Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

खानिखोलाका प्रहरीको छुट्टै खाने मेसो 

300
shares

 

धादिङ । धादिङको खानिखोला क्षेत्रमा प्रहरीको भूमिकामाथि गम्भीर प्रश्न उठेको छ। स्थानीय व्यवसायी तथा युवाहरूले खानिखोला प्रहरीका केही कर्मचारीमाथि सडकमा सञ्चालन हुने सवारीसाधनदेखि अवैध गतिविधिसम्ममा बेवास्ता गरेको आरोप लगाएका छन्।

खानिखोलादेखि मछेडीखोलासम्म सञ्चालन हुने टिपर, ट्र्याक्टरलगायतका सवारीसाधनबाट नियमित रूपमा रकम उठाउने गरेको आरोप छ। मासिक रूपमा प्रतिगाडी १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म उठाउने गरिएको आरोप छ ।

लाइसेन्स, बिलबुकलगायत आवश्यक कागजात नभएका मोटरसाइकल तथा अन्य सवारीसाधनसमेत सडकमा निर्वाध रूपमा सञ्चालन भइरहे पनि प्रहरीले प्रभावकारी निगरानी नगरेको स्थानीयको गुनासो छ।

एक स्थानीय व्यवसायी युवाले  केही प्रहरी कर्मचारीले रातिको समयमा स्थानीयसँगै बसेर माछा मार्ने, तास खेल्ने तथा खेलाउनेलगायतका गतिविधिमा संलग्न हुने गरेको दाबी गरे। उनका अनुसार प्रहरीको यस्तो व्यवहारका कारण गैरकानुनी गतिविधि गर्नेहरूमा समेत प्रहरीको संरक्षण रहेको जस्तो अवस्था सिर्जना भएको छ ।

खानिखोलादेखि मछेडीखोलासम्म सडकमा हुने गतिविधिमा प्रहरीको प्रत्यक्ष वा अप्रत्यक्ष संरक्षण रहेको आरोपसमेत स्थानीयले लगाएका छन्। प्रहरीको नियमित निगरानी कमजोर हुँदा कागजातविहीन तथा नियमविपरीत चल्ने सवारीसाधन बढेको र त्यसको असर सडक सुरक्षामा परेको स्थानीयको भनाइ छ।

स्थानीयका अनुसार पछिल्लो समय उक्त क्षेत्रमा सवारी दुर्घटनासमेत बढिरहेका छन्। सडकमा नियमविपरीत सञ्चालन हुने सवारीसाधनमाथि प्रभावकारी कारबाही नहुँदा दुर्घटनाको जोखिम बढेको उनीहरूको गुनासो छ।

स्थानीयले आरोपको निष्पक्ष छानबिन गर्न, खानिखोला क्षेत्रमा कार्यरत प्रहरी कर्मचारीको गतिविधि तथा सवारीसाधनमाथिको निगरानी प्रणालीबारे अनुसन्धान गर्न र दोषी पाइए कारबाही गर्न माग गरेका छन्।

प्रहरीजस्तो संवेदनशील संस्थामाथि लगाइएका यस्ता आरोपको सत्यतथ्य सम्बन्धित प्रहरी कार्यालय तथा उच्च तहबाट छानबिन हुनु आवश्यक देखिन्छ। आरोप सही भए संलग्नमाथि कारबाही र गलत भए आरोपको खण्डनमार्फत वास्तविकता सार्वजनिक गर्नुपर्ने स्थानीयको माग छ।

civil hospital
Hams Hospitals