कारागारभित्रका महिलाहरुको समस्या

1.9K
shares

व्यक्तिगत सरसफाइलाई पानी र शौचालयको तनाव, महिनावारी हुँदा सेनिटरी प्याड र औषधिको अभाव

काठमाडौँ — बाजुराको बुढीगंगा–९ की ३२ वर्षीया तारा बडुवालले अछामको मंगलसेन कारागारमा ३८ महिना काटिसकेकी छन्, तर महिनाका चार दिन उनका लागि प्रलय नै लाग्छन् । महिनावारीको असह्य पीडाका पछाडि प्रजनन स्वास्थ्यमा कतै समस्या छ जस्तो लाग्छ । तर, स्वास्थ्य परीक्षणका लागि प्रशासनलाई भन्न संकोच मान्छिन् । कारण ? ‘समस्या सोध्ने सबै पुरुष मात्रै हुन्छन्, महिलाहरू कोही आउँदैनन् । अनि यस्ता कुरा भन्न लाज लाग्छ ।’ महिलाहरू बोल्न धक मान्छन्, त्यसैले उनीहरूलाई महिनावारी हुँदा सेनिटरी प्याड त परै जाओस्, सुग्घर शौचालय पनि छैन ।

कारागार व्यवस्थापन विभागका अनुसार मुलुकभरका जेलमा ६ सय ९९ महिला कैदी र ६ सय १५ जना महिला थुनुवा छन्, समस्या उस्तै छ । कारागारमा रहेका महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य संवदेनशीलता बुझ्ने संयन्त्र महिलामैत्री छैन । कतिपय यौन तथा प्रजनन स्वास्थ्यका समस्यासँग जुधिरहे पनि उपचारबाट वञ्चित छन् । तर उनीहरूले आफ्ना समस्या खुलेर प्रशासनलाई भन्न सक्दैनन् । विभिन्न कारागारमा रहेका महिलाहरूले कान्तिपुरका पत्रकार महिलाहरूसँग भने, ‘महिलासम्बन्धी समस्या कसरी पुरुषहरूसँग भन्नु ? अझ महिनावारी हुँदै छु, सेनिटरी प्याड ल्याइदिनोस् भनेर कसलाई भन्ने ? तपाईंको सट्टा पुरुष पत्रकार आएको भए पनि यी कुरा भन्न हामीलाई गाह्रो हुन्थ्यो ।’

तारासँगै मंगलसेनमा कैद सजाय भुक्तान गरिरहेकी पञ्चदेवल विनायककी २८ वर्षीया हरिशोभा बडुवालले जेल आउनुअघि परिवार नियोजनको अस्थायी साधन नरप्लान्ट राखेकी थिइन् । जेल जीवन सुरु भएपछि उनले नरप्लान्टको प्रयोग रोकिन् । अहिले उनलाई महिनावारी अनियमित हुनेसहित विभिन्न समस्याले बारम्बार सताइराख्छ । भनिन्, ‘सेतो पानी बगिराख्ने समस्या छ, तल्लो पेट दुखिराख्छ । गन्ध आइराख्छ भनेर साथीहरू नजिक बस्न मन पराउँदैनन् ।’ उनलाई आफ्नो समस्या जेलका कर्मचारीलाई भनेर उपचार गराउन मन छ । तर जेलरदेखि सुरक्षाकर्मीसम्म सबै पुरुष छन्, खुलेर भन्न सक्दिनन् ।

जिल्ला कारागार अछाममा कैदीको नियमित स्वास्थ्य जाँच गर्न अहेवको दरबन्दी छ । तर, ती पुरुष छन् । आफूले कैदीबन्दीको स्वास्थ्य जाँच नियमित गरिरहे पनि महिलाले खुलेर समस्या नबताएको अहेव अमर धामीले पनि बुझेका छन् । ‘कैदीबन्दी महिलाहरूलाई केही समस्या छ कि भनेर सोधे पनि भन्दैनन्,’ उनले भने, ‘उनीहरूका लागि स्वास्थ्यकर्मी महिला नै भए सजिलो हुन्थ्यो ।’ अछाम कारागारकै महिला कैदीबन्दीको जस्तो समस्या देशका अन्य कारागारमा पनि छ । बर्दिया कारागारमा रहेकी ३१ वर्षीया रमिला (परिवर्तित नाम) ले अपहरण मुद्दामा कैद जीवन बिताएको ११ वर्ष भयो । पानीकै अभाव छ । त्यसमाथि शौचालय जानसमेत घण्टौं लाइन बस्नुपर्ने समस्याले महिनावारीको दुःखलाई झनै बढाउने गरेको उनको अनुभव छ । उनीसँगै जेलमा रहेकी नेपालगन्ज घर बताउने २४ वर्षीया महिलाले भने महिनावारीका बेला सेनेटरी प्याडसमेत नपाउने गरेको दुःखेसो गरिन् । भनिन्, ‘जेलमा बस्नेसँग प्याड किन्ने पैसा पनि हुँदैन । प्याड किन्नकै लागि घरबाट पैसा माग्न सक्दैनौं । त्यसैले कपडाको प्रयोग गर्छौं । तर जेलमा सफा कपडा पाइँदैन ।’

