सुस्तातर्फको यात्रा : जहाँ नदीले समय लेख्छ(नियात्रा)

96
shares

 

पहिलो बिहानीको उज्यालो पूर्वको क्षितिजबाट बिस्तारै फैलिँदै थियो। सुनौलो घामले आकाशका फिक्का निला र गुलाबी रङलाई हल्का स्पर्श गर्दै पृथ्वीलाई नयाँ दिनको स्वागत गराइरहेको थियो। त्रिवेणीघाटतर्फ जाने कच्ची सडक रातको शीतले अझै भिजेको थियो। हरेक घाँसको टुप्पामा अडिएका शीतका थोपाहरू सूर्यको पहिलो किरणसँगै हिराझैँ टल्किरहेका थिए। चिसो हावाले वनका साल, सिसौ र खयरका पातहरूलाई कोमल रूपमा चलाइरहेको थियो। त्यो स्पर्शमा कुनै हतार थिएन, केवल प्रकृतिको शाश्वत लय थियो। नारायणी नदीको गम्भीर गर्जन टाढैबाट सुनिन्थ्यो। त्यो आवाज डरको होइन, जीवनको थियो। हिमालदेखि मैदानसम्म निरन्तर बगिरहने अस्तित्वको संगीतको थियो।

नदीलाई पहिलोपटक देख्ने मानिसका लागि त्यो केवल अथाह पानीको प्रवाह हुन सक्छ। तर इतिहासका पानाहरू पढेका आँखाले त्यहाँ समयको यात्रा देख्छन्। प्रत्येक छालले कुनै कथा बोकेको जस्तो लाग्थ्यो। प्रत्येक मोडले कुनै सम्झना लुकाएको थियो। नदीले किनारालाई बारम्बार अँगालो हाल्दै फेरि टाढा सर्दै गरेको दृश्यमा प्रकृतिको अद्भुत आकर्षण झल्किन्थ्यो। त्यो दृश्यमा एक प्रकारको सहज, जीवनदायी र संवेदनशील सौन्दर्य थियो जसले मनलाई स्पर्श गर्थ्यो, तर शब्दमा सजिलै समेटिन सक्दैनथ्यो।

मैले सुस्तातर्फको यात्राको निर्णयल एउटा भूगोल हेर्नका लागि गरेको थिइनँ। म एउटा प्रश्नको खोजीमा निस्किएको थिएँ। यस्तो प्रश्न, जसको उत्तर न नक्सामा स्पष्ट थियो, न राजनीतिक भाषणमा। मलाई हेर्नु थियो सीमा कस्तो हुन्छ, जब त्यसलाई मानिसले होइन, नदीले कोर्छ। डुङ्गामा पाइला राख्दा पानीले किनारालाई हल्का चुमेजस्तो अनुभूति भयो। हावाले अनुहार छोयो। घामले काँध ततायो। प्रकृतिका यी कोमल स्पर्शहरूमा कुनै बनावटीपन थिएन। यही स्वाभाविक, जीवनप्रेमी र संवेदनशील सौन्दर्यले यात्रालाई केवल दृश्यको अनुभव होइन, आत्माको अनुभव बनाइदियो। त्यही क्षण मैले महसुस गरेँ कहिलेकाहीँ प्रकृतिको मौन आकर्षणले हजारौँ शब्दभन्दा गहिरो अर्थ बोल्दोरहेछ।

