आत्मबोधसँगै अघि बढ्ने नैतिक र विवेकशील जीवन यात्रा

408
shares

 

मानव जीवन चेतना, मूल्य र उद्देश्यको गहिरो यात्रा हो। यस यात्रालाई अर्थपूर्ण, शालीन र उन्नत बनाउनका लागि आत्मबोध, नैतिकता र विवेकको सन्तुलित समन्वय अपरिहार्य हुन्छ। आत्मबोधले मानिसलाई आफ्नो वास्तविक स्वरूप चिन्न मद्दत गर्छ, विवेकले सही–गलतको भेद छुट्याउने क्षमता दिन्छ र नैतिकताले त्यस अनुसार आचरण गर्न प्रेरित गर्छ। जब यी तीन तत्व एकसाथ क्रियाशील हुन्छन्, तब जीवन सफल मात्र होइन, सार्थक पनि बन्छ।

आत्मबोध आफूलाई बाह्य पहिचानभन्दा पर बुझ्ने प्रक्रिया हो। मानिसले जब आफूलाई केवल नाम, रूप, पद वा सम्पत्तिमा सीमित राख्दैन, तब ऊ आफ्नो अन्तरात्माको गहिराइमा प्रवेश गर्न थाल्छ। यही गहिराइमा उसले आफ्नो वास्तविक चाहना, कर्तव्य र जीवनको उद्देश्य भेट्छ। आत्मबोधले मानिसलाई आफ्नो कमजोरी र सामर्थ्य दुवैलाई स्वीकार गर्न सिकाउँछ। यसले अहंकारलाई घटाउँछ र विनम्रतालाई बढाउँछ, जसले जीवनलाई सन्तुलित र स्थिर बनाउँछ।

तर आत्मबोध मात्र पर्याप्त हुँदैन; त्यसलाई सही दिशामा प्रयोग गर्न विवेक आवश्यक हुन्छ। विवेक त्यो आन्तरिक प्रकाश हो, जसले जीवनका जटिल परिस्थितिहरूमा सही निर्णय लिन सहयोग गर्छ। जब मानिस विवेकशील हुन्छ, तब ऊ क्षणिक लाभ वा भावनात्मक आवेगमा बहँदैन। उसले दीर्घकालीन परिणाम, सामाजिक प्रभाव र नैतिक सन्दर्भलाई ध्यानमा राख्छ। विवेकले मानिसलाई अस्थायी आकर्षणबाट टाढा राखेर स्थायी मूल्यतर्फ उन्मुख गराउँछ।

नैतिकता आचरणको शुद्धता र उत्तरदायित्वको बोध हो। यो आन्तरिक इमानदारीको अभिव्यक्ति हो। जब मानिसले आफ्नो कार्यलाई केवल लाभको दृष्टिले होइन, कर्तव्य र न्यायको दृष्टिले हेर्छ, तब नैतिकता जीवनमा जीवित हुन्छ। नैतिक आचरणले समाजमा विश्वास, सम्मान र सहकार्यको वातावरण सिर्जना गर्छ, जुन कुनै पनि सभ्य समाजको आधार हो।

आत्मबोध, विवेक र नैतिकताको सहयात्राले जीवनलाई एक सन्तुलित दिशा दिन्छ। आत्मबोधले “म को हुँ?” भन्ने प्रश्नको उत्तर खोज्न प्रेरित गर्छ, विवेकले “के सही हो?” भन्ने प्रश्नको समाधान दिन्छ, र नैतिकताले “के गर्नुपर्छ?” भन्ने कर्तव्य स्पष्ट पार्छ। जब यी तीन प्रश्नहरूको उत्तर स्पष्ट हुन्छ, तब जीवनमा अन्योलता कम हुन्छ र निर्णयहरू दृढ तथा सुस्पष्ट बन्छन्।

आजको प्रतिस्पर्धात्मक र तीव्र परिवर्तनशील समाजमा मानिसहरू प्रायः बाह्य उपलब्धिमा केन्द्रित हुन्छन्। सफलता, प्रतिष्ठा र सम्पत्तिको खोजीमा उनीहरू कहिलेकाहीँ आफ्ना मूल मूल्यहरू बिर्सन पुग्छन्। तर यस्ता उपलब्धिहरू यदि आत्मबोध, विवेक र नैतिकताको आधारमा प्राप्त भएका छैनन् भने, ती दीर्घकालीन सन्तोष दिन सक्दैनन्। बरु, ती अस्थायी सुख र अन्ततः आन्तरिक असन्तोषको कारण बन्न सक्छन्। त्यसैले जीवनको वास्तविक प्रगति बाह्य उपलब्धिभन्दा बढी आन्तरिक परिपक्वतामा निर्भर हुन्छ।

