मौद्गल्य गोत्रको उत्पत्ति, रूपान्तरण र विकासक्रम
वि.सं.२०८३ साउन ७ बिहीवार
shares
आखिर ! के हो त गोत्र ? सुन्दा आश्चार्य लाग्न सक्छ। कसरी एकै गोत्रका पनि विभिन्न थर हुने रहेछन ? सुनिन्छ नि, एउटै थरका मानिस भेट्दा सहजै भन्ने गरेका पनि छन्, “हामी त एउटै गोत्रीय दाजुभाइ रहेछौ, हगि ।”त्यो आत्मियता, त्यो फरकपन अनि त्यो सामीप्यता उस्तै, कता कता हाम्रो मनसपटलमा एक किसिमको कुतुहलता सल्बलाउँछ । बुझ्न मन लाग्छ, सोधखोज गर्छौ, सम्बन्धमा बिस्तारै आँकुरा पलाउँन थाल्छ, परिचयसहितको । अनि झ्याङ्गिन थाल्छ, माया बढन पनि ।
हो, सुन्दा अनौठो लाग्ला, तर जतिपनि गोत्रहरू छन् ती सबै ऋषिहरूका नाम हुन् । हाम्रो जुन थर छ त्यो थरका मान्छे जति जन्मे, वंश परम्परामा आए, त्यो चाहिँ कुनै न कुनै ऋ्षिमुनिसङ्ग जोडिएर आएको छ । हामी तिनै ऋ्षिका सन्तान हौँ । एउटै ऋषिबाट जन्मिएका सन्तान हौँ,अर्थात् जसरी एउटै वृक्षका अनगिन्ति हाँगाहरू हुन्छन् । हो,गोत्र वृक्ष हो भने थर त्यसको हाँगा हो । हामी त्यसैलाई गोत्र भन्छौँ ।
मौद्गल्य ऋषिका सन्तान मौद्गल्य गोत्र भए, कौडिन्य ऋषिका कौडिन्य गोत्र भए भने वशिष्ट ऋषिका सन्तान वशिष्ट गोत्र भए । यसरी नै गोत्र परम्परा अगाडि बढेको छ ।
हिन्दु परम्परामा वंश विस्तार गर्ने मूल ऋषिहरूका आधारमा गोत्र निर्धारण गरिएको छ । धर्मशास्त्र र पुराणहरूका अनुसार गोत्र मुख्यत: ८ मूल गोत्र छन, र प्रवरका आधारमा ४९ प्रकारका गोत्र रहेका छन्। प्रवर भन्नाले गोत्र चलाउने ऋषिपछिको अर्को नाउ चलेको ऋषि हो, भन्ने बुझिन्छ ।
मानव विकासको इतिहासमा सबैभन्दा पहिले पृथ्वीमा मनु नामका व्यक्ति थिए। मनु र शतरूपाबाट नै सर्वप्रथम यो संसारमा मानव जातिको विकास भएको थियो। त्यसपश्चात मात्र ऋषि महर्षिहरूको उत्पति भएको थियो भन्ने इतिहास पाइन्छ। गोत्र भनेको वंश हो । गोत्रको वंश विस्तार ऋषिहरूबाट भएको पाइन्छ । जसमा विश्वामित्र,जमदग्नि, भारद्वाज, गौतम, अत्रि,वशिष्ठ र कश्यप यी सप्तऋषि र अगस्तिसमेतका सन्तानलाई पनि गोत्र भनेर सम्बोधन गरिन्छ । गोत्रका ४९ भेद बताइएको छ।
नेपाल सिन्धु घाटी सभ्यता ई.पू. विश्वको प्राचीन सिन्धु घाटी नदी सम्भयताहरू मध्येको एक प्रमुख सभ्यता थियो। यो हडप्पा सभ्यता र सिंधु सरस्वतीको नामले पनि चिनिन्छ । हिन्दु धर्मका विभिन्न थरहरू हुन्छन, ती थरलाई विभिन्न गोत्रमा बाडिएको छ ।
