सहसचिव मिरा आचार्य वैदेशिक रोजगार विभागको महानिर्देशक नियुक्त
वि.सं.२०८२ पुस ९ बुधवार
shares
काठमाडौं । सहसचिव मिरा आचार्यले वैदेशिक रोजगार विभागको महानिर्देशकको जिम्मेवारी सम्हालेकी छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको विभागमा रिक्त रहेको महानिर्देशक पदमा उनलाई मन्त्रीस्तरीय निर्णयमार्फत जिम्मेवारी दिइएको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन सुधार महाशाखा प्रमुखको जिम्मेवारीमा रहेकी आचार्यलाई केही दिनअघि सरकारले ६० जना सहसचिवको सरुवा गर्ने क्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा गरेको थियो । त्यसलगत्तै श्रममन्त्री राजेन्द्रसिंह भण्डारीको निर्णयअनुसार उनलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा खटाइएको हो ।
यसअघि विभागको महानिर्देशकको जिम्मेवारी सम्हाल्दै आएका सहसचिव कमलप्रसाद भट्टराईलाई मधेश प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको थियो ।
आचार्य वैदेशिक रोजगार विभागको पहिलो महिला महानिर्देशक बनेकी छन् । उनले आजै विभागमा पुगेर पदभार ग्रहण गरिसकेकी छन् ।सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहनुअघि आचार्य सोही मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय किताबखानाको उपमहानिर्देशकको जिम्मेवारीमा थिइन् ।




























