३ डेस्कटप भएको शाखामा १० प्रिन्टर र १५ ल्यापटप जलेको मुचुल्का 

522
shares

काठमाडौं ।भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहिलो तलाका केही कोठामा मात्र क्षति पुगेको भए पनि त्यसपछिको क्षति विवरणमा गम्भीर प्रश्न उठेको छ ।

मन्त्रालयको आन्तरिक प्रशासन महाशाखामा तीनवटा मात्र डेस्कटप कम्प्युटर रहेको अवस्थामा १० वटा प्रिन्टर जलेको विवरण (मुचुल्का) तयार गरिएको पाइएको छ । तीनवटा डेस्कटप प्रयोग हुने शाखामा १० वटा प्रिन्टर कसरी प्रयोगमा थिए भन्ने विषय अहिले मन्त्रालयभित्रै चर्चाको विषय बनेको छ।

यस्तै, उक्त शाखामा तीनवटा मात्र एयर कन्डिसनर रहेको र ती पनि संघीय संरचना व्यवस्थापनका क्रममा जडान गरिएको बताइन्छ। तर, क्षतिको विवरणमा पाँचवटा एयर कन्डिसनर जलेको उल्लेख गरिएको छ। यसले स्टोर अभिलेख र वास्तविक अवस्थाबीचको अन्तरबारे प्रश्न उठाएको छ।

सबैभन्दा धेरै विवाद १५ वटा ल्यापटप जलेको विवरणलाई लिएर देखिएको छ। मन्त्रालय स्रोतका अनुसार उक्त शाखाका अधिकांश कर्मचारीले आन्दोलनअघि नै आफ्ना ल्यापटप साथमा लगेको शका छ । एक लेखा अधिकृतको एउटा ल्यापटपबाहेक अन्य ल्यापटप कार्यालयमा रहेको पुष्टि हुन नसकेको स्रोतको भनाइ छ।

यति ठूलो सङ्ख्यामा ल्यापटप जलेको दाबी गरिए पनि ती कुन-कुन कर्मचारीलाई जिम्मा दिइएको थियो, सम्पत्ति दर्ता अभिलेख के थियो, र प्रयोगकर्ताको विवरण के हो भन्ने जानकारी मन्त्रालयले हालसम्म सार्वजनिक गरेको छैन। यसले प्रस्तुत गरिएको क्षति विवरणमाथि थप शंका उत्पन्न गरेको छ।

यदि सरकारी सम्पत्तिको क्षति सम्बन्धी विवरणमा वास्तविकताभन्दा फरक तथ्य समावेश गरिएको, झुटो मुचुल्का तयार गरिएको वा राज्यलाई हानि पुर्‍याउने उद्देश्यले गलत प्रतिवेदन पेश गरिएको पुष्टि भएमा सम्बन्धित कर्मचारीमाथि प्रचलित कानुनअनुसार विभागीय कारबाही, आर्थिक जिम्मेवारी तथा आवश्यक परे भ्रष्टाचार वा सरकारी कागजात किर्तेसम्बन्धी कानुनी अनुसन्धानसमेत हुन सक्ने छ ।

जेनजी आन्दोलनपछि सिंहदरबारका विभिन्न मन्त्रालय र विभागमा नजलेका, नभत्किएका वा हराएका पुष्टि नभएका सामग्रीसमेत जलेको वा चोरी भएको भन्दै गलत विवरण पेश गरिएको आशंका विभिन्न माध्यमबाट सार्वजनिक हुँदै आएको छ। यस्ता विषयमा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग बढ्दै गएको छ।

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

जेनजी आन्दोलनमा जलेको भनिएको मोटरसाइकल सडकमा गुड्दै, कारोबार मिलाउन अनुकूलको स्टोरकिपर खोजी

civil hospital
Hams Hospitals