गोत्र वंश फैलाउने ऋषिहरूलाई प्रवर भनिन्छ ।प्रवर भन्नाले प्रधान विशेष हुन्छ, भने गोत्र विस्तार गर्ने ऋषि नै प्रवर हुन् ।
थरको नामाकरण कार्यक्षेत्र, स्थान विशेष,वस्तुविशेषका आधारमा निर्धारण गरिएको हो । भण्डारमा काम गर्ने भण्डारी, अधिकारको प्रयोग गर्ने अधिकारी, निरोली खोलाका आसपास बस्ने निरौला आदि । उद्गम स्थानसँग सम्बन्धित जस्तैः दुल्लुबाट हिडेका दुलाल, पौडीबाट हिडेका पौडेल, पेसासङ्ग सम्बन्धित, प्रशासनमा काम गर्ने कार्की,पद्सङ्ग सम्बन्धित अमात्य, दीक्षित गर्ने आचार्य, लामा, राष्ट्रियतासँग सम्बन्धित भारती,नेपाली,जापनीज मान्यतासङ्ग सम्बन्धित शिवभक्ति सेवा,ऐतिहासिक घटना कुलसङ्ग सम्बन्धित जस्तैः, वर्मशाखा आदि नामाकरण गरेको पाइन्छ।
वैदिक कालमा ऋषिमुनिहरूले आफ्ना सन्तानहरूको पहिचान गर्न आफ्नो नामलाई सङ्केत शब्दको रूपमा प्रयोग गर्दथे, जसलाई गोत्र भन्ने गरियो । गोत्र शब्दले एक प्राचीन पुरुषको अविरल वंश परस्परालाई धानेको छ, र जनाउँछ पनि । जुन क्रमशः माथिबाट तलतिर अटुट रूपमा बढ्दै गरेको छ।
जर्मन मानवशास्त्री म्याक्स मुलरले भनेका छन, “गोत्र पद्धति भनेको प्राचीन कालमा ब्राहमण, क्षत्री, वैश्य र शुद्र परिवारहरूको वर्गीकरण र पहिचानका लागि बनाइएको प्रणाली भित्रको एक भाग हो।”
उनले गोत्रको उत्पत्तिको बारेमा लेखेका छन् । “गोत्र विभाजन प्रक्रियाको आरम्भ ऋग्वेद कालीन समयभन्दा पछाडि, यजुर्वेद कालीन द्वापर युगको समयमा भएको हो।” यजुर्वेद कालदेखि नै गोत्र आठ प्रकारका थिए।
आठ गोत्रका ऋषिका नामबाट लामो समयसम्म गोत्र रहयो । पछि सन्ततीहरू विभिन्न समूहमा विभाजित हुदै गए, जसलाई गण भनियो । र ती गण पनि कालान्तरमा विभिन्न परिवारमा विभक्त हुँदै गोत्र लागु हुँदै गए ।
मौद्गल्य गोत्र
नेपाल, भारत तथा अन्य स्थानमा बस्ने हिन्दू धर्मावलम्बीहरूको गोत्र हो। मौद्गल्य छेत्री कुलका राजा सूर्यवन्शी मुदगलका ५० भाइ छोराहरूमध्येका जेठा छोरा हुन् भन्ने प्रमाण श्रीमदभागवतमा उल्लेख भएको पाइन्छ।। मौद्गल्य गोत्र गौण गोत्र हो । मुदगलका जुम्ल्याहा सन्तान भए । उनको छोराको नाम देवदास र छोरीको नाम अहिल्या थियो । अहिल्याको विवाह ऋषि गौतमसङ्ग भएको थियो । देवदास ऋषिबाटै मौद्गल्य वंश चलेको छ। द्वापर युगमा पाञ्चाल नदेश जुन द्रोपदीका पिता थिए। उनी मौद्गल्य गोत्रका थिए भन्ने गोत्र वंशावलीमा उल्लेख भएको पाइन्छ । मौद्गल्य गोत्रको कात्यान सुत्र वेद युजुर्वेद हो, भने उपदेव धनुर्वेद हो। मध्यनन्दनी शाखा दक्षिणीशिखा र दक्षिणीपाथ शिवदेवता हुन् ।
