यता कि उता: स्मृति, सम्बन्ध र समयको अन्तर्यात्रा

543
shares

 

 

 

डा. शरद परासर मरहट्ठा नेपाली साहित्य, शिक्षा र बौद्धिक विमर्शका क्षेत्रमा परिचित व्यक्तित्व हुनुहुन्छ। उहाँका विचारमा साहित्य समाज, समय र मानवीय संवेदनालाई बुझ्ने सशक्त माध्यम हो। अध्ययन, अनुसन्धान र सिर्जनशील चिन्तनमा उहाँको विशेष रुचि देखिन्छ। समकालीन नेपाली समाजका विविध पक्षलाई सूक्ष्म रूपमा नियाल्दै उहाँले साहित्यिक तथा बौद्धिक बहसमा आफ्ना दृष्टिकोण प्रस्तुत गर्दै आउनुभएको छ। उहाँको व्यक्तित्वमा ज्ञान, अनुभव र सामाजिक उत्तरदायित्वको समन्वय पाइन्छ। सरल अभिव्यक्ति, गहिरो चिन्तन र विषयवस्तुप्रतिको गम्भीरताले उहाँका विचारलाई प्रभावकारी बनाउँछ। नेपाली साहित्यिक क्षेत्रमा उहाँको योगदान अध्ययन र विमर्शका दृष्टिले महत्त्वपूर्ण मानिन्छ।

“गाइगोठका कुरा भो… नसोधौँ होला, गाउँबेँसीको दैनिकी, घाँसकुँडोको साँझबिहान, डालेघाँसको पुग नपुग सबै सबै, पुरानो चलचित्रको कथाजस्तै विस्मृतिमा पुगेका कुरापनि सोध्दिन।”

डा. शरद परासरको कविता सङ्ग्रह ‘यता कि उता’ यिनै पङ्क्तिबाट सुरु हुन्छ र यहीँबाट यसको सम्पूर्ण काव्यिक यात्रा पनि सुरु हुन्छ। तर यो आरम्भ गाउँको खबर नसोध्ने बहानाबाट भए पनि अन्ततः गाउँ, घर, आमा, बा, माटो, स्मृति, विस्थापन, श्रम, प्रेम, युद्ध, कृषि, परदेश, समय र मानवीय अस्तित्वका सबैभन्दा असह्य प्रश्नहरू सोध्दै अघि बढ्छ। त्यसैले ‘यता कि उता’लाई कविताको पुस्तक भनेर पढ्नु यसको वास्तविक आयामलाई घटाउनु हो। यो घर छोडेर हिँडेका मानिसहरूको मानसिक भूगोल हो। यो गाउँबाट शहर, देशबाट विदेश, वर्तमानबाट स्मृति र शरीरबाट आत्मातिर भएको निरन्तर यात्राको काव्यिक अभिलेख हो। अझ गहिरो अर्थमा भन्नुपर्दा, यो  सम्बन्ध र अस्तित्वबीच पैदा भएको दूरीको पुस्तक हो।

साहित्यमा केही कृतिहरू पढिन्छन्, केही कृतिहरू सम्झिइन्छन् र केही कृतिहरूले पाठकलाई पढ्छन्। ‘यता कि उता’ तेस्रो कोटिको पुस्तक हो। यसले पाठकलाई उसको आफ्नै जीवनका प्रश्नहरूको अगाडि उभ्याउँछ। “तँ यता बस्छस् कि उता?” भन्ने बुवाको प्रश्न वास्तवमा परदेशिएको छोरालाई सोधिएको प्रश्न मात्र होइन, यो आधुनिक नेपाली जीवनको मूल अस्तित्वगत प्रश्न हो। मानिस कहाँ बस्छ? जहाँ उसको शरीर छ त्यहाँ कि जहाँ उसको स्मृति छ त्यहाँ? जहाँ उसको रोजगारी छ त्यहाँ कि जहाँ उसको सम्बन्ध छ त्यहाँ? जहाँ उसको आर्थिक भविष्य सुरक्षित छ त्यहाँ कि जहाँ उसको आत्माले आफूलाई चिन्छ त्यहाँ? यही द्वन्द्वमा ‘यता कि उता’को सम्पूर्ण दर्शन उभिएको छ।

