धादिङको रुबीभ्यालीमा जिप दुर्घटना : एक महिलाको मृत्यु, चालकसहित ९ जना घाइते
वि.सं.२०८३ मंसिर ४ शुक्रवार
shares
काठमाडौं । धादिङको रुबीभ्याली गाउँपालिका–४ कलदाङमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित नौ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बिहीबार राति १ः५५ बजे लापाबाट बोराङतर्फ जाँदै गरेको जिप उकालो सडकमा अनियन्त्रित भई करिब ४०० मिटर तल खसेको थियो।
दुर्घटनाका बेला जिपमा १० जना सवार थिए। दुर्घटनामा रुबीभ्याली गाउँपालिका–४ निवासी करिब ६६ वर्षीया छेनेन तामाङको घटनास्थलमै मृत्यु भएको डीएसपी थापाले जानकारी दिए।
दुर्घटनामा जिपका चालकसहित अन्य नौ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
रातिको समयमा भएको दुर्घटनामा जिप सडकबाट करिब ४०० मिटर तल खस्दा ठूलो मानवीय क्षति भएको हो। दुर्घटना हुनुको वास्तविक कारण खुल्न सकेको छैन।
घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
































