प्रधानमन्त्रीको सचिवालयमा नातावादको आरोप, जेनजी फ्रन्टको तत्काल कारबाहीको माग
वि.सं.२०८२ मंसिर ९ मंगलवार
shares
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातेदारलाई जागिर दिएको विषय सार्वजनिक भएपछि नेपाल जेनजी फ्रन्टले कडा आपत्ति जनाउँदै यसलाई सुशासन र नैतिकताविरुद्धको गम्भीर प्रहार भएको टिप्पणी गरेको छ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव (पीएस) आदर्शकुमार श्रेष्ठले आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त गरेको खबर बाहिरिएपछि जेनजी फ्रन्टले गम्भीर ध्यानाकर्षण भएको बताएको हो।
संस्थाले राज्यको कार्यकारी प्रमुखको सचिवालयजस्तो अत्यन्त संवेदनशील निकायमा पारिवारिक सम्बन्ध, नातावाद र कृपावादको आधारमा कर्मचारी नियुक्त गर्नु पदको दुरुपयोग भएको आरोप लगाएको छ। सुशासन, पारदर्शिता, नैतिकता र जवाफदेहीता जस्ता मूल्यहरूमा आघात पुगेको फ्रन्टको ठहर छ।
जेनजी फ्रन्टले यस घटनालाई ‘राजनीतिक निष्ठा र योग्यताको स्थानमा पारिवारिक सम्बन्धलाई प्राथमिकता दिने गम्भीर त्रुटि’ भन्दै प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई तत्काल बर्खास्त गर्न माग गरेको छ। साथै, उनले नियुक्ति गराएका परिवारका सदस्य तथा नातेदारहरूको नियुक्ति पनि तुरुन्त खारेज गर्न सरकारसमक्ष आग्रह गरिएको छ।
सुशासन र जवाफदेहीताका नारामा आधारित सरकार बनेको दाबी गर्ने प्रधानमन्त्रीकै कार्यालयबाट यस्तो कदम कसरी सम्भव भयो भन्ने प्रश्नसमेत जेनजी फ्रन्टले उठाएको छ। सरकारले घटनाबारे छिटोभन्दा छिटो सार्वजनिक रूपमा सत्यतथ्य खुलाउनुपर्ने संस्थाे माग छ।
जेनजी फ्रन्टले यस्तो प्रकरण सुशासनप्रति नागरिकको आस्था घटाउने खालको भएको उल्लेख गर्दै यसलाई गम्भीरताका साथ सम्बोधन गर्न अनुरोध गरेको छ।






























