ग्याल्पो लोसार : विविधताको सौन्दर्य र जीवन्त सांस्कृतिक परम्परा

732
shares

 

बिषय प्रवेश

यस विशाल ब्रह्माण्डमा मानव सभ्यताको विकाससँगै भाषा, संस्कृति र आस्थाका अनेक रूप विकसित भएका छन्। विविधताले संसारलाई सुन्दर बनाएको छ। यही विविधताले मानव जीवनलाई अर्थ दिएको छ। नेपाल यस विविधताको अद्भुत उदाहरण हो। यहाँ जाति, भाषा, धर्म र संस्कृतिको सुन्दर संगम छ।

नेपालको यही सांस्कृतिक सम्पदाभित्र ग्याल्पो लोसारको विशेष स्थान छ। ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो। यो चाड विशेषगरी शेर्पा समुदायले मनाउँछन्। तर सांस्कृतिक घुलमिलका कारण अन्य समुदायले पनि यसलाई श्रद्धापूर्वक मनाउँछन्। नेपाल सरकारले यस दिन सार्वजनिक विदा दिने गरेको छ।

लोसारको दार्शनिक अर्थ

‘ल्हो’ भन्नाले वर्ष र ‘सार’ भन्नाले नयाँ भन्ने अर्थ दिन्छ, त्यसैले लोसार नयाँ वर्षको प्रतीक हो। तर यसको अर्थ केवल पात्रो फेरिनु मात्र होइन। यो विगतका दुःख, अशुभता र नकारात्मकता त्यागेर नयाँ सुरुवात गर्ने अवसर हो। लोसारले जीवनमा आशा, ऊर्जा र सकारात्मक सोच भर्न प्रेरित गर्छ। यो समयचक्रसँग गहिरो रूपमा जोडिएको पर्व हो, जसको सम्बन्ध चन्द्रमाको गति, ऋतु परिवर्तन र प्रकृतिका संकेतसँग छ। प्राचीन मानवले सूर्य र चन्द्रमाबाट समय गणना गर्थे, त्यही परम्परागत ज्ञान र अनुभवको आधारमा लोसार संस्कृतिको विकास भएको मानिन्छ।

ग्याल्पो लोसारको ऐतिहासिक सन्दर्भ

ग्याल्पो लोसारलाई राजकीय लोसार पनि भनिन्छ। ‘ग्याल्पो’ शब्दको अर्थ नै राजा हो, त्यसैले यस पर्वको ऐतिहासिक पृष्ठभूमि शासकीय संरचनासँग जोडिएको पाइन्छ। प्राचीन कालमा तिब्बतका राजदरबारहरूमा नयाँ वर्षलाई विशेष समारोहका साथ मनाउने परम्परा थियो। राज्यको समृद्धि, जनताको कल्याण र शान्तिका लागि विशेष पूजा–अनुष्ठान गरिन्थ्यो। यही कारणले यसलाई राजकीय लोसार भनिएको हो।

यस पर्वको विकासक्रम मङ्गोल परम्परासँग पनि गाँसिएको मानिन्छ। तिब्बती र मङ्गोल सभ्यताबीच ऐतिहासिक, धार्मिक र सांस्कृतिक आदान–प्रदान भएको थियो। त्यसको प्रभाव ग्याल्पो लोसारमा पनि देखिन्छ। बौद्ध दर्शन, लामा परम्परा र चन्द्र पात्रोमा आधारित समयगणनाले यस उत्सवलाई विशेष पहिचान दिएको छ।

नेपालमा बसोबास गर्ने शेर्पा, तिब्बती तथा योल्मो समुदायले ग्याल्पो लोसारलाई आफ्नो सांस्कृतिक पहिचानको अभिन्न अङ्गका रूपमा मनाउँछन्। उनीहरूका लागि यो नयाँ वर्षको सुरुवात मात्र होइन, आफ्नो भाषा, संस्कृति, आस्था र परम्पराको संरक्षण तथा पुस्तान्तरण गर्ने महत्वपूर्ण अवसर पनि हो।