डुङ्गा नदीको छाल चिर्दै अघि बढ्न थाल्यो। पानीको सतहमा बिहानको सूर्य झल्किरहेको थियो। त्यो दृश्य अद्भुत थियो। नदी शान्त देखिन्थी, तर त्यसको इतिहास अत्यन्त अशान्त थियो। यही नारायणी नदीले शताब्दीअघि नेपाल र इस्ट इन्डिया कम्पनीबीच भएको सुगौली सन्धिमा अन्तर्राष्ट्रिय सीमाको भूमिका पाएको थियो। वि.सं. १८७२ मा गरिएको त्यस सन्धिले नदीको पश्चिमी किनार नेपाल र पूर्वी किनार भारतको हुने व्यवस्था गरेको थियो। तर प्रकृतिले कुनै सन्धिपत्रमा हस्ताक्षर गर्दिन। वर्षौँको बाढी, कटान र बगानसँगै नदीले आफ्नो धार परिवर्तन गरिन्। पानी पूर्वतिर सर्यो। नक्सामा कोरिएको रेखा उस्तै रह्यो। अनि त्यहीँबाट एउटा दीर्घकालीन विवाद जन्मियो। डुङ्गामा बसेर म सोचिरहेको थिएँ नदीले आफ्नो बाटो बदल्दा के सीमा पनि बदलिनुपर्छ? कि इतिहासलाई पानीभन्दा बलियो मान्नुपर्छ?

डुङ्गा किनार लागेपछि सुस्ताको धरतीमा पाइला राखेँ। पहिलो दृष्टिमा त्यो कुनै युद्धग्रस्त क्षेत्रजस्तो लागेन। चारैतिर हरिया खेत थिए। केरा, उखु र धानका बोटहरू हावासँगै लहराइरहेका थिए। चराहरूको आवाज सुनिन्थ्यो। बालबालिका खेलिरहेका थिए। जीवन आफ्नै लयमा अघि बढिरहेको थियो। तर यो शान्त दृश्यभित्र एउटा अदृश्य असुरक्षा लुकेको थियो। यहाँका मानिसहरू आफ्नो माटोमा उभिएका थिए, तर माटोको कानुनी निश्चितता उनीहरूसँग थिएन। घरहरू थिए, तर धेरैसँग धनीपुर्जा थिएन। नागरिकता भएका मानिस पनि आफ्नो जमिनको भविष्यबारे निश्चित थिएनन्। त्यही क्षण मैले महसुस गरेँ वास्तविक सीमा तारबारले होइन, मानिसको मनमा जन्मिने असुरक्षाले बनाउँछ।

गाउँको बीचमा पुगेपछि एक वृद्धसँग भेट भयो। उनको अनुहारमा नदीले कोरेजस्ता गहिरा रेखाहरू थिए। मैले सोधेँ, “बुबा, यहाँको सबैभन्दा ठूलो समस्या के हो?” उनले केहीबेर नारायणीतर्फ हेरे। त्यसपछि शान्त स्वरमा भने, “नदीले हाम्रो घर लग्यो। तर हामीले देश छोडेनौँ।” उनको यो छोटो वाक्यले कुनै पुस्तकले दिन नसक्ने शिक्षा दियो। घर बाढीले बगाउन सक्छ। जमिन कटान हुन सक्छ। तर आफ्नो मातृभूमिप्रतिको सम्बन्ध पानीले बगाउन सक्दैन। म केही क्षण मौन भएँ। मौनता कहिलेकाहीँ सबैभन्दा गहिरो संवाद हुन्छ।

उनले मलाई एउटा विशाल खाली भूभागतर्फ देखाए। “त्यो सबै कुनै समय हाम्रो खेती थियो,” उनले भने। अहिले त्यो उर्वर भूमि अधिकांश भाग बाँझो थियो। वर्षौँदेखि विवादित मानिएको क्षेत्र भएकाले दुवै देशले यथास्थितिमा राख्ने सहमति गरे पनि व्यवहारमा त्यहाँ समयसमयमा खेती गर्ने प्रयास, रोकथाम, आरोपप्रत्यारोप र तनाव दोहोरिने रहेछ। स्थानीय मानिसहरूका लागि त्यो भूभाग जीवनको आधार थियो। उब्जाउ माटोमा अन्न फल्न नसक्नु उनीहरूको नियति बनेको थियो। मैले सोचें जब राजनीति समाधान दिन सक्दैन, तब सबैभन्दा ठूलो क्षति किसानले भोग्छ।

