बुबाले किनिदिनुभएको नयाँ लुगामा भेटिएको अथाह खुशी र कहिल्यै नफर्किने बालापनको दशैँ
वि.सं.२०८३ कात्तिक ३ मंगलवार
shares
हामी साना–साना हुँदा दशैँ कहिले आउला र नयाँ लुगा लगाएर निधारमा रातो टीका र जमरा लगाउन पाइएला भनेर दिन गनेर बस्थ्यौँ। दशैँ आउन लागेको खबरले मात्रै पनि मनमा कति ठूलो उमङ्ग छाउँथ्यो।
अहिले पनि सम्झनामा ताजै छ, बुबा वर्षमा एकपटक दशैँका लागि नयाँ कपडा किन्न वस्तिपुर जानुहुन्थ्यो। बुबाले नयाँ लुगा किनिदिने कुरा सुन्नेबित्तिकै मनमा छुट्टै उत्साह जाग्थ्यो। पसलमा पुगेर आफूलाई मन परेको कपडा छान्नु, त्यसलाई नयाँ कुर्था–सुरुवाल बनाउन सिलाउन दिनु र तयार भएको लुगा कहिले लगाउन पाइएला भनेर पर्खनु, आहा…. ती क्षणहरू कति अनमोल थिए है!
त्यतिबेला एउटा नयाँ कुर्था–सुरुवाल पाउँदा संसारकै सबैभन्दा खुशी मान्छे आफू नै हुँ जस्तो लाग्थ्यो। अहिले जस्तो दराजभरि कपडा थिएनन्, न त चाहेजति किनेर लगाउन सक्ने अवस्था नै थियो। तर जे थियो, त्यसैमा असीम खुशी थियो। बुबाले मायाले किनिदिनुभएको त्यो एउटा जोर नयाँ लुगामा हजारौँ खुशी अटाएका हुन्थे। नयाँ लुगा लगाएर ऐनामा आफूलाई हेर्दाको खुशी, साथीहरूलाई आफ्नो लुगा देखाउँदाको गर्व र मामाघर जाने उत्सुकता….ती सबै सम्झँदा मन फेरि त्यही बालापनमा फर्कन पुग्छ।
मामाघर जानुको खुशी पनि बेग्लै थियो। बाटोभरि मनमा अनेक कल्पना खेल्थे। मामाघरमा आफन्त भेटिने, मिठामिठा परिकार खान पाइने, टीका लगाएर दक्षिणा पाउने र सबैसँग रमाइलो गर्ने। दशैँको त्यो आत्मीयता, आफन्तको माया र गाउँघरको न्यानोपनलाई शब्दमा बयान गर्न साँच्चै कठिन छ।
दशैमा बुबाले किनिदिनुभएको कुर्था सुरुवालको कपडा ममिले बनाउनुभएको लम्पटमा देख्छु अनी त्यो दशैको अथाह खुशी सम्झन्छु । त्यो कपडा देख्नेबित्तिकै मन एकाएक विगतमा पुग्छ। आँखामा पुराना दृश्यहरू नाच्न थाल्छन्। बुबाको अनुहार, नयाँ लुगा छान्दाको खुशी, दशैँको बिहान, निधारमा टीका र मामाघर गएको त्यो रमाइलो दिन, सबै कुरा फेरि जीवन्त भएर आउँछन्।
अनि मनले चुपचाप प्रश्न गर्छ, समय कति छिटो बितेछ है!
