नैतिकता र सदाचार सभ्य समाजको मेरुदण्ड

999
shares

 

नैतिकता र सदाचार कुनै एक व्यक्तिको निजी गुण मात्र होइनन्, यी सभ्य समाजका आधारस्तम्भ हुन्। जसरी मेरुदण्ड बिना मानव शरीर सीधा उभिन सक्दैन, त्यसरी नै नैतिकता र सदाचार बिना समाज दीर्घकालीन रूपमा टिक्न सक्दैन। नैतिकताले सही र गलतको विवेक दिन्छ भने सदाचारले त्यस विवेकलाई व्यवहारमा उतार्ने शक्ति प्रदान गर्छ।

सभ्य समाजमा नागरिकको आचरण, सोच र कर्म नै सामाजिक सम्बन्धको गुणस्तर निर्धारण गर्ने मुख्य तत्व हुन्। जब व्यक्ति सत्य, इमान, न्याय र करुणामा आधारित जीवनशैली अपनाउँछ, तब समाजमा विश्वास, सहकार्य र सद्भाव स्वतः विकसित हुन्छ। यसको विपरीत, नैतिक पतन हुँदा स्वार्थ, लोभ र हिंसाले समाजलाई कमजोर बनाउँछ, जसले अस्थिरता र अविश्वास जन्माउँछ।

नैतिकता र सदाचारले शासन प्रणालीलाई पनि मार्गदर्शन गर्छ। सदाचारी नेतृत्वले जनविश्वास कायम राख्छ र राज्यलाई सुशासनतर्फ डोर्याउँछ। शिक्षा, परिवार र संस्कारमार्फत नैतिक मूल्यको विकास हुँदा भावी पुस्ता जिम्मेवार र सचेत नागरिक बन्छन्।

नैतिकता जीवनमा कसरी बाँच्ने, अरूसँग कसरी व्यवहार गर्ने, कस्तो निर्णय लिने भन्नेमा मार्गदर्शन गर्ने आधार हो। हामी दैनिक जीवनमा अनेक विकल्प र चुनौतीहरूसँग सामना गर्छौं। यी परिस्थितिहरूमा कसरी निर्णय गरिन्छ भन्ने कुरा नैतिकताले निर्धारण गर्छ। सत्य बोल्ने, इमानदार रहने, सहनशील र सहानुभूति राख्ने जस्ता व्यवहारहरू नैतिकताको व्यवहारिक रूप हुन्।

सैद्धान्तिक रूपमा सही लाग्ने कुरा व्यवहारमा लागू नगर्ने हो भने त्यसको कुनै अर्थ हुँदैन। उदाहरणका लागि, कसैले इमानदारीको व्याख्या त गर्छ तर व्यवहारमा घुस लिन्छ भने त्यो व्यक्ति नैतिक मानिँदैन। यसैले नैतिकता भन्नाले आत्मअनुशासन, विवेक, र जिम्मेवारीयुक्त आचरणको अभ्यास हो।

आजको समाजमा भ्रष्टाचार, भेदभाव, असहिष्णुता र अन्य सामाजिक विकृतिहरूको मुख्य कारण नै नैतिकताको कमी हो। जब व्यक्तिले विवेक र नैतिक मूल्यअनुसार व्यवहार गर्छ, तब मात्र समाजमा शान्ति, समावेशिता र समरसता सम्भव हुन्छ। सार्वजनिक सेवा, राजनीति, प्रशासन, शिक्षा वा कुनै पनि क्षेत्र होस्, त्यहाँ नैतिक दृष्टिकोणको अभावले गलत अभ्यासहरू जन्माउँछ। नैतिकताको व्यवहारिकता आत्म–नियन्त्रण, सेवा भाव, पारदर्शिता, निष्पक्षता र सत्यनिष्ठामा आधारित जीवन हो। जसले न आफूलाई मात्र अगाडि बढाउँछ, बरु समाजलाई पनि सकारात्मक दिशा दिन्छ।

नैतिकता आत्मिक बोध, विवेक र व्यवहारिक जीवनशैलीको समुच्चय हो। नैतिक दृष्टिकोणले जीवनमा स्थिरता, सम्मान, र दीगो शान्तिको आधार तयार गर्छ। त्यसैले हामीले नैतिकतालाई जीवनमा व्यवहारिक रूपमा आत्मसात गर्नु नै सच्चो अर्थमा नैतिक बन्ने बाटो हो।

आजको भौतिकवादी र प्रतिस्पर्धात्मक युगमा जहाँ लोभ, अहंकार र स्वार्थले मानवीय सम्बन्धलाई प्रभावित बनाएको छ, त्यहाँ विवेकपूर्ण सचेतना आवश्यक र अपरिहार्य बनिरहेको छ। यसले मात्र व्यक्ति र संस्थालाई गलत बाटोबाट जोगाउन सक्छ र नैतिक मूल्यमा आधारित जीवनशैली विकास गर्न प्रेरित गर्छ।

