एटीएम मेशिनहरु रित्तो, खातामा पैसा हुँदाहुँदै दशैं मान्नबाट वञ्चित हुनुपर्ने अवस्थामा सर्वसाधारण !
वि.सं.२०८३ असोज २९ बिहीवार
shares
दशैं वर्ष दिनमा एक पटक आउने महान् चाड हो । दशैं रमाइलोका साथ मनाउन भनेरै मानिसहरुले वर्षभरि मिठो नखाई वा राम्रो, नयाँ कपडा नलगाई बचत गरेका हुन्छन् । तर, खातामा पैसा हुँदाहुँदै पनि यसपालि अधिकांशले दशैंमा किनमेल गर्न पाएका छैनन् । कारण हो–बैंकहरुको एटीएम मेशिन खाली हुनु । अहिले बजारमा जोकोही गुनासो गरिरहेका हुन्छन्–कहिकतैको पनि एटीएम मेशिनमा पैसा छैन ।
केही दिनअघि काठमाडौंको अनामनगरस्थित एक बैंकको एटीएम मेशिनमा पैसा झिक्न आएका ग्राहकहरु मेशिनमा पैसा नभएपछि सेक्युरिटी गार्डसँग झगडा गरिरहेका थिए । यस्ता दृश्य आजकल प्रायजसो एटीएम मेशिनबाहिर देखिन्छन् । अर्कोतर्फ, अधिकांश बैंकले शाखा वा एटीएम मेशिन पनि कटौती गरिसकेका छन् ।
पहिले केही दुरीमै विभिन्न बैंकको एटीएम मेशिन वा शाखा हुने गरेकोमा अहिले बल्लतल्ल एउटा एटीएम मेशिनमात्र भेटिन्छ । त्यसमा पनि पैसा झिक्न जाँदा रित्तो हुन्छ । यसले बैंक पनि टाट पल्टिन लागेको शंका पैदा भएको छ । नभए सबै बैंकको एटीएम मेशिन किन रित्तो छ ? फेरि राष्ट्र बैंकले पछिल्लो पटक एटीएम मेशिनबाट पैसा निकाल्न नीति नियम परिवर्तन पनि गरेको छैन ।
सहकारी डुब्नुअघि बचतकर्तासँग यस्तै भएको छ । आफ्नो निक्षेप झिक्न जाँदा सहकारी अध्यक्ष, सञ्चालक र कर्मचारीहरु झिक्नै दिँदैनन् थिए । अनेकौं प्रलोभन देखाएर रोक्थे । अहिले बैंकले पनि त्यही गरिरहेको छ । एकातिर एटीएम मेशिनमा पैसा हाल्दैन, अर्कोतिर चेक लिएर गएमा कर्मचारीहरु अनेकौं बहाना बनाएर साटिँदैनन् । यसले बैंक डुब्न लागेकोबाहेक अरु के संकेत गर्छ र ?
ह्ुन त सहकारी, लघुवित्त, फाइनान्सजसरी बैंकको पनि सम्पूर्ण कर्जा लगानी घरजग्गा, गाडी र सेयरमै छ । यी क्षेत्रमा सात वर्षदेखि व्यापक मन्दी छ । त्यसैले, वित्तिय संस्थाहरु त भागे, अब पालो बैंकको देखिँदैछ । भूमाफियाहरुले रोपनीको पाँच–सात हजारमा नबिक्ने खेतीयोग्य जमिन प्लटिङ गरेर आनाकै लाखदेखि करोडौंमा बेचे ।
सरकारले पनि जग्गाको मूल्य भूमाफियाको प्रभाव र दबाबमा परेर तोक्यो । स्थानीय तहहरुले आफ्नो क्षेत्राधिकारभित्रका जग्गाको मूल्य आफैंले तोक्दै आएका छन् । काठमाडौंको कोटेश्वर तीनकुनेस्थित महादेवथान एरियाको जग्गा सरकारी मूल्य आनाकै ७६ लाख ६० हजार रुपैयाँ छ । यो ठाउँ तीन दशकअघिसम्म घारीमात्र थियो ।त्यतिबेला रोपनीको दश हजारमा नबिक्ने यहाँको जग्गा अहिले सरकारी मूल्य नै यत्रो छ । बजारमा किनबेच त योभन्दा दशौं गुणा बढी मूल्यमा हुन्छ । काठमाडौंमा ठाउँअनुसार जग्गाको सरकारी मूल्य आनाकै पाँच लाखदेखि ७६ लाख ६० हजारसम्म तोकिएको छ ।
भक्तपुरमा पनि यस्तै छ । सूर्यविनायक नगरपालिकाले हाइवेको जग्गा आनाकै ४० लाख रुपैयाँ तोकेको छ भने मध्यपूर थिमी नगरपालिकाले २१ लख ६५ हजार रुपैयाँ तोकेको छ । जबकी तीन दशकअघिसम्म यही एरियाको जग्गा रोपनीको पाँच हजारमा नबिक्ने स्थानीय दाबी गर्छन् । भक्तपुरमा थुप्रा सार्वजनिक, गुठी, ऐलानी, हदबन्दी बढी, सिमसारलगायतका जग्गा थिए ।
