ज्ञान व्यवस्थापन र यसको संगठनात्मक प्रभाव: महत्त्व र चुनौतीहरूको विश्लेषण
वि.सं.२०८१ चैत ७ बिहीवार
shares
ज्ञान व्यक्तिमा एक अत्यन्तै महत्वपूर्ण अन्तरनिहित बौद्धिक सम्पत्ति हो जुन निरन्तर बढ्न र फैलन सक्ने क्षमता राख्दछ। यसको प्रयोग गर्दा ज्ञान घट्दैन, बरु अरूसँग सेयर गर्दा अझ स्पष्ट र प्रभावशाली बनिन्छ। ज्ञान सूचना र बौद्धिकताको मिश्रण मात्र नभई यसले हाम्रो सोचलाई परिष्कृत गर्न र निर्णय लिने प्रक्रियामा मद्दत पुर्याउँछ। यसले असत्य र सत्य बीचको भिन्नतालाई स्पष्ट पार्न मद्दत पुर्याउँछ जसबाट हामी सही र गलतको बीचमा अन्तर गर्न सक्षम बनाउँछौं।
ज्ञान एउटा शक्तिशाली उपकरण हो जसले हाम्रो सोच, व्यवहार र कार्यशैलीलाई रूपान्तरण गर्न सक्छ। ज्ञानलाई सही तरिकाले प्रयोग गर्दा, हामी जीवनका विविध क्षेत्रहरूमा सुधार गर्न सक्छौं र समस्याहरूको समाधान गर्न नयाँ उपायहरू पत्ता लगाउन सक्छौं। यसले हाम्रो मस्तिष्कलाई द्रुत र सशक्त निर्णय क्षमता दिन्छ र असत्य वा भ्रमपूर्ण सूचनासँग जुध्नमा सहयोग पुर्याउँछ। यस प्रकार, ज्ञानले हाम्रो मानसिक विकास र जीवनमा साँचो मार्गदर्शन गर्ने कार्य गर्दछ।
ज्ञान व्यवस्थापन ज्ञानको आर्जन, शुद्धिकरण, भण्डार, वितरण र उचित प्रयोग गर्ने कुरा संग ज्ञानको व्यवस्थापन सम्बन्धित छ ज्ञानलाई यसरी व्यवस्थित गर्न सकेको अवस्थामा आफुमा उर्जा तयार भईरहेको हुन्छ र जस्तो सुकै अवस्थालाई पनि सजिलै सामना गर्न सकिन्छ । तर ज्ञानको व्यवस्थापनको अभावमा चेतना जस्ता विषयहरुको अभाव हुन गई बिचलनको अवस्था पनि सिर्जना हुन्छ । फलस्वरुप समय, श्रम र साधनको उचित प्रयोग नभई कार्य सम्पादन हुन सक्दैन ज्ञानको मुख्य स्रोत आन्तरिक र बाह्रय स्रोत नै हुन् । प्राय वर्तमान समयमा सबैले ज्ञान हासिल गरिरहेका हुन्छन् । तर यसको उचित व्यवस्थापन गरेको भने पाइदैन ।ज्ञान व्यवस्थापन सदैव उद्देश्यमूलक हुन्छ । संगठनात्मक ज्ञानबाट फाइदा लिनका लागि ज्ञानको समुचित उपयोग गर्नु प्रमुख उद्देश्य हो । संगठनबाट अवकाश हुने, वा छोड्ने कर्मचारीको ज्ञान उनीहरूको स्थानमा काम गर्न आउने कर्मचारीमा सार्ने व्यवस्थालाई सहजीकरण गर्नु, संगठनबाट कर्मचारी अवकाश हुँदा वा छोडेर जाँदा संगठनात्मक सम्झना वा सूचना नासिएर जानबाट रोक्नु, संगठनको सफलताका लागि ज्ञानको महत्वपूर्ण स्रोत र महत्वपूर्ण कार्य क्षेत्र पहिचान गरी ज्ञान उपयोग गर्नु तथा संगठनको बौद्धिक पुँजीको महत्तम उपयोग गर्न ज्ञान उपयोग गर्ने विधि भएको टुलकिट बनाउनु ज्ञान व्यवस्थापनको मुख्य उद्देश्य हो ।