परासर कृषिविज्ञ हुन्। तर उनको कविता खेतको माटो, किसानको पसिना, ऋणको बोझ, मौसमको अनिश्चितता र गाउँबाट हराउँदै गएको श्रमको आत्माबाट जन्मिन्छ। यस अर्थमा उनको कवि दृष्टि पेशागतभन्दा धेरै गहिरो सामाजिक छ। उनी खेतलाई खेतलाई सभ्यताको स्मृति, श्रमको नैतिकता र मानिसको अस्तित्वसँग जोडिएको भूमि मान्छन्। यही कारण रामलखनहरू अझै खेत जोतिरहेछन् भन्ने पङ्क्ति एउटा किसानको दृश्य मात्र रहँदैन। त्यसले राज्य, युद्ध, अर्थतन्त्र, वर्ग, श्रम र अस्तित्वका अनेक तहलाई एकैचोटि छोइदिन्छ।

“शान्ति सुरक्षाका पहराहरू एम्बुसको ध्वनिसँगै उडेको बेला

शहरहरू मौन, बस्तीहरू स्तब्ध, सबै चुपचाप रहेको बेला

युगका बलिष्ट मानसपुत्रहरू धर्ती फोरीरहेछन्,

रामलखनहरू अझै खेतजोतिरहेछन्।”

युद्ध चलिरहेको छ। राज्यको सुरक्षा संरचना अस्थिर छ। समाज डरले जमेको छ। तर किसान खेतमा छ। यहाँ परासरको काव्यदृष्टिले एउटा अत्यन्त गम्भीर प्रश्न उठाउँछ, इतिहास कसले धानिरहेको हुन्छ? बन्दुक बोक्नेहरूले कि हलो बोक्नेहरूले? सत्ता परिवर्तन गर्नेहरूले कि अन्न उत्पादन गर्नेहरूले? कविले उत्तर घोषणा गर्दैनन्; “रामलखन”लाई खेतमा उभ्याएर पाठकलाई आफैँ उत्तर खोज्न बाध्य बनाउँछन्। यही काव्यिक संयम उनको शक्ति हो।

‘यता कि उता’को सबैभन्दा ठूलो उपलब्धि यसको घर सम्बन्धी दर्शन हो। नेपाली साहित्यमा घरको स्मृति नयाँ विषय होइन। लक्ष्मीप्रसाद देवकोटाको कवितामा मातृभूमि र मानवीय करुणा छ। भूपी शेरचनमा आधुनिक नागरिकको विडम्बना छ। गोपालप्रसाद रिमालमा सामाजिक विद्रोह छ। माधवप्रसाद घिमिरेमा प्रकृति, प्रेम र सांस्कृतिक स्मृति छ। परासर भने घरलाई यिनीहरूको बीचबाट एउटा नयाँ कोणमा हेर्छन्।घर अब स्थिर भूगोल होइन, अनुपस्थितिको केन्द्र हो। घरमा नबस्नेहरूको जीवनमा घर झन् ठूलो हुँदै जान्छ। दूरी बढ्दै जाँदा घरको आकार घट्दैन; बरु स्मृतिमा फैलिन्छ।

“हरेक वर्ष दशैँ आउँछ, जमरा आउँदैन

टाढाबाट आशीर्वाद आउँछ, टीका आउँदैन

दशैँपछि तिहार आउँछ, मखमली आउँदैन

दिदीबहिनीहरू आउँछन्, ‘बहिनी’ आउँदिन।”

यी पङ्क्तिहरूको सरलता नै तिनको विस्फोटक शक्ति हो। यहाँ कुनै जटिल प्रतीकको प्रदर्शन छैन। तर जमरा, टीका, मखमली र बहिनी यी चार शब्दले सम्पूर्ण नेपाली डायस्पोराको मनोविज्ञान खोलिदिन्छन्। उत्सव उपस्थित छ तर आत्मीयता अनुपस्थित छ। संस्कार बाँकी छ तर स्पर्श हराएको छ। पात्रहरू आउँछन् तर आफ्नो मान्छे आउँदैन। यसलाई मनोवैज्ञानिक दृष्टिले हेर्दा यो अनुपस्थितिको उपस्थिति हो। अस्तित्ववादी दृष्टिले हेर्दा यो स्वतन्त्र छनोटको मूल्य हो। आर्थिक दृष्टिले हेर्दा यो श्रम आप्रवासनको मूल्य हो। सांस्कृतिक दृष्टिले हेर्दा यो उत्सवको विखण्डन हो।