ऋषि मौद्गल्यले स्वर्गको भोगलाई अस्वीकार गरेर कठोर तपका कारण जन्म मरणको चक्रलाई ज्ञानले जितेका एक त्यागी विद्वान थिए ।
माहाभारत कथामा आधारित पाँच पाण्डवहरू वनवासका क्रममा काम्यक वनमा बसेका थिए । त्यसबेला युधिष्ठिरलाई लाग्यो की , “मेरा कारणले मेरा भाइहरूले दुःख कष्ट पाइरहेका छन् । यो दु:खको कारण मनै हुँ ।” भन्ने चिन्ताले गर्दा उनमा छटपटी भएको थियो । वनमा ११ वर्ष व्यतित भइसकेको थियो। त्यो चिन्ताका कारण उनको मनमा कुष्ठा भरियो । त्यसै बेला त्यहीँ काम्यक वनमा माहात्मा वेदव्यासको आगमन हुन्छ। उनी विद्धान हुनुका साथै कौरव र पाण्डवहरूको पितामहा पनि थिए। युधिष्ठिरले वेदव्यास ऋषिको स्वागत गरे र उनको पाउ नजिक बसेका थिए। वेदव्यास ऋषिले उनको मनको चिन्ता बुझेर ज्ञानको कथा सुनाउंनुभयो । जसमा कथा मौद्गल्य ऋषिको थियो ।
सुख दुःख अनित्य छ तर तप तपस्या नित्य छ । जब तप गर्छौँ स्वाध्ययनरतमा अडिग रहन्छौँ । तब एक न एक दिन सुख प्राप्त गर्नेछौँ । ल सुन, म तिमीलाई मौद्गल्य ऋषिको कथा सुनाउँछ । कुरुक्षेत्रको एक वनमा मौद्गल्य नामका ऋषि बस्दथे। उनी आफ्नो परिवारसङ्ग बस्दै उन्छवृत्त गर्दै जीवनयापन गर्दथे । उन्छवृत्त भन्नाले बजार उठीसके पछि वा खेतको अनाज थन्काई सकेपछिको खसेको अन्नलाई एकक्रीत गरेर आफ्नो जीवनयापन गर्नु नै उन्छवृत्त हो। अर्थात् उन्छ भनेको भुइँमा खसेको अन्न र वृत्ति भनेको जीविका हो । यसरी अन्न उठाइसकेपछि टिपेर जीवन चलाउँने व्यक्तिलाई ‘उच्छशील’ वा उच्छवृत्ति’ भनिन्छ ।
उनले महिनामा दुई पटक मात्र भोजन गर्दथे । एकचोटी आमावश्याको दिन र अर्को पूर्णिमाको दिन, १५/१५ दिनमा भोजन गर्न इष्टिकृत नामक यज्ञ गर्दथे। यज्ञमा देवीदेवताहरूको आह्वान गर्दथे । देवताहरू पनि उनको यज्ञमा सरिक भएर भोजन गरेर फर्कन्थे । अतिथिहरूलाई सन्तुष्टि गराएपछि मात्र उनी र उनका परिवारले बाँकी रहेको भोजन ग्रहण गर्दथे । यसरी फेरि पुनः उन्छवृत्तमा लाग्दथे ।
