लोकप्रिय मतसहित एमाले केन्द्रीय नेतृत्वमा सुहाङ नेम्वाङको डेब्यू
वि.सं.२०८२ पुस ३ बिहीवार
shares
काठमाडौं । नेकपा (एमाले) का युवा नेता सुहाङ नेम्वाङ लोकप्रिय मतसहित पार्टीको केन्द्रीय नेतृत्वमा प्रवेश गरेका छन् । एमालेको ११औँ महाधिवेशनबाट खुल्ला क्लस्टर अन्तर्गत केन्द्रीय सदस्य पदमा उनी विजयी भएका हुन् ।
१७ सय २१ मत ल्याउँदै नेम्वाङले केन्द्रीय सदस्यमा स्थान सुरक्षित गरेका हुन् । सुरूआतमा अध्यक्ष केपी शर्मा ओली पक्षको प्यानलमा नपरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । तर, महाधिवेशनको अन्तिम चरणमा ओली पक्षले उनलाई आफ्नो अन्तिम सूचीमा समेटेको थियो । साथै, उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको प्यानलमा समेत उनी समावेश थिए, जसले पार्टीभित्र उनको स्वीकार्यता र लोकप्रियता प्रष्ट देखाएको छ ।
सुहाङ नेम्वाङ दिवंगत एमाले नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका सुपुत्र हुन् । पिताको असामयिक निधनपछि राजनीतिक जिम्मेवारीलाई निरन्तरता दिने अठोटसहित उनी सक्रिय राजनीतिमा होमिएका थिए । छोटो समयमै उनले पिताबाट प्राप्त राजनीतिक संस्कार, शालीनता र संयमलाई आत्मसात् गर्दै एक जिम्मेवार तथा आशालाग्दो युवा नेताको छवि बनाएका छन् ।
इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै उनले संसदीय राजनीतिमा पनि आफूलाई स्थापित गरिसकेका छन् । उपनिर्वाचनको जितसँगै पार्टीभित्र उनको भूमिका अझ प्रभावशाली बन्दै गएको थियो ।
महाधिवेशनअघि र मतदानका क्रममा सामाजिक सञ्जालमा समेत सुहाङ नेम्वाङलाई केन्द्रीय कमिटीमा देख्न चाहेको भन्दै धेरै नेता, कार्यकर्ता तथा समर्थकहरूले शुभकामनासहितका सन्देशहरू सार्वजनिक गरेका थिए । युवा पुस्तामाझ उनको लोकप्रियता र पार्टीप्रतिको निष्ठाले केन्द्रीय नेतृत्वसम्मको यात्रा सहज बनाएको विश्लेषण गरिएको छ ।
एमाले केन्द्रीय नेतृत्वमा युवा पुस्ताको प्रतिनिधित्व थप बलियो बनेको भन्दै सुहाङ नेम्वाङको विजयलाई पार्टीभित्र सकारात्मक रूपमा हेरिएको छ । आगामी दिनमा पार्टी संगठन मजबुत बनाउने, संसदीय अभ्यासलाई प्रभावकारी बनाउने र युवाको आवाज नेतृत्व तहसम्म पुर्याउने भूमिकामा उनी सक्रिय रहने अपेक्षा गरिएको छ ।




























