जसले देशलाई खरानी बनायो, त्यही शक्तिको हातमा सत्ताको चाबी पुग्यो : रवि किरण हमाल

144
shares

 

काठमाडौं । एक वर्षअघि भदौ २३ गते सडकमा उत्रिएको नेपाली युवाको एउटा पुस्ताले केवल सामाजिक सञ्जालको प्रतिबन्धविरुद्ध आवाज उठाएको थिएन । त्यसको भित्री तहमा भ्रष्टाचार, अन्याय, विभेद, राजनीतिक बेथिति र राज्यका सार्वजनिक संस्थाप्रतिको अविश्वासविरुद्ध लामो समयदेखि सञ्चित असन्तुष्टि थियो ।

त्यो असन्तुष्टि सडकमा विस्फोट भयो । आन्दोलनले ठूलो मानवीय क्षति व्यहो¥यो । दर्जनौँ युवाले ज्यान गुमाए । त्यसपछिको दिन देशका विभिन्न ठाउँमा भएको हिंसा र विध्वंसले राजनीतिक घटनाक्रमलाई झन् जटिल बनायो ।

जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा आन्दोलनका अगुवा रवि किरण हमालले त्यसको उद्देश्य, उपलब्धि, वर्तमान राजनीतिक अवस्था र आगामी चुनौतीबारे गम्भीर प्रश्न उठाएका छन् ।

नेपाल न्यूज बैंकसँग जेनजी दिवसका अवसरमा विशेष कुराकानी गर्दै हमालले पछिल्लो एक वर्षलाई नेपालको राजनीतिक जीवनमा ‘त्रासदीपूर्ण वर्ष’ का रूपमा चित्रण गरे । उनका अनुसार आन्दोलनका क्रममा युवाहरूको ज्यान गएकोदेखि देशका विभिन्न संरचना र सार्वजनिक संस्थाप्रतिको विश्वास कमजोर हुँदै गएको अवस्थासम्मलाई एउटै घटनाक्रमका रूपमा हेर्नुपर्ने अवस्था आएको छ ।

‘पछिल्लो एक वर्ष, नेपालको २३ गतेदेखि आजसम्म आइपुग्दाखेरि हामीले त्रासदीपूर्ण दिनहरू गुजार्यौँ । आन्दोलनमा पनि धेरै मान्छेको क्षति भयो । दर्जनौँ मानिसहरूको गोली प्रहार गरेर हत्या गरियो । त्यसलगत्तै देशलाई जलाएर खरानी पनि बनाइयो,’ हमालले भने ।

उनले जेनजी आन्दोलन अचानक जन्मिएको नभई लामो समयदेखि सञ्चित असन्तुष्टि र अभिव्यक्ति स्वतन्त्रताको प्रश्नबाट विकसित भएको दाबी गरे । सामाजिक सञ्जालमाथिको प्रतिबन्धको विरोधदेखि भ्रष्टाचार, अन्याय र विभेदविरुद्ध युवाहरूले उठाउँदै आएको आवाज अन्ततः सडक आन्दोलनमा परिणत भएको उनको भनाइ छ ।आन्दोलनको पूर्वसन्ध्यामा आफूहरूले पत्रकार सम्मेलन गरेर युवालाई सडकमा आउन आह्वान गरेको पनि स्मरण गरे ।

‘२२ गते हामीले पत्रकार सम्मेलन गरेर सबै देशवासीलाई त्यसमा साथ दिन र युवालाई सडकमा उत्रिन आह्वान गरेका थियौँ र २३ गते सहभागी भयौँ,’ हमालले भने ।

‘आन्दोलनलाई हिंसात्मक बनाउने सक्रिय गिरोह थियो’

हमालले जेनजी आन्दोलनलाई योजनाबद्ध रूपमा हिंसात्मक बनाइएको आरोप लगाएका छन् । आन्दोलनमा भएको दमन र त्यसपछि भएको विध्वंसलाई उनले एउटै शक्ति र घटनाक्रमसँग जोडेर हेरेका छन् ।

‘जुन प्रकारले दर्जनौँ नेपाली युवाहरूको हत्या भयो, त्यसपछि योजनाबद्ध रूपमा आन्दोलनलाई पनि हिंसात्मक बनाउने, मुठभेडतर्फ लैजान जुन एउटा सक्रिय गिरोह थियो त्यसलाई मानवअधिकार आयोगलगायत अन्य आयोग र मिडियाले फ्ल्यास गरिसकेको छ,’ उनले भने ।

