कृत्रिम मूल्य बढाई जनता ठग्ने राज्य लुट्ने सबै दलाललाई समात्ने कि ?

111
shares

८१ लाख ६७ हजार सर्वसाधारणले सेयरमा लगानी गरेका छन् । बैंक, वित्तिय संस्था, हाइड्रोपावर, इन्स्युरेन्सलगायत कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गरेको सेयरमा आम नागरिकले कित्ताकै ४५ सयसम्म लगानी गरेका छन् । उनीहरुसँग एक सयदेखि हजारौं कित्ता सेयर छ ।

विभिन्न बैंकले सेयर धितो राखेर एक खर्ब ५७ अर्ब कर्जा प्रवाह गरेका छन् । सेयर बैंक, वित्तिय संस्था, जलविद्युत, बीमा कम्पनीहरुले नै एक सय रुपैयाँ कित्तामा निष्काशन गर्ने गर्दछन् । ५५ देखि ६० ठूला सेयर खेलाडी (दलाल) हरुले यो सेयरको कृत्रिम मूल्य बढाउँदै २८ सयदेखि ४५ सयसम्ममा बेचे ।रोचक कुरा चाँहि ४५ सयमा सेयर किनबेच हुँदा राज्यको ढुकुटीमा भने जम्मा एक सय रुपैयाँको राजस्व जान्छ । पछिल्लो समय सेयरको मूल्य लगातार घट्दो छ । ४५ सयमा किनिएको सेयर २८ सयमुनि झरिसक्यो । मूल्य झनै घट्ने देखिन्छ । तर, यही सेयरमा बैंक, वित्तिय संस्थाले खर्बौ कर्जा प्रवाह गरेका छन् ।

त्यो पनि कित्तामै २५ सय रुपैयाँसम्म । केही वर्षअघि सेयर कित्ताको झण्डै १७ सयमा झरिसकेको थियो । तर, दलालहरुले फेरि मूल्य बढाई जनता डुबाए । अबको केही समयमै सेयर एक सय रुपैयाँ कित्तामा समेत नबिक्ने बजारमा व्यापक चर्चा छ । यसले जीवनभरको कमाई, पुख्र्यौली सम्पत्ति बेचेर सेयरमा लगानी गरेकाहरु चिन्तित छन् ।

सेयरको मूल्य घटेमा उनीहरु त सडकमै आइपुग्छन् । सँगै बैंक पनि टाट पल्टिनेछ । सेयरम बैंकको एक खर्ब ५७ अर्ब कर्जा लगानी छ । सेयरको मूल्य घट्नेबित्तिकै ऋणीहरुले कर्जा तिर्दैनन् । उनीहरु सेयर जफत गर्न हात उठाइहाल्छन् । अनि कित्तामै २५ सय लगानी गरेको सेयर एक सय रुपैयाँमा झरेपछि बैंकले कसरी कर्जा उठाउने ? कर्जा उठाउन नसक्नेबित्तिकै बैंक डुबिहाल्छ र बैंक डुब्नु भनेको जनता डुब्नुसरह हो ।

किनकि बैंकमा राखिएको रकम जनताको हो । बैंकले कर्जा दिएको रकम पनि जनताकै हो । हिजो सहकारी, लघुवित्त र फाइनान्स डुब्दा करोडौं सर्वसाधारण डुबे । उनीहरुको आँसु अझै सुकेको छैन । दुःख, सुखमा काम लाग्छ भनि जीवनभर विदेशमा बसि कमाएको, स्वदेशमै दिनरात मेहेनत गरेर कमाएको वा पुख्र्यौली सम्पत्ति बेचेर आएको रकम मानिसहरुले ब्याजको प्रलोभनमा सहकारीमा राखे ।

अहिले उनीहरु पछुताउन अलावा कुनै विकल्प छैन । किनकि सहकारी सञ्चालक, अध्यक्ष, कर्मचारीहरु त भागिहाले । उनीहरु कहाँ पुगे ? बचतकर्तालाई थाहा छैन । सरकार खोज्दैन । यही संकट बैंकमा पनि देखिन थालिसक्यो । किनकि सहकारीजसरी बैंकको पनि लगानी घरजग्गा, गाडी, सेयरमै छ । सेयरको मूल्य लगातार घट्दो छ भने घरजग्गा कारोबारमा पाँच वर्षयता व्यापक मन्दी छ ।

पेट्रोलियम सवारीसाधन त अब कामै नलाग्ने देखिँदैछ । पेट्रोल–डिजेल नै नभएपछि त्यो गाडी के गर्नु ? त्यसैले, वित्तिय संस्थाजसरी बैंकको पनि चाँडे डुब्ने दिन आउँदैछ । तर, त्यसअघि सरकारले घरजग्गा, गाडी र सेयर दलालहरुलाई समात्न जरुरी छ । जनता डुबाउने, राज्यलाई कर छल्ने यी दलालहरुलाई समातेर जेल कोच्नुपर्छ । यीनीहरुकै कारण आज करोडौं सर्वसाधारण डुबेका छन् ।

विलासित वस्तुमा लगानी गर्न उकास्दा मुलुकमा कृषि, उद्योग, कलकारखाना पछि धकेलियो । पाँच दशकअघि खाद्यान्नमा आत्मनिर्भर नेपाल अहिले परनिर्भर बन्नुपरेको छ । विदेशीले खाद्यान्न नपठाए हामी नेपाली भोकभोकै मर्नुपर्छ । देशभित्रका सबै खेतीयोग्य जमिन घर बनाएर सिद्धाइयो । छिमेकीलाई धनी बनाइयो, हामी चाँहि धेरै पछि धकेलियौं । हुँदाहुँदै मुलुककै अर्थतन्त्रसमेत धरापमा पारियो ।

