विश्वमा खुशी,सम्पन्नता र सुख–शान्तिको लागि अध्यात्मवाद
वि.सं.२०८१ असार ४ मंगलवार
shares

अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग रहेको हुन्छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै अध्यात्मिक मार्ग हो ।म को हु? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ ।स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ । भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन ।अध्यात्मिक सुख र आनन्द आफूभित्रैबाट प्राप्त हुन्छ । त्यो सुख मन, बुद्धि, चित्त र अहंकार शान्त भएपछि प्राप्त हुन्छ । मन शुद्ध गराउने साधन हो योग र ज्ञान । योग र ज्ञानबाट मन, बुद्धि र चित्तलाई आफ्नो स्वरुपमा राख्न सकिन्छ । मानिसको स्वरुप हो आत्मा । आत्माको ज्ञान नभए आफैलाई चिन्न सकिदैन । हामीले शरीरलाई आत्मा भन्छौं । यो हाम्रो भूल हो । आत्मा अविकारी छ, अविनाशी छ र अमर छ । शरीर मर्दछ । अध्यात्मवादीहरुले आत्मा र ईश्वरमा आस्था राख्छन । भौतिकवादीहरुले शरीरमा आस्था राख्छन । ज्ञान भनेको आत्मालाई परमात्मामा जोड्नु हो ।
अध्यात्म व्यक्तिमा शान्तिकामी चिन्तन, मानसपटलको आचारसंहिता र कालजयी चिजको खोजी तथा त्यसले पार्ने असरसँग सम्बन्धित रहन्छ । त्यसो हुँदा हिंसा, कृत्रिम वाद एवं प्रतिवादभन्दा माथि उठेर विश्व कल्याणको मान्यतामा समाहित हुन्छ । आइन्स्टाइनले त अध्यात्मबिनाको विज्ञानलाई कमजोरको संज्ञा दिएका छन् । सोफेनहावरको श्रीमद्भगवतगीता सम्बन्धी चर्चाले पूर्वीय दर्शनमा भएको अध्यात्मको स्थानलाई पाश्चात्य समाजमा नयाँखालको ऊर्जा दिएको छ । हाम्रा ग्रन्थले मुखरित गरेका विषय गहन छन् अल्वर्ट आइन्स्टाइन, जर्मन दार्शनिक मुलर, इमानुयल कान्ट, फ्रेन्च दार्शनिक सोफेनहावरदेखि भारतका पूर्वराष्ट्रपति एपिजे अब्दुल कलाम र अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामासम्मले पूर्वीय दर्शनमा भएको अध्यात्मिक पक्षको महत्तालाई कुनै न कुनै रूपले अंगीकार गरेका छन् । अध्यात्मबिनाको राजनीति, समाज नीति, अर्थनीति या हरेक वाद एवं चिन्तन सबै अपूरो छ भन्ने विषयले विश्वका हरेक बौद्धिकलाई घचघच्याएको छ । अध्यात्म सांसारिकताभन्दा समस्त मानवहितको शक्ति तथा जीवनमुक्तिको आधारशिला हो । यसले व्यक्तिलाई समुद्र जस्तो गम्भीर बनाउने मात्र होइन, मानसिक सन्तुलन पैदा गर्छ । त्यसैले आजको हरेक क्षेत्रबाट विक्षिप्त समाजमा अध्यात्मिकताको विषयले प्रश्रय पाउनु जरुरी छ ।