ज्ञानको पहिचान, ज्ञानको खोजी र ज्ञानको सिर्जना र ज्ञानको भण्डारण गरी भविष्यका लागि उपयोग गर्न मिल्ने गरी ज्ञानको संग्रह र ज्ञान प्रकाशनमा निरन्तर सम्पादनसहित लाग्नु तथा मानव जिवनको चेतनाको विकास गर्दै सर्वोकृष्ट प्राणीको मान्यतामा परिकृष्त गर्ने काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ । ज्ञान मार्ग एक उत्कृष्ट अभ्यास हो । पश्चिमी चिन्तक प्लुटोले विचारको ईश्वरीय क्रम र आत्मा अर्थात् परमात्माको प्रकृति जान्नु नै वास्तविक ज्ञान हो भनेका छन् । ज्ञान क्रियाका माध्यमबाट सिकिएको वा अनुभवबाट बटुलिएको तथ्यगत र रायगत सूचनाको समुच्चय हो । तथ्य वा अभिमतका बारेमा हामीसँग रहेको चित्तगत जागृति नै ज्ञान हो । ज्ञान कार्यमा आधारीत अनुभव, सूचना, जानकारी तथा सिकाईहरुलाई ज्ञान उत्पादन गर्ने, सहि व्यक्तिलाई, सहि समयमा, सहि संचार गर्नु नै ज्ञान व्यवस्थापन हो । संस्थालाई जिवन्त राख्ने विभिन्न श्रोत मध्ये ज्ञान व्यवस्थापन पनि एक हो
ज्ञानले कुनै पनि बिषय बस्तु वा समस्यालाई हेर्ने, बिश्लेषण गर्ने र समाधान गर्ने तरिकामा समेत फरक पार्दछ । तसर्थ ज्ञानलाई व्यक्तिगत वा संगठित एउटा महत्वपुर्ण औजारको रुपमा लिने गरेको छ । ज्ञान व्यक्ति बिशेषमा हुने तथ्य, जानकारी र अनुभव पनि हो । ज्ञानको प्राप्ति, बिचार, बिमर्श र यसको उचित उपयोग गर्ने क्रमबद्ध तरिकालाई ज्ञानको व्यवस्थापन भन्न सकिन्छ । वर्तमान अन्तरजेलित, अन्तरनिर्भर, जटिल, परिवर्तनशील र सुसूचीत समाजमा ज्ञानको महत्व बढेर गएको छ ।
ज्ञान व्यवस्थापनले ज्ञानको प्रयोग,सृजना, पहिचान,संकलन,समिक्षा, बाँडफाँड र ज्ञानको अनुकुल प्रयोग गरी अति उत्तम तरिकाले प्रयोग, बौद्धिक क्षमता विकासका लागि अभ्यस्त वातावरणको विकास, विस्तार, सामाजिक तथा वैज्ञानिक मुल्य मान्यतामा आधारित संस्कारको विकास र विस्तारमा जोड दिन्छ ।प्रणालीगत रुपमा समन्वय गरि मानिसमा प्रक्रिया, प्रविधि र संस्थागतमा कठिन र अप्ठयारालाई समाधान गर्दै अनवरत रुपमा समन्वय गरी जानी जानी सजिलो बनाउन खोज अनुसन्धान गर्नमा उत्प्रेरित हुनका लागि ज्ञान व्यवस्थापन आवश्यक पर्दछ ।