उनले यही शक्तिले आन्दोलनपछिको विध्वंसमा पनि भूमिका खेलेको आरोप लगाए । ‘एकातिर आन्दोलनलाई हिंसात्मक बनाएर मान्छेलाई मर्न–मार्न लगाउने, राज्यको तर्फबाट दमन गर्न र यताबाट भिडन्तको परिस्थिति निर्माण गर्ने शक्तिले भोलिपल्ट सिङ्गो देशलाई खरानी बनायो,’ हमालले भने ।

यस क्रममा उनले सुशीला कार्की, तत्कालीन तथा वर्तमान राजनीतिक नेतृत्व र जेलबाट कैदी भगाइएको घटनासमेत जोडेर प्रश्न उठाए । उनले जुन समूहले यो देशको आत्मामाथि प्रहार ग¥यो, त्यसैले अहिले नेतृत्व गरिराखेको दाबी गरे ।

‘जुन शक्तिले यो देशलाई खरानी बनायो, जुन समूहले यो देशको आत्मामाथि, सोभरेन्टीमाथि प्रहार ग¥यो, त्यसैले अहिले नेतृत्व गरिराखेको छ,’ उनले भने ।

‘जेनजी आन्दोलनको उद्देश्य पूरा भएको छैन’

हमालका अनुसार आन्दोलनमा सहभागी सबै युवाले त्यसको राजनीतिक उद्देश्य र दीर्घकालीन परिणामबारे समान धारणा राखेका छैनन् । उमेर समूह ठूलो भएकाले जेनजी पुस्ताभित्र पनि आन्दोलनबारे बुझाइ फरक–फरक रहेको उनको भनाइ छ ।

‘जेन–जी भनेको त उमेर १२ देखि २८ भनियो, १२ वर्षदेखि २८ वर्षमध्ये अब १६, १७, १८, १९, २०, २१ वर्षका सबै युवाहरूलाई कसरी चाहिँ यो राजनीतिक चेत हुन सक्छ?’ हमालले प्रश्न गरे ।

तर आन्दोलनमा सहभागी भएर राजनीतिक चेत र दृष्टिकोण बनाएका युवाहरूले भने त्यसको मूल उद्देश्यबाट देश विचलित हुन नहुने भन्दै निरन्तर आवाज उठाइरहेको उनले बताए ।

उनका अनुसार आन्दोलनको मूल माग भ्रष्टाचार नियन्त्रणमा मात्र सीमित थिएन । सार्वजनिक संस्थाको पुनर्संरचना, पारदर्शी शासन, विधिको शासन र आर्थिक अवसर सिर्जना पनि त्यसका प्रमुख उद्देश्य थिए ।

‘खासगरी पाँचवटाः नेपालको जुडिसियरी, ब्युरोक्रेसी, सेक्युरिटी एजेन्सी, युनिभर्सिटी र डिप्लोमेटिक इन्स्टिच्युसनहरू । यसमा कम्प्रिहेन्सिभ तवरले रिस्ट्रक्चर र रिफर्म हुनुपर्छ,’ उनले भने ।

उनले सार्वजनिक संस्था बलियो नभएसम्म देशले दिगो प्रगति गर्न नसक्ने बताए । कुनै पनि देशमा पब्लिक इन्स्टिच्युसनहरू ठीक ठाउँमा भएपछि मात्र देश अगाडि बढ्ने हमालको भनाइ छ ।

सरकारप्रति प्रश्न ः ‘के राम्रो भयो ?’

जेनजी आन्दोलनपछि बनेको सरकारका कामकारबाहीलाई लिएर हमालले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । सरकारले के उपलब्धि हासिल ग¥यो भन्ने प्रश्न गर्दै उनले केवल नेतृत्वको बाहिरी प्रस्तुतिलाई उपलब्धि मान्न नसकिने बताए ।

‘यो राम्रो छ भन्ने कुरा, के राम्रो छ त ? प्रधानमन्त्रीले लगाउने चस्मा राम्रो छ कि, अथवा उहाँले लगाउने कोट राम्रो छ कि, जुत्ता राम्रो छ कि, के राम्रो छ भनेको ? उहाँहरूले के कर्म गर्नुभयो त ?’ उनले प्रश्न गरे ।

उनले सरकार गठनपछिका हिंसात्मक घटना, सुकुम्बासी बस्तीका घटना र युवाको विदेश पलायनलाई सरकारको कार्यसम्पादनसँग जोडेर हेर्नुपर्ने बताए ।