अध्यात्मिक क्रियाकलाप नै विकासको अपरिहार्य शक्तिका रूपमा स्थापित भएको छ । अध्यात्मले एकाड्ढी होइन एउटै बनाउन प्रेरित गर्छ । अध्यात्मिक ज्ञानले धर्मात्मा, पुण्यात्मा र महात्माभन्दा उच्च सर्वोच्च सत्ता निराकार ज्योति स्वरूप हुनुहुन्छ भन्ने सत्यलाई बोध गराउँछ । शरीरको मृत्यु भए पनि आत्माको अस्तित्व अमर छ भन्ने तथ्यलाई स्पष्ट गराउँछ । सम्पूर्ण मानव आत्मा आपसमा भाइ भाइ हौं । पवित्रता, शान्ति, प्रेम आत्माको स्वधर्म हो भन्ने वास्तविकताको अनुभूती गराउँछ । अध्यात्मिक ज्ञानद्वारा संसारलाई हेर्ने दृष्टिकोण नै सकारात्मक बनिदिन्छ । अध्यात्मिकता वास्तवमा सम्पूर्ण ज्ञान, विज्ञान, नीति, विचार, सिद्धान्त, खोज,अनुसन्धान र विचारधाराको साझा लक्ष्य हुनुका साथै पुनर्रोत्थानका लागि गहन पूर्वक सोच्नुपर्ने तथा आवश्यक पहल कदमी गर्नुपर्ने आवश्यकता छ ।
धर्म,अद्यात्म र विज्ञान परस्पर विरोधी होईनन् सहयोगी हुन भन्ने कुरा अलवर्ट आइन्टाइनको ‘ धर्म विनाको विज्ञान लङगडो हुन्छ भने विज्ञान विनाको धर्म अन्धो हुन्छ भन्ने भनाईबाट समेत प्रष्ट हुन्छ ‘।आद्यात्मरहित विज्ञान र वैज्ञानिक दृष्टिकोणविहीन आद्यात्म दुवै अपुरो हुन्छ । यि दुवैलाई अलग अलग प्रयत्नले कार्य गरिनुको वदलामा विज्ञान र आद्यात्म संगठित रुपले एकजुट भई कार्य गर्ने हो भने विश्वमा खुशी,सम्पन्नता र सुख–शान्तिको स्थापना तिव्र गतिले वढ्नेमा शंका रहदैन । भौतिक उन्नतीको साथै आद्यात्मिक उचाँईलाई एकैसाथ सम्पन्न गर्न सकेमा निसन्देह सदाकालको लागि विश्वमा सम्पन्नता प्राप्त हुनसक्छ ।
अध्यात्मिक ज्ञानले मानिस भित्र श्रेष्ठ र उच्च कोटीका चिन्तनहरूको धारा प्रवाह गरिदिन्छ । मनमा निरन्तर शुद्ध, शुभ र सकारात्मक चिन्तनहरू उत्पन्न भइरहन्छन् । शुभ, शुद्ध र सकारात्मक चिन्तनले बुिद्धका लागि पौष्टिक आहारको काम गर्दछ । जसबाट बुद्धि शालीन, दिव्य र तीक्ष्ण बन्न पुग्दछ । बुद्धिको निर्णय शक्ति सशक्त र सही हुन जान्छ र यसबाट सत्कर्म गर्ने मार्ग प्रशस्त हुन्छ । अध्यात्मिक चिन्तनले मानिसलाई सबै प्रति निरन्तर शुभ सोच, परोपकारी भावना, सर्व हित र सुखद जीवनको कामना गर्ने एक महान् व्यक्तित्व निर्माण गर्नमा मद्दत गर्दछ । अध्यात्मिक चेतना र जागृतिबाट परिचालित व्यक्तिले कुनै पनि अवस्था र परिस्थितिमा नकारात्मक सोच र कुभलोका भावना पैदा गर्दैन । अध्यात्मिक उचाई साच्चै अनुमप छ, अलौकिक छ र सामान्य सोच भन्दा धेरै माथिल्लो विशिष्ट स्थान राख्दछ । वर्तमान व्यावहारिक मनस्थितिका मानिसलाई यो महान् पक्षलाई पचाउन र स्वीकार गर्न गाह्रो हुनसक्दछ तर महानताको शिखर चुम्न र प्रेरणाको स्रोत व्यक्तित्व विकास गर्न यस्तै उच्च अध्यात्मिक चेतना र चिन्तनलाई अवलम्बन गर्नु बाहेक अन्य विकल्प छैन ।