यहीँ परासरको कविता विश्वसाहित्यसँग संवाद गर्न थाल्छ। पाब्लो नेरुदाले प्रेम, श्रम, प्रकृति र राजनीतिक इतिहासलाई व्यक्तिगत संवेदनासँग मिसाएझैँ परासरले पनि निजी अनुभवलाई सामाजिक भूगोलमा रूपान्तरण गर्छन्। तर नेरुदाको भाषा धेरैपटक समुद्रजस्तो विशाल र उच्छ्वासपूर्ण हुन्छ भने परासरको भाषा गाउँको आँगनजस्तो आत्मीय र बोलिचालीको छ। सेमस हिनीले आयरल्यान्डको माटो, खेती, स्मृति र पारिवारिक इतिहासलाई कवितामा उतारेझैँ परासरले नेपाली माटो र श्रमलाई काव्यिक अर्थ दिएका छन्। परासरको कवितामा भने कवि आफैँ कलम लिएर खेतमा फर्किन्छन् र श्रम गर्ने रामलखनलाई इतिहासको केन्द्रमा राख्छन्। यस अर्थमा परासरको कृषि चेतना केवल विषय होइन, काव्यको नैतिक आधार हो।

अर्कोतर्फ, विस्थापन र स्मृतिको प्रश्नमा परासरको संवेदना डब्ल्यु. एच. अडेन, डेरेक वाल्कट वा महमुद दर्विशका काव्यिक भूगोलसँग पनि संवाद गर्न सक्ने देखिन्छ। विशेषतः दर्विशको कवितामा घर एउटा राजनीतिक र मानसिक अवधारणा बन्छ। परासरको ‘यता कि उता’मा पनि घर त्यस्तै मानसिक सीमारेखा बन्छ। फरक यति हो कि दर्विशको घर विस्थापनको राजनीतिक त्रासदीबाट जन्मिन्छ भने परासरको घर आर्थिक आप्रवासन, पारिवारिक दूरी र नेपाली सामाजिक संरचनाबाट।

‘भुइँचालोहरू’ परासरको प्रतीक प्रयोगको उत्कृष्ट उदाहरण हो। भुइँचालो यहाँ भूगर्भीय घटना मात्र होइन। “एक्लिएको टापुमा”, “फैलिएको फाँटमा”, “अग्लिएको टाकुरामा”, “खुम्चिएको खोँचमा”भौगोलिक विविधताबाट सुरु भएको भुइँचालो अन्ततः “मन”, “तन” र “यौवन”सम्म पुग्छ। यहाँ कविले प्राकृतिक विपत्तिलाई मानवीय अस्तित्वको रूपकमा परिवर्तन गरेका छन्। बाहिर आउने भूकम्प एकपटक आउँछ, भित्रको भूकम्प निरन्तर आउँछ। शरीर बूढो हुन्छ, प्रेम बदलिन्छ, सम्बन्ध हल्लिन्छ, सपना भत्किन्छ, विश्वास चर्किन्छ।मानिसको जीवन स्वयं एउटा भूकम्पीय भूगोल हो।

यो दृष्टि सिमोन द बोउवारको अस्तित्ववादी प्रश्नसँग पनि टाढाबाट जोडिन्छ।मानिस आफ्नो परिस्थितिको मात्र उत्पादन होइन, परिस्थितिसँग संघर्ष गर्दै आफूलाई निर्माण गर्ने प्राणी हो। परासरका पात्रहरू पनि परिस्थिति भोग्छन् तर पूर्ण रूपमा पराजित हुँदैनन्। यही कारण उनको कविता निराशाको कविता भएर पनि निराशावादी कविता बन्दैन। उनी भग्नावशेष देखाउँछन् तर भग्नावशेषमै बास बस्न पाठकलाई बाध्य पार्दैनन्।

