दलालहरु अझैपनि जनता डुबाउन सक्रिय, सरकार गर्दैन घरजग्गा, गाडी र सेयरमा कडाई !

339
shares

२०८२ फागुन २५ गते नेप्से एक सय ६२ अंकले बढ्यो । एक कित्ता सेयरकै २९ सय ६७ रुपैयाँ पुगेको थियो । दलालहरु भन्थे–सेयर कित्ताकै ३५ सयदेखि ४५ सय रुपैयाँ पुग्नेछ । यद्यपि, त्यसयता सेयरको मूल्य घट्दो छ । अहिले २६ सय कित्तामा झरेको छ । सेयरमा ८३ लाख ६७ हजार सर्वसाधारणले लगानी गरेका छन् ।

एउटै व्यक्तिले दश हजारदेखि खर्बौसम्म लगानी गरेका छन् । बैंक, वित्तिय संस्थाले पनि सेयरमा थुप्रै कर्जा लगानी गरेका छन् । बैंकले मात्र एक खर्ब ६७ अर्ब कर्जा सेयर धितो राखेर प्रवाह गरेको छ । सेयर बैंकसहित हाइड्रोपावर, इन्स्योरेन्सलगायत कम्पनीले एक सय रुपैयाँ प्रतिकित्तामा निष्काशन गर्छन् ।कानून भन्छ–कुनै पनि वस्तुमा २० प्रतिशत बढी नाफा खान मिल्दैन । योभन्दा बढी नाफा खाएमा कालोबजारी लाग्छ ।

यसर्थ, एक सय रुपैयाँको सेयर एक सय २० रुपैयाँमा किनबेच गर्नुपर्छ । तर, यहाँ त २६ सयमा किनबेच भइरहेको छ । अनि यहाँ कालोबजारी लाग्छ कि लाग्दैन ? जलविद्युत कम्पनी दर्ता भएको तीस वर्षपछि त्यसको चल–अचल सम्पत्ति राज्यको हुने कानूनी व्यवस्था छ ।दुई वर्षयता असोजमा आएको बाढीपहिरोका कारण धेरै जलविद्युत कम्पनी डुब्ने अवस्थामा पुगेका छन् । इन्स्योरेन्स कम्पनीहरु पनि संकटमा छन् ।

बर्खायामको बाढीपहिरो र जेनजी आन्दोलनमा भएको खर्बौ क्षतिको भुक्तानी उनीहरुले दिन सकिरहेका छैनन् । सहकारी, लघुवित्त, फाइनान्स त डुबिहाले । बैंकमा पनि समस्या देखिसक्यो ।
बैंकको कर्जा प्रवाह ठप्प छ भने दिएको ऋण पनि असुली भइरहेको छैन । ऋणीहरु धितो लिलाम गर भनेरै हात उठाउँछन् । यद्यपि, धितोबाट ऋणको आधा रकमसमेत नउठ्ने अवस्था छ । यसले बैंक पनि छिट्टै टाट पल्टिने देखिँदैछ । बैंक तथा वित्तिय संस्थाले घरजग्गामात्र धितो राखेर सात खर्ब कर्जा प्रवाह गरेका छन् । गाडीमा पनि खर्बौ कर्जा लगानी गरिएको छ ।

संस्थाका अध्यक्ष, सञ्चालक, कर्मचारीहरुले घुसको प्रलोभनमा घरजग्गा, गाडी र सेयरमा लगानी गरे । शुरुमा कमाएपनि । तर, कृत्रिम रुपमा बढाइएको मूल्य लामो समय टिक्दैन । घरजग्गा, गाडी र सेयरको हकमा पनि यही भयो । रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य जमिन भूमाफियाहरुले प्लटिङ गरेर आनाकै २५ लाखदेखि १४ करोडसम्ममा बेचे ।
एक रोपनीमा १६ आना हुन्छ ।

छिमेकी मुलुक भारत र चीनमा ५० हजारदेखि दश लाख रुपैयाँ पर्ने सवारी साधन अटो शोरुमहरुले अढाई लाखदेखि २४ करोडसम्ममा बेचे । गाडी फलाम, सिसा, कपडा, फर्मलगायतबाट बन्छ । यी वस्तु कवाडले एक रुपैयाँ किलोमा समेत लग्दैन । सेयर त एक सय रुपैयाँ प्रतिकित्तामा निष्कासन गरिएको भइहाल्यो ।यस्तै, वि.सं.२०२२ सालसम्म सुन प्रतितोला ८० रुपैयाँ थियो र चाँदी त सित्तैमा पनि कसैले नलैजाने भन्नेहरु अझै भेटिन्छन् ।

तर, यही सुन केही महिनाअघि तोलाकै चार लाखमा बेचियो त चाँदी दश हजार । यसरी एक सयको सामानमा करोडौं लगानी गरेपछि नडुबेर के हुन्छ ? लगानी गर्नुपूर्व निकै सोच्नुपर्छ ।
विडम्बना, सर्वसाधारणदेखि बैंक, वित्तिय संस्थासम्मले दलालीको लहैलहैमा लागेर लगानी गरे । परिणाम आज हामीसामु छ–सहकारीको भागाभाग चल्यो, सर्वसाधारण डुबे, बैंकमा पनि संकट देखिँदैछ । घरजग्गा, गाडी, सेयरलगायत धितो राखेर सहकारीबाट ६३ लाख, लघुवित्तबाट २७ लाख र बैंकबाट २२ लाख सर्वसाधारणले ऋण लिएका छन् ।