गाउँका केही युवासँग पनि भेट भयो। उनीहरूको अनुहारमा उत्साह थियो, तर भविष्यप्रति अन्योल पनि। एक युवकले भने, “हामी खेती गर्न चाहन्छौँ। तर भोलि कसैले यो जमिन हाम्रो होइन भनिदियो भने के गर्ने?” त्यो प्रश्नमा कुनै क्रोध थिएन, केवल चिन्ता थियो। अनिश्चितता मानिसको सबैभन्दा ठूलो शत्रु हो। जसले भोलिको विश्वास खोसिदिन्छ, उसले वर्तमानको श्रम पनि कमजोर बनाइदिन्छ। मैले महसुस गरेँ सुस्ताको वास्तविक समस्या केवल सीमा विवाद होइन, भविष्यप्रतिको विश्वासको अभाव हो।

इतिहासका पानाहरू सम्झँदा सुस्ताको कथा अझ गहिरो बन्छ। वि.सं. १९०२ को ठूलो कटानदेखि २०११, २०१९ र २०३७ सालसम्म नारायणीले बारम्बार आफ्नो बहाव परिवर्तन गरिन्। पुराना बस्तीहरू उजाडिए। मानिसहरूलाई त्रिवेणीतर्फ पुनर्स्थापना गरियो। जससँग आधिकारिक कागजात थिए, उनीहरूले पुनर्वास पाए। तर धेरै परिवारसँग कुनै प्रमाण थिएन। उनीहरूले आफ्नो स्मृतिलाई प्रमाण बनाउन खोजे। तर प्रशासनले स्मृतिलाई स्वीकार्दैन। त्यसपछि उनीहरू फेरि नदीपारिको खाली जमिनमा फर्किए। आफ्नै हातले जंगल फाँडे। खेती गरे। जीवन पुनः सुरु गरे। यहीँबाट नयाँ विवादका बीउ उम्रिए। मैले महसुस गरेँ इतिहास कहिलेकाहीँ युद्धले होइन, कागजको अभावले पनि बदलिन्छ।

गाउँको विद्यालयमा पुगेँ। सानो भवन थियो। कक्षाभित्र बालबालिका नेपाली वर्णमाला पढिरहेका थिए। उनीहरूका आँखामा भविष्य चम्किरहेको थियो। उनीहरूलाई सीमा विवादको राजनीति थाहा थिएन। उनीहरूलाई थाहा थियो शिक्षा भनेको उज्यालो हो। विद्यालयको आँगनमा उभिँदा मलाई लाग्यो, राष्ट्रको वास्तविक सीमा सैनिक चौकीभन्दा पहिले विद्यालयमा सुरक्षित हुन्छ। जहाँ ज्ञान बाँडिन्छ, त्यहाँ घृणाले लामो समय बस्न सक्दैन।

त्यहाँ नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति पनि देखियो। उनीहरू आफ्नो नियमित जिम्मेवारीमा थिए। बन्दुक बोकेका ती जवानहरूलाई हेर्दा मलाई एउटा अर्को सत्य बुझियो। सीमा जोगाउनु उनीहरूको कर्तव्य हो। तर स्थायी शान्ति बन्दुकले होइन, विश्वासले सुरक्षित हुन्छ। सुरक्षा आवश्यक छ, तर संवाद अपरिहार्य छ। दुई राष्ट्रबीचको मित्रता नै सबैभन्दा बलियो सुरक्षा कवच हो।

साँझतिर म फेरि नदी किनारमा पुगें। सूर्य अस्ताउँदै थियो। पानी सुनौलो बनेको थियो। त्यही बेला बुद्धका वचन सम्झिएँ सबै वस्तु अनित्य छन्। नदी पनि। शरीर पनि। समय पनि। सत्ता पनि। परिवर्तन नै प्रकृतिको धर्म हो। नदीले आफ्नो बाटो बदल्नु कुनै अपराध होइन। त्यो त उसको स्वभाव हो। अपराध तब हुन्छ, जब मानिसले परिवर्तनलाई द्वेषमा बदलिदिन्छ। बुद्धले करुणाको मार्ग सिकाए। करुणा भनेको आफ्नो सत्यलाई नछोडी अर्काको पीडालाई पनि देख्न सक्ने क्षमता हो। सुस्ताको समाधान पनि यही करुणामा लुकेको जस्तो लाग्यो।

