्देश्य थियो।

मानव व्यवहार द्वेष र प्रतिशोधबाट होइन, धर्म र न्यायबाट निर्देशित हुनुपर्छ। जब चेतना शुद्ध र उज्यालो बन्छ, तब मानिस “म” को संकीर्ण घेराबाट बाहिर निस्केर “हामी” को व्यापक भावनामा प्रवेश गर्छ। यस्तो निर्मल अन्तर्मनले भेदभावका सबै कृत्रिम पर्खालहरू भत्काउँछ। जात, धर्म, भाषा वा पदको आधारमा बनेका विभाजनहरू स्वतः हराउँछन्। यस अवस्थामा मानवता नै सर्वोच्च मूल्य बन्छ, जहाँ सहिष्णुता, करुणा र सहअस्तित्वको भावना बलियो हुन्छ। यही चेतनाको परिष्कारले समाजलाई एकताबद्ध, शान्त र समृद्ध बनाउने आधार तयार गर्छ।

 

चरित्र निर्माण एक दिनमा सम्भव हुँदैन यो निरन्तर अभ्यास, सजगता र आत्मअनुशासनको परिणाम हो। श्रीरामको जीवनमा हरेक क्षण अनुशासनको झल्को पाइन्छ—वाणीमा मर्यादा, व्यवहारमा विनम्रता र निर्णयमा न्याय। आत्मसंयमले मानिसलाई क्षणिक लाभभन्दा दीर्घकालीन मूल्यतर्फ उन्मुख गराउँछ, जहाँ सिद्धान्त र सत्य सर्वोपरि हुन्छन्। संयमित व्यक्ति प्रलोभनमा अल्झिँदैन, बरु आफ्नो मार्गमा अडिग रहन्छ। आजको भौतिकवादी युगमा, जहाँ सामाजिक सञ्जालले क्षणिक प्रसिद्धिको मोह बढाएको छ, आत्मसंयम नै सन्तुलित र अर्थपूर्ण जीवनको आधार बन्न पुगेको छ।

आदर्श मानव चरित्रको सार संयममा सीमित हुँदैन यसले करुणा, सहिष्णुता र प्रेमलाई पनि आत्मसात् गर्छ। साँचो महानता समानतामा र साँचो धर्म मानवतामा निहित हुन्छ। उहाँको जीवनले सिकाउँछ—क्रोधको क्षणमा मौनता, लोभको समयमा सन्तोष र विपत्तिमा धैर्य धारण गर्नु नै आत्मसंयमका उच्च रूप हुन्। यस्ता गुणहरूले मात्र व्यक्ति महान् बन्छ र समाजमा विश्वास, सद्भाव र मानवताको उज्यालो फैलिन्छ।

अध्यात्म कर्मकाण्डमा सीमित हुँदैन यो आत्म–अन्वेषणको गहिरो यात्रा हो, जसले मानिसलाई आफ्नै भित्री संसारसँग साक्षात्कार गराउँछ। भगवद्गीताले आत्मसंयमलाई स्थिर बुद्धिको आधार मानेर स्पष्ट भन्छ—इन्द्रिय नियन्त्रण बिना शान्ति सम्भव छैन। यही सिद्धान्तलाई श्रीरामले आफ्नो जीवनमार्फत व्यवहारमा उतार्नुभयो। उहाँको जीवनले सिकाउँछ धर्म आचरणमा झल्किने सत्य हो र अध्यात्म दैनिक जीवनमा अपनाइने जीवन–शैली हो, जसले व्यक्तिलाई सन्तुलित र सार्थक बनाउँछ।

मानवीय सहअस्तित्वको मूल आधार परस्पर विश्वास हो र विश्वास तब मात्र जन्मिन्छ जब अन्तरात्मा शुद्ध हुन्छ। जब मनमा कपट, लोभ र स्वार्थको छाया रहँदैन, तब सम्बन्धहरू स्वाभाविक रूपमा बलियो बन्छन्। आजको विश्व द्वन्द्व, घृणा र असन्तुलनले ग्रसित देखिन्छ, जसको वास्तविक कारण बाह्य संरचना होइन, आन्तरिक प्रदूषण हो।

जब प्रत्येक व्यक्तिले आफ्ना विकारहरूलाई नियन्त्रण गर्छ, सत्यलाई आत्मसात् गर्छ र करुणा तथा सहिष्णुताको अभ्यास गर्छ, तब मात्र समाजमा शान्ति सम्भव हुन्छ। यही सन्दर्भमा श्रीराम को “रामराज्य” नैतिकता, न्याय र समरसतामा आधारित आदर्श समाजको प्रतीक थियो।

आत्मसंयम आत्मविजयको पहिलो खुड्किलो हो। जसले आफूलाई जित्न सक्छ, उसले संसारलाई पनि जित्न सक्छ। आदर्श मानव चरित्र बाह्य आडम्बरबाट होइन, भित्री अनुशासनबाट उदाउँछ। श्रीरामको जीवनले स्पष्ट सन्देश दिन्छ—शक्ति भन्दा संयम महान् हुन्छ, अधिकार भन्दा कर्तव्य ठूलो हुन्छ, र बाह्य सफलता भन्दा आन्तरिक शुद्धता महत्वपूर्ण हुन्छ।

आत्मसंयम सभ्य समाज र सुसंस्कृत राष्ट्र निर्माणको आधारशिला हो। जब प्रत्येक व्यक्तिले आफ्नो अन्तर्मनलाई निखार्छ, तब समाज स्वतः उज्यालो बन्छ। आत्मा शुद्ध भए मानवता फुल्छ र जीवन अर्थपूर्ण बन्छ। त्यसैले, श्रीरामका जीवन–पाठलाई आत्मसात् गर्दै आत्मसंयमको मार्गमा अघि बढ्नु नै दिगो शान्ति र आदर्श समाज निर्माणको शाश्वत सूत्र हो।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

civil hospital
Hams Hospitals