बर्दिया कारागारको महिला बन्दीगृहमा अहिले ३२ जना कैदीबन्दी छन् जब कि क्षमता २५ जनाको मात्र छ । उनीहरूलाई जम्मा दुईवटा शौचालय र एउटा बाथरुम छ । त्यसैले पनि धेरैजसो महिला कैदीबन्दी महिनावारीका बेला उचित सरसफाइसमेत गर्न सक्दैनन् । कारागारका निमित्त जेलर विजयकुमार मल्लले केही संस्थाले प्याड बाँडे पनि त्यसलाई निरन्तरता दिन नसकेको बताए ।

कान्तिपुरसँगको कुराकानीमा कारागारका धेरैजसो महिला कैदीबन्दीले यौन तथा प्रजनन स्वास्थ्यमैत्री वातावरण नरहेको बताए । धेरैजसोले भने महिनावारीका बेला दुखाइ कम गर्ने औषधि र तातोपानी पनि नपाइने गरेको दुखेसो गरे ।

बाँकेको राप्तीसोनारीकी २९ वर्षीया एक महिलाले महिनावारीमा आफूलाई असाध्यै पेट दुख्ने गरे पनि त्यतिबेला दुखाइ कम गर्ने औषधि पनि नपाइने बताइन् । उनले सेनिटरी प्याडको अभावमा महिनावारी झनै कष्टकर भएको बताउँदै भनिन्, ‘स्कुलहरूमा जस्तै जेलमा पनि निःशुल्क प्याड दिए कति राम्रो हुन्थ्यो ।’

चार वर्षदेखि सजाय भुक्तान गर्दै आएकी सुनसरीकी २८ वर्षीया एक महिला मोरङ कारागारमा छिन् । अनमी विषय पढेकी उनी महिला बन्दीगृहकी स्वास्थ्य नाइके हुन् । महिनावारीको पहिलो दिन अत्यधिक पेट दुख्ने हुँदा औषधि खानुपर्ने बाध्यता भोगिरहेकी उनले बन्द पर्खालभित्र हुने महिनावारीमा शरीरमा दुखाइ हुने, दिक्क लाग्ने, बोल्न मन नलाग्ने र रिस उठ्ने समस्या बढ्ने गरेको बताइन् ।

मोरङ कारागारकी एक ३१ वर्षीया कैदीले महिनावारीका बेला कम्मर खसेजस्तो दुख्ने गरेको बताइन् ।

पछिल्लो समय पिसाब संक्रमणको समस्या रहेको उनले बताइन् । ५० जना क्षमताको मोरङ कारागारको महिला बन्दीगृहमा ८३ जना छन् । बन्दीगृहका स्वास्थ्य नाइकेका अनुसार यहाँका ५० प्रतिशत महिलाको नियमित महिनावारी छैन । केहीको कम र केहीको बढी रक्तस्राव हुने समस्या छ । २५ प्रतिशत महिलामा भने ‘युरिन इन्फेक्सन’को समस्या छ । ७० प्रतिशतभन्दा बढी कैदीबन्दीले सेनिटरी प्याड प्रयोग गर्ने गरेका छन् । कारागार निमित्त प्रमुख रामप्रसाद पोखरेलले महिला कैदीबन्दीलाई दिने स्वास्थ्य सेवामा विभेद नभएको दाबी गरे, तर महिलाका वास्तविक समस्या बुझ्ने संयन्त्र उनीसँग छैन ।

आठ महिनादेखि दैलेख कारागारमा रहेकी अछामकी शोभा रोकामगरलाई महिनावारीका बेला निकै कमजोर भएको महसुस हुन्छ । उनले त्यस्तो बेला उचित पोषण र सहज वातावरणको अभावमा आफूलाई मानसिक समस्या भएजस्तो हुने गरेको अनुभव साटिन् । भनिन्, ‘रगत धेरै बग्छ । हातगोडा दुख्ने, रिस उठ्ने, आँखा पोल्ने र एक्लै बस्न मन लाग्ने हुन्छ ।’ रगत धेरै बग्ने भए पनि सेनिटरी प्याडको पहुँच नभएकाले उनको समस्याझैं बढ्छ । उनले त्यस्तो बेला राम्ररी सरसफाइ पनि गर्न नपाउनाले अरू रोगले सताउला कि भन्ने भइरहेको उनले बताइन् ।

दैलेख जिल्ला कारागारका २६ महिलामा शोभाकै जस्तो समस्या अरूलाई पनि छ । दैलेखको दुल्लु–२ नाउँलेकी ३० वर्षीया दिलु थापा जेलभित्रै सुत्केरी भएको तीन साता पनि भएको छैन । बहुविवाह मुद्दामा करिब ८ महिनायता कारागारमा रहेकी उनले पोषणको अभावमा नवजात शिशुको तौल २ केजी मात्रै रहेको बताइन् । उनले भनिन्, ‘यस्तो अवस्थामा पनि एक्लै बस्नुपरेको छ । आफ्नोभन्दा पनि बच्चाको अवस्थाले पिरोल्छ ।’