भौतिकवादीहरुले योग पनि गर्न सक्दैनन् ज्ञान पनि गर्न सक्दैनन । उनीहरुले सकाम कर्म गर्छन । सकाम कर्मद्वारा आत्माको खोजी गर्छन । निस्काम कर्म गर्न सक्दैनन । फलको आशा राखेर कर्म गर्छन। त्यसैले परमानन्द प्राप्त गर्न सक्दैनन । मानिसको स्वरुप आत्मा भएझंै परमानन्द ईश्वरको स्वरुप हो । आनन्द कहिले नाश हुदैन ।संसारमा कुनै पनि मानिस कर्म नगरी शान्त भई बस्न सक्दैन । मन शान्त भए आत्माको अनुभव हुन्छ । योगीहरुले समाधिद्वारा शान्त मनमा आत्माको अनुभव गर्दछन । मनमा कुनै संकल्प नउठाएपछि परमानन्द प्राप्त हुन्छ । संकल्प उठाए मन चञ्चल हुन्छ र आफ्नो स्वरुपलाइ भुलिन्छ । फलको आशा राखेर कर्म गर्नेहरु यस दुःखरुपी संसारमा जन्म लिइरहन्छन् र मर्छन पनि । सांसारिक बन्धनमा बाधिरहन्छन्, मुक्त हुन सक्दैनन् । धन र पदको मोहमा परेर आफ्नो स्वरुपलाई भुल्छन् । भौतिक उन्नतिलाई सत्य ठानेर भौतिक उन्नति गर्दागर्दै रोइर मर्छन । अध्यात्मिक मार्गमा लागेका मानिस आत्मालाई साक्षी राखेर राष्ट्रको र समाजको सेवा गर्दा गर्दै हाँसेर मर्छन । आजकलका मानिसमा सत्बिचार र सत्विवेक देखिदैन । अनुशासन देखिदैन । नैतिकता आचरण सभ्यता देखिदैन । चित्त शुद्ध छैन । सत्यता, ज्ञान र धर्म छैन, भौतिकवादको प्रभाव बढेको छ । बेदले भन्छ– आचरण मानिसको गहना हो । आचरणहीन मानिसलाई देवताहरुले पनि पवित्र गर्न सक्दैनन् । (आचरहीनम् नपूनन्ती देबाः) शास्त्रले भन्छ (धर्मेण हिना पशुभिसमाना) पशुले धर्म गर्न सक्दैन । त्यसैले धर्म नभएको मानिस पशुतुल्य हो ।
ज्ञानबिना जति भौतिक उन्नति गरे पनि आनन्द प्राप्त हुँदैन । जस्तो समुन्द्रको पानी सागरमा नपुगेसम्म शान्त हुँदैन त्यस्तै आत्मज्ञानबिना मन शान्त हुँदैन । हामीले मानवको जन्म लिएर जति काम गर्छांै त्यो आत्माले देखेको छ भन्ने कुरा भौतिकवादीले जान्दैनन । उनीहरुले ईश्वर छैन भनी ईश्वरप्रति आस्था गर्दैनन । ईश्वरले मानिसको जीवन दियो, हुर्कायो, बढायो, ज्ञान बिज्ञान दियो त्यो कुरालाइ हामीले अहिले भुलेका छौं । विषयको आनन्दमा रमाएका छौं । विषय त बिष बराबर हो । विषय बासनामा भुलेर जीवन समाप्त भएको थाहा पाउँदैनौं । पानीबाट निकालिएको माछा जस्तो छटपटाउँछ । त्यस्तै भौतिकवादीहरु अध्यात्मिक ज्ञानको अभावले छट्पटाइरहेका छन । अध्यात्मिक र भौतिकवादीहरुको लक्ष्य एउटै भए पनि ज्ञानको अभावले वास्तबिक सुख प्राप्त गर्न सकेका छैनन ।