कर्मचारी सरकारी, काम दलाली !
वि.सं.२०८३ साउन २७ बुधवार
shares
शिक्षकको काम हो–विद्यार्थी पढाउने । सरकारी कर्मचारीको काम हो–सेवाग्राहीलाई सेवा दिने । तर, सरकारी मास्टर र कर्मचारी आफ्नो जिम्मेवारी छोडेर जग्गा दलालीको काम गर्दै हिँडेका छन् । जग्गा चाहिनेलाई उनीहरुले देखाउँछन् । बीचमा बसेर कमिशन खान्छन् । पछिल्लो समय यो गतिविधिमा व्यापक वृद्धि भएको छ ।
स्कुल र अफिस टाइममा समेत उनीहरु जग्गा देखाउन हिँड्छन् । यो पदको दुरुपयोग हो । त्यति मात्र नभई उनीहरुले सरकारी गाडीको दुरुपयोग गरिरहेका छन् । जग्गा देखाउन जाँदा उनीहरु सरकारी गाडीको प्रयोग गर्छन् । जनताले तिरेको करबाट तलब खाने, कामचाँहि जग्गा दलाली गर्ने ।सेयरमा लगानी गर्ने सांसद, कर्मचारी र शिक्षक यत्तिकै छन् । दिँउसो ११ बजेदेखि ३ बजेसम्म सेयर बजार सञ्चालन हुन्छ । कर्मचारीहरु त्यसमै झुलिएका हुन्छन् । आफ्नो कामकाज नै छोडेर उनीहरु सेयर कारोबार हेरेर बस्छन् । सेयर घट्यो कि बढ्यो ? उनीहरुको ध्यान त्यतैतिर हुन्छ ।
बहालवालाले मात्र नभई भूपू कर्मचारीले पनि यहीँ गरिरहेका छन् । उनीहरुको पेशा घरजग्गा दलाली गर्ने, एजेण्टको काम गर्ने, गाडी किन्न अटोशोरुममा मान्छे लग्ने । राज्यबाट पेन्सन खाने, जग्गा दलाली गर्ने । जग्गा देखाउने कमिशन खाने । म्यानपावर कम्पनीमा मान्छे लैजाने, कमिशन बुझ्ने ।अटोशोरुममा गाडी खरिदकर्ता लगिदिने, कमिशन खाने । कर्मचारीहरुले बिचौलिया काम गर्दा तिनलाई राष्ट्रसेवक भन्न पनि लाजमर्दो अवस्था सिर्जना भएको छ । यता, सरकारी कर्मचारीले मीटरब्याजमा पनि पैसा लगाउँछन् । भूपूदेखि बहालवाला कर्मचारी सो काममा संलग्न छन् ।
एक करोड मूल्य पर्ने घरजग्गालाई ५० लाख दिने, चुक्ता गर्न ६ महिनाको समयावधि दिने । मासिक ब्याज पनि लिने, तोकिएको अवधिमा पैसा चुक्ता नगरेमा सम्पत्ति खाइदिने । उनीहरुले ऋण दिँदा जायजेथो आफ्नो नाममा गरिसकेका हुन्छन् । गाडीको हकमा पनि त्यही भइरहेको छ ।२० लाख पर्ने गाडीलाई १० लाख ऋण दिने । महिनाको तीन हजारदेखि पाँच हजार ब्याज लिने, तोकिएको समयमा पैसा नतिरे गाडी पचाइदिने । बहालवाला र भूपू कर्मचारीले घर भाडामा लगाउने, सरकारलाई घरबहाल कर नतिर्ने । जागिर खाँदा राज्यबाट तलब लिने, अवकाशमा गएपछि पेन्सन बुझ्ने, राज्यलाई करचाँहि नतिर्ने ।
सरकारले सरकारी कर्मचारीलाई ‘राष्ट्रसेवक’ भन्छ । राष्ट्रसेवकको काम राष्ट्रको सेवा गर्नु हो । तर, सरकारी कर्मचारी राष्ट्रलाई सेवा गर्ने होइन, हानि पुर्याउने काम गरिरहेका छन् । कर छल्छन्, घुस खान्छन्, दलालको काम गर्छन् । यस्ता कर्मचारीलाई कसरी राष्ट्रसेवक भन्ने ?सरकारी कर्मचारी घरजग्गा, सेयर कारोबारमा संलग्न हुनुमा सरकारकै हात छ । सरकार रोक नै लगाउन सक्दैन । सेवाग्राहीलाई लाइनमा उभ्याउने अनि सरकारी कर्मचारी सेयर कारोबार गरेर बस्ने । जागिर लगाइदिने भन्दै पैसा उठाउने गैरकानुनी धन्दा पनि कति सरकारी कर्मचारीले गरेका छन् ।
आफ्नो घरमा दुई तीन वर्ष काममा लगाउने अनि सरकारी सेवामा छिराइदिने । यो बेतिथि व्यापक छ । १६ वर्ष मूनिका बालबालिकालाई सरकारी कर्मचारीले आफ्नो घरमा घरेलु कामदारका रुपमा राख्छन् । सरकारले अनुगमन गर्ने हो भने सरकारी कर्मचारीको घरमा घरेलु कामदारका रुपमा बसेका बालबालिका छ्याप्छ्याप्ती भेटिन्छन् ।अफिस टाइममा सरकारी कर्मचारी राजनीतिक गफ गरेर बस्छन् । राजनीतिक दलको कार्यक्रममा जान्छन् । मास्टरी पेशामा त झन् यो बढी छ । सरकारले एउटा कर्मचारीले गर्ने कामका निम्ति २०–२५ जना राखेको छ । कति स्थायी छन्, कति ज्यालादारी, करार र स्रोतबाट तलब खाने छन् ।
