उड्नुअघि नै ठोक्किए एयरलाइन्सका दुई विमान

87
shares
Nabil bank

 

काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित रोनाल्ड रेगन वासिङ्टन नेसनल विमानस्थलमा उडानका लागि तयारी अवस्थामा रहेका अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा एकआपसमा ठोक्किएका छन् । शुक्रबार साँझ भएको उक्त घटनामा कुनै यात्रु वा चालक दलका सदस्य घाइते नभएको अधिकारीहरूले बताएका छन् ।

अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार नोभेम्बर २७ मा स्थानीय समयअनुसार साँझ ५ बजेपछि अमेरिकन एयरलाइन्सको फ्लाइट ६३८ ले फ्लाइट २१५२ को पखेटामा ठक्कर दिएको थियो । दुवै विमान उडानका लागि विमानस्थलको ट्याक्सीवेमा अघि बढिरहेका बेला घटना भएको हो ।

घटनापछि दुवै विमानलाई आआफ्नो पार्किङ गेटमा फर्काइएको थियो । अमेरिकन एयरलाइन्सले दुवै विमानलाई प्राविधिक निरीक्षणका लागि सेवाबाट हटाइएको जनाएको छ ।

सीबीएस न्युजलाई दिएको वक्तव्यमा एयरलाइन्सले भनेको छ, ‘दुवै विमानलाई आआफ्नो गेटमा फर्काइएको छ र हाम्रो मर्मतसम्भार टोलीबाट निरीक्षण गर्न सेवाबाट हटाइएको छ ।’

एफएए र अमेरिकन एयरलाइन्सले घटनामा कसैलाई चोटपटक नलागेको पुष्टि गरेका छन् । मेट्रोपोलिटन वासिङ्टन एयरपोट्र्स अथोरिटीका अनुसार विमान एकआपसमा ठोक्किएपछि अग्नि नियन्त्रण तथा उद्धार टोली घटनास्थल पुगेको थियो । तर, उक्त घटनाले विमानस्थलका अन्य उडान सञ्चालनमा कुनै अवरोध सिर्जना नगरेको प्राधिकरणले जनाएको छ ।

फ्लाइट ६३८ टेक्सासको डलास र फ्लाइट २१५२ सिकागोका लागि उडान भर्ने तयारीमा थिए । घटनापछि दुवै उडानका यात्रुलाई अर्को विमानमार्फत गन्तव्यमा पु¥याउने व्यवस्था गरिएको एयरलाइन्सले जनाएको छ ।

न्युयोर्क पोस्टका अनुसार घटनाबारे अमेरिकी संघीय उड्डयन प्रशासनले अनुसन्धान गर्नेछ । अमेरिकामा थ्याङ्क्सगिभिङ बिदाका कारण हवाई यात्रुको चाप बढिरहेका बेला विमानस्थलहरूमा उडानसम्बन्धी अवरोधका घटना भइरहेका छन् । यसअघि नोभेम्बर २६ मा मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा फेडएक्सको कार्गो विमान धावनमार्गबाट बाहिरिएको थियो ।

मेम्फिसबाट उडेको म्याकडोनल डगलस एमडी–११ विमान (फ्लाइट ९१०) अवतरणका क्रममा रनवे २६आरबाट बाहिरिएपछि विमानस्थलका केही धावनमार्ग बन्द गर्नुपरेको थियो । घटनापछि मियामी–डेड अग्नि तथा उद्धार टोली परिचालन गरिएको थियो । उक्त घटनामा पनि कसैलाई चोटपटक लागेको थिएन । एएनआई

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x