विविधताको सौन्दर्य

नेपाल बहुजातीय र बहुसांस्कृतिक मुलुक हो, जहाँ विविध भाषा, परम्परा र आस्थाले सामाजिक संरचनालाई समृद्ध बनाएका छन्। हिमाली तथा पहाडी भेगमा बसोबास गर्ने तामाङ, गुरुङ, शेर्पा, ह्योल्मो, थकाली, भोटे, लेप्चा लगायत समुदायले लोसार पर्वलाई आ–आफ्नो परम्पराअनुसार मनाउँछन्। उनीहरूको सांस्कृतिक अभ्यास, पात्रो प्रणाली र ऐतिहासिक पृष्ठभूमिका कारण लोसार मनाउने समय फरक–फरक हुन्छ।

तोलो लोसार, सोनाम लोसार र ग्याल्पो लोसार यसका तीन प्रमुख रूप हुन्। नाम र मिति फरक भए पनि मूल भावना एउटै छ—पुरानो वर्षका दुःख, कमजोरी र अशुभता त्याग्दै नयाँ वर्षलाई आशा, उत्साह र सकारात्मक संकल्पसहित स्वागत गर्नु।यही विविधताबीचको एकता नै नेपालको वास्तविक पहिचान हो। फरक संस्कृतिको सम्मान र सहअस्तित्वले नै हाम्रो समाजलाई सुन्दर र बलियो बनाएको छ।

तयारी : शुद्धीकरणको प्रक्रिया

ग्याल्पो लोसार सुरु हुनुभन्दा दुई–तीन दिनअघि घरपरिवारमा विशेष तयारी थालिन्छ। घरका प्रत्येक कुनाकाप्चा सफा गरिन्छ—आँगन, भान्सा, पूजा कोठा, झ्यालढोका सबै राम्ररी पखालिन्छन्। यो सरसफाइ केवल भौतिक स्वच्छताका लागि मात्र होइन, आध्यात्मिक शुद्धीकरणका लागि पनि हो।

घर सफा गर्दा जम्मा भएको फोहोरलाई चौबाटोमा लगेर फालिन्छ। चौबाटो जीवनका विभिन्न दिशाको प्रतीक मानिन्छ, जहाँ पुराना अशुभ प्रभावहरू त्यागिन्छन्। यसलाई ग्रहदोष, दुर्भाग्य र नकारात्मक ऊर्जाबाट मुक्त हुने संकेतका रूपमा बुझिन्छ।

त्यस्तै, सबैले खाइसकेपछि बाँकी रहेको अंश पनि दोबाटोमा फाल्ने चलन छ। यसले विगत वर्षका कमजोरी, दुःख र अवशेषलाई त्यागेर नयाँ वर्षलाई स्वच्छ मन र सकारात्मक सोचका साथ स्वागत गर्ने सन्देश दिन्छ।

गुथुक : आत्मचिन्तनको परिकार

लोसारको पूर्वसन्ध्यामा विशेष परिकारका रूपमा गुथुक पकाइन्छ। यो परम्परागत सुपजस्तै परिकार हो, जसलाई नौ प्रकारका गेडागुडी र अन्न मिसाएर तयार गरिन्छ। मकै, भटमास, केराउ, चना, मुला, चामल र आटालगायत सामग्री प्रयोग गरिन्छ। यसले समृद्धि, एकता र विविधताको प्रतीक बोकेको मानिन्छ।

गुथुक तयार भएपछि सर्वप्रथम भगवानलाई चढाइन्छ। त्यसपछि परिवारका सबै सदस्यहरू एकै ठाउँमा बसेर सँगै भोजन गर्छन्। यसले पारिवारिक एकता र आत्मीयता बलियो बनाउँछ।

