लघुकथा: “गाईजात्रा ३६५ दिन”
वि.सं.२०८३ भदौ ४ बिहीवार
shares
नगरपालिकाको चोकमा ठूलो ब्यानर झुण्डिएको थियो— “प्रदेशकै उत्कृष्ट भ्रष्टाचारमुक्त नमुना वडा घोषित!”
सुब्बासाव चौतारामा बसेर चियाको चुस्की मार्दै थिए। उनले कोटको खल्तीबाट कालो चश्मा निकालेर लगाए। आज गाईजात्रा, अर्थात् वैधानिक रूपमा ढाँट्ने, छक्याउने र व्यङ्ग्य गर्ने दिन। तर सुब्बासावका लागि त वर्षका ३६५ दिन नै गाईजात्रा जस्तै थिए।
एउटा गरिब किसान हातमा कागजातको पोको बोकेर सुब्बासावसामु आइपुग्यो। “हजुर, मेरो वृद्धभत्ताको सिफारिस पत्र…”
सुब्बासावले कालो चश्माभित्रैबाट किसानलाई हेरे र भने, “भाइ, आज त गाईजात्रा हो। आज फाइल चलाउनु भनेको पाप हो। जाऊ, भोलि आऊ।”
किसानले नम्र भई सोध्यो, “हजुर, हिजो पनि त गाईजात्रै जस्तै भनेर फर्काइदिनुभएको थियो। भोलि त बिदा होला?”
सुब्बासाव फिस्क हँसे, “अरे यार, गाईजात्रा त एउटा तिथि मात्रै हो। हाम्रा लागि त सेवाग्राही झुलाउने कला नै दिनहुँको गाईजात्रा हो! तिमीले बुझेनौ। ल, फाइल यहीँ छाड र त्यो चियावालालाई मेरो तर्फबाट दुई कप चियाको दाम तिरिदेऊ।”
किसानले खल्तीबाट ५० को नोट निकालेर टेबलमा राख्यो। सुब्बासावले हतार-हतार त्यो नोट ल्याप्चे लगाउने मसीको बट्टा मुनि लुकाए।
त्यत्तिकैमा वडाध्यक्षज्यू दौरा-सुरुवालमा ठाँटिएर आइपुगे। हातमा नयाँ माइक थियो। उनी सोझै मञ्चतिर लागे र भाषण ठोक्न थाले, “आदरणीय जनता जनार्दन! आजको पवित्र गाईजात्राको अवसरमा म घोषणा गर्दछु कि हाम्रो वडामा अब कुनै पनि प्रकारको घुसखोरी, ढिलासुस्ती र भ्रष्टाचार रहने छैन!”
पछाडि उभिएका सुब्बासावले सुस्तरी ५० को नोट खल्तीमा हाले र मुस्कुराउँदै ताली बजाए।
किसानले सुब्बासावको कानै निर पुगेर साउती गर्यो, “सुब्बासाव, अध्यक्षज्यूले त घुसखोरी अन्त्य भयो भन्दै हुनुहुन्छ त!”
सुब्बासावले चश्मा अलिकति तल सारेर किसानको आँखामा हेर्दै भने, “अध्यक्षज्यूले मञ्चबाट भनेको कुरा त आजको ‘गाईजात्रे प्रहसन’ पो हो त भाइ! भाषणलाई गम्भीरतापूर्वक लिने भए तिमी गाईजात्राको दर्शक कसरी भयौ? उहाँको काम भाषणमा व्यङ्ग्य हान्ने हो, मेरो काम फाइल मुनि टेबलमा व्यङ्ग्य पचाउने हो।”
किसानले सुस्केरा हाल्यो, टेबलमा राखिएको आफ्नो फाइल उठायो र टोपी ढल्काउँदै भन्यो, “प्रशासनको यो गाईजात्रामा त हामी जनता नै गाई बनेर नाच्नुपर्ने रहेछ, हाकिमसाब!”
सुब्बासावले चियाको अर्को चुस्की मार्दै भने, “सबास भाइ! बल्ल तिमीले आजको लघुकथाको मूल मर्म बुझ्यौ।”
-योगी नारायण नाथ
सुन्दर कञ्चन कोलोनी
इटहरी -१,सुनसरी





























