महासचिवको प्रतिस्पर्धामा पोखरेलको जित, पाण्डे पराजित
वि.सं.२०८२ पुस ३ बिहीवार
shares
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट महासचिव पदमा शंकर पोखरेल निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई पराजित गर्दै पार्टीको संगठनात्मक कमाण्ड सम्हाल्ने जिम्मेवारी पाएका छन् ।
महाधिवेशन अन्तर्गत सम्पन्न विद्युतीय मतदानको अन्तिम नतिजाअनुसार शंकर पोखरेलले कुल १ हजार २२८ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले ९९९ मत पाएका छन् । दुवैबीचको मतान्तर २२९ रहेको छ ।
निर्वाचन प्रक्रिया प्राविधिक कारणले केही समय अवरुद्ध भए पनि समय थप गरी मतदान सम्पन्न गरिएको थियो । देशभरबाट आएका महाधिवेशन प्रतिनिधिहरूको उल्लेखनीय सहभागिताबीच ८० वटा विद्युतीय मेसिनमार्फत मतदान गरिएको हो । मतदान शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ ।
महासचिवमा निर्वाचित भएपछि पोखरेलले पार्टी संगठनलाई थप सुदृढ बनाउने, कार्यकर्ताको मनोबल उच्च राख्ने र पार्टीलाई आगामी राजनीतिक चुनौती सामना गर्न सक्षम बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले महाधिवेशनलाई पार्टीभित्र लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण उदाहरण भएको बताए ।
महासचिव पदलाई पार्टीको ‘कार्यकारी मेरुदण्ड’का रूपमा हेरिन्छ । यस पदमा पोखरेलको जितसँगै अब एमालेको केन्द्रीय कार्यालय व्यवस्थापन, संगठन विस्तार र निर्णय कार्यान्वयन थप प्रभावकारी हुने अपेक्षा गरिएको छ । महाधिवेशनबाट चयन हुने नयाँ नेतृत्वले पार्टीलाई एकताबद्ध बनाएर आगामी निर्वाचन र राष्ट्रिय राजनीतिमा निर्णायक भूमिका खेल्ने विश्वास गरिएको छ ।




