‘सीमा नानी’मा पितृत्वको कोमल दर्शन छ। “तिमी तारा बनेर टल्किँदा सधैँ आकाश भएर अनन्त सीमासम्म हेर्दै , तिमीलाई निरन्तर माया गर्ने तिम्रो बाबा।” यहाँ छोरीलाई आकाशभन्दा माथि उड्ने स्वतन्त्र अस्तित्वका रूपमा हेर्ने दृष्टि छ। पिता आफूलाई छोरीको मालिक होइन, आकाश बन्न चाहन्छ। यो पितृसत्तात्मक संरक्षण होइन; सम्भावनालाई ठाउँ दिने प्रेम हो। आधुनिक नारीवादी चेतनाको भाषामा भन्दा यो माया गर्ने तर स्वामित्व नलिने सम्बन्ध हो। नेपाली पारिवारिक कवितामा यस्तो भाव नयाँ होइन, तर परासरले यसलाई आजको छोरी, शिक्षा, साहस र आत्मनिर्भरतासँग जोडेर नयाँ अर्थ दिएका छन्।

‘सन्दर्भ मूलुकसँग’मा पनि परिवर्तनको प्रश्न आउँछ। “भजनकीर्तनमा आमाहरू, स्कूल अड्डामा छोरीहरू, घाटमा दिदीबहिनीहरू…” भन्ने दृश्यले महिलाको सामाजिक भूमिकामा आएको परिवर्तनलाई देखाउँछ। यहाँ कवि नारी स्वतन्त्रताको दैनिक जीवनका भूमिकाहरू परिवर्तन भएको देखाउँछन्। यही उनको शैलीको विशेषता हो,ठूला सिद्धान्तलाई साना दृश्यमा अनुवाद गर्नु।

‘स्मृतिमा रहेको त्यो समय’मा राजारानीका जन्मोत्सव, खेलकुद सप्ताह, हात्ती घोडा र सिन्दुर जात्रा जस्ता स्मृतिहरू आउँछन्। यहाँ कवि इतिहासको राजनीतिक मूल्याङ्कन गर्नुभन्दा स्मृतिको मनोविज्ञानतिर जान्छन्। बाल्यकालमा देखेको दृश्य पछि इतिहासको अर्को चरणमा प्रवेश गर्दा अर्थ बदलिन्छ। मानिस बदलिन्छ, व्यवस्था बदलिन्छ, मूल्य बदलिन्छ तर स्मृति उस्तै रहन्छ। मार्सेल प्रुस्तको स्मृतिदर्शन सम्झिने हो भने बाह्य वस्तुले पुरानो समयलाई पुनर्जीवित गर्न सक्छ। परासरका कवितामा पनि स्मृति समयको वर्तमानभित्र जीवित रहेको अतीत हो।

तर ‘यता कि उता’को केन्द्रबिन्दु शीर्षक कविता नै हो। “घर फर्कने गुण्टा कस्तै बुवाले सुस्तरी सोध्नुभयो, छोरा तँ यता बस्छस् कि उता?” यो प्रश्न नेपाली समाजको सामूहिक मनोविज्ञानमा प्रहार गर्ने वाक्य हो। बुवाले छोरालाई बसाइको प्रश्न सोधेका छन्, तर वास्तवमा उनले सम्बन्धको भविष्य सोधेका छन्। छोरा कहाँ बस्छ भन्नेभन्दा ठूलो कुरा हो उसको मन कहाँ बस्छ? घर फर्किएर आर्थिक सम्भावना गुमाउने कि विदेश बसेर आत्मीयता गुमाउने? यही द्वन्द्वमा आधुनिक नेपाली युवाको जीवन अड्किएको छ।

“सुख नसोधौँ होला, बरु सन्तुष्टि सोध्छु

पसिना नसोधौँ होला, बरु तृप्ति सोध्छु।”

