चौधरी ग्रुपले एक वर्षमा तिर्यो साढे २५ अर्ब कर
वि.सं.२०८२ मंसिर ७ आइतवार
shares
काठमाडौं । चौधरी ग्रुप (सीजी) ले गत आर्थिक वर्ष २०८१/८२ मा राष्ट्रिय कोषमा २५ अर्ब ५९ करोड रुपैयाँ कर जम्मा गरेको छ। समूहका अनुसार यो रकम सरकारले सङ्कलन गर्ने कूल राजस्वको करिब २ प्रतिशत बराबर पर्छ।
राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि र चुनौतीपूर्ण लगानी वातावरणका बीच पनि समूहले सरकारको राजस्व वृद्धि र अर्थतन्त्रको गतिशीलतामा सकारात्मक योगदान दिएको सीजीले स्पष्ट पारेको छ।
अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा समूहले १८ अर्ब ५२ करोड रुपैयाँ कर तिरको थियो। चालु वर्षमा करिब ७ अर्ब रुपैयाँ बढी कर भुक्तानी गर्दै सीजीले आफ्नो व्यापार तथा लगानी विस्तारमा निरन्तरता रहेको सन्देश दिएको छ।
सीजीका अनुसार समूहले पछिल्लो ५ वर्षमा ९२ अर्ब २६ करोड रुपैयाँ बराबर कर तिरेर सरकारको राजस्वमा निरन्तर योगदान दिएको छ। प्रबन्ध निर्देशक निर्वाण चौधरीले स्थापित उद्योगहरूका विस्तारसँगै नयाँ व्यवसायहरूमा गरिएको लगानीले समूहको कर योगदान वर्षैभरि बढिरहेको बताए।
उनका अनुसार, सीजीले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै बजारमा सक्रियतापूर्वक लगानी विस्तार गरेर देशको आर्थिक विकासमा भूमिका खेलिदै आएको छ। चौधरीले व्यवसाय विस्तार र नवप्रवर्तनमार्फत अझ प्रभावकारी आर्थिक योगदान पुर्याउने प्रतिवद्धता व्यक्त गरे।
