आत्मासम्बन्धी चिन्तन गर्ने दर्शन मूलतः दुई प्रकारका मानिन्छन्–आत्मवादी र अनात्मवादी । आत्मवादी आत्मालाई प्रकृतिदेखि अलग पदार्थ विशेष मान्दछन् भने अनात्मवादी चैतन्ययुक्त शरीरलाई नै आत्मा मान्दछन् र ज्ञान प्राप्त गर्ने साधनहरूमध्ये इन्द्रिय, प्राण, मन, बुद्धि र अहङ्कार नै आत्मा हो भन्ने अनात्मवादीहरुको धारणा छ । पूर्वीय दर्शनमा अनेक शाखाहरु छन् र प्रत्येक दर्शनले शरीर, प्राण, आत्मा, विवेक, बुद्धि र धारणालाई अनेक तरिकाले परिभाषित गरेका छन् तर पनि आत्माको तत्व भौतिक हो कि अध्यात्मिक हो भन्ने कुरामा भने सधैँ विवाद रहेको छ ।
जब भौतिकवादको चमत्कार बढ्दै गयो । भौतिक सभ्यताको विकास हुँदैगयो । तब अध्यात्मिक भावना हराउँदै गयो । भौतिक चिन्तनको बिजारोपण र आफ्नो अस्तित्वलाई मेट्दै गए । मानिस समाजवादी नभएर ब्यक्तिवादि हुन पुगे । राष्ट्रको अस्तित्वलाई भुल्न थाले । जब मानिस भौतिक सुख सुविधामा भुल्छ उसले आफ्नो कर्तब्य र इमानदारीतालाई भुल्छ । उसको दृष्टिमा अर्को संसार छैन भन्ने सम्झन्छ । भौतिकवादमा रमाएको मानिसले उन्नतिको साथै अवनति पनि गरिरहेको छ । यो अध्यात्मिकबादको अभाव हो । मानिसले आनन्दपूर्वक बाँच्नको लागि पूर्वीय र पाश्चात्य दर्शनको समन्वय गरी अगाडि बढेमा समस्त राष्ट्रको कल्याण हुनेछ ।
अध्यात्मको मुख्य ध्येय भनेको नै मृत्युपछि मुक्तिको कामना गर्नु हो । अध्यात्मले जीवनलाई एउटा संक्षिप्त कालखण्डको रुपमा व्याख्या गर्ने गरेको हुन्छ भने मृत्युलाई शास्वत सत्य । त्यसैले यसले जीवनमा तीब्र वैराग्यलाई नै विशेष प्राथमिकता दिने गर्दछ ।फेरि यो जगत्मा आउन नपर्नेगरी ईश्वरको सानिध्यमा पुग्नु नै हिन्दू धर्मशास्त्रका अनुसार मोक्ष अथवा मुक्ति हो । त्यसैले मानिसले आफ्नो जीवनकालभरमा फल प्राप्तिको आशा विना नै गरेको सत्कर्मले नै उसले मोक्ष पाउने कि नपाउने ? निर्धारण गर्ने गर्दछ ।महाभारत, श्रीमद्भागवत् गीता जस्ता हिन्दू धर्मशास्त्रहरु यस्ता अध्यात्म एवं दर्शनको सागर हुन् । जसबाट हामीले सानो अंश उठाउँदा पनि त्यो अत्यन्त जीवनोपयोगी हुने गर्दछ ।