ज्यालादारी, करार र स्रोतबाट तलब खानेमा सबै राजनीतिक दल, सरकारी कर्मचारीका आफन्त छन् । ज्यालादारी, करार र स्रोतबाट तलब खाने आफ्नालाई भर्ती गर्ने माध्यम मात्र हो । ती कर्मचारीबाट राज्यलाई आर्थिक भार मात्र थुप्रिरहेको छ । सरकारबाट तलब खान्छन्, उनीहरु दलालको काम गर्दै हिँड्छन् ।अस्थायी कर्मचारीलाई समेत जनताले तिरेको करबाट पोशाक दिनुपर्ने बाध्यता छ । आर्मी, पुलिस, सशस्त्रबाट अवकाश प्राप्तहरु सेक्युरिटी गार्ड, नगर प्रहरीको काम गरिरहेका छन् । निजामती सेवाबाट रिटायर्डहरु बैंक तथा वित्तिय संस्था, संघसंस्थामा छन् । राजनीतिमा पनि भूपू कर्मचारी नै बढी छन् ।
जनताले जागिर खाने ठाउँमा उनीहरु हाबी छन् । अनि जनताचाँहि कहाँ जाने ? पहुँच भएकाहरु ज्यालादारी, करारमा छिर्छन् । नहुनेलाई केही न केही । सरकारी कर्मचारी थपक्क पेन्सन खाएर बस्ने हो भने सेक्युरिटी गार्ड र नगर प्रहरीमा युवाले जागिर पाउँथे । संघसंस्थामा पनि उनीहरुलाई जागिर दिन्थ्यो ।विडम्बना, पदमा हुँदा पनि सरकारी कर्मचारीले दलाली गर्न र भ्रष्टाचार गर्न छोड्दैनन्, जागिरबाट अवकाश पाइसकेपछि पनि जनताको अधिकार खोस्न छोड्दैनन् । आइतबार सार्वजनिक बिदा दिएपछि कार्यालय समय बिहान ९ बजेदेखि ५ बजेसम्म कार्यालय समय तोकिएको छ ।
तर, कर्मचारी ११ बजे कार्यालय पुग्ने क्रम रोकिएको छैन । ३ बजेउता राजश्व लिइँदैन । अनि जनता बाध्य भएर लेखनदासमार्फत काम गराउन बाध्य छन् । कार्यालय खुल्दासम्म राजश्व लिने व्यवस्था सरकारले मिलाउनुपर्यो । यसो गर्दा राज्यको ढुकुटीमा पैसा आयो । एउटै कामका लागि सर्वसाधारणलाई पटकपटक सरकारी कार्यालय धाउनुपरेन ।एकपटक जाँदा तिर्ने पालो नआएपछि भोलिपल्ट फेरि को जान्छ ? तिरौला भन्छ, तिर्दै तिर्दैन । कार्यालय समयमा कर्मचारी कहाँ छन् ? दिनभर कुन कर्मचारीले कति काम गरे ? मूल्यांकन गरिँदैन । कर्मचारीको निगरानी गर्ने काम कार्यालय प्रमुखको हो । हाकिम नमस्ते खाँदै मख्ख छन् ।
सरकारी कार्यालयमा प्रायः कर्मचारी आफ्नो कार्यकक्षमा हुँदैनन् । हाकिमको कोठामा गफ छाडेर बस्छन् । हाकिमलाई भेटेपिच्छे नमस्ते ठोक्छन् । ई हाजिरी बिगारेर रजिष्ट्रारमा हाजिरी गर्छन् । एकैपटक महिनाभरको हाजिरी गर्ने क्रम अहिलेपनि रोकिएको छैन । सरकारी कार्यालयमा सरकारी कर्मचारीले नै क्यान्टिन सञ्चालन गरेका छन् ।आफ्नो जिम्मेवारी छोडेर उनीहरु क्यान्टिनमा काम गर्छन् । बत्ती र पानीको पैसा पनि तिर्दैनन् । यसरी देश बन्छ ? जनताले सहज रुपमा सेवा पाउँछन् ? यहाँ अनुगमन कसले गर्ने ? जुनसुकै सरकार आएपनि कर्मचारीको मनोमानी रोकिएको छैन । सरकारको निर्णयमा केही असहमति हुनेबित्तिकै आन्दोलन गर्छन् ।
सरकारी कर्मचारीले आन्दोलन गर्न मिल्छ ? आन्दोलन गर्ने कर्मचारीलाई सरकारले कारबाही गर्नुपर्ने होइन ? तर, सरकार तिनको माग पुरा गरिदिन्छ । सरकारले करार, ज्यालादारीको कर्मचारी हटाउने निर्णय गरेको थियो । तर, उनीहरु आन्दोलनमा उत्रिएपछि साउन १ गतेदेखि ती कर्मचारीलाई हाजिरी गर्न दिइयो ।
कर्मचारीहरु स्वयं भ्रष्टाचारी छन् तर नेताहरुले गर्दा देश सकियो भन्छन् । एउटाले अर्कोलाई दोष लगाउने, पन्छिने । सरकारी कर्मचारी आफूजति इमान्दार कोही छैन भन्छन् । तर, देश बगार्नमा कसको कति हात छ ? छर्लङ्ग भइसकेको छ । सबैको एजेण्डा एउटै छ–देश लुट्ने ।





