ज्ञान व्यक्तिमा रहेको गुण हो । व्यक्तिमा खासगरी सुव्यक्त ज्ञान र अन्तरनिहीत ज्ञान हुन्छ । सुव्यक्त ज्ञान नीति योजना किताब, प्रतिवेदन, डकुमेन्ट, डाटाबैंक, ब्हाइट, ग्रिन, विल्यु पेपर, पत्रपत्रिका, पुस्तकालय वा किताबमा रहेको हुन्छ । अन्तरनिहीत ज्ञान व्यक्तिमा हुन्छ, तर स्पष्ट देखिँदैन । यस्तो ज्ञान व्यक्तिको दिमागमा रहेको हुन्छ । व्यक्तिको मस्तिष्कमा, सम्झनामा तथा संस्कृतिमा रहेको हुन्छ । खासगरी सुव्यक्त ज्ञानलाई संगठित, एकत्रित, डकुमेन्टेड गर्न र वितरण गर्न सकिन्छ । पुर्नउत्पादन गर्न सकिन्छ । अन्तरनिहीत ज्ञान व्यक्तिमा लुकेर बसेको हुन्छ र आवश्यकतानुसार प्रकट हुन्छ । व्यक्तिमा रहेको विशेषज्ञता, कुन काम कसरी गर्ने, किन गर्ने भन्ने जानकारी नयाँ परिस्थिति र अनपेक्षित अवस्थामा अन्तरनिहीत ज्ञानको अभ्यास गर्न सकिन्छ । अन्तरनिहीत ज्ञान संगठनको भिजन मिसन बनाउने क्रममा ब्रेनस्ट्रमिङको क्रममा प्रकट हुन्छ । अर्थात्, कर्मचारी सबै सँगसँगै बसेर कोचिङ, मेन्टोरिङको माध्यमबाट व्यक्तिमा अन्तरनिहीत ज्ञान तथा अनुभवलाई कार्यक्रममा रूपान्तरण गर्न सकिन्छ ।
वर्तमान समयमा हरेक व्यक्तिको वेवसाइट, इमेल, फेसबुक पेज, सामाजिक सञ्जालहरुमा आबद्ध, टिकटक लगायत युटुव च्यानलहरुले मानिसलाई क्षमता विकास गर्न र ज्ञानको संग्रह गरी व्यवस्थापन गर्न सजिलो भएको छ । अब घरमा वाइफाइ जडित कम्प्युटर र मोबाइल भएपछि सारा संसार सिमित बन्द कोठाभित्र हुन पुगेको छ । वर्तमान समयमा ज्ञान व्यवस्थापन संगठनको महत्वपूर्ण रणनीतिका रूपमा प्रयोग हुँदै गएको पाइन्छ । ज्ञान व्यवस्थापन स्मरण, बुद्धि, बिचार र सिकाईका परिचालनसँग सम्बन्धित कार्य हो यसले ज्ञानको पहिचान गर्न, प्राप्त गर्न औपचारिक तरिकाले सबै व्यक्ति वा पद्धतिमा क्रमबद्ध तरिकाले व्यवस्थापन गर्दै संगठनात्मक तथा आधुनिक प्रविधिको प्रयोग गरि समस्याहरु सहज रुपमा सम्पादन गर्न सक्ने बातावरण तयार गरिदिन्छ । ज्ञान व्यवस्थापन आफैमा एउटा नियमित र निरन्तर प्रक्रिया हो । ज्ञान व्यवस्थापन एउटा नियमित चक्र हो । यसको चक्रमा तथ्याङ्क, सुचना र ज्ञानलाई क्रमश संकलन, बिश्लेषण, भण्डारण एवम् उपयोग गर्ने कुरालाई बिशेष ध्यान दिइन्छ ।
ज्ञान व्यवस्थापनले प्रणालीगत व्यवस्थापनमा संस्थागत ज्ञानको उद्धेश्य र लक्ष्य हासिल गर्न सृजनात्मक मुल्य र रणनीतिक आवश्यकता पुरा गर्नका लागि लाभदायक र सान्र्दभिक बौद्धिक सम्पत्ति हासिल गरी संगठनात्मक सुधार प्रर्दशन गर्न सहयोग गर्दछ । संगठनात्मक ज्ञान संगठनको सम्पत्ति हो । संगठनात्मक ज्ञानले व्यक्तिको ज्ञानलाई विस्थापित गर्दैन, बरू व्यक्तिगत ज्ञानलाई सशक्त, तर्कपूर्ण, सुसंगत बनाउँदै संरक्षण, प्रवद्र्धन र उपयोग गर्ने गर्दछ ।
