दलालहरुको खेल बुझौं, सेयरमा लगानी गर्नुपूर्व सोचौं !

510
shares

नेपाल राष्ट्र बैंकले केही वर्षअघि सुर्खेतको कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गर्यो । त्यसअघि उक्त बैंकको सेयरको मूल्य ह्वात्तै बढेको थियो । मूल्य बढेको देखेपछि मानिसहरुले धमाधम सेयर किने । तर, राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेपछि बैंकको सम्पूर्ण कारोबार बन्द भयो । सेयर पनि रोक्का गरियो ।
यसले महँगोमा सेयर किन्नेहरु चुर्लुम्म हुन पुगे । अहिले अधिकांश बैंक समस्यामा छन् । सहकारी, लघुवित्त, फाइनान्स त डुबि नै सके । बैंकको पनि कर्जा प्रवाह र असुली शून्यजस्तै छ । धितोको मूल्य लगातार घट्दा र कर्जा असुलि नहुँदा बैंकहरु निकै तनावमा छन् । अब रोचक कुरा चाँहि के हो भने बैंक, वित्तिय संस्था लगातार घाटामा गइरहँदा सेयरको मूल्य भने बढेको बढ्यै छ ।
१७ सय प्रतिकित्तामा झरिसकेको सेयर अहिले २६ सयमा किनबेच भइरहेको छ । सेयरको मूल्य एक दिन घट्छ त अर्को दिन ह्वात्तै बढ्छ । अर्कोकुरा, सेयरको मूल्य बढेपनि लगानीकर्ताहरुले बोनस पाएका छैनन् । तीन वर्षअघि बोनस नपाएको उनीहरुको गुनासो छ । फेरि सेयरको मूल्य चाँहि लगातार बढिरहेको छ । आखिर कसरी ?
सेयर बैंक, वित्तिय संस्था, हाइड्रोपावर, इन्स्योरेन्सलगायत कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँमा निष्काशन गर्दै आएका छन् । सेयरको मूल्य सम्बन्धित कम्पनीको वित्तिय अवस्थामा निर्भर रहन्छ । कम्पनी मुनाफामा रहे सेयर बढ्छ, घाटामा रहे मूल्य घट्छ । तर, यहाँ उल्टै हुँदै आएको छ । सीमित दलालहरुले आफ्नो स्वार्थका निम्ति सेयरको मूल्य थपघट गर्दै आएका छन् ।
सेयर बजार चलाउने मुख्य खेलाडी ५५–६० जना रहेको बताइन्छ । उनीहरुले आफूले किन्ने बेला सेयरको मूल्य स्वाट्टै घटाउँछन् अनि बेच्ने बेला मूल्य ह्वात्तै बढाउँछन् । अनि सोझा साझा लगानीकर्ता चाँहि मूल्य बढेको बेला सेयर किन्छन्, घटेको बेला बेच्छन् । अनि डुब्छन् । नाफा कमाउने आशामा मानिसहरुले आफ्नो जीवनभरको पुँजी वा ऋण लिईलिई सेयरमा लगानी गर्छन् ।
काम छोडेर बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म ल्यापटप बोकेर सेयर कारोबार गर्छन् । तर, दलालहरुको रणनीति बुझ्न नसक्दा जागिरसँगै सम्पूर्ण पँुजी गुमाउँछन् । त्यो सहन नसकेपछि कतिपयले आत्महत्या गर्छन् त धेरैजसो डिप्रेसनमा जान्छन् । सेयरमा डुबेकै कारण जाँडरक्सी खाने पनि बढ्दो छ । भट्टी पसलहरुमा लगानीकर्ताको लाम देखिन्छ ।
उनीहरु भन्छन्–जीवनभरको पुँजी गुमाए उल्टै ऋण लाग्यो । घरमा तनाव बढ्यो । यसरी सेयरले मानिसको पुँजीमात्र सिधाइरहेको छैन, ज्यानैसमेत लिइरहेको छ । विडम्बना, राज्य मौन छ । सरकारले जुवातास गैरकानूनी मानेको छ । कोही कसैले जुवातास खेलेको पाइएमा प्रहरीले पक्रछ । जेल हालिन्छ । सेयर पनि जुवासरह हो ।
