सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह
वि.सं.२०८३ असोज ३१ शनिवार
shares
काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र घुम्नु उनीहरूको मुख्य आकर्षण हुन्थ्यो ।
तर पछिल्लो समय पर्यटकको रुचि यस्ता सम्पदा हेर्नमा मात्र सीमित नरही नेपाली चाडपर्व, जात्रा र सांस्कृतिक गतिविधिमा सहभागी भएर स्थानीय जीवनशैली अनुभव गर्नेतर्फ पनि बढ्न थालेको छ ।
होटल संघ नेपालका अध्यक्ष विनायक शाहका अनुसार कोभिड महामारीपछि नेपाल आउने पर्यटकको घुम्ने शैलीमा परिवर्तन देखिएको छ । उनीहरू गन्तव्य अवलोकन गरेर फर्किनेभन्दा स्थानीय संस्कृति बुझ्ने, चाडपर्वमा सहभागी हुने र त्यसको अनुभव लिने गतिविधिमा आकर्षित हुन थालेका छन् ।
‘कोभिडअघि काठमाडौं आउँदा हनुमानढोका, पाटन दरबार र भक्तपुर दरबार हेरेर फर्किने पर्यटक धेरै हुन्थे,’ शाहले भने, ‘अहिले इन्द्रजात्राजस्ता पर्वमा सहभागी हुने, त्यहाँको संस्कृति बुझ्ने र आफैँ पनि गतिविधिमा संलग्न हुने प्रवृत्ति बढेको छ । यसलाई हामी एक्सपेरिमेन्टल टुरिजम भन्छौँ ।’
पर्यटकको बदलिँदो रुचिलाई नेपाली पर्यटन व्यवसायले अवसरका रूपमा लिनुपर्ने शाहको भनाइ छ । नेपालका चाडपर्व र परम्परालाई पर्यटन गतिविधिसँग जोड्न सके पर्यटकलाई नयाँ अनुभव दिन सकिने र पर्यटनको आकर्षण विस्तार गर्न सकिने उनको बुझाइ छ ।
दशैँ–तिहारका अवसरमा पनि यस्ता गतिविधि सञ्चालन गर्न सकिने उनले बताए । दशैँमा टीका लगाउने परम्परा बुझाउने, तिहारमा देउसी–भैलोमा सहभागी गराउने तथा गाउँघरमा प्रचलित पिंङ खेल्ने, रैथाने परिकार बनाउनेजस्ता गतिविधि पर्यटकका लागि फरक अनुभव बन्न सक्छन् । होटल तथा पर्यटन व्यवसायीले यस्ता गतिविधिलाई प्याकेजमा समेटेर पर्यटकलाई सहभागी गराउन सक्ने उनले बताए ।
शाहका अनुसार चाडपर्वका समयमा होटलहरूले स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी विशेष खानाका परिकार र मनोरञ्जनात्मक कार्यक्रम पनि ल्याउने गरेका छन् । उनले सञ्चालन गर्दै आएको एयरपोर्ट होटलले दशैँका लागि खसीको मासुका विभिन्न परिकार समेटिएको ‘मटन प्लाटर’ उपलब्ध गराएको छ । गाउँघरमा प्रचलित पकुजस्ता रैथाने परिकारलाई होटलको मेनुमा समेटेर ग्राहकलाई पस्किएको उनले बताए ।
नेपाली चाडपर्वलाई पर्यटनसँग जोड्दा होटलको व्यावसायिक गतिविधि बढ्नुका साथै स्थानीय संस्कृति र परम्पराको प्रवद्र्धनमा पनि सहयोग पुग्ने उनको भनाइ छ । यसका लागि होटल व्यवसायी, पर्यटन क्षेत्र र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
मनसुन सकिएपछि मौसम अनुकूल हुने भएकाले दशैँ–तिहारपछिको समय पदयात्रा र घुमफिरका लागि पनि उपयुक्त हुने शाहले बताए । यस वर्ष भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण सुरुमा पर्यटन गतिविधिमा केही कठिनाइ भए पनि अवस्था क्रमशः सामान्य हुँदै गएको र चाडपर्वको समयमा पर्यटक आगमन बढिरहेको उनको भनाइ छ ।
नेपालको पर्यटनलाई हिमाल, प्राकृतिक दृश्य र ऐतिहासिक सम्पदामा मात्र सीमित नराखी यहाँका चाडपर्व, जात्रा र स्थानीय जीवनशैलीसँग जोड्न सके पर्यटकका लागि थप आकर्षण सिर्जना गर्न सकिने शाह बताउँछन् ।

