नयाँ पाठ सिक्न र ज्ञान साझेदारी गर्न ज्ञान व्यवस्थापन एक महत्त्वपूर्ण औजारको रूपमा कार्य गर्दछ। यसले न केवल व्यक्तिगत विकासलाई प्रवर्धन गर्दछ, बरु टोली र संगठनको समग्र कार्यक्षमतामा सुधार ल्याउँछ। ज्ञान व्यवस्थापनले आयोजना डिजाईन र कार्यान्वयनमा सुधार गर्नका लागि महत्वपूर्ण भूमिका खेल्दछ। जब ज्ञान साझा गरिन्छ र नयाँ जानकारी सँगै अद्यावधिक प्रक्रिया अपनाइन्छ, तब आयोजनाहरूको सक्षमता र प्रभावकारिता बढ्छ। यसबाट सञ्चालन र कार्यान्वयनको चरणमा हुने गल्तीहरू कम हुन्छन् र आयोजनाका गतिविधिहरु अझ प्रभावकारी हुन्छन्।
नीति प्रक्रियाहरूमा प्रभाव पार्न पनि ज्ञान व्यवस्थापनको ठूलो योगदान छ। नीति निर्माताहरूलाई आयोजनाका विभिन्न पक्षहरूमा आधारित सही र ताजा जानकारी उपलब्ध गराएर, उनीहरूले सही निर्णय लिन सक्छन् र नीति निर्माणमा सुधार ल्याउन सक्छन्। यसले सरकार वा संस्थाहरूको समग्र नीति व्यवस्थापनमा राम्रो पारदर्शिता र जिम्मेवारी ल्याउँछ। साथै, यसले नीति निर्माताहरू बीचमा आयोजना र योजनाका गुणस्तरमा सुधार ल्याउन मद्दत पुर्याउँछ।
जागरुकता बढाउन र लक्षित वर्गलाई क्रियाकलापहरू कार्यान्वयन गर्न पनि ज्ञान व्यवस्थापनले महत्त्वपूर्ण भूमिका खेल्दछ। यसले सही जानकारी र विधिहरूलाई समयमै लक्षित व्यक्तिहरूसम्म पुर्याउने काम गर्दछ, जसबाट परियोजनाका परिणामहरू अझ प्रभावकारी हुन्छन्। साथै, आयोजना क्षेत्रका साझेदारहरूको निर्माण र सफल अनुभवहरूको प्रचार गर्न, ज्ञान व्यवस्थापनको प्रक्रिया महत्त्वपूर्ण हुन्छ, जसले साझा ज्ञानको आधारमा भबिष्यका परियोजनाहरूलाई अझ उत्कृष्ट बनाउन मद्दत पुर्याउँछ। यसरी, ज्ञान व्यवस्थापन एउटा महत्वपूर्ण रणनीति हो जसले प्रत्येक चरणमा सुधार ल्याउन र योजना सफल बनाउन सहयोग पुर्याउँछ।
ज्ञान व्यवस्थापनले संगठनको सक्षमता र प्रभावकारिता बढाउन संगठनात्मक ज्ञानसँगसँगै व्यक्तिको सम्भावित ज्ञान, सीप, क्षमता, विचार, अन्वेषणलाई पूर्णरूपमा उपयोग गर्ने रणनीति बुन्ने गर्दछ । संगठनको काम छिटोछरितो गर्न, राम्रा अभ्यासहरू दोहो–याउन, खर्च कम गर्न, ज्ञानार्जन, विकास, संरक्षण र प्रयोग गर्न ज्ञान व्यवस्थापन केन्द्रित हुने गर्दछ । ज्ञान व्यवस्थापन संगठनको लक्ष्य हासिल गर्न कर्मचारी, प्रविधि, प्रक्रिया, तथा संगठनात्मक संरचनाको प्रयोग र अन्वेषणको उद्देश्यमूलक समन्वय हो जसले संगठनको क्षमतामा सारभूत मूल्य अभिवृद्धि गर्दछ ।