तपस्या र ध्यानले उनले धेरै पुण्य आर्जित गरेका थिए । उनको तपस्याको प्रभाव यति थियो कि थोरै अन्नमा पनि सबै सन्तुष्ट हुन्थे । उनी पुण्यवान भएको चर्चा चारैतिर हावासरि फैलन थाल्यो। यो कुरा ऋषि दुर्वाशाले थाहा पाए र मौद्गल्य ऋषिको परीक्षा लिने निर्णय गरे । उनी पागलको भेष धारण गरी पन्ध्र दिनपछि मौद्गल्य ऋषिको कुटीमा पुगे । अतिथिहरूको भोजन ग्रहण पश्चात मौद्गल्य ऋषि र उनको परिवारले भोजन गर्न बस्दा ऋषि दुर्वाशाले अनेक गाली गलोच गर्दै भने, “मेरो भोजन गर्ने इच्छा छ, भोकले व्याकुल भएको छु, मलाई भोजन देऊ।” मौद्गल्य ऋषिले आफ्नो लागि राखेको सबै भोजन दिए । भुइँमा खसेको जुठो बचेको केही भोजन पनि ऋषि दुर्दशाले आफनो शरीरमा दलेर गए । यो क्रम ६ पटकले तीन महिनासम्म चलिरहयो। तर ऋषि मौद्गल्यको अनुहार, व्यवहारमा कुनै क्रोध थिएन, उनी शान्त थिए । त्यो देखेर ऋषि दुर्वाशा आफ्नो वास्तविक रुपमा आए र भने । “ठुला ठुला विद्वान, महात्मालाई पनि भोकले धर्मको मार्गबाट डग्मग्याइदिन्छ। तर तपाईं धन्य हुनुहुन्छ । विकट अवस्थामा पनि मनलाई नियन्त्रण गर्न सकेकोमा तपाईभन्दा महान तपस्वी कोही छैन । महान, शुद्ध मन भएकाले तपाई अब स्वर्गलोक जानुहोस ।”भन्ने बित्तिकै स्वर्गबाट दिव्य यान आयो र देवदूतले महर्षि मौद्गल्यको आँगनमा आएर भने, “तपाईले स्वर्गलोक पाउँनुभयो, अब हिड्नुहोस् ।” म लिन आएको हुँ । भन्दा ऋषिले तर्क गरे, ” मलाई स्वर्गको दोष र गुण बताउँनुहोस् ।” देवदुतले भने, “स्वर्गलोक भोगलोक हो भने पृथ्वी कर्मलोक हो। पृथ्वीमा गरेका पुण्य कर्मले नै स्वर्गमा सुखभोग गर्न पाइन्छ, र कर्मको फल सकियो भने पुन: पृथ्वींमा अवतरित हुनुपर्छ।” त्यो सुनेर मौद्गल्य ऋषिले स्वर्ग जान अस्वीकार गरे । परमआनन्दको प्राप्ति हेतु झन कठोर तप गरे, र मोक्ष प्राप्त गरी अनन्त भए ।
त्यागको उदाहरण वेदव्यासले यस कथाबाट पाण्डव पुत्र युधिष्ठिरको मनबाट चिन्ता हटाउँन सफल भएका थिए ।
हिन्दु धर्मका चार वेदमा ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद रहेका छन् । यिनै वेदका आधारमा व्रह्माजी चार मुखमा प्रस्तुत हुनु भएको हो, र त्यहीँ वेदका प्रतीक हुन्,भनिन्छ । तर यी चार वेदका उपवेदहरू पनि रहेका छन् । क्रमश: आयुर्वेद, धनुर्वेद, गान्धर्ववेद र अर्थवेद अर्थात् ब्राह्मण र आरण्यक ग्रन्थ एवम् उपनिषद् साहित्यमा वैदिक साहित्य अन्तर्गत आउँछ। जहाँ वेदको स्थान छ, त्यहाँ त्यसको ज्ञानका लागि शिक्षा, कल्प, व्याकरण, निरुत्त,छन्द र ज्योतिष गरी यी ६ शास्त्र रहेका छन् ।
