सिंहदरवारका हजारौं कर्मचारीहरूको भीडमा पनि गन्न सकिने तिमी मेरा प्रिय साथी उमेश
वि.सं.२०८३ असार ३ बुधवार
shares
प्रिय साथी,
सिंहदरवारका हजारौं कर्मचारीहरूको भीडमा पनि गन्न सकिने तिमी मेरा प्रिय साथी हौ, र म तिम्रो साथी हुन पाएकोमा आफूलाई भाग्यमानी ठान्छु।
मैले सिंहदरवारमा पाइला राख्दा आक्कलझुक्कल तिम्रो र मेरो भेट भीडभाडमा हुन्थ्यो, तर हामीबीच खासै आत्मीयता थिएन होला। न त बोलचाल नै भएको थियो। तिमी मलाई देख्थ्यौ, म तिमीलाई देख्थें। तर करिब तीन वर्षअघि, सायद यही महिनातिर, तिमीसँग म प्रत्यक्ष रूपमा बोल्न थालेँ। त्यसयता साथी भनेको के हो, सुख–दुःखको आत्मीयता कस्तो हुन्छ भन्ने कुरा मैले अनुभूति गर्न थालेँ।
मैले तिमीलाई एक कर्मचारीको रूपमा करिब पाँच–छ वर्षदेखि चिनेको हुँ। तर तिमीलाई मित्रको रूपमा स्वीकार गर्नुको कारण तिमीभित्रको मानवीय संवेदनशीलता नै हो।
सायद तिमीलाई याद छ—कर्णालीतिरबाट आएका एक कर्मचारीले कामका लागि निवेदन सह–सचिवसमक्ष पेश गर्दा “अहिले काम हुँदैन, तल निवेदन लिएर जानुहोस्” भनिएको थियो। ती कर्मचारी तिम्रो कार्यकक्षमा आएर सोही कुरा बताएपछि, केही दिनपछि अर्को समान प्रकृतिको निवेदन लिएर अर्को व्यक्ति आए।
त्यसपछि तिमीले पहिलेका सबै निवेदनसहित सह–सचिवकहाँ गएर स्पष्ट रूपमा भन्यौ—“एउटै प्रकृतिको काममा किन विभेद?” तिम्रो अडानका कारण अन्ततः दुवै काम अघि बढे। ती सेवाग्राहीहरूको अनुहारमा देखिएको खुशी शब्दमा बयान गर्न सकिँदैन। उनीहरूले तिमीलाई बारम्बार धन्यवाद दिएका थिए। तर तिमीले विनम्रतापूर्वक भनेका थियौ—“म तपाईंको दाइ उमेरको मात्रै हुँ, मैले सकेको सहयोग गरेको हुँ, यसमा मलाई लज्जित नबनाउनु।”
यस्तै गरी महिनौँदेखि पदस्थापन नपाएका कर्मचारी, दुर्गमबाट सेवा लिन आउने सेवाग्राही सबैप्रति तिमीले देखाएको सदासयता, सहयोगी भावना र न्यायप्रतिको अडान सबैले महसुस गरेका छन्।
साथी, मैले तिमीलाई साथी बनाउनुको कारण यिनै घटना मात्र होइनन्, यी त केवल प्रतिनिधि उदाहरण मात्र हुन्। तिमी बोलीमा कडा छौ, अन्याय सहन सक्दैनौ, देखेको कुरा स्पष्ट रूपमा बोल्छौ—यो तिम्रो स्वभाव हो। तिम्रो अन्तरात्मा अत्यन्त दयालु छ।
तर साथी, तिमी छिट्टै विश्वास गर्छौ र कहिलेकाहीँ धोका पनि पाउँछौ। यो तिम्रो कमजोरी हो। अहिलेसम्म तिमीले पाएका धेरै धोका तिमीलाई नजिक भएर पछाडिबाट चोट दिनेहरूबाटै आएका छन्। कहिलेकाहीँ तिमीलाई प्रयोग गरिएको कुरा तिमीले पनि ढिलो थाहा पाउँछौ।
हालै तिम्रो सरुवाको कुरा सुनेँ। सरुवा त नियमित प्रक्रिया हो, तर यस पटकको सरुवालाई धेरैले सामान्य रूपमा लिएका छैनन्। तिमीलाई तिम्रै नजिकका भनिएका व्यक्तिहरूसँगै जोडेर गरिएको सरुवा भएको भन्ने अनुभूति धेरैको छ।
हो, तिम्रा कतिपय नजिकका भनिएका व्यक्तिहरूले ट्रेड युनियनका नाममा व्यक्तिगत स्वार्थ पनि हेरेको हुन सक्छ। तर तिमीलाई पनि त्यही समूहसँग मिसाएर गरिएको निर्णयप्रति म सहमत हुन सकेको छैन।
तर जे भए पनि, तिमीले कहिल्यै कसैको कुभलो चिताएका छैनौ। न त कहिल्यै घुस, कमिसन वा अनैतिक लाभका पछाडि लागेका छौ। तिमी नैतिक रूपमा उच्च छौ र सधैं रहनेछौ।
तिम्रो नाम नाम होइन, राजपत्र अनंकित कर्मचारीहरूको बीचमा एउटा ब्रान्ड हो। यो छवि सधैं कायम राख्नु।
तिमीले अन्याय र बेथितिविरुद्ध आवाज उठाइरहनु। तर एक कुरा पनि याद राख—जसले तिमीलाई गलत देखाउने प्रयास गरे, त्यसको हिसाब समयले अवश्य गर्छ। न्याय र अन्यायको हिसाब राख्ने शक्ति जीवनले आफैं व्यवस्था गर्छ।
तिमी जहाँ भए पनि सधैं खुसी रहनु।
सधैं तिम्रो भलो चाहने साथी





