‘आज नेपाली युवाहरूको विश्वास टुट्दैछ, सार्वजनिक संस्थाहरूप्रति विश्वास टुट्दैछ,’हमालले भने ।

विदेश जाने युवाको बढ्दो सङ्ख्याले पनि देशभित्र अवसर सिर्जना हुन नसकेको संकेत गर्ने उनको तर्क छ ।

‘विगतको रेसियो हेर्ने हो भने ६५ हजारले एक महिनामा देश छाडिराखेका थिए भने अहिले ७०–७२ हजारतर्फ पुग्यो । यसलाई तपाईं राम्रो भन्न सक्नुहुन्छ ?’ उनले प्रश्न गरे ।

‘सरकारसँग स्पष्ट दिशा छैन’

हमालले वर्तमान सरकारसँग देशलाई अघि बढाउने स्पष्ट आर्थिक तथा संस्थागत दृष्टिकोण नरहेको आरोप लगाए ।

‘सुरुआती चरण भनेको ‘दिस इज आवर वे’ भन्ने हुनुपर्छ । इकोनोमिकली देशले चाहेको, पब्लिक इन्स्टिच्युसनहरूलाई यसरी रिस्ट्रक्चर गर्न खोजेको, देशमा उद्यमशीलता प्रवद्र्धन गर्न खोजेको, नेपाली युवाहरूलाई स्वरोजगार बनाएर देशलाई माथि उठाउने भन्ने खालको कुनै क्लियर भिजन वा वे सरकारको तर्फबाट आएकै छैन,’ उनले भने ।

सरकारभित्रै फरक–फरक धारणा देखिनु पनि उनको आलोचनाको विषय बनेको छ ।

‘अर्थमन्त्री एउटा कुरा गर्ने, प्रधानमन्त्रीले त्यो कुरा फेसबुक स्टाटस लेखेर फेरि ‘होइन’ भनेर हटाउने, अर्को मन्त्रीले अर्कै कुरा गर्ने, सिंगो क्याबिनेट नै एउटा दिशामा हिँड्न सकिरहेको छैन,’ हमालले भने ।

‘संसद् मृत्युशैय्यामा छ’

उनले नेपालको संसद्को भूमिकामाथि समेत गम्भीर प्रश्न उठाए । जनताको आवाज संसद्ले उठाउन नसकेको र उठेका विषय सरकारलाई सम्बोधन गराउन पनि नसकेको उनको आरोप छ ।

‘पार्लियामेन्ट डेड भयो, अहिले नेपालको संसद् मृत्युशैय्यामा छ । त्यो संसद्मा जनताको कुरा उठाउन पनि सकिरहेको छैन र उठाएको कुरा सरकारलाई सम्बोधन गराउन पनि पार्लियामेन्टले सकिरहेको छैन,’ उनले भने ।

यही अवस्थाका कारण देश पुनः राजनीतिक संकटतर्फ जान सक्ने उनको चेतावनी छ । ‘यो चाँडै नै कोल्याप्स हुनसक्छ र नेपाल फेरि ठूलो पोलिटिकल क्राइसिसको चरणबाट गुज्रिन सक्छ,’हमालले भने ।

‘२३ गते राष्ट्रिय एकताको सन्देश दिन सडकमा आउनुपर्छ’

जेनजी आन्दोलनको एक वर्ष पूरा हुने अवसरमा भदौ २३ गते देशभरका नागरिकलाई सडकमा आउन उनले अपिल गरेका छन् । पछिल्लो समय रसुवालगायतका क्षेत्रमा भएको बाढीपहिरोबाट भएको क्षतिप्रति श्रद्धा व्यक्त गर्दै आन्दोलनमा ज्यान गुमाएका तथा घाइतेप्रति सम्मान व्यक्त गर्नुपर्ने उनको भनाइ छ । उनले शहीद परिवार र घाइतेहरूसँग पनि आफू निरन्तर संवादमा रहेको बताए ।

‘म चाहन्छु, काठमाडौंका सबै मान्छेहरू ओर्लिएर ऐक्यबद्धता जनाऊन्, सहभागी होऊन् । देशभरि नै त्यो आन्दोलनलाई आत्मसात् गर्ने हिसाबले सडकमा निस्कियोस् भन्ने म कामना गर्छु,’ हमालले भने ।

‘बलिदानको कारण बुझ्नुपर्छ’

शहीद परिवारलाई राहत, घाइतेलाई उपचार र रोजगारीको व्यवस्था आवश्यक भए पनि आन्दोलनको मूल उद्देश्य त्यसमा सीमित नरहेको हमालले बताए ।

