कविताः प्रणय दिवसको सार्वजनिक सूचना

693
shares

आज फेरि आयो
लाल गुलाबको ललिपप लहर
दिल आकारका डिस्काउन्टहरू
र “साँचो प्रेम”को सुपर सेल।

शहरभरि पोस्टर टाँसिएको छ
“एक किन, एक फ्री!”
प्रेम पनि अब
प्याकेटमा पाइने परिकार भएछ
म्याद सकिनु अघि प्रयोग गर्नु होला।

क्याफेहरूमा
कफीको कपमा क्रीमले कोरेको कृत्रिम करुणा।
कसैले बिल तिर्छ
कसैले फोटो खिच्छ
कसैले स्टाटस राख्छ

फूलवालाले आज फक्रिएको फाइदा देख्छ,
गुलाब गफ गर्छ
“मलाई नछुनु
म त आजको मात्र नायक हुँ।”
भोलि म सुक्छु।

प्रेमीहरू प्रतिज्ञा गर्छन्
“तिमी नै मेरो चन्द्रमा!”
तर रात पर्नासाथ
नेटवर्क खोज्दै अर्को ग्रहमा घुम्छन्।

प्रेमलाई प्रमाणित गर्न
आजकल प्रमाणपत्र चाहिन्छ
रेस्टुरेन्टको रिसिट
सेल्फीको समय
र स्टोरीमा ट्याग।
ट्याग नगरेको प्रेम
अवैध घोषित!

तर हेर्दै जाँदा
यो दिनले एउटा सत्य पनि देखाउँछ
हामी सबै
थोरै ध्यानका भिखारी
थोरै स्पर्शका साधु
थोरै शब्दका शरणार्थी।

हामी प्रेम खोज्छौं
जस्तै मोबाइलले नेटवर्क खोज्छ
बारम्बार, बेचैन

प्रणय दिवस
तिमी बजारको महोत्सव
मायाको मार्केटिङ मेला
दिलको डिजिटल दिवाली।

तिमीले सिकायौ
प्रेम घोषणा गर्न सजिलो छ
जीवनभर जोगाउन गाह्रो
गुलाब दिन सजिलो
गुनासो सुन्न गाह्रो।

“आई लभ यू” भन्न सजिलो
“म सधैं साथमा छु”

निभाउन गाह्रो।

त्यसैले आज
म गुलाब होइन
गफ होइन
गिफ्ट होइन
थोरै समय सुम्पिन्छु।

किनकि
यदि प्रेम साँचो छ भने
उ त्यो एक दिनको डिस्काउन्ट होइन
बरु
दैनिक धैर्यको दान हो।

ह्याप्पी “प्रेम-प्रचार” दिवस!
आशा छ
भोलि पनि
तिमी मलाई
अनफ्रेन्ड गर्नेछौन।

 

civil hospital
Hams Hospitals