मुदगल पुराण भगवान गणेशमा समर्पित एक प्रमुख हिन्दु धर्मग्रन्थ वा उपपुराण हो। यस ग्रन्थमा विशेषत: गणेशको महिमा, पूजा विधि र आध्यात्मिक शिक्षासङ्ग जोडिएको छ। भगवान गणेशका आठ अवतारको विस्तृत वर्णन गरिएको छ ।जस्माः वक्रतुण्ड, एकदन्त, महोदर, गजानन, लम्बोदर, विकट, विघ्नराज र ध्रुमवर्ण रहेका छन् । गणेश पुराण र मुदगल पुराण दुवै गणेशको पूजा गर्ने ग्रन्थ हुन् । तर मुदगल पुराणमा गणेशका विभिन्न रूपहरू र उनको शक्तिको गहिरो,आध्यात्मिक अर्थ बताइएको छ । मुदगल पुराण ऋग्वेदका मन्त्रद्रष्टा महर्षि मुद्गलले लेखेका हुन् वेदव्यास ऋषिले धेरै पुराण लेखेका छन् भने मुदगल ऋषिले लेखेको गणेशमा समर्पित मुदगल पुराण पनि उत्तिकै प्रसिद्ध रहेको छ ।
मौद्गल्य गोत्रमा: कोइराला, तिमिल्सिना,तिम्सिना, तिमल्सिना, तिमल्सेना, तिम्सेना, उप्रेती, कुइँकेल, कार्की, (खनाल लामा, मुडुला) चक्रवर्ती चटर्जी, थापा कालिकोटे, निउरे (न्युरे) बनर्जी, बेलकॉणि, बेलवासे भट्टाचार्य, मुखर्जी, लेकाली, सिंखाडा,लेकाल,बगाले,नैनावती,उपाध्याय,शर्मा,जोशी,खत्री लगायतका थर सगोत्री हुन ।
मौदगत्य गोत्रको प्रवर :- मौद्गल्य, आंगिरस, भाग्याश्व इति त्रिप्रवर
हिन्दु धर्ममा सगोत्री विवाह वर्जित गरिएको छ । एउटै गोत्रमा विवाह गर्दा विभिन्न समस्याहरू झेल्नुपर्ने, सम्बन्ध राम्रो नहुने, सन्तानमा समस्या हुने जस्ता कारणले हाडनाताको विवाह वर्जित छ। थर मानिसको पहिचान हो, प्रारम्भमा मानिसको पहिचान गोत्रका आधारमा हुन्थ्यो। समय बित्दै जाँदा मानिसको पहिचान पेसाबाट हुन् थाल्यो। कालान्तरमा मानिसको पहिचान बसोवासको आधारमा हुन थाल्यो। संस्कृतमा “ग्रामज व्यपदेश” मा बसोवासको आधारमा थर हुन थाल्यो । गाउँबाट नाम बन्ने वा गाउँबाटै पहिचान हुने क्रम चल्यो । व्यक्तिको नामका पछाडि गाउँ वा ठाउँको नाम जोडिन थाल्यो । त्यही थर बन्न पुग्यो। अहिले पनि गोर्खामा जन्मिएका गोर्खाली, झापामा जन्मिएका झापाली, पाल्पामा जन्मिएका पाल्पाली हुन, भनिन्छ । यसैगरी नेपाली, भारतीय भुटानी अमेरिकन, चिनियाँ, जापनीज मानिसका देश अनुसारका पहिचान हुने गरेको पाइयो। देशको नाम जोडिएका शब्दले व्यक्तिको पहिचान तथा देशको राष्ट्रियतालाई बुझाउँन थाल्यो ।
हो,त्यस्तै गरी तिमिल्सिना थर पनि अछाम जिल्लाको तिमिल्सैन गाउँको आधारमा तिमिल्सिना थर बनेको हो । अछाम जिल्ला तिमिल्सैनबाट तिमिल्सिना थर निर्माण भए जस्तै; घमिराउँबाट घिमिरे, देवकोटबाट देवकोटा, ढाँकुबाट ढकाल, रिमाबाट, रिमाल, लामिसालबाट लम्साल थरहरू बनेका हुन, भन्ने इतिहास पाइन्छ।