‘शहीद परिवारलाई सम्मान दिने कुरा, रोजगारी दिने, आत्मसम्मानपूर्वक बाँच्ने वातावरण र घाइतेहरूलाई उपचार तथा राहत दिने कुरा त सेकेन्डरी कुरा हुन् । त्यो त घटना घटिसकेपछिको दायित्व हो,’ उनले भने ।

उनका अनुसार मुख्य प्रश्न युवाहरू किन सडकमा गए र किन बलिदान दिए भन्ने हो ।

‘मान्छेहरु किन सडकमा गएर गोली खान तयार भए, किन हात र खुट्टा गुमाए, मान्छे किन सडकमा गए र केका लागि गयो भन्ने कुरा मुख्य (प्राइम) हो । त्यो आन्दोलनको स्प्रिटलाई नजरअन्दाज गरेर अहिलेको नेतृत्व बाहिर–बाहिर गइरहेको देखिन्छ,’ हमालले भने ।

‘राज्यले प्रतिशोध साँध्नु हुँदैन’

राज्यको नेतृत्वमा रहेका व्यक्तिले राजनीतिक प्रतिशोध लिन नहुनेमा उनले जोड दिए । सरकारको नेतृत्व गर्नेहरूले सबै नागरिकको अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने उनको धारणा छ ।

‘प्रतिशोध भन्ने कुरा कसैले पनि साँध्नुहुँदैन । राज्यको नेतृत्वमा बसेका मान्छेले प्रतिशोध लिन थाले भने त्यो अमानवीयता, क्रूरता र घृणित काम हुन्छ, सबैको अभिभावक बनेर सरकारको नेतृत्व गर्नेहरूले प्रतिशोध साँध्ने कल्पना पनि गर्न सकिँदैन,’ हमालले भने ।

‘सबै शक्ति एक ठाउँमा बसेर समीक्षा गर्नुपर्छ’

अबको बाटोका रूपमा हमालले तत्कालीन राजनीतिक विवादभन्दा माथि उठेर संविधान, सार्वजनिक संस्था र राज्य संरचनाको समग्र समीक्षा गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

‘सबै शक्तिहरू एक ठाउँमा बसेर संविधान, सार्वजनिक संस्था र संरचनामा कहाँ अवरोध छ, त्यसलाई समीक्षा गरी दीर्घकालीन दिशा तय गर्नुपर्छ,’ उनले भने ।

उनले देशका लागि दीर्घकालीन मार्गचित्र बनाउनुपर्नेमा जोड दिए । ५० वर्ष, १०० वर्षको मार्गचित्र कोरेर तीव्र आर्थिक वृद्धि र न्यायोचित वितरणतर्फ देशलाई लैजानुपर्ने हमालको भनाई छ ।

तर अहिलेको नेतृत्व र संसद्बाट यस्तो दीर्घकालीन परिवर्तन सम्भव हुनेमा उनले आशंका व्यक्त गरे ।

‘राजनीतिक, आर्थिक र विपद् संकटका लागि तयार रहनुपर्छ’

अन्ततः हमालले नेपालले आगामी दिनमा राजनीतिक, आर्थिक, विपद् तथा भूराजनीतिक संकट एकैसाथ सामना गर्नुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए ।

‘आन्दोलनमा लडेका युवा मात्र होइन, सबै पुस्ताले मस्तिष्क तयार राखेर अब देशले झेल्नुपर्ने पोलिटिकल, इकोनोमिक, डिजास्टर र जियोपोलिटिकल क्राइसिसलाई समाधान गरी देशलाई सही दिशा दिन तयार रहन म सबै देशवासी र युवाहरूलाई आह्वान गर्छु,’ उनले भने ।

उनका अनुसार जेनजी आन्दोलनको मूल्यांकन केवल त्यसले तत्काल ल्याएको राजनीतिक परिवर्तनबाट नभई त्यसले उठाएका प्रश्न र खोजेको राज्य संरचनाको परिवर्तनबाट हुनुपर्छ ।

भदौ २३ गते सडकमा उत्रिने आफ्नो आह्वानलाई उनले आन्दोलनको पुनरावृत्तिभन्दा पनि बलिदानको सम्मान, विपद्मा परेकाप्रति ऐक्यबद्धता र देशलाई सही दिशामा लैजाने राष्ट्रिय संकल्पका रूपमा व्याख्या गरेका छन् ।

civil hospital
Hams Hospitals