दार्शनिक दृष्टिले हेर्दा, आत्मबोध नै जीवनको सर्वोच्च साधना हो। जब मानिसले आफ्नो चेतनालाई बुझ्छ, तब उसले अरूलाई पनि समान दृष्टिले हेर्न थाल्छ। यसले भेदभाव, द्वेष र अहंकारलाई घटाउँछ, र सहिष्णुता, करुणा र प्रेमलाई बढाउँछ। विवेकले यी गुणहरूलाई व्यवहारमा उतार्न मार्गदर्शन गर्छ, र नैतिकताले तिनलाई स्थायित्व दिन्छ।

जीवनको प्रगति नैतिकता र विवेकको सहयात्राबाट सम्भव हुन्छ। नैतिकता  सदाचार, इमानदारी, करुणा, सहिष्णुता र सामाजिक जिम्मेवारीका मूल्यहरूको अभ्यास हो। जब व्यक्ति यी मूल्यहरूसँग जीवन बिताउँछ, तब उसले आफ्नो व्यक्तिगत र सामाजिक जीवनमा स्थायित्व, शान्ति र सन्तुलन पाउँछ। विवेक  निर्णय क्षमता, सोच–विचार, समय र परिस्थिति अनुसार सही कदम चाल्ने गुण हो। विवेकशील व्यक्तिले भावनात्मक आवेग वा स्वार्थमा आधारित निर्णयबाट टाढा रहन्छ र दीर्घकालीन हित र समग्र समाजको भलाइलाई प्राथमिकता दिन्छ।

विवेक बिना नैतिकता आंशिक मात्र रहन्छ। यसले परिस्थितिजन्य दुरुपयोग वा अत्यधिक कठोरता निम्त्याउन सक्छ। त्यस्तै, नैतिकता बिना विवेकले अत्यन्त दयालु विचारहरूलाई व्यवहारमा लागू गर्न असफल हुन्छ। जब यी गुण एकसाथ जीवनमा अवलम्बन हुन्छन्, तब मात्र व्यक्तिगत प्रगति, सामाजिक स्थायित्व र मानवीय समृद्धि सम्भव हुन्छ।यसैले, जीवनको वास्तविक मार्गदर्शन र दीर्घकालीन सफलता हासिल गर्न नैतिकता र विवेकलाई पृथक होइन, तर सहयात्रीको रूपमा आत्मसात् गर्नुपर्छ। यी मूल्यहरूले मात्र व्यक्तिलाई सक्षम, जिम्मेवार र सच्चा मानव बनाउन सक्छ, जसले आफू मात्र होइन, समाज र राष्ट्रको पनि प्रगति सुनिश्चित गर्छ।

मानव जीवन कर्म र विचारको निरन्तर प्रवाह हो। जीवनको सफलतासँग सम्बन्धित मूल सूत्र नैतिक कर्म र विवेकशील विचारमा निहित हुन्छ। विचार र कर्म जीवनका दुई पंख हुन्, जसले मानिसलाई उच्चतम लक्ष्यतर्फ उड्न सक्षम बनाउँछन्। विचार नै कर्मको बीज हो; मनमा जन्मिएका विचारले भविष्यका क्रियाहरूलाई आकार दिन्छन्। यदि मनमा द्वेष, ईर्ष्या वा अहंकारले स्थान पाउँछ भने, त्यसले कर्मलाई नकारात्मक मार्गमा धकेल्छ।

नैतिक कर्म मानव आत्माको मौलिक गुण हो। कर्मको नैतिकता तब प्रकट हुन्छ जब मानिस व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अरूको हितलाई प्राथमिकता दिन्छ। रामायणमा रामले व्यक्तिगत सुख, राज्यसत्ता र अधिकार त्यागेर धर्म र सत्यको मार्ग रोजे, जसले समाज र जीवनमा शान्ति र समृद्धि ल्यायो। यसले प्रमाणित गर्छ कि नैतिक कर्मले दीर्घकालीन सफलता र सामाजिक स्थायित्व सुनिश्चित गर्दछ।

