अनुहार भरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पर्याे, कार्बाही भ्यागुतोलाई : अध्यक्ष ओली
वि.सं.२०७८ चैत २६ शनिवार
shares
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बित भएको प्रति आक्रोश व्यक्त गरेका छन् ।
देशकाे अर्थतन्त्र ध्वस्त भएको भन्दै हिजाे मात्रै सरकारले राष्ट्र बैंक गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन गरेकाे थियाे ।
अर्थमन्त्री जनार्दन शर्माप्रति संकेत गर्दै अध्यक्ष ओलीले अनुहार भरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पारे पनि एउटा सोझो भ्यागुतो जस्तो गभर्नरलाई सरकारले कारबाही गरेर निर्लज्जता प्रकट गरेको बताएका हुन् ।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले अर्थतन्त्र जोगाउन प्रयास गरिरहेको गभर्नरलाई, अर्थतन्त्र बुझेका मान्छे अधिकारीलाई सरकारले गभर्नरबाट निलम्बन गरेर बलियो बोको बनाउने काम गरेको आरोप समेत लगाए । उनलाई निलम्बन गरेर सरकारले माओवादी केन्द्रको भनेर चिनिएका न्यायाधीशको नेतृत्वमा छानवीन समिति बनाएको भन्दै ओलीले आपत्ति पनि जनाए ।
त्यसैगरी अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धमा ज्यान धरापमा पारेर हिँडेकाहरुलाई अनादर र उपेक्षा गर्दै आफ्नै भाई नारायणप्रसाद दाहाललाई राष्ट्रियसभा सदस्य बनाउने काम गरेर नातावाद र कृपावादको चरम नमुना प्रस्तुत गरेको दावी गरे ।
तपाईँहरुले थाहा पाउनु भयो होला–धान खाने मुसो, चोट पाउने भ्यागुतो भन्छन नि । त्यसमा पनि अनुहारभरी रौं भएको मुसोले अर्थतन्त्र बर्बाद पार्यो । ध्वस्त पार्यो देशको अर्थतन्त्र । अनि एउटा सोझो भ्यागुतोलाई लगेर कारबाही गर्ने उखान जस्तै गरेर राष्ट्र बैंकको गभर्नरलाई हिजो कारबाही गर्यो । जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थियो ।
देश अत्यन्तै निर्लज्ज व्यक्तिहरुको हातमा परेको छ । हिजो एउटा बर्खास्त गर्यो । देशको अर्थतन्त्र जोगाउन खोज्ने एउटा राष्ट्र सेवक, एउटा अर्थवीद्, अर्थशाष्त्री राष्ट्र बैंकबाटै डेपुटी गभर्नर समेत भएर हटेका र अर्थतन्त्र बुझेका मान्छेलाई बनाईयो–बलिको बोको । उनलाई निलम्बन गरियो हिजो । र, माओवादी केन्द्रले नियुक्त गरेको, माओवादी केन्द्र निकट भनेर चिनिएका न्यायाधिशको नेतृत्वमा एउटा छानवीन समिति बनायो । माओवादी केन्द्र भनेर जानिएको मान्छे अहिले हामीलाई थाहा छ, न्यायालयको अवस्था । म केही धेरै भन्न चाहन्न । अर्को एउटा नियुक्ति पनि भयो । नातावाद, कृपावादको यत्रो बहस चलिराख्या छ, देशमा । नातावाद भो, कृपाबाद हो । अचाक्ली भो । क्रान्तिकारी हुँ भन्ने मान्छेले आफ्नो बाहेक कोही नियुक्ती गर्र्दैनन् भन्ने छँदै थियो ।
हिजो पुष्पकमल दाहालका भाई नारायणकमल दाहाल, हिजो एउटा खास गुरिल्ला हुनुहुन्थ्यो । उहाँलाई राष्ट्रियसभामा लगियो । यत्रो बिध्न घाईते छन । सहीदका परिवार छन । यत्रो विध्न आन्दोलन गरेका मान्छेहरु छन, दुःख पाएका मान्छेहरु छन । अपांगता भएको व्यक्तिहरु छन । सरिरमा गोली लिएर हिँडीरहेका व्यक्तिहरु छन । जनयुद्धको नाममा ज्यान हत्केलामा राखेर मौकाले बाँचेका मान्छेहरु छन । ती सबै मान्छेहरुलाई पन्छाएर, तीनलाई छाडेर, तीनलाई अनादर र उपेक्षा गरेर आफ्नै भाईलाई राष्ट्रियसभा सदस्य बनाउने बुद्धि, मति, क्रियाकलाप हिजो फेरी भयो ।’




























