वैज्ञानिक अध्यात्मिक चेतनाको जागृति विश्व कल्याणका लागि प्रेरणा     

1.6K
shares

अध्यात्मले मानव चेतनाको जागृतिसँग सम्बन्ध राख्दछ, जसले शान्तिकामी चिन्तन, मानसपटलको आचारसंहिता र कालजयी चिजको खोजीलाई सम्बोधन गर्छ। यो हिंसा र कृत्रिम वादभन्दा माथि उठेर विश्व कल्याणको मान्यतामा समाहित हुन्छ। प्रमुख बौद्धिक व्यक्तिहरू जस्तै अल्वर्ट आइन्स्टाइन, इमानुयल कान्ट, एपिजे अब्दुल कलाम र बाराक ओबामाले पूर्वीय दर्शनमा भएको अध्यात्मिक पक्षको महत्त्व स्वीकारेका छन्। आइन्स्टाइनले अध्यात्मबिनाको विज्ञानलाई कमजोर भनेका छन्, र अध्यात्म र विज्ञानको संयुक्त दृष्टिकोणलाई आवश्यक ठानेका छन्।

अध्यात्मको खास अर्थ आफुभित्रको चेतन तत्व अनुभूत गर्नु हो । यस चेतन तत्वको सोझो सम्बन्ध परमात्मासँग रहेको हुन्छ । आत्मालाई परमात्माको अंश मानिन्छ । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थनको गर्नु नै अध्यात्मिक मार्ग हो ।म को हु? यो प्रश्नको खोजीबाट अध्यात्ममा प्रवेश गर्न सकिन्छ ।स्वास्थ्य जीवनका लागि अध्यात्मलाई बुझ्न जरुरी छ । आत्मा र शारीरिक स्वास्थ्य एकआपसमा सम्बन्धित छ । अध्यात्मको माध्यामबाट मानसिक वा शारीरिक स्वास्थ्यबीच राम्रो सम्बन्ध स्थापित गर्न सकिन्छ । यसले हाम्रो मनलाई शक्ति प्रदान गर्छ ।

भनिन्छ, जब मान्छे भावनात्मक रुपले स्वस्थ्य हुन्छ उनलाई जस्तोसुकै ठूलो रोगले पनि केही बिगार्न सक्दैन ।अध्यात्मिक सुख र आनन्द आफूभित्रैबाट प्राप्त हुन्छ । त्यो सुख मन, बुद्धि, चित्त र अहंकार शान्त भएपछि प्राप्त हुन्छ । मन शुद्ध गराउने साधन हो योग र ज्ञान । योग र ज्ञानबाट मन, बुद्धि र चित्तलाई आफ्नो स्वरुपमा राख्न सकिन्छ । मानिसको स्वरुप हो आत्मा । आत्माको ज्ञान नभए आफैलाई चिन्न सकिदैन । हामीले शरीरलाई आत्मा भन्छौं । यो हाम्रो भूल हो । आत्मा अविकारी छ, अविनाशी छ र अमर छ । शरीर मर्दछ । अध्यात्मवादीहरुले आत्मा र ईश्वरमा आस्था राख्छन । भौतिकवादीहरुले शरीरमा आस्था राख्छन । ज्ञान भनेको आत्मालाई परमात्मामा जोड्नु हो ।

अध्यात्मबिनाको राजनीति, समाज नीति, अर्थनीति या हरेक वाद एवं चिन्तन सबै अपूरो छ भन्ने विषयले विश्वका हरेक बौद्धिकलाई घचघच्याएको छ । अध्यात्म सांसारिकताभन्दा समस्त मानवहितको शक्ति तथा जीवनमुक्तिको आधारशिला हो । यसले व्यक्तिलाई समुद्र जस्तो गम्भीर बनाउने मात्र होइन, मानसिक सन्तुलन पैदा गर्छ । त्यसैले आजको हरेक क्षेत्रबाट विक्षिप्त समाजमा अध्यात्मिकताको विषयले प्रश्रय पाउनु जरुरी छ ।राजनीतिक तरलता तथा स्थिर सरकार नहुँदा विकासका हरेक पक्ष ठप्प छन् । यो अभियानसँग सम्बद्ध अध्यात्मिक क्रियाकलाप नै विकासको अपरिहार्य शक्तिका रूपमा स्थापित भएको छ ।