आजको सूचना र ज्ञानको युगमा भौतिक साधन, वित्तीय साधनभन्दा ज्ञान प्रतिस्पर्धात्मक लाभ प्राप्त गर्ने महत्वपूर्ण स्रोत बनेको छ । ज्ञान व्यवस्थापनमा संगठनले आफ्ना कर्मचारीलाई कार्यसम्पादन गर्दा बढीभन्दा बढी नयाँ ज्ञान सिर्जना गर्न र त्यसको प्रयोग गरेर काम गर्न उत्प्रेरित गरेको हुन्छ । ज्ञान सिर्जना गर्ने, प्राप्त गर्ने, भण्डारण गर्ने, सेयर गर्ने र प्रयोग गर्ने प्रक्रिया ज्ञान व्यवस्थापन हो । संगठनात्मक सिकाइका माध्यमबाट संगठनमा विशेष ज्ञान र सीपको विकास हुन्छ । ज्ञान व्यवस्थापनले ज्ञानको भण्डारण र ज्ञानको बहावको व्यवस्थापन गर्दछ । ज्ञानको भण्डारनसँग कम्प्युटरमा रहेको विशेषज्ञता र संकेत गरिएको ज्ञान सम्बन्धित हुन्छ भने ज्ञानको बहाव व्यक्तिबाट व्यक्तिमा स्थानान्तरण हुँदै गएको ज्ञानसँग सम्बन्धित हुन्छ ।
वर्तमान समाजमा ज्ञान प्रचुर मात्रामा उपलब्ध भए पनि यसको प्रभावकारी उपयोग कठिन भइरहेको छ। संगठनहरूको लागि ज्ञान डाटाबेस, प्रतिवेदन र प्रक्रियामा डकुमेन्टेड हुन्छ, जसले लक्ष्य प्राप्त गर्न मद्दत पुर्याउँछ। तर, केही अवस्थामा मूल्यवान ज्ञान हराउने, नष्ट हुने, वा नासिने खतरा हुन्छ। ज्ञान व्यवस्थापनले मानव मस्तिष्कका अनुभव, सिकाइ, भावनाहरू, अन्तरदृष्टि, बुद्धि र अन्य महत्वपूर्ण ज्ञानलाई संरक्षित, उपयोग र संरक्षण गर्ने प्रक्रिया हो। यो ज्ञान निरन्तर अभ्यास र अध्ययनका माध्यमबाट व्यक्तिको जीवनलाई जिवन्त र क्रियाशिल राख्न महत्त्वपूर्ण छ। सूचना र प्रविधिको युगमा, ज्ञान व्यवस्थापनको महत्त्व अझ बढेको छ, जसले समाज र संगठनको प्रगति र सफलता सुनिश्चित गर्न मद्दत गर्दछ।
संगठनको सम्पर्क, सम्बन्ध र कार्यक्षेत्र विश्वव्यापीकरण बनेको, बहुसंस्कृति, बहुभाषा, बहुसम्बन्धमा काम गर्नुपर्ने भएको, समाज सुसूचित बनेको, प्रविधिको परिवर्तन र उन्नयन अकल्पनीय रहेको, संगठनको स्मृति लोप हुने प्रवृत्ति उच्च भएको र ज्ञानयुक्त कामदारको व्यवस्थापन गर्न संगठन निरन्तर सिकाइमा समर्पित हुन अनिवार्य बनेको कारण ज्ञान व्यवस्थापनको महत्व अक्कासिएको छ । आज हामी भौतिक स्रोत साधनबाट भन्दा ज्ञानबाट बढी उत्पादक सेवा दिन सक्ने अवस्थामा पुगेका छांै । पहिले औद्योगिक युग थियो । मानिस, मेसिन, विधि र साधनमा जोड दिइन्थ्यो । उद्योग व्यवसायहरू श्रमप्रधान थिए । श्रम सस्तो पनि थियो । कामदारहरूमा विविधता पनि थिएन । प्रशासन र व्यवस्थापन पदसोपान र कमान्ड एन्ड कन्ट्रोलको सिद्धान्तमा सञ्चालित थियो र संगठनहरू परिणामभन्दा प्रक्रिया पु–याउन अभ्यस्त थिए ।