कर्मशील नागरिक समाजको मेरुदण्ड हुन्। उनीहरूले आफ्नो जिम्मेवारी, कर्तव्य र भूमिकालाई इमान्दारीपूर्वक पूरा गर्छन्। शिक्षामा योगदान, विज्ञान, सिर्जनात्मक क्षेत्र, प्रशासन वा सेवा—जतिसुकै क्षेत्रमा योगदान होस्, त्यसले मात्र व्यक्तिलाई वास्तविक सम्मान दिन्छ। अल्छी, बेपरवाह वा अन्यमा निर्भर रहने प्रवृत्तिले समाजलाई पिछाडी पार्छ, जबकि कर्मशीलता नयाँ सम्भावनाहरू जन्माउँछ।

समावेशी समाज सामाजिक चेतना, मूल्य प्रणाली र दैनिक व्यवहारमा पनि समान अवसर र न्याय सुनिश्चित गर्न आवश्यक छ। विद्यालय, मिडिया, सामाजिक संस्था र परिवारले सानै उमेरदेखि जात, थर होइन, कर्मको महत्त्व बुझाउनुपर्छ। जब प्रत्येक व्यक्तिको योगदान मूल्याङ्कन गरिन्छ, तब समाजमा अनुशासन, सहकार्य, सामाजिक न्याय र दीर्घकालीन समृद्धि सुनिश्चित हुन्छ।

कर्म, विचार र योगदानको सम्मान नै समाजलाई समावेशी, न्यायपूर्ण र प्रगतिशील बनाउने आधारशिला हो। पुराना विभेदकारी सोच र प्रथाहरू त्यागेर मात्र हामी यस्तो समाज निर्माण गर्न सक्छौँ, जहाँ प्रत्येक नागरिकले समान अवसर, सम्मान र आत्मगौरवका साथ जीवन यापन गर्न सक्छ। यही दृष्टिकोण साँचो समावेशी समाजको मार्गनिर्देशक हो।

नैतिक कर्म र विवेकशील विचार जीवन निर्माणको मूल आधार हुन्। विचारले कर्मलाई दिशा दिन्छ र कर्मले विचारलाई फलदायी बनाउँछ। दुवैबीचको सन्तुलनले मात्र जीवनलाई शाश्वत मूल्य, अर्थ र आन्तरिक शान्ति दिन सक्छ। जसरी बीज र पानीको सहकार्यले बिरुवा हुर्कन्छ, त्यसरी नै नैतिक कर्म र विवेकशील विचारको एकता जीवनलाई सफल, सन्तुलित र सार्थक बनाउँछ।जीवन निर्माणको महान् शिल्पी हामी आफैं हौं। हाम्रो हातमा रहेको उपकरण नैविचारको विवेक र कर्मको नैतिकता हो। यसैलाई अपनाउँदा मात्र मानव जीवन एउटा पवित्र साधना र समाज एउटा समृद्ध उद्यान बन्न सक्छ।

यद्यपि, यो यात्रा सहज छैन। आत्मबोधका लागि आत्मचिन्तन आवश्यक हुन्छ, विवेकका लागि निरन्तर अभ्यास र नैतिकताका लागि दृढ प्रतिबद्धता। मानिसले प्रायः बाह्य संसारको आवाजलाई प्राथमिकता दिन्छ, जसले अन्तर्मनको सूक्ष्म आवाजलाई दबाइदिन्छ। त्यसैले यस यात्रामा धैर्य, अनुशासन र आत्मविश्वास आवश्यक हुन्छ।आत्मबोधसँगै अघि बढ्ने नैतिक र विवेकशील जीवन यात्रा मानिसलाई केवल व्यक्तिगत उन्नतितर्फ मात्र होइन, सामूहिक कल्याणतर्फ पनि उन्मुख गराउँछ। यस्तो जीवनले समाजमा सकारात्मक परिवर्तन ल्याउँछ, जहाँ विश्वास, सहकार्य र सद्भावको वातावरण विकास हुन्छ।यसैले, जीवनको साँचो सफलता बाह्य उपलब्धिमा होइन, आन्तरिक सन्तुलन र शान्तिमा निहित हुन्छ। जब मानिसले आफ्नो अन्तरात्मालाई चिन्छ, विवेकलाई मार्गदर्शक बनाउँछ र नैतिकतालाई आचरणमा उतार्छ, तब उसले जीवनको त्यो उच्चतम अवस्था प्राप्त गर्छ, जहाँ प्रगति र शान्ति एकअर्काका पूरक बन्छन्।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन ।)

civil hospital
Hams Hospitals