सुस्ताको किनारमा उभिँदा उपनिषद्को एउटा गहिरो वाक्य मनभरि प्रतिध्वनित भयो—“सर्वं खल्विदं ब्रह्म।” अर्थात् सम्पूर्ण जगत् एउटै परम चेतनाको अभिव्यक्ति हो। त्यो क्षण मैले नारायणी नदीलाई केवल पानीको प्रवाहका रूपमा देखिनँ। मैले त्यसलाई मानव सभ्यताको साक्षी, समयको सन्देशवाहक र प्रकृतिको निष्पक्ष न्यायाधीशका रूपमा अनुभव गरेँ। नदीले न नेपाललाई अस्वीकार गरेकी थिइन्, न भारतलाई स्वीकार गरेकी थिइन्। उनी त केवल आफ्नो स्वधर्ममा निरन्तर बगिरहेकी थिइन्। त्यसैले प्रश्न नदीको होइन, हाम्रो दृष्टिको हो।

नेपाल र भारतबीचको सीमा विवाद चाहे सुस्ता होस् वा कालापानी राष्ट्रिय सार्वभौमिकता, ऐतिहासिक प्रमाण र अन्तर्राष्ट्रिय कानुनसँग जोडिएको गम्भीर विषय हो। आफ्नो भूमि, आफ्नो इतिहास र आफ्नो राष्ट्रिय अस्मिताको रक्षा गर्नु दुवै राष्ट्रको वैधानिक र नैतिक दायित्व हो। तर आध्यात्मिक दृष्टिले हेर्दा सीमा भनेको राज्य व्यवस्थापनको विषय हो। राज्यको अस्तित्व सीमाबाट सुरक्षित हुन्छ, तर मानवताको अस्तित्व करुणा, सत्य र न्यायबाट सुरक्षित हुन्छ। त्यसैले सीमा संरक्षण र मानव सम्बन्धबीच कहिल्यै द्वन्द्व हुनु हुँदैन।

मैले नदीतर्फ फेरि हेरेँ। एउटै पानीले नेपालको किनार छोइरहेको थियो, केही क्षणपछि भारतको किनार पनि। पानीले कुनै राहदानी मागेन। हावाले कुनै भिसा खोजेन। सूर्यको प्रकाशले कुनै झण्डा रोजेन। प्रकृतिले कुनै पक्ष लिएन। प्रकृतिले केवल एउटा मौन सन्देश दिइरही सत्य विभाजनभन्दा ठूलो हुन्छ। मानिसले प्रशासनका लागि सीमा बनाउँछ, तर प्रकृतिले सहअस्तित्वका लागि जीवन दिन्छ।

मलाई बुद्धको करुणा र गीताको धर्म सम्झना आयो। बुद्धले द्वेषलाई द्वेषले होइन, मैत्रीले अन्त्य गर्न सिकाए। भागवत गीता भन्छ कर्तव्यबाट पछि हट्नु हुँदैन। यी दुई शिक्षाले एउटै सन्तुलन दिन्छन्। नेपालले आफ्नो सार्वभौमिक अधिकारको रक्षा दृढतापूर्वक गर्नुपर्छ। भारतले पनि ऐतिहासिक संवेदनशीलता र आपसी विश्वासलाई सम्मान गर्नुपर्छ। तर समाधान आरोप, आक्रोश र अविश्वासबाट होइन; प्रमाण, संवाद र पारस्परिक सम्मानबाट मात्र सम्भव हुन्छ। किनकि स्थायी शान्ति विजयमा होइन, न्यायमा जन्मिन्छ।

