लघुकथा – मुटु चस्कँदा (बालश्रमको बिषय)
वि.सं.२०८३ वैशाख २४ बिहीवार
shares
– बालकृष्ण गजुरेल
“बालबालिकाको शोषण अपराध हो ।” नवीन राजले झस्काए ।
एक्कासी कानमा परेको उनको आवाज सान्दर्भिक लाग्यो । बालबालिकाको बिकास नै उनीहरुको भबिष्य थियो । उनीहरुको उचित पठनपाठन र हेरचाहले सुनौलो भबिष्य बन्दथ्यो । भब्य बालगोष्ठीमा नवीन राजसँग गैयो ।
बालबालिकाको गोष्ठि सकेर उनको घरका पुगियो । घर भब्य थियो । सवारी साधनको रुपमा पजेरो थियो । उनको जीवन मन्त्री भन्दा माथि थियो । भन्न त उनी आफुलाई मानवअधिकारवादी भनी टोपल्थे । शाषकले बालबालिकाको बिद्यालयको पहिरनमा गोली हान्दा उनी बोलेनन् ।
घरमा पुग्ने बित्तिक्कै नवीन राज चिच्याए, ” बाबू सन्तोष, दुई कप चिया लिएर आउ । ”
भित्रबाट सुरिलो आवाज आयो, ” हुन्छ सर ।”
करिव चौध बर्षको बालक चिया लिएर हाजिर भयो । चिया मीठो थियो । तर बच्चाको श्रमले अमिलो बनायो । उक्त अवस्था देखेर मैले भनेँ, “यो बाबू, कताबाट ल्याउनु भयो ?”
नवीन राजले शब्द भूइँमा पर्न नपाई भने, “यीनलाई हामीले खाना, लाउन दिएका छौँ । धेरै थोरै त श्रम गर्नै पर्छ जीवले बाँच्नलाई ।”
नविनराजको शब्दले मलाई रुन्चे हाँसो हँसायो । बाध्य भएर भनेँ, “आफ्नो बच्चाले मात्र मुटु चस्काउँदो रहेछ ।”



