जसरी जुवामा सयौं जना हारेर एउटा जित्छ, त्यसरी नै सेयरमा पनि लाखौंले गुमाएर एउटा मालामाल बन्छ । सेयर र जुवामा एउटै फरक छ–सेयर कारोबार ल्यापटप, कम्प्युटर, मोबाइलमा गरिन्छ, जुवा सबै भेला भएर खेलिन्छ । अब प्रश्न चाँहि के उठ्छ भने सेयर र जुवामा राज्यको नीतिनियम किन फरक ? जबकी दुवैले जनतालाई डुबाउने काम गरिरहेको छ । जुवा खेल्नेलाई सरकारले जेल कोचिरहँदा सेयर खेल्न सरकार आफैं लाइसेन्स बाँड्छ ।
सेयर खेलेबापत राजस्व लिन्छ । यसले त राज्य नै जनता डुबाउन लागिपरेको देखिँदैन र । सेयरमा ८३ लाख ६७ हजार सर्वसाधारणले लगानी गरेका छन् । सेयरमा बैंकको मात्र एक खर्ब ६७ अर्ब लगानी छ । योभन्दा बढी लगानी व्यक्तिहरुले गरेका छन् । अब भनौं–उनीहरु डुबे कि डुबेनन् ? सेयर दलालहरुले सोझासाझा सर्वसाधारणलाई त ठगिरहेकै छन्, सँगै
राज्यलाई समेत लुटिरहेका छन् ।
अहिले सेयरको मूल्य प्रतिकित्ता २६ सय रुपैयाँ छ । एउटाले २६ सयमा बेच्छ, अर्कोले किन्छ । तर, राज्यले एक सुको पाउँदैन । २६ सयमा किन्नेले २६ सय १० मा बेचेमा मात्र राज्यले राजस्व पाउँछ, त्यो पनि १० रुपैयाँको मात्र एक प्रतिशत । अनि त्यही सेयर २५ सय ९० मा बेचेमा राज्यले सुको कर पाउँदैन । यसको सबैभन्दा धेरै फाइदा ठूला सेयर खेलाडीलाई हुन्छ ।
किनकि मूल्य घट्दा उनीहरुले एकैचोटी करोडौं कित्ता सेयर किन्छन् । जसको राज्यलाई सुको तिर्नुपर्दैन । यसरी दलालहरु मालामाल बन्छन्, जनता र राज्य लुटिन्छन् । अहिले पनि बजारमा सेयरको मूल्य बढ्ने चर्चा व्यापक छ । प्रधानमन्त्री र अर्थमन्त्री नै सेयरको बढ्ने बढ्ने आश्वासन दिइरहेका छन् । तर, मूल्य बढ्ने आधार चाँहि के ? बैंक, वित्तिय संस्था, हाइड्रोपावर, इन्स्योरेन्सलगायत कम्पनी सबै घाटामा छन् ।
बैंक आज कि भोलि भनेर बसिरहेको छ । किनकि कर्जा असुली भइरहेको छैन, धितोको मूल्य भने लगातार घटिरहेको छ । बैंकको सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी, सेयर र सुनमा छ । यी सबै क्षेत्रमा केही वर्षयता व्यापक मन्दी छ । पाँच–सात वर्षअघि करोडौं पर्ने घरजग्गा अहिले लाखमा झरिसकेको छ । करोडौंको गाडी पनि लाखमा झरिसक्यो । ३२ सयदेखि पाँच हजारको सेयर २६ सयमा झरेको छ । सुनको मूल्य पनि कहिले ह्वात्तै बढ्छ त कहिले स्वाट्टै घट्छ । लगानी डुब्दा जनता धमाधम आत्महत्या मरिरहेका छन् । महँगी, बेरोजगारीले पनि उत्तिकै सताइरहेको छ । जनता बिहानबेलुकाको छाक टार्न नसक्ने अवस्थामा पुगेका छन् । कर तिर्न नसक्ने भएका छन् ।
अनि यस्तो अवस्थामा पनि प्रधानमन्त्री, अर्थमन्त्रीले सेयर बजार पहिलाकै लयमा फर्किन्छ भन्नु हाँस्यास्पद छ । कुर्सी टिकाउन जनता डुबाउने खेल हुँदैछ । सरकारले त सेयर दलालीहरुलाई कारबाही गर्नुपर्ने हो । कृत्रिम मूल्य बढाएर जनता ठग्ने र राज्य लुट्नेलाई कानूनी दायरामा ल्याउनुपर्ने हो । दुर्भाग्य, सरकार उल्टो बाटोमा हिँड्यो ।
दलालसामु नै सरकार झुकेको छ । यसले उनीहरुको मनोबल झनै बढाएको छ । आफूहरुले जतिसुकै ठगेपनि, लुटेपनि केही हुँदैन भन्ने आत्मविश्वास उनीहरुमा पैदा भएको छ । सरकारले दलालहरुलाई कारबाही नगरेपनि जनता आफैं सचेत हुनुपर्छ । लोभलालचमा पर्नुहुँदैन । दलालहरुको पछि लागेर जथाभावी लगानी नगरौं । लगानी गर्नुपूर्व निकै सोचविचार गरौं ।

 

civil hospital
Hams Hospitals