विलासित वस्तुमा लगानीः एकातिर व्यक्ति, बैंक, वित्तिय संस्था चुर्लुम्म, अर्कोतिर सार्वजनिक सम्पत्ति कब्जा !

222
shares

थुप्रै मानिसहरुले आफ्नो घरजग्गा, गाडी, सेयर, सुनलगायत जायजेथा धितो राखेर बैंक, वित्तिय संस्थाबाट कर्जा लिएका छन् । विशेषगरी पाँच–६ वर्षअघि यो संख्यामा अधिक वृद्धि भएको पाइन्छ । त्यतिबेला कर्जा पाउन सहज थिएन । घुस खुवाउनुपथ्र्यो । भनसुन गर्नुपथ्र्यो । पावर लगाउनुपथ्र्यो । अनिमात्र कर्जा पाइन्थ्यो ।

तीन करोडको धितो राखेर बैंक, वित्तिय संस्थाले एक करोड कर्जा दिन्थे । त्यसमा दशदेखि २० लाख त घुस दिनुपथ्र्यो । सेवाशुल्क तीन प्रतिशत, ब्याज १२ देखि १८ प्रतिशत भनेर ४८ देखि ८० प्रतिशत असुलिन्थ्यो । धितोको अनिवार्य बीमा र वर्षेनी नवीकरण गराइन्थ्यो । त्यो पनि ऋणबाटै । उता, बीमा कम्पनीसँग कमिशन बुझ्थे बैंक, वित्तिय संस्थाहरु ।८३ लाख ६७ हजार सर्वसाधारणले सेयर धितो राखेर बैंक, वित्तिय संस्थाबाट कर्जा लिएका छन् भने घरजग्गा, गाडी, सुनलगायत धितो राखेर बैंकबाट २२ लाख, सहकारीबाट ६३ लाख र लघुवित्तबाट २७ लाखले कर्जा लिएका छन् ।

पाँच वर्षअघि घरजग्गा, गाडी र सेयरको मूल्य दिनमा दुई र रातमा चार गुणाले बढ्थ्यो । आज एक करोडमा किनिएको घरजग्गा एक महिनामै डेढ लाख पुग्थ्यो ।
सेयर र गाडीको मूल्य पनि त्यसरी नै बढ्थ्यो । दुई हजार कित्तामा किनेको सेयर केही दिनमै ३२ सय पुग्थ्यो भने गाडी पनि एक महिनामै पाँच लाखबाट पन्ध्र लाखसम्म पुग्थ्यो । धितोको मूल्य बढेपछि ऋणीहरु त्यही बेचेर बैंक, वित्तिय संस्थाको ऋण तिर्थे । ऋण प्रवाह र असुली सहजै हुँदा बैंक, वित्तिय संस्था रातारात धनी बन्न पुगे । मालामाल भए ।

बैंक, वित्तिय संस्थाका कर्मचारीहरु एक वर्षमा डेढ वर्षको तलब बुझ्थे । बोनस त अलग्गै । सेलिब्रेसन पनि उत्तिकै गरिन्थ्यो । तर, केही वर्षयता बैंक, वित्तिय संस्थामा न सेलिब्रेसन भएको छ न कर्मचारीहरुले तलब नै पाएका छन् । कारण हो–ऋण प्रवाह शून्य बराबर हुनु र दिएको कर्जा पनि नउठ्नु । पाँच वर्षयता घरजग्गा, गाडी र सेयर कारोबार ठप्प छ ।
यी वस्तुको मूल्य लगातार घटिरहेको छ । तीन करोडको धितो एक करोडमा झरिसक्यो । यो मूल्य अझै घटिरहेको छ । धितोको मूल्य घट्दा ऋणीले बैंक, वित्तिय संस्थाको कर्जा तिर्न सकेका छैनन् । जसका कारण सहकारी, लघुवित्त, फाइनान्स त डुबे नै । यी वित्तिय संस्था भाग्दा वा डुब्दा करोडौं सर्वसाधारणको बिचल्ली भएको छ ।

आपत, विपतमा काम लाग्छ भनेर खाइपाइ पुँजी जम्मा गरेका उनीहरुको रुवाबासी छ । अब बैंकमा पनि त्यही संकट निम्तिन गइरहेको छ । बैंक समस्यामा परिसकेको कुरा नकार्न सकिँदैन । बाहिरबाट जतिसुकै ढाकछोप गरेपनि बैंक टाट पल्टिने अवस्थामा पुगिसकेको छ । किनकि धितोको मूल्य निरन्तर घटिरहेको छ । त्यतिमात्र होइन, नयाँ ऋण प्रवाह भएको छैन, पुराना ऋण उठेको छैन । धितो लिलाम गरिएपनि ऋण उठ्ने छैन । यसले बैंक निकै तनावमा छ । के गर्ने ? कसरी ऋण उठाउने ? भन्नेमा बैंक चिन्तित छ ।