एक लाख रुपैयाँको मासिक पाँचदेखि ३० हजार रुपैयाँमा कर्जा लिने पनि लाखौं छन् । बैंक, वित्तिय संस्थाले कर्जा दिने बेला १२ देखि १८ प्रतिशत ब्याज भन्छन् । तर, २२ देखि ८० प्रतिशतसम्म असुलिन्छ । सेवाशुल्क तीन प्रतिशतसम्म र तीन किस्ता नतिर्नेबित्तिकै धितो लिलाम गरिन्छ । बैंक, वित्तिय संस्थाबाट ऋण लिएकामध्ये पाँच लाख सर्वसाधारण कालोसूचीमा परिसकेका छन् । यो क्रम बढ्दो छ ।

किनकि घरजग्गा, गाडी र सेयरको मूल्य निरन्तर घट्दो छ । बजारमा यी वस्तु बेच्न चाहने त थुप्रै भेटिन्छन् तर किन्ने शून्य बराबर छन् । बाबुराम भट्टराईले अर्थमन्त्री र प्रधानमन्त्री हुँदा ‘घरजग्गा, गाडी र सेयर विलासित वस्तु हुन्, यसमा लगानी गर्दा जुनसुकै बेला डुब्न सकिन्छ’ भनेका थिए । युवराज खतिवडाले पनि अर्थमन्त्री हुँदा यही कुरा दोहोर्याएका थिए ।
राष्ट्र बैंकको गर्भनर हुँदा घरजग्गा, गाडी र सेयरमा लगानी कडाईसमेत गरेका थिए ।

तर, भूमाफिया, दलालहरुले त्यसको विरोध गर्दै सर्वसाधारणमा भ्रम फैलाए । घरजग्गा, गाडी र सेयरमा लगानी गर्न लगाए । तैपनि बैंक, वित्तिय संस्थाबाट ऋण लिन लगाए । त्यसरी यी क्षेत्रमा लगानी गरेका सर्वसाधारण आज मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् ।एकातिर जायजेथा सबै गुमाएका छन्, अर्कोतिर कालोसूचीमा परेका छन् । उनीहरुको सन्ततिको भविष्यसमेत अन्योलमा परेको छ । बस्ने ठाउँ छैन ।

यसले कतिपयले सहन नसकेर आत्महत्याको बाटोसमेत रोजेका छन् । एउटै व्यक्तिको काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा पाँचदेखि ६७ वटासम्म घर पाइन्छ । जग्गा पनि दर्जनौं ठाउँमा छ । एउटै परिवारमा दर्जनौं निजी सवारीसाधन छन् । अब प्रश्न उठ्छ–यसमा गरिएको लगानीले के आम्दानी हुन्छ ? घर ढुंगा, माटो, सिसा, सिमेण्टीलगायतबाट बन्छ ।
भूकम्प आउनासाथ घर भत्किन्छ । जग्गा खेती गर्न हो । भूमाफियाहरुले टुक्राटुक्रा पारेर घर बनाउन सिकाए ।

तर, जग्गामा घर बनाउनै रोक लगाइएमा के होला ? एक आना जग्गामै करोडौं लगानी गरिएको छ, त्यो जग्गामा घर बनाउन नपाइने हो र खेतीपाती गर्नुपर्यो भने के हुन्छ ? जीवनभर खेतीपाती गर्दासमेत त्यो लगानी उठ्दैन ।सेयर त एक सय रुपैयाँ कित्ताको भइहाल्यो । यदि सरकारले सेयर एक सय २० रुपैयाँ कित्तामा मात्र किनबेच गर्न पाइने नीति ल्याएमा २६ सय हालेर किन्नेहरुको के होला ? कुनै पनि क्षेत्रमा लगानी गर्दा निकै सोचविचार गर्नुपर्छ, त्यो पनि दीर्घकालीन रुपमा ।

यहाँ त सरकार नै जनता डुबाउन लागिपर्यो । भूमाफिया, दलालहरुले घरजग्गा, गाडी र सेयरको मूल्य कृत्रिम रुपमा बढाइरहे । सरकारले लगानी गर्न प्रोत्साहन गरिरह्यो ।
पmलस्वरुप आज मुलुककै अर्थतन्त्र गम्भीर अवस्थामा पुग्यो । यदि अझै पनि सरकारले यी क्षेत्रमा कडाई नगर्ने हो भने डुब्न बाँकी रहेका सर्वसाधारण पनि डुब्नेछन् ।

बाबुराम र युवराजले सचेत गराउँदै सर्वसाधारणले यी वस्तुमा लगानी गर्न रोकेको भए र सरकारले पनि कडाई गरेको भए आज यो अवस्था आउने नै थिएन । अब डुब्ने त डुबिसके, नडुबेका बचौं, सचेत हौं । लगानी गर्नुपूर्व सोचौं ।

 

civil hospital
Hams Hospitals