छोड्न हुन्न भन्ने वकिललाई श्रीमानले भने-माथिले करेक्सन गर्ला नि !

Ghorahi cement

काठमाडौं।नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्ष संलग्नता देखिएको भनिएका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण थुनामुक्त भएका छन् । 

 

तल्लो अदालतको आदेश बदर गर्दै पाटन उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले ३० लाख धरौटीमा छोड्ने आदेश सुनाएको हो । योसंगै अब खाँणलाई बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा प्राप्त भएको छ ।

 

 

यसअघि जिल्ला अदालत काठमाडौँले खाँणलाई थुनामा पठाउने आदेश दिएको थियो । जिल्लाको सो आदेशविरुद्ध खाँण पुनरावेदन गर्न उच्च पुगेका थिए ।

 

पुनरावेदनउपर गत मङ्सिर १५ गते भएको सुनुवाईमा उच्चको संयुक्त इजलासमा दुईजना न्यायाधीशको राय बाझिएको थियो । न्यायाधीश जनक पाण्डेले थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए । अर्का न्यायाधीश प्रकाश खरेलले भने अहिले नै निर्दोष हुन् भन्न नसकिने भएकाले धरौटीमा छाड्ने रायमा सहमति जनाउन नसकिने जनाएका थिए ।

 

 

“सरकारी वकिलहरूले पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी थुनामै रहेको स्मरण गराउँदै समान प्रकृतिको कसूरमा दुईथरी निर्णय गर्न नहुने तर्क गरे ।”

 

 

त्यसपछि आज निर्णायक सुनुवाई तोकिएकोमा न्यायाधीश कोइरालाले पाण्डेको रायमा समर्थन जनाएपछि खाँण थुनामुक्त भएका हुन् । स्मरणीय छ, खाँणको पक्षमा आदेश सुनाउने दुबै न्यायाधीश डेमोक्र्याट अर्थात् कांग्रेस निकटका रुपमा चिनिन्छन् । स्याङ्गजाका कोइरालाको इजलासमा पेशी तोकिएपछि कांग्रेसीहरु बिहानैदेखि दङ्ग थिए ।

 

 

आदेशअघि दुवै पक्षका कानुन व्यवसायीहरुले कडा बहस गरेका थिए । खाँणका तर्फबाट पूर्वमहान्यायाधिवक्ताहरु खम्मबहादुर खाती, महादेव यादव,हरिहर दाहाल,अधिवक्ताहरु सुरेन्द्र महतो,कृष्णप्रसाद सापकोटालगायतले बहस गरेका थिए । लामो समय बहस गरेका खातीले यसअघि न्यायाधीश पाण्डेको आदेश सदर गरी खाँणलाई थुनामुक्त गर्न माग गरेका थिए । अन्य न्यायाधीशहरुले भने दुई-दुई मिनेट आफ्ना तर्क राखेका थिए ।

 

त्यसपछि बहसमा आएका सरकारी वकिलहरूले पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी थुनामै रहेको स्मरण गराउँदै समान प्रकृतिको कसूरमा दुईथरी निर्णय गर्न नहुने तर्क गरे । सरकारको तर्फबाट बहस गरेका न्यायाधिवक्ता शंकर खत्रीले ‘समान अवस्थाका कोही भित्र छन् श्रीमान्’ भनेर खाँणलाई छोड्न नहुने जिकिर गर्दा न्यायाधीश कोइरालाले ‘माथि च्यालेन्ज गर्ने ठाउँ छ नि’ भन्ने जवाफ दिए ।

 

शंकरसँगै महेश खत्री र हरि पुनले मङ्सिर १५ मा न्यायाधीश प्रकाश खरेलको रायअनुसार आदेश हुनुपर्ने माग गरेका थिए । सरकारी वकिलहरुले खाँणको संलग्नता पुष्टि हुने कागजपत्र इजलासमा पेश गरेका थिए ।

 

नक्कली शरणार्थी प्रकरणमा खाँणसहित ३० जनाविरुद्ध ठगी, किर्ते, संगठित अपराध र राज्यविरुद्धको कसूरमा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । जिल्लाले त्यसबेला दुईजनालाई रिहा गर्दै बाँकीलाई थुनामा पठाउने आदेश दिएको थियो । मंसिर १५ गते उच्च अदालत पाटनको आदेशले थप केही अभियुक्त धरौटीमा छुटे भने एमाले नेता रायमाझी, एमाले उपाध्यक्ष तथा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, पूर्वगृहसचिव टेकनारायण पाण्डेलगायत थुनामै छन् । जनआस्था

Nepali patro