लघुकथा:अनुत्तरित उज्यालो

231
shares

 

“यो मुटुको बोसो पग्लिएर निस्किएको धुवाँ हो कि मेरो चेतनाको अन्तिम अवशेष?”

सिद्धार्थले आफ्नो रित्तो छातीमा हात राखेर शून्यतातिर प्रश्न गर्‍यो। कोठाको अँध्यारो यति बाक्लो थियो कि हातले छाम्न सकिन्थ्यो। उसको सामुन्ने वृद्ध चिन्तक स्थिर मुद्रामा बसिरहेका थिए।

“तिमीले के पायौ त सिद्धार्थ?” वृद्धले सोधे।

“केही पाइनँ आचार्य, मात्र खरानी र अझ गाढा अन्धकार,” सिद्धार्थको स्वरमा पराजयको थकाई थियो। “शास्त्रले भन्थ्यो— त्यागको अग्निमा प्रकाश हुन्छ। मैले त आफ्नो मुटु नै झिकेर यो घरको बीचमा बालेँ। तर हेर्नुस्, भित्ताहरू अझै काला छन्। मुटु जलाउँदा पनि उज्यालो नहुने यो कस्तो घर हो?”

वृद्धले एउटा लामो सास फेरे— “किनकि तिमीले मुटु त जलायौ, तर त्यो मुटु जल्दा निस्कने प्रकाशलाई ‘मेरो’ भनेर समात्न खोज्यौ। तिमीले त्याग त गर्‍यौ, तर त्यसको ‘प्रतिफल’ खोज्ने तिम्रो अहङ्कार अझै जीवितै छ। वस्तुको दहनले ताप दिन्छ, दृष्टि दिँदैन।”

“के मुटु जलाउनु पर्याप्त छैन र?”

“जबसम्म तिमीभित्र ‘म जलिरहेको छु’ भन्ने भाव रहन्छ, तबसम्म तिमीले बालेको मुटुले केवल मोहको धुवाँ मात्र पैदा गर्छ। यो घर अँध्यारो हुनुको कारण यहाँ बत्ती नभएर होइन, बरु तिमीले अन्धकारलाई नै आफ्नो अस्तित्वको जग मानेर त्यसमाथि अपेक्षाको छत हालेका छौ। जुन घरको जग नै ‘अभाव’ मा ठडिएको हुन्छ, त्यहाँ कुनै पनि आगोले प्रकाश छर्न सक्तैन।”

civil hospital
Hams Hospitals