ज्ञान व्यवस्थापनबाट संगठनका जनशक्तिले थोरै समयमा धेरै काम राम्रोसँग गर्न, गहन निर्णय लिन र समस्या समाधान गर्न सक्षम हुन्छन् । यसबाट पेसागत सीप विकास, नेटवर्कको अभ्यास, टिममा काम गर्ने संस्कृतिले टिम लाभान्वित हुन्छ ।संगठन र संगठनमा काम गर्ने कर्मचारीले ज्ञानको निरन्तर प्रयोग र अभ्यासले प्रशोधित हुँदै र माझिँदै जान्छ । संगठनात्मक क्रियाले ज्ञान संगठनको डाटाबैंकमा भण्डारण हुँदै जान्छ र त्यस्तो ज्ञान डकुमेन्ट, म्यानुअल, प्रस्तुति र प्रतिवेदनका रूपमा प्राप्त हुन्छ । यसरी संगठनको बैंकमा रहेको ज्ञान व्यवस्थापन सूचना प्रणाली, बैठक, तालिम कक्षा, टिमको कार्याभ्यास तथा इन्टरनेटको माध्यमबाट संगठनमा घुमिरहेको हुन्छ । व्यक्तिले संगठनमा काम गर्दाका बखत आर्जन गरेको ज्ञान र अनुभवलाई परिस्कृत गर्दै जान्छ । ज्ञान सिद्धान्तः प्रयोग गर्दा बढ्ने, ननासिने हुन्छ भने प्रयोग नगर्दा व्यक्तिको दिमागमा नै बन्द भएर बस्न पनि सक्छ । त्यस्तो ज्ञान व्यक्तिले संगठन छोडेमा वा संगठनले हटाएमा वा अवकास भएमा व्यक्तिसँगै जान्छ । यसलाई ज्ञानको नोक्सानी भन्ने गरिन्छ । यसकारण ज्ञान व्यवस्थापनमा ज्ञान चिन्ने कसरी र त्यसको संगठनमा वितरण गर्ने कसरी र ज्ञानको नोक्सानी रोक्ने कसरी एउटा जटिल चुनौती बनेर बसेको पाइन्छ ।
अन्त्यमा, गुणस्तरीय उच्च शिक्षा, सीप विकास, सूचना सञ्चार र प्रविधि, अनुसन्धान र विकास, नवीनता, नीति र नियमन, संस्थागत लगानी र क्षमता अभिवृद्धि – यी सबै तत्व ज्ञानमा आधारित अर्थतन्त्रका मुख्य स्तम्भहरू हुन्। आजको युगमा, अर्थतन्त्रको दिगो र दीर्घकालिक विकासका लागि यी क्षेत्रहरूको सुधार र सुदृढीकरण अनिवार्य छ। यी क्षेत्रहरूको समुचित विकासले मात्र राष्ट्रलाई समृद्ध बनाउन सहयोग पुर्याउँछ। ज्ञानमा आधारित अर्थतन्त्रको बिजारोपण गर्न आर्थिक विकास र संस्थागत विकासका निम्ति सरकारले वातावरण बनाउनुपर्छ । प्रभावकारी अनुसन्धान र विकास तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने खालको उच्च शिक्षा र सीप विकासमा लगानी बढाउनुपर्छ । देश समृद्ध बनाउन ज्ञानमा आधारित अर्थतन्त्रमा लगानी गर्नु आवश्यक छ ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)




























