क्यानडासँग नेपाल २४ रनले पराजित,शीर्ष छमा पुग्न ओमानविरुद्ध जित्नैपर्ने दबाब
वि.सं.२०८३ असोज ३१ शनिवार
shares
काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाल २४ रनले पराजित भएको छ। क्यानडाले दिएको २५७ रनको लक्ष्य पछ्याएको नेपाल ४६ ओभरमा २३२ रनमै समेटिएपछि नेपाली टोलीले महत्त्वपूर्ण खेल गुमाएको हो।
नेपालका लागि ओपनर अर्जुन कुमालले उत्कृष्ट ब्याटिङ गर्दै ८७ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन्। उनले ११२ बलको सामना गर्दै चार चौका प्रहार गरे। अन्य ब्याटरले अपेक्षाकृत ठूलो योगदान दिन नसक्दा नेपाल लक्ष्यसम्म पुग्न असफल भयो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २७, इशान पाण्डे र गुलशन झाले समान २१, आसिफ शेखले २० तथा कप्तान रोहितकुमार पौडेलले १८ रन बनाए। करण केसी १७ रनमा अविजित रहे।
क्यानडाका बलर सुखजिन्दर सिंहले तीन विकेट लिए भने कलिम सना र शील पटेलले समान दुई विकेट झारे।
यसअघि ओमानको अल अमरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो। क्यानडाका ओपनर युवराज सम्राले शतकीय पारी खेलेपछि टोलीले प्रतिस्पर्धात्मक योगफल तयार पारेको हो।
युवराजले ११७ बलमा ११ चौका र चार छक्काको मद्दतमा १०५ रन बनाए। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको यो पहिलो शतक हो। यस्तै, आरोन जोनसनले ३६, हर्ष ठाकरले ३४, कप्तान हम्जा तारिकले ३० तथा समित गोयलले १७ रनको योगदान दिए।
नेपालका बलरमध्ये ललितनारायण राजवंशीले चार विकेट लिए। कप्तान सन्दीप लामिछानेले तीन तथा दीपेन्द्रसिंह ऐरीले दुई विकेट हात पारे। रोहितकुमार पौडेलले एक विकेट लिए।
क्यानडासँगको हारपछि नेपाल विश्वकप लिग–२ को अंकतालिकामा सातौँ स्थानमा झरेको छ। शीर्ष छभित्र रहेर आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा रहेको नेपालका लागि अब ओमानविरुद्धको अन्तिम खेल निर्णायक बनेको छ।
नेपालले शीर्ष छमा स्थान बनाउने सम्भावना कायम राख्न ओमानविरुद्धको खेल जित्नुपर्ने समीकरण बनेको छ। नेपाल र ओमानबीचको खेल सोमबार हुने तालिका छ।
अर्जुन कुमालको धैर्यपूर्ण ब्याटिङ र नेपाली बलरहरूको प्रदर्शनका बाबजुद क्यानडाविरुद्ध लक्ष्य पछ्याउने क्रममा ब्याटिङ सम्हालिन नसक्दा नेपालले हार बेहोर्नुपरेको छ। अब ओमानविरुद्धको खेलमा जित निकाल्नु नेपालका लागि शीर्ष छको लक्ष्य कायम राख्न महत्त्वपूर्ण हुनेछ।
































