पृथ्वीनारायाण शाहका हरेक कुरा वास्तविकतामा परिणत, बेवास्ता गर्दा देश र जनतामाथि संकट !
वि.सं.२०८३ भदौ २० शनिवार
shares
पछिल्लो समय पृथ्वीनारायण शाहका भनाइहरु व्यापक चर्चामा छन् । उनले भन्ने गर्थे–डाँडाकाँडामा घर बनाउनु, खोला नदी किनारमा होइन । खेतीयोग्य जमिनमा घर नबनाउनु, नत्र भोकमारी हुन्छ । घुस लिने र दिने दुवै अपराधी हुन् । नेपाल दुई देशबीचको तरुल हो, त्यसैले सम्बन्ध राम्रो बनाइराख्नु । शाहका यी भनाइ वास्तविकतामा परिणत भइरहेको छ ।
छिमेक चीनतर्फबाट रसुवाको भोटकोशी हुँदै आएको विनाशकारी बाढीले हजारौंको ज्यान लिएको छ । हजारौं बेपत्ता छन्, हजारौं घाइते भएका छन् । यदि चीनसँग हाम्रो सम्बन्ध राम्रो भएको भए यत्रो जनधनको क्षति हुने थिएन । अर्कोतर्फ, खोला नदी किनार आसपास घरलगायत संरचना निर्माण नगरिएको भए पनि यति क्षति हुदैँन्थ्यो ।
२०४५ सालसम्म नेपाल खाद्यान्नमा पूर्ण आत्मनिर्भर थियो । विदेशमा खाद्यान्न निर्यात गरिन्थ्यो । अनुदानमा दिइन्थ्यो । अहिले विदेशीले खाद्यान्न नदिए हामी नेपाली नै भोकभोकै मर्नुपर्ने अवस्था छ । ग्यासकै कुरा गरौं न । तीन दशकअघिसम्म हामीलाई ग्यास नै चाहिँदैन्थ्यो । दाउरामा खाना पकाइन्थ्यो । अहिले त ग्यास नपाएकै कारण भोकै बस्नुपर्ने अवस्था उत्पन्न भएको छ ।
प्ृथ्वीनारायण शाहको निधनपछि थुप्रै राजा बने । राजतन्त्रको अन्त्य भएर लोकतन्त्र गणतन्त्र पनि आयो । तर, कसैले पनि उनका कुराहरुप्रति चासो दिएनन् । परिणाम आज हामीसामु छ । त्यसको ठूलो क्षति देश र जनताले अहिले भोग्नुपरिरहेको छ । पृथ्वीनारायण शाह हुँदा नेपालमाथि सुको ऋण थिएन न त नेपालको एक इन्च भूमि छिमेकीले कब्जा गर्न सकेका थिए ।
अहिले नेपालमाथि ३२ खर्ब वैदेशिक ऋण छ । निर्माण व्यवसायीको ५६ अर्ब, कोरोना बीमाको २४ अर्ब, स्वास्थ्य बीमाको ४३ अर्ब, दुध तथा उखु किसानको सात अर्ब बक्यौता बाँकी छ । नेपालको थुप्रै भूभाग छिमेकीको कब्जामा गएको छ । सिक्किम, टकनपुर, गोरखपुर, हाजीपुर, बाघघाम, कागडा टिष्टा, गंगा नदीसम्मको भूमि त पूर्ण रुपमा खोसियो नै कालापानी, लिपुलेक, लिम्पियाधुरा र सीमानामा पनि कब्जा जमाउने क्रम जारी छ ।
देशभित्रै पनि थुप्रै सार्वजनिक, गुठी, ऐलानी, हदबन्दी बढी, खोला नदी, वनजंगल मठमन्दिर, राजपरिवारलगायतका जमिन कब्जा भएको छ । इनार, ढुंगेधारा, कुवा, कुलो, ताल, पोखरी, टुकुचासमेत छोडिएन । त्यस्ता सम्पदा मासेर घरलगायत संरचना बनाइँदा आज मुलुकमा पानीको संकट चुहिँदै गएको छ । वर्षेनी ठूलो वर्षा हुने गरेको छ ।
सानै पानी परेपनि बस्ती डुब्छन्, घर र मानिस बगाउँछन्, बाटो भत्किन्छन् । किनकि खोला नदी छेउछाउ र खेतीयोग्य जमिनमा संरचना र बाटो बनाइएको छ । यसले जनधनको क्षतिसँगै हामी खाद्यान्नमा पूर्ण परनिर्भर हुन पुगेका छन् । खेतीयोग्य जमिन डोजर चलाएर प्लटिङ गरिएको छ । रोपनीको दश हजारमा नबिक्ने जमिन लाखौं–करोडौंमा किनबेच गरिएको छ ।
घरजग्गाजस्ता अनुत्पादक वस्तुमा लगानी थुप्रिदा आज मुलुककै अर्थतन्त्रमा असर पुगेको छ । लाखौं सर्वसाधारण डुबेका छन् । पृथ्वीनारायण शाहले एकीकरण गरेर नेपाललाई बचाएका थिए । विडम्बना ! अहिले नेपाल नै नरहने अवस्थामा पुग्दैछ । किनकि मुलुक चारैतिरबाट च्यापिएको छ, घेरिएको छ । देशभित्र नागरिकबीच मनमुटाव बढिरहेको छ भने छिमेकीसँगको सम्बन्धमा पनि दरार देखिँदैछ ।