कारागारकी महिला नाइके मन्दिरा गुरुङले कारागारमा रहेका अधिकांश महिलामा उच्च रक्तचापको समस्या रहेको बताइन् । जेलर उदयराज उपाध्यायले डाक्टरको दरबन्दी भए पनि स्वास्थ्य जाँच गर्ने उपकरण नभएकाले औषधि मात्रै दिने गरेका बताए ।

धेरैजसो जेलभित्र महिनावारीका बेला महिलाले छोइछिटो बार्नुपर्दा झनै समस्या थपिएको देखिन्छ । एक शौचालय र सरसफाइको अभाव त्यसमाथि छोइछिटोको डर । २५ जना कैदीबन्दी महिला रहेको धादिङ कारागारमा सजाय भुक्तान गरिरहेकी २६ वर्षीय महिलाले महिनावारीका बेला ४ दिनसम्म बार्ने गरेको र त्यो समय कष्टसाध्य हुने अनुभव सुनाइन् । पानी र शौचालय अभावमा महिनावारी बार्ने काम झन्झटिलो हुने गरेको अनभुव उनीहरूको छ ।

९ वर्षदेखि कारागारमा रहेकी काठमाडौं कीर्तिपुरकी ३८ वर्षीया लक्ष्मी पुरी रजस्वला हुने दिनहरू सम्झन पनि चाहन्नन् । पेट दुख्ने, फुल्ने समस्याले आजित उनी महिनावारीका बेला आवश्यक पर्ने सेनिटरी प्याडलगायत सुरक्षाका सामग्रीहरू सरकारले नै प्रदान गरिदिए हुन्थ्यो भन्ठान्छिन् ।

महोत्तरीको जलेश्वरस्थित पुरानो जीर्ण कारागारको महिला बन्दीगृहमा ५१ कैदीबन्दी महिला छन् । धेरैजसोसँग महिनावारीका बेला हुने दुःख र यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याका नमिठा अनुभव छन् । महिला शाखाकी चौकीदार रीता राउतले खुलेर बोल्न नसक्दा उपचार नपाई धेरैले रोग पालेको बताइन् ।

आठ महिनाअघि जलेश्वर कारागारमा पुगेकी बर्दिवास–८ की लासाङ लोप्चन अहिले सेतो पानी बग्ने समस्याबाट पीडित छिन् । महिनावारी हुँदा महिनामा एक पटक लगाउने कपडा र प्याडको समेत बन्दोबस्त नहुँदा उनले ठूलै हैरानी बेहोर्नुपरिरहेको छ । महिनावारीका बेला उनी आफैंले लगाएर फटाएका सुरुवाल, टिसर्ट र कुर्तालाई टालो बनाएर प्रयोग गर्छिन् । उनले भनिन्, ‘औषधि गर्न पैसा छैन, आफन्त कोही फर्किएर आउँदैनन् । सरकारले दिएको पैसाले खान पुर्‍याउन त मुस्किल छ, के प्याड लगाउनु, केले उपचार गर्नु ?’

सरकारले कपडा किन्ने खर्च भनेर कैदीबन्दीलाई १८ सयका दरले वर्षमा २ पटक भत्ता दिन्छ । महिला कैदीबन्दीको यौन तथा प्रजनन स्वास्थ्यबारे भने छुट्टै व्यवस्था छैन । सप्तरीकी सजनी सदा ८ वर्षदेखि जलेश्वर कारागारमा छिन् । उनीसँग अहिले ४ वर्षअघि बाढी र डुबानको राहत वितरणमा पाएको धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड मात्रै छ । महिनावारीका बेला असहज हुँदा, पेट दुख्दा चाहिने औषधि र डेटोललगायत सरसफाइ सामग्री आफूसँग नभएको बताइन् ।

थापाथलीस्थित परोपकार प्रसूतिगृहकी विशेषज्ञ डा. कृतिपाल सुवेदीले महिनावारीका बेला ख्याल नगर्दा संक्रमण बढ्दै गएर पाठेघरको मुखको संक्रमण हुने र क्यान्सरलगायत रोगको जोखिम हुने बताउँछिन् । कारागारमा रहेको महिला कैदीबन्दीलाई सेनिटरी प्याड दिएर आधारभूत सुधार गर्न सकिने भए पनि समग्र सुधारका लागि महिलामैत्री वातावरण हुनुपर्ने उनको भनाइ छ । उनले भने, ‘महिनावारी हुँदा खुलेर भन्न नसक्ने, एकअर्कासँग घुलमिल हुन नमिल्दा डिप्रेसन हुन सक्ने र पर्याप्त सरसफाइको अभावमा शारीरिक र मानसिक समस्याको खतरा रहन्छ । यसका लागि कारागारमा महिलामैत्री संयन्त्र बनाउनु आवश्यक छ ।’ कान्तिपुर दैनिक

civil hospital
Hams Hospitals