यस परिकारको सबैभन्दा रोचक पक्ष भनेको पिठोका साना डल्लाभित्र राखिने विभिन्न वस्तुहरू हुन्। कागज परे अध्ययनशील र बुद्धिमान स्वभावको संकेत मानिन्छ। घ्यू परे चिप्लो बोली, खुर्सानी परे छिटो रिसाउने बानी, कोइला परे डाह वा नकारात्मक सोच, र नुन परे योजना सफल हुने विश्वास गरिन्छ।

यो परम्परा हास्य–व्यंग्य र रमाइलोसँगै आत्मचिन्तनको अवसर पनि हो। मानिसले आफ्ना कमजोरी र गुणबारे सोच्ने, सुधार गर्ने र नयाँ वर्षमा सकारात्मक परिवर्तन ल्याउने प्रेरणा पाउँछ।

नयाँ वर्षको पहिलो बिहान

गुथुक खाइसकेपछि पुरानो वर्षलाई औपचारिक रूपमा विदाइ गरिन्छ। त्यससँगै नयाँ वर्षको स्वागतको तयारी सुरु हुन्छ। नयाँ वर्षको पहिलो दिन बिहान सबेरै उठ्ने परम्परा छ । कतिपयले रातको दुई–तीन बजे नै उठेर दिनको सुरुवात गर्छन्। यसलाई नयाँ सुरुवातप्रति जागरूकता र श्रद्धाको प्रतीक मानिन्छ।

बिहानै नजिकको धारा वा पधेरामा गएर हातमुख धोइ शुद्ध हुने चलन छ। त्यहाँ घ्यू, खादा र धूप चढाइन्छ, जसले पवित्रता, सम्मान र मंगलकामनाको भाव व्यक्त गर्छ। त्यसपछि चोखो पानी घर ल्याइन्छ। उक्त पानीलाई सर्वप्रथम भगवानलाई अर्पण गरिन्छ, अनि मात्र घरायसी प्रयोग गरिन्छ।

यसपछि घरमा विशेष पूजा–अनुष्ठान गरिन्छ। साङ सेरङिम् पूजा गरी धूप बालिन्छ र वातावरण शुद्ध बनाइन्छ। यस अनुष्ठानले विगतका अशुद्धता र नकारात्मक प्रभाव हटाई नयाँ वर्षलाई शान्ति, समृद्धि र शुभकामनासहित स्वागत गरिएको विश्वास गरिन्छ।

छिमार र आशिष

घरका मुली व्यक्तिले लोसारको अवसरमा छिमार आकाशतर्फ तीन पटक छर्किन्छन्। यो कार्य देवता र प्रकृतिप्रति कृतज्ञता प्रकट गर्ने प्रतीकात्मक अभ्यास हो। अमृत जल पनि छर्किने चलन छ, जसले शुद्धता, दीर्घायु र समृद्धिको कामना जनाउँछ। परिवारका सबै सदस्यले हत्केलामा छिमार लिएर ग्रहण गर्छन् र सगुनका रूपमा कुममा छर्किन्छन्। यस क्रममा दिनेले “टासी देलेक फुन्छोम छोक” भन्छन्, जसको अर्थ शुभकामना र मंगलकामना हो। लिनेले “तेन्दु देवर थोपर स्योग” भनेर प्रत्युत्तर दिन्छन्। यसरी शुभेच्छा आदान–प्रदान गर्दै नयाँ वर्षको आरम्भ गरिन्छ।लोसारमा पाँच रङको ध्वजा टाँगिन्छ। यसलाई लुङ्दार भनिन्छ।