यही आधारमा ईश्वरदेव, विश्वदेव र वासुदेवले तिमिल्सैन विर्ता पाएपछि उहाँहरूको पहिचान तिमिल्सिनाका आधारमा हुन थाल्यो । र “ग्रामज व्यपदेश” का आधारमा तिमिल्सिना थर लेख्न विज्ञानसम्मत आरम्भ भयो। क्रमशः उहाँहरूको सन्ततिको पहिचान तिमिल्सिना हुन थाल्यो । अनि बसाइँसराइ हुने क्रम चल्यो। सरलताका दृष्टिकोणले तिमिल्सिना भन्नुभन्दा तिमल्सिना, तिम्सिना, तिमल्सेना, तिमिल्सेना, तिमसिना हुदै तिमिल्सिना भन्ने शब्द बिग्रन थाल्यो। लेखाइमा विविधता देखिएपनि सारमा भन्नुपर्दा यी सबै थर एकै हुन भन्ने कुरामा कुनै द्विविधा लिनु पर्दैन ।
वि.सं. १४४१ को दास्तावेज हेर्दा त्यसमा तिमिल्सिना भन्ने शब्द उल्लेख भएको पाइन्छ । विश्वदेव तिमिल्सैनबाट, ईश्वरदेव अछामको कुइकामा र वासुदेव बाजुराको वेलकटियामा बसोवास गर्न थाल्नुभएको थियो । बिस्तारै बढ्दै गएको तिमिल्सिनाको वंशवृक्ष नेपालभरि क्रमश: फैलिन थाल्यो । नेपालमा मात्र सिमित रहेन्, तिमिल्सिना भारतको सिक्किम, आसाम, मणिपुरसम्म विस्तारित हुन पुग्यो। भुटान वर्मामा पनि तिमिल्सिनाको स्थायी वसोवास हुन थाल्यो। यसरी आज तिमिल्सिनाहरू पृथ्वीको सबै महाद्वीपहरूमा छरिएर रहेका छन ।
तिमिल्सिनाका सगोत्रीहरूले प्रारम्भमा सबैले तिमिल्सिना थर नै लेख्दन्थे । कोइराला वंशलताको पृष्ठ ५६ बाट यस कुराको पुष्टि भएको छ । त्यहाँ उल्लेख भए अनुसार लम्बोदर भट्टको १० औं पुस्तामा ईश्वरदेव तर्फका सन्तानमा होमनाथ अग्री होत्री भए । उनका काँइला छोरा श्रीकृष्ण दैलेख जिल्लाको कोइलारी /कोइरालोमा बस्न थालेपछि उनका सन्ततिले कोइराला थर लेख्न थाले । यसरी हेर्दा तिमिल्सिनाको एक शाखाका रूपमा कोइराला भएको पुष्टि हुन्छ। नेपालमा रहेका जतिपनि मौद्गल्य गोत्रीयहरू हुनुहुन्छ । वहाँहरू सबै तिमिल्सिना थरको एक शाखा भएको र बसाइँसराइका क्रममा तिमिल्सिनाहरू विभिन्न स्थानमा सरेकाले गर्दा लेखाइ “ग्रामर व्यपदेश” का आधारमा फरक आएर विभिन्न थरको निर्माण भएको हो भन्ने पुष्टि हुन्छ ।