सुस्ताको किनारमा उभिँदा अन्ततः मैले महसुस गरेँ नदीले सीमा मेटाउन खोजेकी होइन, मानवलाई स्मरण गराइरहेकी छिन् कि भूगोलभन्दा ठूलो इतिहास हुन्छ, इतिहासभन्दा ठूलो सत्य हुन्छ र सत्यभन्दा ठूलो मानवता हुन्छ। दुई राष्ट्र छिमेकी हुन सक्छन्, तर उनीहरूको साझा नदी, साझा सभ्यता, साझा संस्कृति र साझा आध्यात्मिक परम्पराले उनीहरूलाई छिमेकी होइन, सहयात्री पनि बनाएको छ। त्यसैले सीमा विवादको अन्तिम समाधान केवल नक्सामा कोरिने रेखाबाट होइन, न्याय, विवेक र आत्मीयताले जोडिएको चेतनाबाट सम्भव हुन्छ। यही नै उपनिषद्को “सर्वं खल्विदं ब्रह्म” को आधुनिक राजनीतिक र आध्यात्मिक अर्थ हो।

भगवद्गीताको अर्को सन्देश पनि मनमा आयो,कर्तव्य कर्ममा छ, स्वार्थमा होइन। आफ्नो भूमि, आफ्नो सार्वभौमिकता र आफ्नो राष्ट्रिय हितको रक्षा गर्नु प्रत्येक राष्ट्रको धर्म हो। तर त्यो धर्म द्वेषको माध्यमबाट होइन, न्याय, विवेक र संवादमार्फत पूरा हुनुपर्छ। सीमा रक्षा र शत्रुता एउटै कुरा होइनन्। दृढता र कट्टरता पनि एउटै होइनन्। सुस्ताले यही सन्तुलन खोजिरहेको जस्तो लाग्यो।

रात बिस्तारै ओर्लिन थाल्यो। आकाशभरि असंख्य ताराहरू देखिन थाले। नदीमा तिनका प्रतिबिम्ब नाचिरहेका थिए। मैले माथि हेरेँ। त्यही आकाश नेपालमाथि पनि थियो। भारतमाथि पनि। चन्द्रमाले कसैको सीमा मानेको थिएन। ताराहरूले कुनै राष्ट्रको नागरिकता लिएका थिएनन्। त्यस क्षण मलाई लाग्यो प्रकृतिले हामीलाई एकताको अभ्यास गराइरहेकी छ, तर हामी विभाजनको अभ्यासमा व्यस्त छौँ।

फर्किने बेला भयो। डुङ्गा फेरि नदीको बीचबाट अघि बढ्न थाल्यो। सुस्ता बिस्तारै टाढिँदै गयो। तर त्यो गाउँ मेरो स्मृतिबाट टाढिएन। मैले महसुस गरेँ, यो यात्रा कुनै विवादित भूभागको अवलोकन मात्र थिएन। यो त आफ्नै चेतनाको यात्रा थियो। मैले सुस्तामा नदी मात्र देखिनँ। मैले इतिहास बगिरहेको देखें। मैले राजनीति मौन भएको देखें। मैले किसानको श्रम, बालबालिकाको सपना, वृद्धको स्मृति र प्रकृतिको धैर्य एउटै दृश्यमा भेटें।

सुस्ताले अन्ततः मलाई एउटा अमूल्य शिक्षा दियो। सीमा आवश्यक हुन्छ। सार्वभौमिकता अपरिहार्य हुन्छ। राष्ट्रिय अस्मिता अमूल्य हुन्छ। तर ती सबैको रक्षा गर्ने सबैभन्दा ठूलो शक्ति हतियार होइन, सत्य, न्याय, करुणा र संवाद हुन्। नदीले मलाई सिकाइन् बग्नु भनेको आफ्नो अस्तित्व गुमाउनु होइन, जीवनलाई निरन्तरता दिनु हो। मानव समाजले पनि यही पाठ सिक्न सकेमा सीमा विवादहरू केवल नक्साका विषय रहनेछन्, मनका घाउ बन्ने छैनन्। म फर्कंदै थिएँ, तर मनमा एउटा विश्वास लिएर एक दिन सुस्तामा नदी मात्र बग्नेछ, विवाद होइन।

 

civil hospital
Hams Hospitals