यहाँ कवि अर्थशास्त्रलाई दर्शनमा बदल्छन्। सुख र सन्तुष्टि एउटै होइनन्। पसिना र तृप्ति एउटै होइनन्। कमाइ बढ्दै जान सक्छ तर जीवनको अर्थ घट्दै जान सक्छ। घर ठूलो हुन सक्छ तर घरपन सानो हुन सक्छ। गाडी आउन सक्छ तर बाटो हराउन सक्छ। आधुनिक उपभोक्तावादले मानिसलाई “कति कमायौ?” भनेर सोध्छ; परासरको कविता “कति बाँच्यौ?” भनेर सोध्छ। यहीँ उनको कविता समकालीन विकास-दर्शनमाथिको मौन प्रतिवाद बन्छ।

अमर्त्य सेनको विकास मानिसले अर्थपूर्ण जीवन बाँच्न पाउने वास्तविक क्षमताको विस्तार हो। परासरको “सन्तुष्टि” र “तृप्ति”को प्रश्न यहीँ आएर अर्थपूर्ण हुन्छ। आर्थिक अवसरले मानिसलाई विदेश पुर्याएको छ; तर भावनात्मक स्वतन्त्रता, सम्बन्धको निरन्तरता र आत्मीयताको प्रश्न अझै अनुत्तरित छ। ‘यता कि उता’ले विकासको जिडिपी भन्दा पर मानवीय जिएनएच खोज्छ।

‘बा-आमाका प्रश्न’ यसै दर्शनको पारिवारिक संस्करण हो। लामो समयपछि घर आएको छोरो फर्किनैपर्ने हुन्छ। आमाबुबा उसको उपस्थितिमा खुशी हुन्छन्, तर उसको अनुपस्थितिको भय पनि त्यही उपस्थितिमा जन्मिन्छ। “अब कहिले आउँछौ?” सामान्य प्रश्न हो तर यसको पछाडि बुढ्यौली, एक्लोपन, रोग, मृत्यु र प्रतीक्षाको सम्पूर्ण दर्शन लुकेको छ। यहाँ कविले बूढा आमाबाबुलाई दयाका पात्र बनाएर रोमान्टिक बनाएका छैनन्, उनीहरूलाई समयको सीमिततासँग जुधिरहेका मानिसका रूपमा प्रस्तुत गरेका छन्।

‘बेँसी माइलो’मा वर्गीय चेतना अझ स्पष्ट हुन्छ। “जुठा गिलास”, “नाम्लो”, “सामान उतार्नेहरूको भीड”, “सुनौली”यी शब्दहरूले श्रम आप्रवासनको अर्को तह खोल्छन्। सबै परदेशी समान हुँदैनन्। कोही एयरपोर्टबाट निस्कन्छ, कोही बसपार्कबाट; कोही करियर बनाउन जान्छ, कोही पेट पाल्न।

‘वादलपारीको यार’मा मृत्यु र मित्रताको प्रश्न छ“विज्ञानले स्वीकार्न नसकेको, ज्ञानले पर्गेल्न नभ्याएको, विवेकले ठम्याउन नसकेको कुनै अर्को ठाउँ छ भने कुर्दै गर यार।” यहाँ मृत्युको उत्तर छैन। कविले न धार्मिक निश्चितता दिन्छन्, न वैज्ञानिक निष्कर्ष। यही अनिश्चितता अस्तित्ववादको केन्द्र हो। कामुका पात्रहरू जस्तै मानिस पनि अर्थ खोज्छ, तर ब्रह्माण्ड मौन रहन्छ। परासरको कवि भने त्यो मौनताभित्र साथीको सम्झना राख्छन्। यसमा दर्शन भाषण बनेको छैन; आँसु बनेर आएको छ।

‘टापुका क्षणहरू’ले दाम्पत्य प्रेमको अर्को मोड लिन्छ।

“दशकौँको सहयात्रामा

एक अर्काको मन र बेहिसाब आफ्नो पन”

साटिएको सम्बन्धमा प्रेम कुनै रोमानी आतिशबाजी होइन; यो साझा जीवनको लामो अभ्यास हो। जीवनसाथीको प्रेमलाई यस्तो ढङ्गले हेर्नु नेपाली कवितामा महत्वपूर्ण छ, किनकि प्रेमलाई प्रायः युवावस्थाको आकर्षणमा सीमित गरिन्छ। परासरले प्रेमलाई समयको परीक्षा पार गरेको सहयात्राका रूपमा परिभाषित गर्छन्।

