अनियमितता भेटिएपछि अर्घाखाँची सिमेन्ट कारबाहीमा, दुई लाखभन्दा बढी जरिवाना
वि.सं.२०८२ मंसिर ९ मंगलवार
shares
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गरेको आरोपमा अर्घाखाँची सिमेन्ट उद्योगलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ। विभागले आइतबार रूपन्देही र काठमाडौँका विभिन्न उद्योग तथा प्रतिष्ठानमा गरेको आकस्मिक बजार अनुगमनका क्रममा उद्योगले ऐनविपरीत गतिविधि गरेको प्रमाण भेटिएपछि कारबाही गरिएको जानकारी प्रेस विज्ञप्तिमार्फत दिएको हो।
विभागका अनुसार उद्योगले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३८ मा तोकिएका प्रावधान उल्लङ्घन गरेको पाइएपछि दफा ३९(१) बमोजिम निरीक्षण अधिकृतमार्फत जरिवाना निर्धारण गरिएको हो। अनुगमनका क्रममा उद्योगले वस्तु तथा सेवाको गुणस्तर, परिमाण, मूल्य, नापतौल तथा ढाँचामा हुनुपर्ने पारदर्शितामा लापरबाही गरेको ठहर गरिएको विभागले जनाएको छ।
ऐनको दफा ३९ अनुसार बजार अनुगमनका क्रममा तत्काल प्राप्त प्रमाणका आधारमा निरीक्षण अधिकृतले उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता वा सेवा प्रदायकमाथि आवश्यक जरिवाना गर्न सक्ने कानुनी व्यवस्था छ। अनुचित व्यापारिक क्रियाकलाप पुष्टि भएमा दुई लाखदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने प्रावधान रहेको विभागले स्मरण गराएको छ।
यसैगरी, विभागले सिदार्थनगर, रूपन्देहीस्थित तिरूपति फुड प्रोसेसिङ इन्डस्ट्रिजलाई पनि सोही आधारमा दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ। अनुगमनका क्रममा अन्य केही उद्योग तथा व्यवसायिक प्रतिष्ठानमा देखिएका सामान्य त्रुटिहरू संशोधन तथा व्यवस्थित गर्न निर्देशन मात्र दिइएको विभागले जनाएको छ।
विभागले उपभोक्ताको हकहित संरक्षणका लागि बजार अनुगमनलाई अझ सुदृढ बनाइने तथा ऐन उल्लङ्घन गर्नेहरूमाथि निरन्तर कडाइका साथ कारबाही गरिने चेतावनी पनि दिएको छ।






