हिन्दु परम्परामा पृत्री र गोत्र एकै परिवार वा देशका मानिसहरूलाई चिनाउने माध्यम हो । यी दुबै बिचमा अटूट र गहिरो सम्बन्ध रहन्छ । जुन रगतको नातासङ्ग जोडिएको हुन्छ । समग्रमा भन्नु पर्दा पृत्री हजारौं वर्ष अघिको हाम्रो मूल जरा हो,भने गोत्र त्यहीं जराबाट फैलिएको वंशवृक्ष हो,नाम वा पहिचान हो । त्यसैले आफ्नो कुलका पुत्रीलाई सम्झन गरिने कुलपूजा वा अनुष्ठानहरूमा गोत्रको महत्वपूर्ण भूमिका रहन्छ।
२०४६ साल पश्चात नेपालमा पुन: पूर्वजलाई सम्झने, वंश, गोत्र, कुल, जातभाइको पहिचान, वंशावली खोज्ने क्रम देखा परेको हो । यथार्थमा भन्दा जातीय पहिचान र अस्तित्व खोज्न थालिएको देखिन्छ । ‘म’ र ‘मेरो’ को अस्तित्व नभएका कारण ‘हामी’ र ‘हाम्रो’ को भावनाले गर्दा गुठी वा वंशको एकता सुदृढ हुन थाल्यो । परस्परमा सामुदायिक भावना यति बलियो थियो कि कसैले तोड्न सक्दैनथ्यो । आदिमकालीन समयमा कसैले मुठे बलले एकता भत्काउन सक्दैन्थे। एकता यति मजबुत थियो कि गोप्य कुरा कसैलाई भनिदैन थियो ।”घर फुटे गँवार लुटे” भन्ने कथन चरितार्थ थियो । आफ्ना गोत्रका समस्त सदस्यलाई सुरक्षा प्रदान गर्ने, सबैलाई सघाउने, माया गर्ने, रक्षा गर्न परम्परा थियो । तर पछि अन्तिमकालसम्म आउँदा निजी सम्पतिको मानसिकताले भाइचाराको सम्बन्ध कमजोर बनाएको पाइन्छ । ‘हामी’ र ‘हाम्रो’ को भावना लाई ‘म’ र ‘मेरो’ को सोचले अस्तित्व कमजोर बनाइएको पाइन्छ ।
गैंडाकोटका मौद्गल्य गोत्रीय दाजुभाइ मिलेर “तिमिल्सिना बन्धु समाज” नामाकरण गरी हाल कुल मन्दिर निर्माण गरिएको छ । उक्त कुल मन्दिर गैंडाकोट -४ मा अवस्थित रहेको छ । जातीय पहिचान दिलाउँने मन्दिरहरूले वंश परम्परालाई मजबुत बनाउँन एक स्तम्भको भूमिका निर्वाह गर्दछ । आउँने भावी पिंडीलाई पनि कुलको मर्यादामा रहन, भाइजातहरूप्रति लगाव राख्न, अग्रजहरूको मान सम्मान गर्न, आत्मियता दिलाउँन, दिशा निर्देश गर्न, अनुशासनमा रहन सक्छन्, भन्ने अनुमान गर्न सकिन्छ ।
गोत्र, वंश परम्परा जति मजबुत हुन्छ, हामी त्यति बलिया हुन्छौँ । हाम्रो अस्तित्व मजबुत रहन्छ । हाम्रो पहिचान हाम्रा पूर्वजबाट हुन्छ । को, के, कहाँ, किन, कसरी भन्ने प्रश्नको जवाफ सामान्य परिचय, बोलचाल,व्यवहार सोधखोजबाट पनि पहाडघरका थातथलो थाहा हुन्छ । सम्बन्ध प्रगाढ बन्छ, एकअर्कामा माया बढ्छ । सबैको अस्तित्व समान छ । यद्यपि आफ्नो पहिचान आफ्नासङ्ग बलियो रहन्छ । तसर्थ गोत्र, वंश, पुर्खासङ्ग/ रगतसङ्ग जोडिएकाले जातीय पहिचानको सदैव सम्मान एवम् संरक्षण गर्नु हामी सबैको कर्तव्य हो, र आवश्यक पनि रहन्छ ।





