विज्ञान मानव सम्पदाको एक उल्लेखनीय उपलब्धि हो । सत्यको खोजी नै विज्ञानको प्रमुख लक्ष्य हो । विज्ञानले असाधारण कुरालाई सम्भव बनाउँछ । वास्तवमा भन्नुपर्दा विज्ञान शब्दको उपयोग प्रायः सधैं प्राकृतिक विज्ञानहरूको निम्ति गरिन्छ । यसमा भौतिकशास्त्र, रसायनशास्त्र र जीव विज्ञान पर्दछन् । प्रकृति र विज्ञानबीच गहिरो सम्बन्ध रहेको हुन्छ ।विज्ञानमा वैज्ञानिकहरुले पहिला अवलोकन गर्छन् । अनि त्यो किन र कसरी भयो भनी प्रश्न गर्छन् । त्यसपछि परिकल्पना गर्न शुरु गर्छन् । त्यो परिकल्पनाअनुसार धेरै पटक प्रयोग वा परीक्षण गरेपछि अन्त्यमा गएर वैज्ञानिक सिद्धान्त बन्छ । हाम्रो पूर्वीय दर्शनले कल्पना धेरै ग–यो, तर त्यसको परीक्षण गर्ने उपकरणको विकास गर्न सकेन । यद्यपि हामीसँग वेदहरु भए तापनि विज्ञानको उचित विकास हुन सकेन ।
जहाँसम्म जीवन र जगतको व्याख्याको सन्दर्भ आउँछ, अध्यात्मवादीले भौतिकवादीको र भौतिकवादीले अध्यात्मवादीको खोइरो खन्ने कुनै नयाँ परम्परा होइन। कुनै समयमा पण्डितले भौतिकवादीलाई समाज भाँड्ने हुन्, नास्तिक हुन्, राक्षस हुन् भनेर खेदो खने तर पछि फेरि समयले कोल्टो फे¥यो। नयाँ अवस्थामा भौतिकवादीले पण्डितहरूलाई ढोँगी हुन्, पाखण्डी हुन्, सिदा तान्ने हुन् भन्न थाले। तर यी दुवै प्रवृत्ति गलत हुन। त्यस्ता प्रवृत्तिले हाम्रा समस्याको सही समाधान दिँदैनन्। कसैले यज्ञ गरेर चाहेको कुरा दान गर्छ भने त्यसमा अरूको आपत्ति हुनु र कसैले गरिबको पक्षमा, समानताको पक्षमा मार्क्सवादी बनेर हिँड्छ भने पनि त्यसमा अरूको आपत्ति हुनु दुवै गलत हुन्। एउटा उत्कृष्ट दर्शनले त हामीलाई सन्तुलित स्थानमा लैजान सक्नु पर्छ, चिन्तनको अवस्थामा लैजानु पर्छ, आवश्यक कुरालाई लिने र अनावश्यक कुरालाई फ्याँक्ने चेत दिनु पर्छ ।
पूर्वीय अध्यात्म दर्शनका मूलभूत पक्षहरु मनन्योग्य छन्। मुख्य रुपमा गीता, उपनिषद, ब्रम्हसूत्र र बुद्धवाणीहरुलाई विश्वले राम्ररी अध्ययन र मनन गर्नु जरुरी छ, मानव जातिको अस्तित्व जोगाउन। अवश्य पनि अध्यात्मवादको नाममा हामीले भौतिकवादलाई न्यून ठान्न मिल्दैन, अवमूल्यन गर्न मिल्दैन । वास्तवमा भौतिक क्षेत्रमा भएको चमत्कारिक उपलब्धिकै कारण सिंगो विश्व एउटा सानो गाउँमा परिणत हुन पुगेको छ । हामी संसारको कुनै पनि मुलुकमा केही घण्टाको यात्राबाट सहज रूपमा पुग्न सक्ने भएका छौँ । टेलिभिजनको आविष्कारले गर्दा हामी घरभित्रको एउटा सानो कोठामा बसेर संसारका गतिविधिहरू देख्न र सुन्न सक्ने भएका छौँ ।
