लघुकथा : रिपोर्टिङ
वि.सं.२०८३ साउन २५ सोमवार
shares
“कस्तो निम्छरो परिवार रहेछ ?”
बिहान उठेपछि भेडा, च्याङ्ग्रा चराउँन जानुपर्ने,लेक लाग्नुपर्ने बाध्यता हुन्थ्यो । कहाँ जडीबुटी भएको घाँस छ ? खोज्थ्यो, वनस्पति, पालुवा भएतिर जानुपर्ने हुन्थ्यो, जान्थ्यो पनि । ऊ मिहिनेती, चलाख अनि फुर्तिलो पनि थियो । आफ्ना कुरा मनाउँन सिपालु उस्तै । साह्रै गुणी थियो, ऊ
उसलाई ट्रेकिङ मन पर्थ्यो । हिमाल चढ्न, हिउँसङ्ग खेल्न रुचाउँथ्यो । विपन्न परिवारमा जन्मिएको भएता पनि, ऊ अत्यन्त तेजिलो र ऊर्जावान थियो । सधैँ नयाँ कुरा सिक्न, बुझ्न खोज्ने जुझारु थियो ।
ऊ र म मिल्ने साथी थियौँ । हामी एकछिन छुट्टिदैन्थ्यौँ । खादा, खेल्दा, पढ्दा,बस्दा जतिबेला पनि सङ्गै हुन्थ्यौँ । मैले सोच्थेँ, “यदि उसले अनुकूल वातावरण पायो भने केही त पक्कै गर्छ, कुलको नाम राख्छ, केटाले ।“ भन्नेमा विश्वस्त थिएँ ।
ऊ गरिबीले गर्दा सहर जान बाध्य भयो । उमेर सानो थियो, झट्ट हेर्दा खाइलाग्दो देखिन्थ्यो । बुझेँ, होटलमा काम पाएछ,थोरबहुत पढेको पनि थियो रे । मैले सोधखोज गरेँ, “के गर्छ, कहाँ बस्छ ?”आदि इत्यादि
छिमेकीले भन्दै थिए, “अहिले गजबको भछ, पर्यटनको ज्ञान लिएको छ । हिमालको ट्रेकिङमा जान्छ, घरि पर्यटक लिएर त घरि एक्लै चढ्छ, हिमाल । पैसो राम्रो कमाएको छ । घर, गाडी, व्यवसाय सबै बन्दोबस्त छ, देश विदेश घुमेको छ, आनन्द छ ।“ उनले सर्सती बताए, बयान गरेर थाकेनन्
उसको विगत सम्झिएँ, आजका प्रगति सुनेँ, दाँजेँ, रोमाञ्चित भएँ । लाग्यो, “कामप्रतिको लगाव, धैर्य, निरन्तरता ठुलो रहेछ । जस्तोसुकै पृष्ठभूमि, कठिन परिस्थिति भएपनि क्षमता र लगनशीलताले लक्ष्य पहिल्याउँन सकिदो रहेछ ।“ आश्चर्य लाग्यो, खुसी भएँ, मनमनै स्याबासी दिएँ ।
केही बेरमा खबर सुनियो, अत्यन्तै दुखद थियो, सम्हाल्न गाह्रो भयो । मन धमिलो भयो, पत्याउँन सकिनँ, केही साहस जुटाएँ । कम्पित आवाजले बोलेँ, “ऊ रहेन अब, हिमाल आरोहणका क्रममा हिउँ पहिरोमा परेर निधन भयो । जसको रिपोटिङ म आफैंले गर्दै थिएँ ।“





