यद्यपि ‘यता कि उता’ पूर्णतः दोषरहित कृति भने होइन। कतिपय कवितामा कथ्यको भावुकता काव्यिक घनत्वभन्दा अगाडि दौडिन्छ। केही ठाउँमा कवि भन्न चाहेको कुरा प्रतीकले आफैँ बोल्न पाउने ठाउँ नदिई व्याख्यात्मक हुन्छ। कहिलेकाहीँ सरलता र सपाटताबीचको दूरी निकै कम देखिन्छ। कतिपय कविता समयको दस्तावेजका रूपमा प्रभावशाली छन् तर सार्वकालिक काव्यिक उचाइमा पुग्न थप भाषिक संक्षेप र प्रतीकात्मक कसावट माग्छन्। एउटै किसिमको घर, स्मृति, परदेश र पीडाको संवेदना धेरै कवितामा दोहोरिँदा संग्रहको भावात्मक ताप कतैकतै एकरूप पनि हुन्छ। यदि कविले केही कवितामा अझ कठोर सम्पादन गरेका भए संग्रहको काव्यिक प्रभाव अझ विस्फोटक बन्न सक्थ्यो।

तर यही सीमाले पनि कृतिको मौलिकता नष्ट गर्दैन। उनी भाषाको चमत्कारभन्दा जीवनको सत्यलाई प्राथमिकता दिन्छन्। सिम्जोन्स्काले सामान्य वस्तुबाट असामान्य दार्शनिक प्रश्न निकाल्थिन्; परासर पनि सामान्य नेपाली जीवनबाट असाधारण प्रश्न निकाल्छन्। फरक यति हो कि सिम्जोन्स्काको विडम्बना बौद्धिक र प्रायः सूक्ष्म व्यङ्ग्यपूर्ण हुन्छ; परासरको संवेदना बढी आत्मीय र सम्बन्धकेन्द्रित छ। देवकोटाको मानिस व्यापक मानवतावादमा उभिन्छ, परासरको मानिस गाउँको आँगन, खेतको आली, बसाइँसराइको बाटो र विदेशको कोठाबाट बोल्छ। भूपीको व्यङ्ग्यले समाजको अनुहारमा ऐना राख्छ, परासरको करुणाले त्यही अनुहारभित्रको थकान देखाउँछ।

‘तल्लो बाटोको यात्रा’तिर पुग्दा संग्रहले पुनः जीवनको गहिरो प्रश्न उठाउँछ। आमाको माया, जीवनसाथीको छाया, यात्रा र जिम्मेवारीका बीच हिँडिरहेको नेपाली मानिस यहाँ एउटा व्यक्ति होइन, एउटा पुस्ताको प्रतिनिधि बन्छ। घर छोड्नु उसको व्यक्तिगत निर्णयजस्तो देखिए पनि त्यस निर्णयका पछाडि देशको अर्थतन्त्र, परिवारको अपेक्षा, सामाजिक प्रतिष्ठा, शिक्षा, बेरोजगारी र भविष्यको भय मिसिएका हुन्छन्। त्यसैले परासरका कविता सामाजिक मनोविज्ञानका काव्यिक अभिलेख हुन्।

कवि ऋषि बस्ताकोटीले परासरको कवि मनले समय, परिवेश, सङ्गति, विसङ्गति, द्वन्द्व र अन्तरद्वन्द्व देखेको बताएका छन् भन्ने सन्दर्भमा यो संग्रहलाई पढ्दा त्यो मूल्याङ्कन अर्थपूर्ण देखिन्छ। परासर वर्तमानबाट भागेका कवि होइनन्। उनी वर्तमानको धुलोमै उभिएर कविता लेख्छन्। माओवादी द्वन्द्वका गोली, एम्बुस, डर र मौनता; किसानको ऋण; शहरतर्फको पलायन; विदेशतर्फको श्रम; बदलिँदो नारी भूमिका; पुरानो राजकीय स्मृति; परिवारको विखण्डन—यी सबै उनका कवितामा समयका जीवित अवशेषका रूपमा आएका छन्।

