कविता: मेरो लोग्ने
वि.सं.२०८३ साउन २९ शुक्रवार
shares
विवाहको वेदीमा अग्निलाई साक्षी राखेर
तिमीले लिएका ती वाचा-कसमहरू,
अझै पनि यी भित्ताहरूमा मडारिइरहेकै छन्।
म त्यस घरको दैलो नाघेर भित्रिएकी थिएँ,
जहाँ मेरो सिन्दूरको रातो रङसँगै
आफ्ना सम्पूर्ण सपनाहरू एकाकार गराउन आएकी थिएँ।
तर समयको गतिसँगै बोध भयो—
तिमीले केवल एउटी स्त्री भित्र्याएका रहेछौ,
आफ्नो एकाङ्गी जीवनको एउटा शून्य कुना भर्नका लागि,
सम्बन्धको आत्मीयता निभाउनका लागि होइन।
मलाई कुनै खेद रहेन—
तिमीले बाहिर कतिवटा गल्लीहरू नाप्यौ,
कतिवटा काँधहरूमा आफ्नो क्लान्ति बिसायौ,
र कतिवटा नामहरूसँग आफ्ना यामिनीहरू साट्यौ।
विषाद त केवल यस कुराको रह्यो कि,
जसलाई तिमीले मण्डपमा पाणिग्रहण गरेर ल्याएका थियौ,
त्यही ब्याहता स्त्रीसँग तिमीले
केवल आफ्नो प्रयोजन र स्वार्थको नापजाँच मात्र गर्यौ।
जब-जब तिमी बाहिरको कोलाहलपूर्ण संसारबाट
फर्किएर घरको सङ्घारमा टेक्थ्यौ,
मेरो अन्तस्करणमा एउटा सानो दीप प्रज्वलित हुन्थ्यो।
म अपेक्षा गर्थेँ— अब त सायद तिमीले
मेरो अस्तित्व महसुस गर्नेछौ।
बाहिर तिमीले जे-जे गुमाएर वा प्राप्त गरेर आएका भए पनि,
मेरो प्राप्यमा पर्ने त्यो अलिकति अनुराग,
अलिकति स्वाभिमान र मेरो साधिकार
मलाई सुम्पिनेछौ।
म बाहिरका सारा भ्रमपूर्ण आँखाहरूलाई बिसर्जन गरेर
आफ्नो सम्पूर्ण अस्तित्व तिम्रै प्रतीक्षामा पगालिरहेँ।
तर तिम्रो दृष्टिमा मेरो उपस्थिति
केवल क्षधा निवारण गर्ने हातहरू र
रात्रिकालीन शय्याको एउटा काष्ठवत् शरीरभन्दा बढी कहिल्यै भएन।
तिमीले मलाई त्यति नै हेर्यौ,
जति तिमीलाई आफ्नो उपभोगका लागि अभीष्ट थियो।
म प्रत्येक प्रहर अलि-अलि गर्दै रूपान्तरित भइरहेँ,
मेरो उल्लास बिलाउँदै गयो, मेरो कान्ति निस्तेज हुँदै गयो,
र मेरो मौनता झन्-झन् गहन बन्दै गयो।
तर विडम्बना ! तिमीले मेरो त्यो रूपान्तरण कहिल्यै दृष्टिगोचर गरेनौ।
तिमीले कहिल्यै नियालेर हेरेनौ—
कि म अझै त्यही स्त्री हुँ,
जसलाई तिमीले वर्षौँअघि डोलीमा राखेर ल्याएका थियौ,
वा मेरो स्थानमा कुनै आघातले विक्षिप्त बनेको छाया उभिएको छ।
तिमीले देख्नै चाहेनौ,
किनकि तिम्रा आँखाहरू केवल आफ्नै सङ्कुचित मतलबमा सीमित थिए।
तिमी हिजो पनि अनुकम्पाका पात्र थियौ,
जब तिमीले मेरो निष्छल समर्पण र हुनुको गम्भीर अर्थ बुझ्न सकेनौ।
र तिमी आज पनि अनुकम्पाकै पात्र हौ,
जब मभित्रको स्त्रीत्व समाप्त भइसकेपछि
मेरो यो ‘नहुनु’ को शून्यता पनि तिमीले आकलन गर्न सकिरहेका छैनौ।
हो, म आज पनि यही घरको आँगनमा हिँडिरहेकी छु,
यही चौतारी र भान्सामा मेरो शिञ्जिनी बजिरहेकै छ।
म त्यो गृहमा त अझै न्यस्त छु, जहाँ म माइतीबाट बिदा भएर आएकी थिएँ,
तर म अब त्यो पाणिग्रहणको पवित्रतामा छैन—
जसको जगमा मलाई यहाँ ल्याइएको थियो।




























