एमाले महाधिवेशनमा झाँक्रीको कमब्याक, १९११ मतसहित केन्द्रीय सदस्यमा प्रवेश

3.4K
shares

काठमाडौं । नेकपा एमालेमा हालै पुनः सक्रिय रूपमा कमब्याक गरेकी नेतृ रामकुमारी झाँक्री पार्टीको केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित विजयी भएकी छन् । सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार झाँक्रीले १ हजार ९ सय ११ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् ।

 

झाँक्री यसपटक पार्टी संस्थापन पक्षबाटै केन्द्रीय सदस्य पदको उम्मेदवार बनेकी थिइन् । महाधिवेशनअघि उनी सचिव पदको आकांक्षी रहेकी थिइन् । तर आन्तरिक समीकरण र भागबण्डाका कारण सचिवमा अवसर नपाएपछि उनले केन्द्रीय सदस्य पदमै चित्त बुझाएकी हुन् । यद्यपि, सचिव नपाए पनि प्रतिनिधिहरूबाट पाएको अत्यधिक मतले पार्टीभित्र उनको प्रभाव र लोकप्रियता अझै मजबुत रहेको सन्देश दिएको छ ।

 

पूर्व मन्त्रीसमेत रहेकी झाँक्री केही समयअघि पार्टी गतिविधिबाट टाढा देखिएकी थिइन् । त्यसपछि एमालेमै फर्किएर सक्रिय राजनीतिमा होमिएकी उनको पुनरागमनलाई यस महाधिवेशनको एक महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ । विशेषगरी युवा, महिला तथा परिवर्तनमुखी धारका प्रतिनिधिहरूले उनलाई उल्लेखनीय समर्थन गरेका छन् ।

 

झाँक्रीको राजनीतिक यात्रा विद्यार्थी राजनीतिबाट सुरु भएको हो । स्पष्ट वक्ता, निडर अभिव्यक्ति र फरक धारका कारण उनी पार्टीभित्रै पनि सधैं चर्चामा रहने नेतृका रूपमा परिचित छिन् । केन्द्रीय सदस्यमा लोकप्रिय मतसहित निर्वाचित भएसँगै आगामी दिनमा पार्टीको नीति, संगठन र विचार निर्माणमा उनको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको छ ।

 

महाधिवेशनबाट प्राप्त जनमतले झाँक्रीलाई पार्टी नेतृत्वको अर्को पुस्ताको बलियो दाबेदारका रूपमा स्थापित गरेको विश्लेषकहरूको बुझाइ छ । एमालेको नयाँ केन्द्रीय कमिटीमा उनको उपस्थितिले पार्टीभित्र बहस, सन्तुलन र गतिशीलता थपिने विश्वास गरिएको छ ।

civil hospital
Hams Hospitals