मुटु रोग विश्वकै ‘नम्बर–वन किलर’, जीवनशैली सुधार अपरिहार्य: डा. केशव बुढाथोकी

4.1K
shares

काठमाडौं । मुटु रोग विशेषज्ञ डा. केशव बुढाथोकीले हृदय रोगलाई विश्वकै सबैभन्दा ठूलो स्वास्थ्य चुनौतीको रूपमा वर्णन गर्दै यसबाट जोगिन जीवनशैलीमा परिवर्तन अनिवार्य रहेको बताएका छन् ।

हाल हेम्स अस्पतालमा कार्यरत डा. बुढाथोकीका अनुसार मुटु तथा मुटुबाट रगत प्रवाह गर्ने नली र तिनलाई घेरेका झिल्लीहरूमा समस्या देखिएमा त्यसलाई हृदय रोग भनिन्छ । उनका अनुसार हृदय रोग अहिले विश्वभर नम्बर–वन किलर का रूपमा चिनिएको छ । सन् २०२२ को विश्वव्यापी सर्वेक्षणअनुसार करिब १ करोड ९८ लाख मानिसको मृत्यु कार्डियोभास्कुलर रोगका कारण भएको उनले उल्लेख गरे ।

डा. बुढाथोकीका अनुसार नेपालजस्तो विकासशील देशमा समेत मुटु रोगको जोखिम तीव्र गतिमा बढिरहेको छ । यसको प्रमुख कारणमा सिडेन्टरी लाइफस्टाइल, तनावपूर्ण कामकाजी वातावरण, शारीरिक व्यायामको कमी, अस्वस्थ खानपान, धूम्रपान र मद्यपान रहेका छन् । “मुटुको रोगले धेरैजसो समय दिँदैन, विशेषगरी हार्ट अट्याकका घटनामा करिब १० प्रतिशत बिरामी अस्पताल नपुग्दै मृत्यु हुने तथ्यांक छ,” उनले भने ।

उनका अनुसार केही मुटु रोगहरू वंशाणुगत रूपमा एक पुस्ताबाट अर्को पुस्तामा सर्ने गर्छन्, जसले गर्दा सडेन कार्डियाक डेथ को जोखिमसमेत बढ्ने गरेको छ । हार्ट ब्लक, भल्भसम्बन्धी समस्या, हाइपरट्रोफिक कार्डियोमायोप्याथी (HCM) जस्ता रोगहरू यसका उदाहरण हुन् ।

डा. बुढाथोकीले हृदय रोगलाई मुख्यतः पाँच भागमा वर्गीकरण गर्न सकिने बताए । जन्मजात संरचनात्मक समस्या, कोरोनरी आर्टरी डिजिज (हार्ट अट्याक), मुटुको इलेक्ट्रिकल सिस्टममा गडबडी, संक्रमण वा सुन्निने कारणले हुने रोग तथा भल्भसम्बन्धी रोग र अन्ततः हार्ट फेलियर प्रमुख प्रकार हुन् ।

उनका अनुसार हृदय रोगका जोखिम कारक दुई प्रकारका हुन्छन्—परिवर्तन गर्न सकिने र परिवर्तन गर्न नसकिने । मोटोपना, अस्वस्थ खानपान, धूम्रपान, मद्यपान, व्यायामको कमी जस्ता कारण परिवर्तन गर्न सकिने जोखिम हुन् भने उमेर, लिङ्ग, वंशाणुगत कारण र जातीय पृष्ठभूमि परिवर्तन गर्न नसकिने कारक हुन् । विशेषगरी दक्षिण एशियाली समुदायमा मुटु रोगको जोखिम बढी देखिने उनले बताए ।

मुटु रोग पत्ता लगाउन ब्लड टेस्ट, इसिजी, इकोकार्डियोग्राफी, ट्रेडमिल टेस्ट, होल्टर मनिटरिङ, सिटी एन्जियोग्राफी, कन्भेन्सनल एन्जियोग्राफी तथा कार्डियक एमआरआईजस्ता परीक्षण उपलब्ध रहेको डा. बुढाथोकीले जानकारी दिए । बिरामीका लक्षणका आधारमा कुन परीक्षण आवश्यक पर्छ भन्ने चिकित्सकले नै निर्धारण गर्ने उनले बताए ।

अन्त्यमा उनले मुटु रोगबाट बच्न स्वस्थ खानपान, तौल नियन्त्रण, धूम्रपान तथा मद्यपान त्याग, नियमित व्यायाम, पर्याप्त निद्रा र तनाव व्यवस्थापन अत्यावश्यक रहेको बताए । “सबै जोखिम हटाउन नसकिए पनि जीवनशैली सुधार गरेर हृदय रोगको सम्भावना धेरै हदसम्म घटाउन सकिन्छ,” उनले जोड दिए ।

civil hospital
Hams Hospitals