कान्तिपुर र सिरोहिया परिवारको दादागिरी बारे लेखे माधव बस्नेतले पत्र

1.3K
shares
national life insurances
Nabil bank

प्रिय कान्तिपुर पब्लिकेसन्स, प्रिय कैलास सिरोहियाजी, संभव सिरोहियाजी,

 

कति लिन्छौ जालझेलको सहारा ? कहिलेसम्म लिन्छौ कानून र आदेशको हुर्मत ? कहिलेसम्म बाल्ने प्रयत्न गर्नेछौं सलेदो पानीले भिजाएर दीपको पुल्ठो ? खरानी भएर जाने वा माटो बन्ने जीवनमा किन निरन्तर हुन्छौ म जस्ता श्रमजीवीको श्रम शोषण र पापको भागेदार ?

 

हामी श्रमजीवीद्धय म र रवि मानन्धरका हकमा पक्ष–विपक्ष भएर श्रम तथा रोजगार कार्यालय टेकु, श्रम अदालत अनामनगर (हाल भक्तपुर) मा चलेको कानूनी लडाईँमा दुवै न्यायिक प्रतिष्ठानबाट तिमी पराजित भयौ । श्रम ऐन, श्रमजीवी पत्रकार ऐन र श्रम अदालतले सर्वोच्च अदालत चिन्दैन । श्रम अदालतले गरेको फैसलामा पुनरावेदन नहुने प्रष्ट व्यवस्था छ ।
तर तिमी नितान्त गैर संवैधानिक, गैर कानूनी छिद्र (रिट) बाट ‘सेटिङ’ मिलाएर सर्वोच्च अदालत गयौं । त्यहाँ रिटलाई प्रभावित पार्न तिमीले अनेकन प्रयत्न गर्यौ ।

 

भलै, व्यक्तिगत रुपमा म र रवि मानन्धरलाई आघात भए पनि नेपालका श्रमजीवी पत्रकारका हकमा त्यो फैसला कोसेढुङ्गा हो । यसर्थ हामी गौरवान्वित छौं । कोसेढुङ्गा यसअर्थमा कि त्यो फैसलाले श्रमजीवी पत्रकारका हकमा राज्यले तोकेको न्यूनतम पारिश्रमिकलाई नजिर बनाइ दिएको छ ।
२०८१ मंसिर ४ गते भएको फैसलाको पूर्ण पाठ आएपछि अदालतको सम्मान गर्दै आफैँ विवेक पुर्याएर कार्यान्वयन गर्छौ कि भनेर हामीले पर्ख्यौ । हुन त तिमीहरुको विवेक उहिल्यै बागमतीको ढलमा मिसिएको हामीलाई थाहा थियो नै ।

 

तिमीले फैसला कार्यान्वयन नगरेपछि तालुकदार निकाय श्रम तथा रोजगार कार्यालयमा हामीले २५ बैशाखमा निवेदन दियौ । श्रम तथा रोजगार कार्यालयले फैसला कार्यान्वयनका लागि तिमीलाई १५ दिने, सात दिने, तीन दिने तीन वटा पत्र पठायो । यी तीन वटै पत्रलाई तिमीले रद्दीको टोकरीमा फालिदियौं ।
यी तीन वटा पत्रको कुनै सुनुवाइ नगरेपछि श्रम तथा रोजगार कार्यालय टेकुले तिमीविरुद्ध श्रम ऐनको दफा १६७, १६८ अनुसार कारबाही अघि बढाउन सक्थ्यो । तर, त्यो श्रम तथा रोजगार कार्यालय त कस्तो रहेछ भने कमाउ अड्डाका लागि कुख्याती कमाएका भन्सार, मालपोत, यातायात कार्यालयभन्दा पनि बढी ‘मालदार’ । तर, रोचक ! झट्ट कसैको आँखा नपर्ने । फेरि पनि तिमीले त्यस कार्यालयलाई प्रभावमा पार्यौ ।

 

हाम्रो ताकेतापछि त्यो ‘हरिप’ कार्यालयले तिमीलाई चौथो पत्र लेख्यो । यसपछि तिमीले असार ३१ गते भित्र फैसला कार्यान्वयन गर्छु भनेर प्रतिवद्धता जनायौ । कार्यान्वयन गरेनौ । ३२ असारमा अर्को पत्र लेख्यौं, ‘साउन ९ गते भित्र कार्यान्वयन गर्छु ।’
त्यस मितिमा कानूनी छिद्र खोज्दै कारबाहीबाट जोगिन हाँस उठ्दो रकम बैंक खातामा हालेर कार्यान्वयन गरेको पत्र पठायौं । तिमीले नै प्रभावमा पारेको त्यो हरिप कार्यालय समेत ‘यो के गरेको’ भन्दै तिमीसँग जंङ्गियो ।

 

तिम्रा प्रतिनिधि ङिच्च भए, ‘हिसाब गडबड भएकै रहेछ । हाम्रै वकीलले गडबड गरेको रहेछ । यस्ताले डुबाउने भए ! अदालतको आदेश पालना गर्छौ’ भनेर फर्किए । यहीबीचमा तिमीले १३ महीना (१३) वर्ष) को उपदान, सञ्चय कोष दिनु भनी गरेको फैसला पुनरवलोकनका लागि पुनः सर्वोच्चमा निवेदन दियौ । जबकि पुनरवोलकनका लागि निवेदन त हामीले दिनु पर्यौ । किनभने श्रम ऐन, श्रमजीवी पत्रकार ऐनमा गरिएको व्याख्या विपरित श्रम अदालतको फैसला आनकातान उल्ट्याईएको थियो ।