तर, भूमाफियाहरुले ती जग्गा पनि कब्जा गरे भने स्थानीय तहहरुले राजस्व उठाउन भूमाफियाकै प्रभावमा परेर जग्गाको मूल्य तोकिरहेका छन् । उता, काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाले वडा नम्बर २, सिम्थलीस्थित कच्ची बाटोले छोएको जग्गा मूल्य रोपनीको दुई लाख रुपैयाँ तोकेको छ । यद्यपि, त्यहाँ जग्गा रोपनीको पाँच हजारमा समेत बिक्री हुँदैन । किनकि गाउँ सुनसान छ ।
सरकारी मूल्य अनि बजारमा किनमेल भइरहेको मूल्यका आधारमा बैंकहरुले घरजग्गालाई कर्जा प्रवाह गरे । धितोको मूल्यको ८० प्रतिशतसम्म ऋण दिए । आर्थिक मन्दी, बेरोजगारी, चर्को ब्याजदरलगायतका कारण अधिकांश ऋणीले कर्जा तिर्न सकेनन् वा सकेका छैनन् । उनीहरुले धितो बेचेर कर्जा चुक्ता गर्न नखोजेका होइनन् तर धितो बिक्री नै हुँदैन । कर्जा नतिरेपछि बैंकले त ऋणीको धितो लिलामी प्रक्रिया अघि बढाइहाल्छ । र, उसको तीन पुस्तालाई कालोसूचीमा राखिदिन्छ ।
९५ प्रतिशत सर्वसाधारणले आफ्नो घरजग्गा, गाडी, सेयर, सुन धितो राखेर बैंक, वित्तिय संस्थाबाट कर्जा लिएको पाइन्छ । यीमध्ये पाँच लाख त कालोसूचीमा परिसकेका छन् । हिजो करोडपति रहेका उनीहरु आज सुकुम्बासी बन्न पुगेका छन् । अरु ऋणीले पनि बैंकको कर्जा तिर्न सकेका छैनन् । बैंकले सेयर, गाडी र सुनमा पनि अधिक कर्जा प्रवाह गरेका छन् ।
बैंक आफैंले प्रतिकिध एक सय रुपैयाँमा निष्काशन गरेको सेयर धितो राखेर २८ सयसम्म कर्जा दिएको छ । गाडी फलाम, सिसा, रबर, फर्म, कपडालगायतबाट बन्छ । आगो सल्किएमा गाडीको अवस्था के हुन्छ ? हामी सबैले जेनजी आन्दोलनमा देखिसक्यो । ती गाडी त कवाडीले दुई रुपैयाँ किलोमा समेत नलगेको अवस्था छ ।
तर, बैंकहरुले एउटै गाडीलाई लाखदेखि करोडौं रकम कर्जा दिएका छन् । सवारीसाधनमा बैंकको खर्बौ कर्जा लगानी छ । सुनमा पनि त्यत्तिकै कर्जा गरिएको छ । वि.सं. २०२२ सालसम्म सुन प्रतितोला ८० रुपैयाँ थियो । केही महिनाअघि त्यही सुन तोलाकै चार लाखमा किनबेच थियो । बैंकले सुन धितो राखेर अर्बौ कर्जा प्रवाह गरेको छ । बैंकले सुनको मूल्य बढिरहेको त देख्यो त बजारमा किनबेच ठप्प रहेको कुरालाई बेवास्ता गर्यो ।
बैंकले सार्वजनिक, सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, वनजंगल, मठमन्दिर, राजपरिवार, खोला नदी किनारका जग्गासमेत धितो राखेर खर्बौ कर्जा प्रवाह गरेको छ । जलविद्युत आयोजनाहरुमा पनि त्यत्तिकै लगानी गरेको छ । तर, रसुवासहित पछिल्ला वा अघिल्ला बाढीपहिराले जलविद्युत आयोजनासहित बैंकले धितो राखेर कर्जा प्रवाह गरेका धितो नै बगाएको छ । ऋणीको वंश नै नाश भएको छ । अनि अब बैंकले के गर्छ ?
बैंकले एउटै व्यक्तिलाई ६ अर्बदेखि ८७ अर्बसम्म ऋण दिएको छ । धितोको नाममा यही घरजग्गा, गाडी, सेयर हो । यी क्षेत्रमा छाएको मन्दीबारे सबैलाई थाहै छ । मूल्य जतिसुकै बढेपनि वा घटेपनि घरजग्गा, गाडी, सेयर, सुनको किनबेच ठप्प छ । अब बैंकले कसरी कर्जा उठाउँछ ? हो, यी यस्ता कारणले बैंक पनि टाट पल्टिने अवस्थातिर पुगेको हो ।
कमिशन, चर्को ब्याजका कारण हिजो लाखौं ऋणीलाई सडकछाप अवस्थामा पुर्याएको बैंक अब आफैं भाग्नुपर्ने अवस्था नजिकिँदैछ । यसबाट सबैभन्दा पीडित चाँहि बचतकर्ता बन्नेछ । अहिले नै त्यसको असरसमेत देखिँदैछ । खातामा पैसा हुँदाहुँदै उनीहरु दशैं मान्नबाट वञ्चित हुनुपर्ने अवस्था आएको छ ।
