घरजग्गा, गाडी, सेयर विलासित वस्तु हुन् । यी वस्तुको मूल्य दलालहरुले कृत्रिम रुपमा बढाएका थिए । भूमाफियाहरुले रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य जमिन प्लटिङ गरेर आनाकै २५ लाखदेखि १४ करोडसम्म पुर्याए । छिमेक भारत र चीनमा ५० हजारदेखि २० लाख पर्ने सवारीसाधन अटो शोरुमहरुले अढाई लाखदेखि २४ करोडसम्ममा बेचे ।
जलविद्युत, बीमा कम्पनीहरुले एक सय प्रतिकित्तामा निष्काशन गरेको सेयर दलालीहरुले मूल्य बढाएर ३२ सयदेखि पाँच हजारसम्ममा बेचे । योभन्दा पनि मूल्य बढ्ने आशामा यी क्षेत्रमा लगानी गरेका व्यक्तिदेखि बैंक, वित्तिय संस्था आज चुर्लुम्म हुन पुगेका छन् । सोचविचार नगरी लगानी गरेको भन्दै सर्वसाधारणको घरमा कलह निम्तिएको छ ।

परिवारमा दिनहुँ झैझगडा हुन्छन् भने कतिपयले लगानी डुबेको सहन नसकेपछि आत्महत्या, हत्या गरेका छन् । उता, बैंक, वित्तिय संस्था पनि निकै तनावमा छन् । घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा मानिसहरुले केबल आफ्नो धितो र जीवनभरको कमाईमात्र गुमाएका छैनन्, परिवार र ज्यानसमेत गुमाएका छन् ।

यता, जग्गाको मूल्य एकाएक बढेपछि सार्वजनिक जग्गासमेत छोडिएन । सरकारी, गुठी, ऐलानी, मठमन्दिर, पाटीपौवा, ताल, पोखरी, राजकुलो, खोला, वनजंगल, हदबन्दी बढी, राजपरिवारलगायतका जग्गासमेत हड्पियो । देशभर लाखौं रोपनी सार्वजनिक जग्गा व्यक्तिको कब्जामा मात्र गएको छैन, दर्ता नै गरेर लगिएको छैन ।

काठमाडौं उपत्यकामा मात्र लाखौं रोपनी सरकारी, गुठी, ऐलानीलगायत जग्गा व्यक्तिका नाममा गएको पाइन्छ । सरकारी जग्गा कसरी व्यक्तिका नाममा गयो त ? जवाफ सहज छ–जनप्रतिनिधि, कर्मचारी, कानून व्यवसायी र भूमाफियाको मिलीभगतमा । बैंक, वित्तिय संस्थामा राखिएका कतिपय धितोमा सरकारी जग्गासमेत छ । यसका लागि ललिता निवास, बाँसबारी जग्गाकै उदाहरण काफी छन् ।

यदि सरकारले देशभर कब्जा भएका वा व्यक्तिका नाममा गएका सार्वजनिक जग्गा पुनः राज्यकै स्वामित्वमा ल्याउने हो भने बैंकको लगानी बालुवामा पानीसरह हुनेछ । बैंकले सरकारी जग्गामै खर्बौ कर्जा प्रवाह गरेको छ । बैंकले धितो राम्रो देखेर ऋण प्रवाह गर्यो । कृत्रिम मूल्य बढाइएको थाहा पाएर पनि अनदेखा गर्यो । यतिमात्र होइन, सरकारी जग्गा हो भन्ने कुरा थाहा पाउँदापाउँदै त्यही जग्गा धितो राखेर खर्बौ कर्जा दियो । त्यसैको परिणाम अहिले बैंकले भोग्दैछ । बैंक संकटमा परिसक्यो । बैंक डुब्नु संस्था डुब्नुमात्र होइन, सर्वसाधारण डुब्नु हो । सहकारी डुब्दा करोडौं डुबे, अब बैंक डुब्दा कति डुब्ने हुन् ?

उता, दलाल, भूमाफियाहरुको पनि भागाभाग चलिसकेको छ भने घरजग्गा, गाडी, सेयरमा लगानी गरेका सर्वसाधारणको रुवाबासी चलिरहेको छ । उनीहरु बिहानैदेखि भट्टी पसलमा हुन्छन् । तर, डुबेपछि रोएर वा पछुताएर के काम ? उल्टै जाँडरक्सी खाँदा आफ्नै स्वास्थ्यमा हानि पुग्छ । घरजग्गा, गाडी र सेयर फेरि उकालो लाग्नेजस्तो देखिँदैन । किनकि बढ्नुजति मूल्य यी वस्तुको बढिसक्यो । र, अब घट्ने पालोमात्र हो ।

त्यसैले, अब व्यक्ति होस् या बैंक, वित्तिय संस्थाले यी क्षेत्रमा गरेको लगानी उठाउन सक्ने छैनन् । जतिसुकै बल लगाएपनि, रोएपनि वा सरकारलाई गाली गरेपनि । किनकि घरजग्गा, गाडी, सेयर सरकारले किन्ने होइन । सर्वसाधारणले नै लगानी गर्ने हो । मानिसले लगानी गरेमा मात्र यी क्षेत्र फेरि माथि आउन सक्छन् । तर, बिहान बेलुकाको छाक टार्न धौधौ परिरहेको अवस्थामा कसले घरजग्गा, गाडी र सेयर किन्छ ? यसकारण घरजग्गा, गाडी र सेयरमा गरिएको लगानी उठ्छ भनेर नसोचे नि हुन्छ ।

 

civil hospital
Hams Hospitals