यही कारण ‘यता कि उता’लाई प्रवासी कविता मात्र भन्नु अन्याय हुन्छ। यो नेपालभित्रको पनि कविता हो। गाउँबाट शहर गएका, शहरबाट राजधानी पुगेका, राजधानीबाट विदेश उडेका र विदेशबाट गाउँ सम्झिरहेका सबै मानिस यसको पात्र हुन्। यसले एउटा व्यापक प्रश्न सोध्छ,आधुनिकताको मूल्य के हो? यदि आधुनिकता मानिसलाई सुविधा दिन्छ तर आफ्नै आमाको हातबाट टीका लगाउने अवसर खोस्छ भने त्यसलाई कसरी मापन गर्ने? यदि आर्थिक उन्नतिले घर बनाउँछ तर घरमा बस्ने समय घटाउँछ भने त्यो उन्नति कति पूर्ण हो? यदि प्रविधिले फोनबाट आवाज जोड्छ तर स्पर्श जोड्न सक्दैन भने दूरी वास्तवमा घटेको हो कि केवल दूरीको स्वरूप बदलिएको हो?

यही प्रश्नमा परासरको कविता विश्वसाहित्यको ठूलो परम्परासँग जोडिन्छ। टागोरको मानवतावाद, नेरुदाको सामाजिक संवेदना, हिनीको माटो र श्रम, वाल्कटको विस्थापन, दर्विशको घर, सिम्जोन्स्काको सामान्य जीवनभित्रको दर्शन र कामुको अस्तित्वगत बेचैनी, यी सबैसँग परासरको कविता प्रत्यक्ष अनुकरणका रूपमा होइन, संवेदनात्मक संवादका रूपमा उभिन्छ। नेपाली परम्परामा देवकोटाको मानवीय करुणा, रिमालको सामाजिक चेतना, भूपीको विसङ्गतिबोध र घिमिरेको माटोप्रतिको आत्मीयतासँग पनि उनको कविताको नाता देखिन्छ। तर परासरको आफ्नै भूगोल छ।त्यो भूगोलको नाम हो “आधा यता, आधा उता।”

यस संग्रहको सबैभन्दा ठूलो काव्यिक उपलब्धि यही हो कि यसले प्रवासलाई  आर्थिक तथ्य मात्र बन्न दिँदैन। उसले प्रवासलाई मनोवैज्ञानिक घटना बनाउँछ। विदेश गएको मानिस दुई ठाउँमा मात्र बस्दैन। ऊ दुई समय, दुई स्मृति, दुई पहिचान र दुई जिम्मेवारीबीच बाँच्छ। शरीर उता हुन्छ, मन यता। पैसा उता कमाइन्छ, खर्चको योजना यता बनाइन्छ। चाड उता मनाइन्छ, स्मृति यता पुग्छ। घर यता हुन्छ, भविष्य उता हुन्छ। र मानिस? मानिस बीचमा झुन्डिएको हुन्छ।

त्यसैले ‘यता कि उता’ अन्ततः स्थानको प्रश्न होइन, अस्तित्वको प्रश्न हो। यो “म कहाँ छु?” भन्दा “म वास्तवमा कहाँको हुँ?” भन्ने प्रश्नको पुस्तक हो। यसको उत्तर कविले दिँदैनन्। शायद दिन पनि सक्दैनन्। किनकि आधुनिक नेपाली जीवनको वास्तविकता नै यही अनिश्चितता हो।

डा. शरद परासरले चार दशकको समयभित्र लेखिएका ४५ कविता एकै ठाउँमा ल्याएका छन्। यस अर्थमा यो पुस्तक कविको जीवन, पेशा, यात्रा, समय र स्मृतिको आन्तरिक अभिलेख पनि हो। पुराना कविताहरूमा इतिहासको धुलो छ, नयाँ कवितामा वर्तमानको पसिना छ तर दुवैलाई जोड्ने कुरा एउटै छ, मानिसप्रतिको विश्वास।र यही विश्वासले पुस्तकलाई अन्ततः आशावादी बनाउँछ। परासर अँध्यारो देखाउँछन्, तर अँध्यारोलाई अन्तिम सत्य मान्दैनन्। किसान अझै खेत जोतिरहेको छ। छोरी अझै स्कूल र कार्यालयतिर अघि बढिरहेकी छ। परदेशी अझै सपना बोकेर हिँडिरहेको छ। बा अझै बाटो हेरिरहेका छन्। आमा अझै आशीर्वाद पठाइरहेकी छन्। जीवनसाथी अझै सहयात्रामा छ। स्मृति अझै घर फर्काइरहेको छ। त्यसैले कविता अझै सम्भव छ।