निलो रङ आकाशको प्रतीक हो, जसले विशालता र खुलापन जनाउँछ।सेतो रङ बादल वा हावाको प्रतीक मानिन्छ, जसले शुद्धता र शान्तिको संकेत गर्छ।रातो रङ आगोको प्रतीक हो, जसले ऊर्जा र शक्ति प्रतिनिधित्व गर्छ।हरियो रङ पानीको प्रतीक हो, जसले जीवन र समृद्धि जनाउँछ।पहेंलो रङ धरतीको प्रतीक हो, जसले स्थायित्व र धैर्यलाई देखाउँछ।यी पाँच रङका ध्वजा टाँग्नु विजय, शान्ति र सकारात्मक ऊर्जाको प्रतीक मानिन्छ। प्रार्थना ध्वजामा लेखिएका मन्त्रहरू हावासँगै चारैतिर फैलिन्छन् भन्ने विश्वास छ, जसले सम्पूर्ण जगतमा मंगलकामना पुर्याउँछ।काठमाडौंको बौद्धनाथ स्तूप र स्वयम्भूनाथ स्तूप क्षेत्रमा यस दिन विशेष भीड लाग्छ। श्रद्धालुहरू पूजा, प्रार्थना र परिक्रमा गर्न भेला हुन्छन्। मानिसहरू “कि कि सो सो ल्हा ग्यालो” भन्दै आपसमा खुशी साट्छन्, जसको अर्थ देवताको विजय हो भन्ने भाव व्यक्त गर्दछ।

 

पारिवारिक र सामुदायिक उत्सव

लोसारको पहिलो दिन प्रायः घरपरिवारमै सीमित रहन्छ। परिवारका सदस्यहरू सँगै बसेर पूजा, प्रसाद ग्रहण र शुभकामना आदान–प्रदान गर्छन्। दोस्रो दिन आफन्त, छिमेकी र चिनजानकहाँ जाने चलन छ। यसले सम्बन्धलाई अझ प्रगाढ बनाउँछ। तेस्रो दिन गोन्पा र चैत्यमा गएर सामूहिक पूजा गरिन्छ, जहाँ धार्मिक गुरुहरूबाट आशीर्वाद लिइन्छ।

शहरी क्षेत्रमा लोसार अझ उल्लासमय देखिन्छ। पिकनिक, सांस्कृतिक झाँकी, नृत्य–संगीत र परम्परागत पोशाक प्रदर्शन गरिन्छ। काठमाडौंको टुसालस्थित शेर्पा सेवा केन्द्र जस्ता स्थानमा सामूहिक कार्यक्रम आयोजना हुन्छन्, जसले समुदायलाई एकै ठाउँमा ल्याउँछ।

सामाजिक महत्त्व

ग्याल्पो लोसारले समाजमा एकता, सहकार्य र सद्भावको भावना सुदृढ बनाउँछ। यो पुराना द्वेष, मनमुटाव र तिक्तता बिर्सिने अवसर हो। परिवार, आफन्त र समुदायबीचको दूरी घटाएर आत्मीयता बढाउने दिन हो। यस पर्वले सामाजिक समन्वय र सांस्कृतिक पहिचानलाई बलियो बनाउँछ। त्यसैले यो केवल धार्मिक अनुष्ठानमा सीमित छैन, बरु सामाजिक सम्बन्ध सुदृढ गर्ने उत्सव पनि हो।

आध्यात्मिक आयाम

बौद्ध दर्शनअनुसार समय अनित्य र जीवन परिवर्तनशील छ। लोसारले यही सत्य स्मरण गराउँछ। प्रत्येक वर्ष नयाँ अवसर, नयाँ अभ्यास र नयाँ संकल्पको सुरुवात हो। आत्मशुद्धि, करुणा, सहअस्तित्व र सकारात्मक सोचलाई आत्मसात् गर्ने सन्देश यस पर्वले दिन्छ।

निष्कर्ष

ग्याल्पो लोसार केवल नयाँ वर्षको उत्सव होइन; यो संस्कृतिको निरन्तरता र विविधताको सौन्दर्य हो। नेपालजस्तो बहुसांस्कृतिक मुलुकमा यस्ता पर्वहरूले सहअस्तित्वलाई अझ बलियो बनाउँछन्। पुरानो समयलाई विदा गर्दै नयाँ समयलाई स्वागत गर्नु, अशुभ त्यागेर शुभ अँगाल्नु—यही नै ग्याल्पो लोसारको सार र जीवन्त परम्पराको शक्ति हो।

 

 

civil hospital
Hams Hospitals