वातावरण अनुकूलित यन्त्रको आविष्कारले गर्दा हामी घरभित्र कोठामै बसेर मौसमी तातो वा चिसोबाट बच्न सक्ने भएका छौँ । विशेष गरी सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व प्रगतिले गर्दा हामी संसारको कुनै पनि मुलुकमा रहेका व्यक्ति अथवा नातेदारसँग घरको एउटा सानो कोठामा बसेर प्रत्यक्ष कुराकानी अथवा सन्देश आदानप्रदान गर्न सक्ने भएका छौँ ।केही दशक अघिसम्म मात्र एक ठाउँको चिठी अर्को ठाउँमा पुग्न हप्तौँ र महिनौँ लाग्ने गथ्र्यो भने आज मोबाइल, टेलिफोन, इन्टरनेट, भाइबर आदिजस्ता संचार प्रविधिको विकासले गर्दा हाम्रो सूचना र सञ्चार प्रणाली अत्यन्त सहज र सुलभ हुन पुगेको छ । तर, यति हुँदाहुँदै पनि हाम्रो मन–मस्तिष्क भने काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता मनोविकृृतिहरूबाट टाढा रहन सकिरहेको छैन ।
एकातिर विज्ञान प्रविधिको विकासबाट मानिसको दैनिक जीवनयापन सहज र सुविधाजनक बन्दै गइरहेको छ भने अर्कोतर्फ मानव हृदयमा अन्तर्निहित सद्गुण र सद्भावनाहरू भने क्रमिक रूपमा ह्रास हुँदै गइरहेका छन् । परिणाम स्वरूप भौतिक रूपमा आज विश्व साँगुरो बन्दै गए पनि भावनात्मक रूपमा भने मानवीय दूरी झन् झन् बढ्दै गइरहको महसुस हुन थालेको छ । भौतिक स्रोत र साधनलाई सही रूपमा उपयोग नगरी अथवा मानव हितमा प्रयोग नगरी केवल आफ्नो स्वार्थ परिपूर्तिका लागि उपयोग गर्ने र भौतिक विलासिताको मात्र पछि लाग्ने प्रवृत्तिले गर्दा मानिसले आफ्नो मानवीय मूल्य र मान्यताहरू गुमाउँदै गइरहेको छ । फलस्वरूप आज मानिसहरू चिन्ता, तनाव, कुण्ठा अनेकन प्रकारका शारीरिक मानसिक रोगहरूबाट समेत ग्रसित हुन पुगेका छन् । अध्यात्मिक मार्ग सर्वश्रेष्ठ मार्ग हो भन्ने सम्झेर कर्तब्यनिष्ठ रही विश्वमा रहेको कलमसरुपि अन्धकारलाई अध्यात्मिक ज्योतिले प्रकाशित गरी मानवीय गुणको यर्थात स्वरुप देखाइदिनु मुख्य कर्तब्य हो ।स्वस्थ रही अनुशासित र संयमित भएर बुद्धि र ज्ञानको विकास गरी समाजमा रहेको द्वन्द्वलाई हटाईसबै सुखी बनौं, सबै मिलेर आनन्दपूर्वक बाँचांै भन्ने नीति लिएर वैज्ञानिक अध्यात्मवादको विजारोणगरी संसारलाई सुख र शितल प्रदान गर्न सक्नु पर्दछ । बैज्ञानिक अध्यात्मिक चेतनाको जागृत गर्दै समग्र विश्व कल्याण गर्नु समयको माग हो । अध्यात्म ज्ञानले अनुशासित, मर्यादित र सन्तुलित बनाउन सिकाउँछ र यो विश्वजनीन सत्य हो। यसले सुख भन्दा आनन्दतर्फ लैजान्छ, प्रतिस्पर्धाभन्दा सामूहिक हितमा लैजान्छ। विकास पनि पुग्यो अब, विनासतर्फ लक्षित विकासको अर्थ छैन। सन्तुलन गुम्दै जाँदा मानवजातिको भविष्य झन् झन् खतरामा पर्दै जाने अवस्थाा अझ भयावह रुपमा आउने छ। त्यसैले अध्यात्मको ज्ञान र व्यवहारिक उपयोगले मात्र पृथ्वीलाई जोगाउन सक्छ।
( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)