यहाँ त राष्ट्र र राष्ट्रियताको कुरा गर्ने अनि राष्ट्रिय झण्डा नै ओढेर देश जलाउने प्रवृत्ति देखियो । ०७९ वैशाख ३० गतेको स्थानीय चुनावबाट काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) निर्वाचित भए । निर्वचनका बेला उनले राष्ट्रिय झण्डा ओढेका थिए तर ०८० भदौ १६ गते आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले एक मिनेट रोक्दा उनले सिंहदरबार जलाइदिने चेतावनी दिए ।
०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । त्यसक्रममा देशको झण्डा ओढेर देशै जलाइयो । सिंहदरबारसहित मुलुकका ऐतिहासिक संरचना खरानी बनाइयो । अनि राष्ट्रिय झण्डा ओढेर देश जलाउनु कस्तो राष्ट्रियता हो ? दुर्भाग्य, राष्ट्रियताको नाममा देश खरानी बनाउनेहरुमाथि केही कारबाही भएन । पृथ्वीनारायण शाहले नेपाललाई आफ्नो जीवन दिए ।
देशका लागि लड्दालड्दा उनले प्राण त्यागे । विडम्बना ! उनले दिएको बलिदानीको कदर कसैले गर्न सकेनन् । यदि राजनीतिक दलहरु शाहको मार्गनिर्देशनमा हिँडेको भए आज नेपालको अवस्था यस्तो हुने थिएन । वर्षेनी हजारौं सर्वसाधारणले ज्यान गुमाउनुपर्ने थिएन न त नेपालले विश्वसामु हात फैलाउनुपर्ने अवस्था आउँथ्यो । अहिले त खाद्यान्नका निम्ति भएपनि नेपाल विदेशीसामु झुक्नुपर्ने विडम्बनापूर्ण अवस्था छ ।
खेतीयोग्य जमिन नमासेको भए र कृषिलाई प्राथमिकता दिएको भए आज हामी खानामा परनिर्भर हुनु पर्दैन्थ्यो । यता, देशभरिका सार्वजनिक जग्गा त व्यक्तिको नाममा गयो नै सँगै सिंहदरबार, ललिता निवासलगायतका जग्गासमेत भूमाफियाको कब्जामा गयो । राजनीतिक दलहरुले मुलुकमा लोकतन्त्र गणतन्त्र त ल्याए तर त्यसकै आडमा देश बर्बाद पारे । भोटका निम्ति सरकारी जग्गा र सम्पत्ति आफ्ना कार्यकर्तालाई बाँडे । खोला नदी किनारमा संरचना बनाउन दिए । विदेशीसँग ऋण लिँदै तलबभत्ता खाए, मोजमस्ती गरे । सरकारी निकायमा घुसबिना काम नहुने अवस्था सिर्जना गरे । घुसिया कर्मचारीलाई काखा लगाए ।
यी सबैको परिणम आज हाम्रो देश र हामी नेपाली जनताले भोग्नुपरिरहेको छ । सरकारी सम्पत्तिका नाममा केही पनि बाँकी छैन । खोला नदी सबै कब्जा भएका छन् । देशमाथि ऋण्ैऋण छ । गरिब जनताले सरकारी सेवासमेत पाउँदैनन् । अनि लोकतन्त्र गणतन्त्र कसका लागि आएको रहेछ ? देशभित्र काम नपाएपछि ऋण काँढेर विदेशिने निरन्तर बढ्दो छ ।
अपराध मौलाएको छ । देशभरका जेलमा ३२ हजार बढी कैदीबन्दी छन् । यत्रो वर्षदेखि जनताले तिर्दै आएको कर र रेमिट्यान्सको हिसाबकिताब छैन । जनताका छोराछोरी खाना नपाएर भोकभोकै मरिरहँदा राजनीतिक दल र नेताहरु मस्तीमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले हातमा तीन करोडको घडी बाँधेका छन्, उनी पानीमात्र दिनहुँ ७० हजारको पिउँछन्, त्यो पनि विदेशको ।
शोषक, सामान्तीको अन्त्य गछौं भन्दै १७ हजारलाई शहिद बनाई पटकपटक सत्तामा पुगेका प्रचण्डको हातमा डेढ करोडको घडी छ । देउवा पनि आफ्नै मस्तीमा छन् । रास्वपा सभापति रवि लामिछानेमाथि दर्जनौं सहकारीको अर्बौ रकम ठगीको आरोप छ भने वर्तमान सरकारका प्रधानमन्त्रीसहित मन्त्रीहरु त करोडौं सम्पत्तिको मालिक छन् । त्यसैले, सरकार र राजनीतिक दलहरु पृथ्वीनारायण शाहका मार्गनिर्देशनमा नचलेपनि हामी सर्वसाधारणले भने एक पटक सोचौं । नत्र सधैं यस्तो क्षति भोगिरहनुपर्नेछ ।




