 

तिम्रो पुनरवलोकनको निवेदनलाई सर्वोच्चले खारेज गरेर पुनः तिमी गलत छौं भनेर चौथो पटक (श्रम कार्यालय, श्रम अदालत, सर्वोच्च अदालत, पुनः सर्वोच्च अदालत) प्रमाणित गरिदियो ।
यता श्रम तथा रोजगार कार्यालयमा फेरि वार्ताको नाटक मञ्चन गर्यौ । जुन नाटक अदालतको फैसला कार्यान्वयन गर्न जरुरी थिएन । हामी नाटकका पात्र बनि दिन तयार भयौ । साउन २२ गते भएको त्यो नाटकमा तिम्रा प्रतिनिधिले भदौ ८ गतेभित्र फैसला कार्यान्वयन गरी उपस्थित हुने सहमतिमा हस्ताक्षर गरे ।

 

तर, अहँ ८ गते पनि कार्यान्वयन भएन । भदौ ८ गते पुनः १५ दिनको समय माग्यौं । जुन भदौ २२ गते पुरा हुन्थ्यो । त्यो २२ गते पनि बचन र इमानमा चुक्यौ । हो, म पनि थुप्रै पटक बचन र इमानमा चुकेको छु । तर, म अभावले चुकेको थिएँ । तिमी बेइमान नियतले चुक्यौ ।
तिमीले पटक–पटकको प्रतिवद्धता समेत पुरा नगरी अदालतको अपमान गरिरहेपछि दसैँ लगत्तै हामी फेरि टेकुको त्यो ‘मालदार अड्डा’ पुग्यौ । मालदार अड्डाको ‘बिक्रीको माल’ (उपसचिव) ले भन्यो, ‘तिहार अघि नै कार्यान्वयन गराउने काम मेरो भयो ।’

 

तिहार गयो । छठ गयो । प्रिय रवि दाइ र म हिजो (कात्तिक १२ गते) फेरि टेकु पुग्यौ । तिमीले अस्तिको दिन मात्र पुनः काइते प्रतिवद्धता पठाएछौं ।
उफ्…कति हाँसौ ? हामी आजित त छौ । तर, पटक्कै आत्तिएका छैनौ ।

प्रिय कान्तिपुर पब्लिकेसन्स, प्रिय कैलासप्रसाद सिरोहियाजी,
तिम्रो बेइमानीले म पनि बेइमान भएको छु । तर, तिमी र म मा फरक के छ भने तिमीले म र म जस्तालाई ठगेर बेइमान भएका छौं । तिमीले दिनु पर्ने पारिश्रमिक नदिएकाले तिर्न सकेको छुइँन । ‘साहु’ लाई ऋण तिर्छु। गुन तिर्न सक्दिन भनेर विस्वासमा राखेको छु ।
कैलासजी, स्मरणीय के छ भने पैसाले रवाफ देखाउन सकिन्छ । स्वाभिमान र इज्यत किन्न सकिन्न । आजको दुनियामा दुनियाले दुनियालाई एक–एक गरी नियालेका छन् । भलै तिमीलाई अघि देख्दा धेरैले नमस्कार गर्लान् । तर, त्यो कृत्रिम हो ।

 

तिमी र तिमी जस्ताले राज्य सत्ताका अङ्गहरु (कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका) कब्जामा लिएर अत्याचार नगरेका हुन्थेउ भने, सरकार बिचौलियाकै अङ्ग नबनिदिएको हुन्थ्यो भने जेनजी आन्दोलन हुने थिएन । देशले यो राष्ट्रिय क्षति र विध्वंस व्यहोर्नु पर्ने थिएन । तिमी र तिमी जस्ताहरु ज्यानको भिक्षा माग्दै भाग्नु पर्ने थिएन । त्यसैले म र म जस्ता श्रमजीवीहरुका ‘ज्यादतीका नायक’ तिमीहरु यो दयनीय अवस्थाका जिम्मेवार हिस्सेदार हौ ।

 

तिमी जतिसुकै ज्याद्रो भए पनि, तिमीले स्वार्थ र बिक्रीका माललाई प्रभावमा पारेर म जस्तालाई ठगे पनि, जति दुःख दिए पनि एक दिन न एक दिन त फैसला कार्यान्वयन हुने नै छ ।
सवाल–अदालतको अपहेलनामा दण्डित भएर जेल बसेर कार्यान्वयन गर्ने कि पहिल्यै गर्ने भन्ने मात्र हो । तिमी आफैँ विवेकी भएनौ र तिम्रा केही बिचौलिया मूर्ख कानून व्यवसायीको लहलहैमा लाग्यौ भने कानूनतः तिमी दण्डित हुने निश्चित छ । तिम्रो दण्डका लागि तिमीलाई उचाल्नेहरु सजायको भागेदार हुनु पर्दैन ।

 

फेरि पनि स्मरण गराउँ, म अहिले धार्मिक हुन थालेको छु । कानूनले न्याय–दण्ड दिएन भने पनि खैर केही छैन । कानूनले नदिएको न्याय–दण्ड धर्मले दिनेछ भन्ने मेरो विस्वास बढेको छ ।
तिमी कानून कुल्चदै गर । तत्तत् ठाउँका शासकलाई प्रभावमा पार्दै गर । म मैले निर्वाह गर्नु पर्ने धर्मको बाटो हिड्दै गर्छु ।..

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited