पटक–पटक काठमाडौं बसेका कर्मचारीको मन्त्रालयमै ‘रजगज’
वि.सं.२०८३ साउन १२ मंगलवार
shares
काठमाडौं । अध्ययन बिदामा बसेका केही निजामती कर्मचारी अध्ययन पूरा भएपछि पनि विभिन्न राजनीतिक तथा प्रशासनिक पहुँच प्रयोग गर्दै नयाँ सरकार बनेसँगै विभिन्न मन्त्रालय र विभागमा जिम्मेवारी लिँदै आएका छन्। अध्ययन सकिएपछि पनि सोर्सफोर्स र प्रभावका आधारमा मन्त्रालयमै बस्ने प्रवृत्तिलाई सरकारले नै संरक्षण गरिरहेको आरोप छ।
अध्ययन बिदामा बसेका केही कर्मचारीले अध्ययन पूरा भएपछि पनि सामान्य सरुवा तथा पदस्थापन प्रक्रियाअनुसार जिम्मेवारीमा नखटिई पहुँच र प्रभावका आधारमा काठमाडौं उपत्यकाभित्रका आकर्षक कार्यालय तथा मन्त्रालयमा बस्ने वातावरण बनाएको आरोप छ।
शाखा अधिकृत नित्यराज भट्टराई र सञ्जय अधिकारी लामो समयदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमै कार्यरत रहेको तथा उनीहरूलाई मन्त्रालयभित्रै राख्न सरकार र मन्त्रालय नेतृत्वबाट संरक्षण भइरहेको आरोप छ।
“सरकारले सुशासन, पारदर्शिता र कर्मचारी व्यवस्थापनका नीति तथा मापदण्डको कुरा गरे पनि पहुँचका आधारमा लामो समयदेखि मन्त्रालयमै बसिरहेका कर्मचारीलाई हटाउने विषयमा प्रभावकारी कदम चालेको देखिँदैन,” मन्त्रालयका एक कर्मचारीले भने।
लोक सेवा आयोग तथा अन्य संवैधानिक निकायमा समेत केही कर्मचारी लामो समयदेखि कार्यरत रहेको विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ध्यान पुगेको छैन। केही कर्मचारी विगत दुई दशकभन्दा बढी समयदेखि एउटै कार्यालय वा निकायमा कार्यरत रहेको दाबी गरिएको छ।
“उपसचिवदेखि शाखा अधिकृत र नायब सुब्बासम्मका कर्मचारी लामो समयदेखि एउटै कार्यालयमा बसिरहेका छन्। तर, उनीहरूको व्यवस्थापन र नियमित सरुवाका विषयमा सरकार वा सम्बन्धित निकायको ध्यान गएको देखिँदैन,” एक कर्मचारीले बताए।
लामो समयदेखि एउटै कार्यालयमा कार्यरत केही कर्मचारीले आफूलाई निजामती सेवा सम्बन्धी सरुवा तथा पदस्थापनका सामान्य मापदण्डभन्दा बाहिर राख्दै आएको आरोप छ। उनीहरू राजनीतिक तथा प्रशासनिक पहुँचकै भरमा वर्षौंदेखि उपत्यकाभित्रका कार्यालयमा बस्न सफल भएको दाबी गरिएको छ।
यता, नयाँ सरकार गठन भएपछि काठमाडौं उपत्यकामा लामो समयदेखि कार्यरत कर्मचारीको व्यवस्थापनभन्दा उपत्यकाबाहिरबाट हालै मात्र आएका कर्मचारीलाई पुनः बाहिर पठाउने काममा बढी ध्यान दिइएको गुनासो छ।
उपत्यकाबाहिरबाट आएका केही कर्मचारीलाई एक वा दुई वर्ष पनि पूरा नहुँदै पुनः उपत्यकाबाहिर सरुवा गरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूका अनुसार लामो समयदेखि काठमाडौंमै कार्यरत कर्मचारीलाई भने नचलाइने, तर भर्खर उपत्यकामा आएका कर्मचारीलाई मात्र छानीछानी बाहिर पठाउने प्रवृत्ति देखिएको छ।
केही कर्मचारीले आफूहरूलाई दुई वर्षसमेत पूरा नहुँदै फाजिलमा राख्ने अवस्था सिर्जना गरिएको गुनासो गरेका छन्।
स्रोतका अनुसार लामो समयदेखि आयोग तथा मन्त्रालयमा कार्यरत केही कर्मचारीले पुनः सोर्सफोर्स र प्रभाव प्रयोग गरी उपत्यकाभित्रै बस्ने वातावरण मिलाउँदै आएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सम्बन्धित महाशाखा तथा शाखाले समेत उनीहरूलाई उपत्यकाबाहिर पठाउनुको सट्टा उपत्यकाभित्रकै एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा गरेको आरोप छ।अहिलेसम्म यी कर्मचारीहरु भने पालीका बसेका छैनन ।





