हिजोजस्तो लाग्छ, बुबाको हात समातेर नयाँ कपडा किन्न गएको। हिजोजस्तो लाग्छ, नयाँ लुगा लगाएर साथीहरूसँग खुशी साटेको। तर आज ती दिनहरू सम्झनामा मात्रै सीमित भएका छन्। समयले बालापनलाई पछाडि छोड्दै लग्यो, जिम्मेवारीहरू थपिँदै गए, जीवनका प्राथमिकताहरू बदलिँदै गए। तर ती दिनले दिएको खुशी र आत्मीयता मनको कुनामा अझै उस्तै सुरक्षित छन्।
दशैँ र तिहार नजिकिँदै गर्दा गाउँमा छुट्टै चहलपहल सुरु हुन्थ्यो। घरहरू लिपपोत गरिन्थे, आँगन सफा पारिन्थ्यो, बाटाघाटा सजाइन्थे। टाढाटाढा गएका आफन्तहरू घर फर्किन्थे। गाउँका घरहरूमा भेटघाट र हाँसोको माहोल हुन्थ्यो। साथीहरू जम्मा भएर कसले कस्तो कपडा किने भनेर देखाउँथे। कसैले आफ्नो नयाँ लुगाको कुरा सुनाउथे, कसैले मामाघर जाने योजना बनाउथे । सानातिना कुरामै कति ठूलो खुशी भेटिन्थ्यो ।
त्यतिबेला मोबाइल थिएन, सामाजिक सञ्जालमा तस्वीर राख्ने चलन थिएन। तर खुशी बाँड्न कुनै माध्यमको आवश्यकता पर्दैनथ्यो। साथीको घरमा पुगेर भेट्नु, आँगनमा बसेर गफ गर्नु, सँगै हिँड्नु र सँगै हाँस्नु नै पर्याप्त थियो। दशैँमा गाउँका साथीहरूसँग भेट हुँदा लाग्थ्यो, हाम्रो संसार यही हो, हाम्रो खुशी यही हो।
त्यो समयको गाउँमा धनभन्दा मन ठूलो थियो। कसैको घरमा धेरै परिकार पाक्थे, कसैको घरमा थोरै। कसैले महँगा लुगा लगाउँथे, कसैले सामान्य। तर एकअर्काको खुशीमा रमाउने र दुःखमा साथ दिने संस्कार थियो। छिमेकीको घरमा टीका लगाउन जाँदा आफ्नै घर पुगेजस्तो लाग्थ्यो। आफन्तसँगको भेटघाटमा औपचारिकता थिएन, मनमा कुनै दूरी थिएन। दशैँले सबैलाई एउटै सूत्रमा बाँधिदिन्थ्यो।
आज समय फेरिएको छ। जीवनशैली फेरिएको छ। हातमा मोबाइल छ, दराजभरि कपडा छन्, चाहेको बेला आफूलाई मन परेको सामान किन्न सकिन्छ। दशैँमा नयाँ कपडा लगाउन पनि अब वर्ष दिन पर्खनुपर्दैन। बजारमा अनेकथरी परिकार उपलब्ध छन्, रमाइलो गर्ने साधनहरू पनि प्रशस्तै छन्। तर कहिलेकाहीँ लाग्छ, सुविधा बढ्दै जाँदा खुशीको त्यो पुरानो गहिराइ कतै हराउँदै त गएको छैन?
आज हामीसँग लगाउनका लागि अनगिन्ती कपडा छन्, तर बुबाले किनिदिनुभएको एउटा जोर नयाँ लुगाले दिएको खुशी छैन। आज हातमा धेरै कुरा छन्, तर बालापनमा थोरै कुराले मन भरिने त्यो सन्तुष्टि छैन। आज दशैँ मनाउन सकिन्छ, तर समयलाई पछाडि फर्काएर त्यही गाउँ, त्यही आँगन, त्यही साथीहरूको जमघट र त्यही निर्दोष बालापनमा फर्किन सकिँदैन। साना साना कुरामा संसार जितेजस्तो लागेको त्यो समय फेरि दोहोरिँदैन।
सायद जीवनको सबैभन्दा ठूलो विडम्बना यही हो, हामी बालापनमा छिटो ठूलो हुन चाहन्छौँ, तर ठूलो भएपछि त्यही बालापनमा फर्किन पाए हुन्थ्यो भनेर सम्झनामा डुब्छौँ।
आज दशैँ आउँदा मन खुशी त हुन्छ, तर त्यो खुशीसँगै एउटा मीठो पीडा पनि आउँछ। पुराना दिनको सम्झनाले मन भिजाउँछ। बुबाको माया, आमाको स्नेह, गाउँका आफन्त, बालापनका साथीहरू र ती रमाइला चाडपर्वहरू सम्झँदा मन भावुक हुन्छ।
कति सुन्दर थिए ती दिन!
कति सरल थियो जीवन!
कति थोरै कुराले पनि मन भरिन्थ्यो!
कहिलेकाहीँ मन लाग्छ, फेरि एकपटक त्यही गाउँमा पुगूँ। बुबाको हात समातेर वस्तिपुर जाऊँ। पसलमा उभिएर आफ्नो मनपर्ने कपडा छानूँ। नयाँ कुर्था–सुरुवाल लगाऊँ। दशैँको बिहान उठेर मान्यजनको हातबाट टीका थापूँ। अनि साथीहरूसँग गाउँका बाटाघाटा घुम्दै, हाँस्दै, रमाउँदै पुरानै दिनमा फर्कूँ।
तर जीवनले सिकाएको सत्य यही हो, सम्झनाहरू फर्काउन सकिन्छ, समय फर्काउन सकिँदैन।
आज पनि ममिले बनाउनुभएको लम्पटमा ती पुराना कपडा देख्दा लाग्छ, मेरो बालापनको एउटा सानो संसार सुरक्षित छ त्यहाँ। त्यस कपडामा बुबाको माया छ, आमाको स्नेह छ, गाउँको सुगन्ध छ, दशैँको उमङ्ग छ र कहिल्यै नफर्किने समयका अनगिन्ती कथाहरू छन्। जीवनका सबैभन्दा सुन्दर क्षणहरूको सङ्ग्रहहरू छन् ।


































