सिंहदरबारभित्र कर्मचारीहरूको दैनिकीः कामभन्दा क्यान्टिन र घाम

1.7K
shares

काठमाडौँ ।सिंहदरबारभित्र पछिल्ला दिनहरुमा देखिएको एउटा गम्भीर दृश्य हो—कार्यालय समयभरि विभिन्न मन्त्रालयका चौर, पार्क र क्यान्टिनहरूमा कर्मचारीहरूको जमघट । बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सरकारी कर्मचारीहरू कामकाजको साटो घाम ताप्दै, चिया गफमा बरालिँदै दिन बिताइरहेको दृश्य सामान्य जस्तै छ । यो अनुशासनहीनता मात्र होइन, यो राज्य संयन्त्रको कार्यक्षमता, जवाफदेहिता र जनविश्वाससँग प्रत्यक्ष जोडिएको प्रश्न हो ।

कर्मचारीहरू कार्यालयमा उपस्थित छन्, तर कार्यकुशलता कम भेटिन्छ । धेरै मन्त्रालय र विभागहरूमा कर्मचारीहरू समय कटाउन मात्र आउने, काम न्यून गर्ने र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति बढ्दो छ । काम नभएर क्यान्टिनमा बस्ने होइन, काम गर्न नखोज्ने मनोवृत्ति संस्थागत बन्दै गएको छ । यसले ‘काम गर्ने’ भन्दा ‘समय काट्ने’ संस्कृतिलाई प्रश्रय दिएको छ ।

यसरी कर्मचारीहरू दिनभरि बरालिँदा सम्बन्धित निकायहरूको ध्यान भने अन्यत्र केन्द्रित देखिन्छ । सरुवा, बढुवा, पहुँच, गुट, र मालअड्डाको खेलमै प्रशासनिक नेतृत्व व्यस्त हुँदा कार्यालय अनुशासन, कार्यअनुगमन र परिणाममुखी व्यवस्थापन ओझेलमा परेको छ । योग्यताको साटो पहुँच हाबी हुँदा काम गर्नेहरू निरुत्साहित र काम नगर्नेहरू सुरक्षित महसुस गर्ने वातावरण बन्दै गएको छ ।

सिंहदरबारभित्रका क्यान्टिन र चौरहरू आजकल अनौपचारिक कार्यालय जस्तै बनेका छन् । फाइल, बैठक र सेवाग्राहीको साटो चिया, गफ र मोबाइलले स्थान लिएको छ । यस्तो दृश्यले सेवाग्राहीलाई निराश बनाउँछ, र सरकारी संयन्त्रप्रति अविश्वास बढाउँछ । सेवाग्राही कार्यालय धाउँदा कर्मचारी क्यान्टिनमा भेटिनु केवल लाजमर्दो मात्र होइन, लोकतान्त्रिक राज्यका लागि चिन्ताजनक अवस्था हो ।

यस व्यथितिको जरो व्यक्तिगत अनुशासनभन्दा गहिरो छ । यो प्रणालीगत कमजोरी हो । स्पष्ट काम बाँडफाँड नहुनु, परिणाममूलक मूल्यांकनको अभाव, कडा अनुगमनको कमी, र नेतृत्वको उदासीनता यस समस्याका मुख्य कारण हुन् । काम गरे पनि नगरे पनि उही तलब, उही सुविधा, उही सुरक्षा—यस्तो संरचनाले मेहनतलाई पुरस्कृत गर्दैन, लापरवाहीलाई दण्डित गर्दैन ।
सरुवा बढुवामा पारदर्शिता र योग्यता प्राथमिकता हुनुपर्छ । अनुगमन संयन्त्र सक्रिय बनाई नियमित निरीक्षण हुनुपर्छ ।

सिंहदरबार राज्य सञ्चालनको प्रतीक हो । त्यहाँ देखिने दृश्यले देशको प्रशासनिक चरित्र झल्काउँछ । यदि त्यहाँ कामभन्दा क्यान्टिन संस्कृति हाबी हुन्छ भने यसको असर देशभरका कार्यालयहरूमा पर्ने निश्चित छ । कर्मचारीहरू काम गर्न आएका हुन्, समय काट्न होइन । भन्ने चेतना कर्मचारी, नेतृत्व र सरकार सबैले आत्मसात गर्नुपर्ने समय आएको छ ।
क्यान्टिन र चौरको भीड घटाएर कार्यालयको कामको चहलपहल बढाउने दिन कहिले आउने ? यो प्रश्न आलोचनाको विषय होइन, सुधारको माग बनेको छ ।

civil hospital
Hams Hospitals