शरीरको मृत्यु भए पनि आत्माको अस्तित्व अमर छ भन्ने तथ्यलाई स्पष्ट गराउँछ । सम्पूर्ण मानव आत्मा आपसमा भाइ भाइ हौं । पवित्रता, शान्ति, प्रेम आत्माको स्वधर्म हो भन्ने वास्तविकताको अनुभूती गराउँछ । अध्यात्मिक ज्ञानद्वारा संसारलाई हेर्ने दृष्टिकोण नै सकारात्मक बनिदिन्छ । अध्यात्मिकता वास्तवमा सम्पूर्ण ज्ञान, विज्ञान, नीति, विचार, सिद्धान्त, खोज,अनुसन्धान र विचारधाराको साझा लक्ष्य हुनुका साथै पुनर्रोत्थानका लागि गहन पूर्वक सोच्नुपर्ने तथा आवश्यक पहल कदमी गर्नुपर्ने आवश्यकता छ ।

अध्यात्मिक ज्ञानले व्यक्तिको चेतना र चिन्तनलाई उच्चतम स्तरमा पुर्याउँछ, जसले सकारात्मक र शुभ विचारहरूको प्रवाह गर्न मद्दत गर्दछ। यसले बुद्धिको तीव्रता र निर्णय क्षमता सुधार्छ र सत्कर्मको मार्गमा मार्गदर्शन पुर्याउँछ। अध्यात्मिक चिन्तनले मानिसलाई परोपकारी र शुभ जीवनका लागि प्रेरित गर्दछ, र कुनै पनि परिस्थितिमा नकारात्मक सोच र कुभलोका भावनाहरूबाट टाढा राख्छ।

अल्वर्ट आइन्स्टाइनले धर्म र विज्ञानलाई परस्पर विरोधी होइन, सहायक भनिरहनु भएको छ, जसले दुवैको सँगैको योगदानको महत्त्वलाई प्रमाणित गर्दछ। भौतिक र अध्यात्मिक उन्नति सँगसँगै हासिल गर्नाले विश्वमा सुख, शान्ति र समृद्धि ल्याउन सक्छ।

भौतिकवादी दृष्टिकोणले मनको शान्ति र आत्मज्ञानको महत्त्वलाई अनदेखा गर्छ, जसले मानिसलाई साँचो आनन्द र परमानन्द प्राप्त गर्न रोक्छ। अध्यात्मिक मार्गमा लागेका व्यक्तिहरू आत्मा र योगमार्फत शान्ति र वास्तविक सुख प्राप्त गर्छन्। भौतिकवादीहरूले शान्ति र साँचो आनन्दको महत्त्वलाई नसम्झँदा जीवनको वास्तविकता र उद्देश्यलाई भुल्छन्।

अध्यात्मिक र भौतिकवादी विचारधाराहरू बीचको द्वन्द्व जारी छ। भौतिकवादको प्रगति र सामाजिक उन्नतिसँगै अध्यात्मिक विचारको महत्त्व घटेको छ। मानिस भौतिक सुखमा रमाएर आफ्नो कर्तव्य र आत्मिक उन्नतिलाई बिर्सन्छ। जब भौतिकवादको प्रभाव बढ्छ, तब व्यक्तिवाद र स्वार्थपरता बढ्दछ, जसले समाजको कल्याणलाई हानि पुर्याउँछ।

अध्यात्मको उद्देश्य जीवन र मृत्युलाई साँचो रूपमा बुझ्नु र ईश्वरको सानिध्यमा पुगेर मोक्ष प्राप्ति गर्नु हो। यसका लागि कर्मयोग र निस्काम कर्मको महत्त्व छ। धर्मशास्त्रहरू जस्तै महाभारत र श्रीमद्भागवत गीता जीवनको वास्तविक उद्देश्य र मार्गदर्शन दिन्छन्।

भौतिकवाद र अध्यात्मवादको बीचको द्वन्द्व नयाँ कुरा होइन, तर यसको समाधान नकारात्मक आलोचनामा होइन, सन्तुलित र विवेकपूर्ण चिन्तनमा पाइन्छ। अध्यात्म ज्ञानले जीवनलाई अनुशासित, मर्यादित र सन्तुलित बनाउँछ, जसले मानिसलाई सामूहिक हित र आनन्दतर्फ लैजान्छ। भौतिकवादी उपलब्धिहरूलाई अवमूल्यन नगरी, अध्यात्म र भौतिकवादको बीचको सन्तुलन बनाउनु आवश्यक छ। अध्यात्मिक ज्ञान र भौतिक विकास सँगसँगै विश्वको भविष्यलाई उज्जवल बनाउन सक्दछन्।