त्यसैले, जनता लुट्ने अनि देशलाई कंगाल बनाउने दलालहरुलाई समात्न अब सरकारले ढिलो गर्नुहुन्न । यी दलालहरुसँग खर्बौको सम्पत्ति छ । देश र जनता लुटेर उनीहरुले आफ्नो बिसौं पुस्तालाई पुग्ने सम्पत्ति जोडेका छन् । अब सरकारले त्यस्तो सबै सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ । र, त्यही सम्पत्तिबाट विदेशी ऋण तिर्नुपर्छ । खर्च धान्नुपर्छ र विकास गर्नुपर्छ ।भूमाफियाहरुले सरकारी कर्मचारी, राजनीतिक दलका नेता, कानून व्यवसायीलाई हातामा लिई सार्वजनिक, गुठी, ऐलानी, मठमन्दिर, तालतलैया, पोखरी, वनजंगल, हदबन्दी बढी, इनार, ढुंगेधारा, राजकुला, टुकुचा, कुँवा, राजपरिवार, खोलानालालगायतको जग्गा सबै व्यक्तिका नाममा दर्ता गराए । यतिमात्र होइन, देशभरका खेतीयोग्य वा उब्जनी हुने जमिन प्लटिङ गरेर बेचे ।

रोपनीको दश हजारमा नबिक्ने यस्ता जमिन टुक्राटुक्रा पारी आनाकै २५ लाखदेखि करोडौंमा बेचिएको छ । सुन वि.सं. २०२२ सालसम्म प्रतितोला ८० रुपैयाँ थियो । तर, केही महिनाअघि यही सुन तोलाकै चार लाखमा बेचियो । अहिले एउटै व्यक्ति वा परिवारसँग दशदेखि सयौं तोला सुन छ । तर, सुन कहिकतै दर्ता हुँदैन । न त यो राखेबापत राज्यलाई राजस्व नै तिर्नुपर्छ । यसले सुन कालोधन लुकाउने राम्रो माध्यमसमेत बनिआएको छ ।

पाँच रुपैयाँ किलोमा नबिक्ने फलाम, सिसा, प्लास्टिक, रबर, कपडा, फर्मबाट सवारीसाधन बन्छ । छिमेक भारत र चीनले यसैबाट गाडी बनाई नेपाललाई बेचे । अझ अटो शोरुमहरुले एकदेखि दश लाखमा ल्याइएको सवारीसाधन अढाई लाखदेखि २४ करोडसम्ममा बेचे । फेरि यही घरजग्गा, गाडी, सेयर धितो राखेर एउटै व्यक्तिले अर्बौदेखि खर्बौ कर्जा लिएका छन् ।

व्यवसायी मीनबहादुर गुरुङ, शेखर गोल्छा, चन्द्रप्रसाद ढकाल, चौधरी ग्रुप, विशाल गु्रप, दुर्गा प्रसाईं, एमाले नेता महेश बस्नेत, कांग्रेस नेता दीपक खड्कालगायतले यस्तै कमसल धितो राखेर बैंकबाट अर्बौ–खर्बौ ऋण लिएका छन् । सहकारीबाट ६३ लाख, लघुवित्तबाट २७ लाख, बैंकबाट २२ लाखले कर्जा लिएका छन् । बैंक, वित्तिय संस्थाका सञ्चालक, अध्यक्षहरुले १० देखि २० प्रतिशतसम्म घुस खाई कर्जा दिए ।

एक प्रतिशत सेवाशुल्क भनी तीन प्रतिशत र १२ देखि १८ प्रतिशत ब्याज भनी ४८ देखि ८० प्रतिशतसम्म असुलियो । कर्जा तिर्न नसकेपछि पाँच लाख सर्वसाधारण कालोसूचीमा परिसकेका छन् । यस्तै, मीटरब्याजमा ऋण लिने पनि लाखौं छ । उनीहरुले एक लाख ऋणको महिनाकै पाँच हजारदेखि ३० हजारसम्म ब्याज तिरेका छन् ।

तर, अहिले कोही पनि ऋण तिर्न नसक्ने अवस्थामा पुगेका छन् । किनकि सबै क्षेत्र डामाडोल छ । जातजतै मन्दी छ । व्यापार व्यवसाय ठप्प छ । काम गरेको ठाउँबाट तलब पाइएको छैन । अनि कसरी तिर्नु ऋण ? अनि ऋण नतिरेपछि बैंक त डुबिहाल्छ । बैंक कसरी डुब्छ, जब धितो पर्याप्त छ ? भन्ने पनि प्रश्न उठ्ला । तर, धितो बिकेको भए त ऋणी आफैंले कर्जा तिरिहाल्थ्यो नि।

धितो नबिकेको पो टेन्सन भएको त । फेरि धितो बिकेपछि पहिलेभन्दा आधा मूल्यसमेत आउँदैन । अनि के गर्ने ? अहिले बैंकसँग लिलाम धितो त पर्याप्त छ । तर, त्यो बिक्री नै भएको छैन, बिकेपनि पर्याप्त मूल्य आउँदैन । यसले उल्टै बैंकलाई घाटा भइरहेको छ ।

त्यसैले, बैंकले धितो बेचेको छैन, अर्थात् बेच्नै सकेको छैन । तर, अवस्था रहिरहेमा मुलुक कतातिर जाला ? अहिले पैसा हुनेहरुले घरमै लुकाएका छन् । यद्यपि, त्यो पैसा बाहिर ल्याउन राज्य अग्रसर भएको छैन । यदि सरकारले यसतर्फ अझै ध्यान नदिने हो भने मुलुक गम्भीर संकटमा धकेलिनेछ ।

civil hospital
Hams Hospitals