खातामा पैसा देखिएकै भरमा अपराधजन्य व्यवहार गरिएको वीरेन्द्र खत्रीको आरोप

360
shares

 

काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा तानिएका वीरेन्द्र खत्रीले आफ्नो बैंक खातामा देखिएको रकमलाई आधार बनाएर आफूलाई अपराधजन्य सम्पत्तिसँग जोडिएको बताएका छन् । उनले आफूले विभिन्न व्यक्ति तथा सहकारीबाट ऋण–सापटी लिएको रकम बैंक खातामा रहेको दाबी गर्दै ‘खातामा रकम देखिँदैमा त्यसलाई अपराधजन्य सम्पत्ति कसरी मान्न सकिन्छ ?’ भन्ने प्रश्न गरेका छन् ।
खत्रीका अनुसार उनी बैंकको रकम हिनामिना गर्ने कुनै योजनामा संलग्न छैनन् । उनले सिन्धुविकास बैंक लिमिटेडका तत्कालीन व्यवस्थापक सुमन खरेलसँग व्यक्तिगत चिनजानका आधारमा पटक–पटक ऋण लिएका थिए । आफूले ऋण लिएको स्वीकार गरे पनि ऋण दिने व्यक्तिले उक्त रकम कहाँबाट ल्याएका थिए भन्ने जानकारी आफूलाई नभएको उनको भनाइ छ ।

खत्रीले व्यक्तिगत ऋण लिनु र ऋणदाताले रकम प्राप्त गरेको स्रोतबारे जानकारी राख्नु एउटै विषय हुन नसक्ने जिकिर गरेका छन् । उनले खरेलबाट आफूले व्यक्तिगत प्रयोजनका लागि ऋण लिएको तर उक्त रकम बैंकबाट आएको हो वा अन्य कुनै स्रोतबाट आएको हो भन्ने आफूलाई जानकारी नभएको बताएका छन् ।
उनका अनुसार अनुसन्धानको केन्द्रमा बैंक खातामा कति रकम देखियो भन्ने प्रश्न मात्र हुनु हुँदैन । उक्त रकममध्ये कुन रकम अपराधबाट प्राप्त भएको भनिएको हो, त्यसको स्रोत के हो, कहिले र कुन खाताबाट आएको हो तथा त्यसको सम्बन्ध कुन कारोबारसँग स्थापित हुन्छ भन्ने प्रश्नको प्रमाणसहित जवाफ खोजिनुपर्ने उनको तर्क छ ।
खत्रीले आफू ठेक्का–पट्टाको कारोबारमा संलग्न रहेको र बैंकमार्फत नियमित आर्थिक कारोबार हुने गरेको बताएका छन् । विभिन्न व्यक्ति तथा सहकारीबाट लिएको ऋण तथा सापटी रकमसमेत बैंकिङ कारोबारमा रहेको उनको दाबी छ । अझ आफ्नो बैंक खातामा देखिएको रकमभन्दा ऋण दायित्व बढी रहेको उनको भनाइ छ ।
खत्रीले आफूलाई बैंकको रकम अनियमित रूपमा प्राप्त गरेको आरोप लगाइएको भए त्यसको बैंकिङ प्रमाण देखाउन चुनौती दिएका छन् । बैंकको कुन खाताबाट, कुन मितिमा रकम निकालियो, कसले निकाल्यो, नगद वा अन्य खातामार्फत रकम स्थानान्तरण भयो कि भएन तथा आफ्नो खातामा बैंकबाट प्रत्यक्ष रकम आएको प्रमाण के छ भन्ने प्रश्न उनले उठाएका छन् ।
उनले आफ्नो खातामा बैंकबाट कुनै रकम नआएको र आफूले बैंकको रकम नलिएको पनि बताए । यदि यो दाबी गलत भए बैंक स्टेटमेन्ट, भौचर, चेक, नगद निकासी अभिलेख वा अन्य विश्वसनीय प्रमाणबाट त्यसलाई पुष्टि गर्न सकिने उनको भनाइ छ ।

खत्रीले ‘ऋण लिएको स्वीकार गर्नु भनेको ऋणदाताको अवैध स्रोत स्वीकार गर्नु हो र ?’ भन्ने प्रश्नसमेत गरेका छन् । आफूले ऋण लिएको स्वीकार गरे पनि ऋणदाताले उक्त पैसा कहाँबाट ल्याएको थियो भन्ने आफूलाई जानकारी नभएको उनको भनाइ छ ।
खत्रीले अनुसन्धानका क्रममा आफ्नो बयानसम्बन्धी विषयमा समेत आपत्ति जनाएका छन् । उनले आफूले भनेका सबै कुरा बयानमा नलेखिएको र डर–त्रास देखाएर कागजमा हस्ताक्षर गराइएको दाबी गरेका छन् ।
खत्रीले बैंकलाई आर्थिक क्षति पु¥याउने आफ्नो कुनै योजना नरहेको दाबी गरेका छन् । बैंकबाट रकम निकाल्ने, लुकाउने वा हिनामिना गर्ने कार्यमा आफूले भूमिका नखेलेको उनको भनाइ छ ।
उनले आफूविरुद्ध लगाइएको आरोप प्रमाणित गर्न बैंकलाई नोक्सान पु¥याउने योजना, कसैलाई दिएको निर्देशन, मिलेमतो, रकमको स्थानान्तरण तथा आफ्नो प्रत्यक्ष संलग्नता पुष्टि गर्ने कागजात वा अन्य वस्तुगत प्रमाण आवश्यक पर्ने बताएका छन् ।
खत्रीले आफूले नगरेको अपराधसँग जोडेर सम्पत्ति शुद्धीकरणको मुद्दामा तानिएपछि आफ्नो व्यवसाय, सामाजिक प्रतिष्ठा र व्यक्तिगत जीवनमा असर परेको बताएका छन् । उनले आफूविरुद्धको आरोप प्रमाणबाट पुष्टि गर्न र आफ्नो कुन सम्पत्ति अपराधजन्य हो भन्ने स्पष्ट देखाउन माग गरेका छन् ।
घटनामा खत्रीको भूमिकासँगै सिन्धुविकास बैंक तथा सम्बन्धित अधिकारीहरूको भूमिकामाथि समेत स्वतन्त्र परीक्षण आवश्यक रहेको प्रश्न उठाइएको छ । यदि बैंकको रकम अनियमित रूपमा बाहिर गएको हो भने बैंकको आन्तरिक नियन्त्रण प्रणालीले त्यसलाई कसरी रोक्न सकेन भन्ने प्रश्नसमेत उठाइएको छ ।

सम्पत्ति शुद्धीकरणजस्तो गम्भीर मुद्दामा अभियोग पुष्टि गर्न ‘रकम थियो’ भन्ने आधार मात्र पर्याप्त नहुने र कुन रकम, कुन स्रोत, कुन अपराध तथा सम्बन्धित व्यक्तिबीचको कडी प्रमाणित हुनुपर्ने विषय पनि उनले उठाएका छन् ।

civil hospital
Hams Hospitals