एमाले उपाध्यक्षमा साझा उम्मेदवार खोजी, केन्द्रमा रघुजी पन्त
वि.सं.२०८२ मंसिर २९ सोमवार
shares
काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि रघुजी पन्त दुवैतिरबाट साझा उम्मेदवार बन्ने गरी संवाद थालेका छन्।
पूर्वशिक्षा मन्त्री समेत रहेका पन्त उपाध्यक्षमा उम्मेदवार बनेका छन्। उनी केपी ओलीको टीमबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार प्रस्तावित थिए। तर उनले असन्तुष्टि जनाउँदै उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्।
यसअघि नवौँ महाधिवेशनमा उपमहासचिव हारेका पन्त पछिल्लो समय ओलीनिकट मानिन्थे। ओली टीमको पदाधिकारीमा नपरेपछि पन्तले ईश्वर पोखरेल पक्षसँग पनि छलफल गरिरहेका छन्।
प्रदीप ज्ञवालीले ओलीको निर्णयमा असन्तुष्टि जनाउँदै आज केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दर्ता गराएका छन्। ओली प्यानलमा नपरेपछि पन्त र भीम आचार्यले उपाध्यक्षमा उम्मेदवारी दिएका छन्।
पूर्वमुख्यमन्त्री समेत रहेका आचार्यमाथि भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। उनीमाथि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा केही दिनअघि मुद्दा दर्ता भएको छ।
ज्ञवालीले विद्रोह गरेर छाडेको रिक्त स्थानमा पन्त हुनसक्ने र पोखरेल टीममा पनि संवाद भइरहेकाले स्वतन्त्र उम्मेदवारी दिएका पन्त दुवैतिरको साझा उम्मेदवार बन्नसक्ने सम्भावना रहेको स्रोतले बतायो।
पछिल्लो समय ओलीनिकट रहे पनि पन्त एमालेमा १० बुँदे पक्षधर नेता हुन्। ती अधिकांश नेताहरू अहिले पोखरेल प्यानलमा छन्।