‘यता कि उता’ पढिसकेपछि पाठकसँग एउटा असहज प्रश्न बाँकी रहन्छ हामी वास्तवमा कहाँ छौँ? पासपोर्टले एउटा देश बताउँछ, शरीरले एउटा शहर बताउँछ, तर स्मृतिले अर्को ठाउँ बताउँछ। बैंक खाताले सफलता बताउँछ, तर मनले सन्तुष्टि खोज्छ। घरले आफ्नो ठेगाना दिन्छ, तर सम्बन्धले आफ्नो स्थान माग्छ। यही द्वन्द्वमा परासरको कविता विस्फोट हुन्छ।

यदि देवकोटाको कविता मानवताको आकाश हो भने, भूपीको कविता विसङ्गतिको ऐना हो भने, नेरुदाको कविता प्रेम र इतिहासको महासागर हो भने, हिनीको कविता माटोभित्र गाडिएको स्मृतिको आवाज हो भने ‘यता कि उता’ आधुनिक नेपाली आप्रवासी मनको धड्कन हो। यो धड्कन कहिले आमाको फोनमा सुनिन्छ, कहिले विमानस्थलको बिदाइमा, कहिले दशैँको खाली आँगनमा, कहिले खेतको आलीमा, कहिले विदेशी शहरको बन्द कोठामा र कहिले बुवाको त्यो एक वाक्यमा “छोरा, तँ यता बस्छस् कि उता?”

त्यो प्रश्न सुनेपछि अब चुप लाग्न गाह्रो हुन्छ। किनकि प्रश्न बुवाले छोरालाई सोधे पनि त्यसको प्रतिध्वनि हामी सबैको भित्र सुनिन्छ।

‘यता कि उता’ त्यसैले कविता सङ्ग्रह मात्र होइन,घरबाट टाढा गएर पनि घरभित्रै बाँचिरहेका मानिसहरूको सामूहिक आत्मकथा हो। यो परदेशिएको शरीरको होइन, घरमा अड्किएको मनको महाकाव्य हो। यो भुइँचालोले भत्किएको घरको मात्र कथा होइन, घरबाट टाढा हुँदा भित्रभित्रै हल्लिरहने मनको भुइँचालो हो। यो आँसुको पुस्तक हो, तर आँसुमा डुबेको पुस्तक होइन। यो स्मृतिको पुस्तक हो, तर अतीतमा कैद भएको पुस्तक होइन। यो पलायनको पुस्तक हो, तर पराजयको पुस्तक होइन। अन्ततः, यसको सबैभन्दा ठूलो शक्ति यही हो, परासरले हामीलाई घर सम्झाएका मात्र छैनन्; घरको अर्थ फेरि सोच्न बाध्य बनाएका छन्।

डा. शरद परासरलाई हार्दिक बधाई। ‘यता कि उता’ले नेपाली कविताको आकाशमा एउटा यस्तो आवाज थपेको छ, जो न पूर्णतः यताको छ, न पूर्णतः उताको। शायद यही यसको सबैभन्दा ठूलो सत्य हो आजको मानिस जहाँ भए पनि उसको एउटा हिस्सा सधैँ कतै अर्को ठाउँमा बाँचिरहेको हुन्छ।त्यसैले ‘यता कि उता’को अन्तिम प्रश्नको उत्तर सम्भवतः यही हो।मानिस यता पनि हुन्छ, उता पनि हुन्छ तर उसको सबैभन्दा गहिरो घर भने स्मृतिमा हुन्छ र स्मृतिबाट कसैले उसलाई निर्वासन गर्न सक्दैन।

 

civil hospital
Hams Hospitals