शिक्षा, धर्म, संस्कार र सामाजिक चेतनाका माध्यमबाट विवेकशील नागरिक तयार पार्न सकिन्छ। जब व्यक्तिहरू विवेक र नैतिकताको आधारमा व्यवहार गर्छन्, समाजमा भ्रष्टाचार, हिंसा, भेदभाव र अन्य सामाजिक विकृतिहरू घट्दै जान्छन्।यसरी हेर्दा विवेकपूर्ण सचेतना नै एक सशक्त, नैतिक र सभ्य समाज निर्माणको आधारस्तम्भ हो, जसले दीगो विकास र सामाजिक समरसता सुनिश्चित गर्न सक्दछ।

सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ। सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो ।

सदाचार र सुशासन परस्पर परिपूरक हुन्। सदाचारविना सुशासन सम्भव छैन, र सुशासन बिना सदाचार पनि हराउँदै जान्छ। यदि दुराचार हावी भयो भने समाजमा अन्याय र अव्यवस्था फैलिन्छ, जसले राष्ट्रको गरिमा र सम्बन्धमा गिरावट ल्याउँछ। सदाचार मानिसको विवेकमा आधारित शक्ति हो, जसले लोभ, स्वार्थ र गलत कर्मबाट जोगाउँछ। आजको नेपाली समाजलाई सबभन्दा खाँचो सदाचारयुक्त नागरिक र सुशासनयुक्त नेतृत्वको छ।

सार्वजनिक संस्थाहरू समाजको सुव्यवस्थापनका लागि स्थापना गरिएका हुन्, र तिनको नेतृत्वले नीति, निष्ठा र नैतिकताको उदाहरण प्रस्तुत गर्नुपर्छ। नीतिप्रति निष्ठावान नेतृत्वले संस्थाहरूलाई बलियो बनाउँछ, जसले सुशासनको जग बसाउँछ। सुशासन प्राप्तिका लागि नेतृत्वमा रहेका पदाधिकारी तथा संस्थाले सदाचार, नैतिकता र व्यावसायिक मूल्यलाई व्यवहारमा उतार्नुपर्छ। यसरी मात्र राष्ट्र निर्माणको प्रक्रिया सफल र स्थायी बन्न सक्छ।

मानसिक चेत, आत्मिक शक्ति र विवेकले मानिसलाई सकारात्मक बनाउँदै लान्छ । स–साना मानवीय कमजोरीबाट पनि प्रायश्चित गर्दै पछिल्ला व्यवहार सुधार्दै जान्छ ।स्वार्थ, लोभ, लालसा, आसक्ति, आग्रह आदिलाई दबाउने सामथ्र्य वा अन्तरमूल्य नै सदाचारको जग हो। कसैले के भन्छ भन्दा पनि के गर्छ र उसप्रति के भनिन्छ भन्ने पक्ष महत्तम हुन्छ सदाचार संस्कृतिमा। कहिलेकाहीं सत्य र उचित कामका लागि परिवेश, समुदाय, समूहमा व्यक्ति एक्लै उभिने साहसमा रहन सक्नुपर्छ । किनकि, सदाचार सत्चरित्र हो, सत्चरित्रभन्दा दुष्चरित्रको फैलावट र क्षणिक शक्ति बढी देखिन्छ। सदाचारको संस्कृति नबसेको समाजमा पद, पैसा, प्रतिष्ठा र प्रेमको लोभमा व्यक्ति दुराचारी बन्ने गर्छ र सदाचार छायामा पर्छ । अनुशासन र इमानदारीको सीमा लालसा, लोभ र आग्रहले भत्काउँछ, यसको विपरीत इमानदारी, अनुशासनलाई सदाचारले ऊर्जा दिन्छ। असल बुझाइ, असल विचार र असल कार्यले नै असल चाहना प्राप्ति हुन्छ ।राजनीतिक रूपमा तटस्थ, आर्थिक रूपमा सदाचारी, सामाजिक रूपमा नैतिक, पेसागत रूपमा व्यावसायिक कर्मचारी नै राज्य प्रभावकारिता विस्तार गर्ने आधार हुन् । समकालीन समाजमा यिनै कुराको औधी माग भइरहेको छ, जसलाई सिद्ध गर्न राज्य संयन्त्रमाथि व्यापक दबाब परिरहेको अवस्था विधमान छ ।

महात्मा गान्धीले परिश्रमविनाको धन र चरित्रविनाको ज्ञानलाई पाप मानेका थिए सदचारिता असल जीवन जिउनका लागि अपरिहार्य कुरा हो । नागरिकमा जति धेरै सदचारितको विकास हुन्छ, सुशासनमा त्यतिनै बढी सहजता हुन्छ्र सुशासन कायम रहेको राष्ट्र विकास, समृद्धिका हिसाबले अगाडी हुन्छ, नागरिक सुखी हुन्छन् । सदाचार राम्रो आचरणमा मात्र सिमित छैन, यसले त हाम्रो जीवनलाई गति र दिशा दिन्छ जसले एक व्यक्तिलाई सधैँ अगाडी बढ्न सहयोग गर्दछ ।त्यसैले त सदाचारी नागरिक र शासक भएको देशमा सुशासन कायम हुन्छ र सुशासन भएमा राष्ट्र अग्रगतिमा जान्छ र समृद्धि सम्भव हुन्छ ।

सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो । यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जवाफदेही हुने हुन्, तर पनि आदर्श आचारसंहितामा सहमति बन्न सकेन । आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पुर्याउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् । तर, सार्वजनिक क्षेत्रमा नीति, निष्ठा एवं समर्पणका पक्षहरू कमजोर हुँदै गएका छन् । व्यक्तिगत, सांगठनिक, सामाजिक र व्यावसायिक तहमा आवश्यक आचरणहरू स्खलित भएका छन् । यसैले अहिलेको सबैभन्दा चाहिएको विषय नै सदाचार हो, जसले सुशासनलाई दिगो बनाउन सक्छ । व्यक्ति आचारच्यूत किन हुन्छ भन्ने विषयमा उत्तर पाइन्न । तर, घटनाक्रम र प्रवृत्तिको विश्लेषणले केही हदमा उत्तर खोज्न भने सकिन्छ । जन्मले मानिस असल हुन्छ, कोही पनि खराब हुँदैन, कर्मले मात्र मानिस खराब वा असल भनिने हो । पारिवारिक, सामाजिक परिवेश, अभिमुखीकरण, रहनसहन, मूल्य, संस्कृतिजस्ता पक्षहरूले व्यक्तिलाई खराब वा असल बनाउँछ । जब व्यक्ति असल प्रक्रियामा लाग्छ, झनै असल र सत्कर्मी बन्छ, नैतिक बन्छ ।

नैतिकतो सुविचार, असल वा उत्तम आचरण, असल व्यवहार, स्वच्छता, निष्पक्षता, इमानदारी एवं सकारात्मक सोच हो । नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार भ्रष्टाचार हो। नैतिकता र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारीमाथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन् । यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन । नीति, नियम र व्यवहारप्रति उच्चसतर्क रही गरिने उदाहरणीय चरित्र नैतिकता हो । नीति मार्ग अवलम्बन गरी लाभकारी हुनु नैतिकता हो ।

आचरण कुनै पनि व्यक्तिको दैनिक गतिविधिहरू र क्रियाकलापमा लागू हुने मूल्य, मान्यता, र नैतिकताको समष्टि हो। यसले के ठीक छ र के गलत भन्ने कुरा निर्देशन गर्दछ। प्रशासकीय आचरण भनेको प्रशासकीय कार्यलाई प्रभावकारी रूपमा गर्नका लागि अवलम्बन गरिने मूल्य, नियम र कानुन हो। नैतिक आचरण जीवनको महत्वपूर्ण पक्ष हो, जसले मानिसलाई उच्च मूल्यांकनको अवसर दिन्छ। नैतिक आचरणको अभ्यासले सकारात्मक चिन्तन र कर्ममा विश्वास बढाउँछ र मनको स्थिरता राख्न मद्दत गर्छ।

नैतिकता र आचरणमा सहनशीलता र धैर्यको अभ्यास गर्नु पर्छ, ताकि कलुषित विचारलाई हटाउन सकियोस। मनका इच्छा र कर्मलाई पवित्रतासँगै समायोजन गरेर सकारात्मक आचरण प्रदर्शन गर्नु महत्त्वपूर्ण छ। नैतिकता मानवको आचरणको मूल्यांकनको आधार बनाउँछ र यसले मानिसलाई आत्म–संयम र जिम्मेवारीको पाठ सिकाउँछ। समाजमा सकारात्मक परिवर्तन् ल्याउने सोच र चिन्तनले नैतिक आचरणलाई बलियो बनाउन मद्दत गर्छ।

सदाचार र नैतिक संस्कृति विकास गर्न पदाधिकारीको कार्यजिम्मेवारी स्पष्ट पार्ने, कार्यसम्पादन सूचक निर्धारण गर्ने, सेवा बडापत्र लागू गर्ने, नागरिक सहभागिता र दबाब प्रणालीलाई सशक्त बनाउने जस्ता उपायहरू अपनाइन्छन्। नागरिक चेतना, लोकतन्त्रको विकास र प्रविधिको प्रयोगले पनि सार्वजनिक प्रशासनलाई नैतिक र सदाचारी बनाउन सहयोग पुर्‍याएको छ।

सार्वजनिक सेवा वितरणमा नैतिकता र सदाचारयुक्त नेतृत्वले महत्वपूर्ण भूमिका खेल्छ। यसले कर्मचारीमा आत्मनियन्त्रण र उत्प्रेरणा बढाउँछ, ढिलासुस्ती, भ्रष्टाचार, र अधिकार दुरुपयोग जस्ता समस्यालाई निरुत्साहित गर्छ। यस्तो नेतृत्वले सेवा निष्पक्ष, छरितो र प्रभावकारी बनाउँछ। गोपनीयता, विश्वसनीयता र विकास निर्माणको कार्यमा समेत नैतिक आचरण अति आवश्यक हुन्छ। अन्ततः, नैतिकता र सदाचारयुक्त नेतृत्वले सुशासनको स्थापना गर्दै जनविश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान दिन्छ।

(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन्।)

civil hospital
Hams Hospitals