वातावरण अनुकूलित यन्त्रको आविष्कारले गर्दा हामी घरभित्र कोठामै बसेर मौसमी तातो वा चिसोबाट बच्न सक्ने भएका छौँ । विशेष गरी सूचना प्रविधिको क्षेत्रमा भएको अभूतपूर्व प्रगतिले गर्दा हामी संसारको कुनै पनि मुलुकमा रहेका व्यक्ति अथवा नातेदारसँग घरको एउटा सानो कोठामा बसेर प्रत्यक्ष कुराकानी अथवा सन्देश आदानप्रदान गर्न सक्ने भएका छौँ ।केही दशक अघिसम्म मात्र एक ठाउँको चिठी अर्को ठाउँमा पुग्न हप्तौँ र महिनौँ लाग्ने गथ्र्यो भने आज मोबाइल, टेलिफोन, इन्टरनेट, भाइबर आदिजस्ता संचार प्रविधिको विकासले गर्दा हाम्रो सूचना र सञ्चार प्रणाली अत्यन्त सहज र सुलभ हुन पुगेको छ । तर, यति हुँदाहुँदै पनि हाम्रो मन–मस्तिष्क भने काम, क्रोध, लोभ, मोह र अहंकारजस्ता मनोविकृतिहरूबाट टाढा रहन सकिरहेको छैन ।

हामीलाई पक्ष र विपक्षमा बाँडिएर मात्र नपुग्ने हुनाले हाम्रो समाजमा एउटा सन्तुलित र सबैलाई मिलाउने चिन्तन र दर्शनको खाँचो भएको छ। भौतिकवाद पनि हामीलाई चाहिएको छ किनकि हामीलाई खान–लाउन परेको छ, अध्यात्मवाद पनि हामीलाई चाहिएको छ किनकी हामीलाई शान्ति चाहिएको छ, आनन्द चाहिएको छ, मृत्यु पछि विद्यमान रहने केही छ भने त्यसबारे पनि हामीलाई चासो छ। हामीले कुनै पनि कुरालाई एक पक्षीय ढङ्कले नहेरेर तिनको धेरै कोणबाट चिरफार गर्न आवश्यक परेको छ।एकातिर विज्ञान प्रविधिको विकासबाट मानिसको दैनिक जीवनयापन सहज र सुविधाजनक बन्दै गइरहेको छ भने अर्कोतर्फ मानव हृदयमा अन्तर्निहित सद्गुण र सद्भावनाहरू भने क्रमिक रूपमा ह्रास हुँदै गइरहेका छन् । परिणाम स्वरूप भौतिक रूपमा आज विश्व साँगुरो बन्दै गए पनि भावनात्मक रूपमा भने मानवीय दूरी झन् झन् बढ्दै गइरहको महसुस हुन थालेको छ ।

भौतिक स्रोत र साधनलाई सही रूपमा उपयोग नगरी अथवा मानव हितमा प्रयोग नगरी केवल आफ्नो स्वार्थ परिपूर्तिका लागि उपयोग गर्ने र भौतिक विलासिताको मात्र पछि लाग्ने प्रवृत्तिले गर्दा मानिसले आफ्नो मानवीय मूल्य र मान्यताहरू गुमाउँदै गइरहेको छ । फलस्वरूप आज मानिसहरू चिन्ता, तनाव, कुण्ठा अनेकन प्रकारका शारीरिक मानसिक रोगहरूबाट समेत ग्रसित हुन पुगेका छन् । अध्यात्मिक मार्ग सर्वश्रेष्ठ मार्ग हो भन्ने सम्झेर कर्तब्यनिष्ठ रही विश्वमा रहेको कलमरुपि अन्धकारलाई अध्यात्मिक ज्योतिले प्रकाशित गरी मानवीय गुणको यर्थात स्वरुप देखाइदिनु आवश्यक छ ।स्वस्थ रही अनुशासित र संयमित भएर बुद्धि र ज्ञानको विकास गरी समाजमा रहेको द्वन्द्वलाई हटाईसबै सुखी बनौं, भन्ने नीति लिएर वैज्ञानिक अध्यात्मवादको विजारोण गर्नु समयको माग हो । बैज्ञानिक अध्यात्मिक चेतनाको जागृत गर्दै विश्व कल्याण र बैज्ञानिक अध्यात्मिक चेतनाको जागृत गर्नु आवश्यक छ।

( उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् ।)

civil hospital
Hams Hospitals